प्रचण्डले जे नगर्नुपर्ने त्यहि गदै हिँडेका छन् : प्रचण्डका सहकर्मी

नेपालको वामपन्थी आन्दोलनलाई यूरोपका नेपाली र विदेशी माझ स्थापित गर्ने ब्यक्तिको रुपमा चिनारी दिनुपर्‍यो भने नछुट्ने नाम हो, राम बहादुर गुरुङ । राजनितिमा उर्वर भूमी चितवनमा हुर्किएका उनी विधार्थी काल देखी नै सकृयतापूर्वक लागे । तर तर उनी अहिले चितवनको तातो राजनितिक भूमरिभित्र त छैनन्, बेल्जियममा छन् । तरपनि उनलाई राजनितिको तातोले भने जहाँ गएपनि छोड्दैन । त्यसैले गुरुङ बेल्जियममा मात्रै सिमित छैनन । पार्टी भूमिगत रहेको कठिन अवस्थामा पनि बेल्जियमका सडकमा हरेक दिन जसो संगठन विस्तारको लागि काँधमा दस्ताबेजका फाइल बोकेर कुदिरहने ब्यक्ती उनै हुन् भनेरपनि चिनिन्छन् । उनकै सशक्त प्रयासले नेपाली जनप्रगतिशील मन्च, बेल्जियमको स्थापना भएको थियो भन्छन् कम्तिमा बेल्जियमका वामपन्थीहरु । मन्चको पहिलो महासचिव पनि उनै बने । हाल मन्चको सल्लाहकार छन । उनी नेपालमा संघिय शासनको राप तात्दै जाँदा अहिले जनजाति सरोकार मन्च, यूरोपका अध्यक्ष बनेका छन् ।

उमेरले साठीको नजिकै पुग्न लाग्दा पनि राजनीतिको विचार, दर्शन र व्याख्यामा युवामय जोश उत्तिकै भेटिन्छ उनको । सबैखाले राष्ट्रघाती असमान निर्णयहरुका बिरुद्ध खरो अभिब्यक्ती दिनु पर्दा उनी आफ्नो जोस, जाँघ र स्वरलाई अझ उँचो बनाएर प्रस्तुत हुन्छन् । । थोरैलाई मात्रै थाह भएको उनको परिचय के हो भने कुनै बेला प्रचन्ड र राम बहादुर थापाका सहकर्मी र सहयोद्धा समेत रहेका थिए । त्यसैले तिनलाई चिन्नेहरुसित भलाकुसारी हुँदा ‘राम बहादुर गुरुङको सन्चो बिसन्चो बारे सोध्न’ भुल्दैनन । जनयुद्धकालमा आर्थिक र नैतीक रुपमा समर्थन जुटाउन उनले कुनैपनि प्रयासलाई प्रयोगहिन रहन दिएनन् । आवश्यकता भन्दा बढि कडा र खरो भनेर उनको आलोचना गरिएपनि  संस्थापन पक्ष भित्रपनि  उनको योगदानलाई नकार्न सक्दैनन । कुरा चपाएर बोल्न नजान्ने । चर्किने, कड्किने, कूटनिति नपुर्‍याई देखेको हाकाहाकी बोल्दा कहिलेकाहिँ चुक्नुपरेको स्विकार गर्दा गर्दैपनि नेपालप्लसकालागि अन्तर्वार्ता दिँदा फेरीपनि खरोसितै प्रस्तुत भए गुरुङ । पार्टी फुट सितै जनप्रगतिशिल मञ्चमापनि आएको बिभाजन, जनजातिको हक, अधिकार र पहिचानको राजनिति, जन प्रगतिशिल मञ्च, बेल्जियमको हुन लागेको अधिवेशन लगायतका विषयमा केन्द्रित रहेर बेल्जियममा शेर बहादुर छन्त्यालले लिएको अन्तर्वार्ताको मुख्य अंश हेर्नुस्-  

∙ नेपाली जनप्रगतिशील मन्च, बेल्जियमको दशौ महाधिवेशनको चहल पहल खुबै देखिन्छ । यो अधिबेशनमा यति बिघ्न चहल पहल हुनुको रहस्य के हो ?

देशको वर्तमान राजनीति चरम संक्रमणकालवाट गुज्रिरहेको छ । नेपालको आन्तरिक मामलामा नांगो रुपमा विदेशी हस्तक्षेप भइरहेको अवस्था छ । यस्तो बेला हुन गइरहेको यो अधिवेशनले नेपालको राष्ट्रियता तथा सर्वभौमिकता जस्ता विषयमा चासो राख्ने देशभक्त नेपालीहरुको वीचमा विशेष महत्व राख्छ । यो संगठनको दशौं अधिवेशनलाई महत्वपूर्ण रुपमा हेरिनुमा अर्धसामन्तवादी तथा नवऔपनिवेशिक नेपालको वर्तमान अवस्थालाई नयां जनवादी क्रान्तिले मात्र आमूल परिवर्तन गर्न सक्छ भन्ने संगठनको हिजो देखीको बुझाईलाई निरन्तरता दिनु पनि हो । नेपालमा जसले क्रान्तिकारी झण्डालाइ निरन्तर उठाइराख्छ त्यही अग्रगामी राजनीतिक शक्तिका राजनैतिक एजेण्डाहरुलाई समर्थन, सहयोग तथा ऐक्यवद्धता जाहेर गर्ने संगठनको मूल मर्मलाई यो अधिवेशनले अझै दह्रोसंग पकड्ने छ । नेपालको राजनीतिक अवस्थासंग प्रत्यक्ष जोडिएको यो संगठनमा नेपालको राजनीतिमा अग्रगामी दिशातर्फ उन्मुख आमूल परिवर्तनकारी क्रान्तिकारी शक्तिको प्रतिविम्वन आउनु र त्यस तर्फ ठोस ऐक्यवद्धता जनाउने कार्यक्रमका साथ अघि बढ्ने यो संगठनको उद्देश्य रहनु नै महत्वपूर्ण कारण हो ।

• नेपालबाट नेताहरु बोलाएर विदेशमा तामझामपूर्ण राजनीतिको गर्नुको उपादेयता के ?

यो अधिवेशनलाइ तामझाम नै त नभनौं । प्रकृयागत कुरा हो । जहाँसम्म अधिवेशनमा नेताहरु बोलाउने कुरा हो, हाम्रो संगठनलाइ यो कुनै नौलो कुरा भए जस्तो लाग्दैन । बरु नेताहरुको आगमन नेपालको वर्तमान राजनीतिक अवस्था र समस्याको समाधान सम्वन्धमा आफ्नो धारणा विदेशका नेपाली बीच पनि प्रष्ट्याउने राम्रो अवसर हो ।

• संस्थापन पक्षले अध्यक्ष निम्त्याउनु र नयाँ शक्तिले केन्द्रीय उपाध्यक्षलाई निमन्त्रणा गर्नु एक आपसमा प्रतिस्पर्धा जस्तो देखिएन र ?

यसलाई प्रतिस्पर्धाभन्दा पनि आ-आफ्नो वैचारिक एकताको आधारमा नेपालको राजनैतिक अवस्थालाई प्रवासी नेपाली माझ लैजानको लागि आमन्त्रण गर्ने कुरा हो । हामीले समर्थन गरेको राजनैतिक एजेण्डा लिएर हिडेको राजनैतिक दल नेकपा-माओवादीका उपाध्यक्ष क. गौरव हाम्रो निमन्त्रणालाई स्वीकारेर आउनुलाई हामीले उच्च मुल्यांकन गर्नु पर्दछ । तर नेपालको राजनैतिक तरलता र संक्रमणको चरम अवस्थामा एउटा पार्टीको अध्यक्ष नै प्रवासी नेपाली संगठनको अधिवेशनमा दलबलै लिएर आउने कुरा त्यति सान्दर्भिक हुँदैन जस्तो लाग्दछ ।

नेपाली जनप्रगतिशील मन्च, बेल्जियमको दशौं महाधिवेशनले सबैभन्दा महत्वपूर्ण परिणाम के दिन सक्ला ?

बेल्जियम लगायत युरोपमा रहेका प्रगतिशील संगठनहरुलाइ क्रान्तिकारी मूलधारमा ल्याउन कोशे ढुंगा सावित हुनेछ भन्ने नै हामीले आंकलन गरेको महत्वपूर्ण परिणाम हो ।

∙ जनजाति सरोकार मन्च, यूरोपको प्रमूख हुन्हुन्छ । प्रचन्डले एकल जातीय पहिचान सहितको संघीयताको कुरा छोडेर बहु जातीय पहिचान भन्न थालेका छन । यस बारे तपाईंको धारणा प्रस्ट पारीदिनु हुन्छ कि ?

प्रचन्डले सबै छाडिसके । जे नगर्नुपर्ने हो त्यहि गर्दै हिंडेका छन् । त्यो हामीले भन्दापनि नेपाली जनता सबैले भनिरहेका छन् । नेपाली समाजको अन्तर्रविरोध हल गर्ने हो भने मुख्यत निम्न विषयहरुको संवोधन अनिवार्य रुपमा गर्नुपर्दछ । आदिवासी जनजाति जो आन्तरिक राष्ट्रियता हो उसको एकल पहिचानको आधारमा निश्चित सम्वन्धित जातिको अग्राधिकार हने गरी स्वायत्त प्रदेशको ग्यारेन्टी हुनुपर्दछ । अन्य उत्पिडीत जाति, दलित, महिला, सिमान्तकृत जाति तथा समुदायहरुलाई निश्चित समयको लागि विशेषाधिकार, राज्यद्धारा उत्पिडनमा परेका क्षेत्र तथा मुश्लिम समुदायलाई निश्चित समयका लागि विशेषाधिकारको सुनिश्चितता सहितको संविधान जारी गरेर कडाइका साथ कार्यान्वयनमा आए मात्र नेपाली समाजमा रहेको उत्पिडन राजनैतिक रुपमा हल हुन सक्दछ । यी आधारहरुलाई बलियो बनाए मात्र सामन्तवादी केन्द्रिकृत राज्यको शक्ति साँचो अर्थमा समुदाय अर्थात जनतामा हस्तान्तरण गर्न सकिन्छ । स्थानीय निकायलाई बलियो बनाउदै सामन्तवाद र नोकरशाही तथा दलाल पूँजीपतीहरुको स्थाइ रुपमा अन्त्य गर्न सकिन्छ । यही वैज्ञानिक आधारलाई लिएर नेता बन्न सफल भएका प्रचण्ड र बाबुरामले राज्य सत्ता परिवर्तन नहुँदै सबै कुरा पाइयो र यहिनै अन्त्य हो भन्न थाले । वर्ग उत्थान र वर्ग समन्वयमा लागेकाले पार्टी नै विभाजन हुन पग्यो । फेरी जनताका आवाजहरुलाई उठाउन क्रान्तिकारी पार्टी नेकपा-माओवादीमा नेपाली जनता गोलवन्द हुँदैछन । हामी प्रवासमा पनि माथिका एजेण्डामा सहमत हुने साथीहरु एकजुट भएर अगाडि बढ्नु पर्दछ ।

• नेपाली जनप्रगतिशील मन्च, बेल्जियम अहिले विवादमा छ विवादित बिषयलाई समाधान गर्ने कुनै उपाय निस्कन्छ कि ? कि कानुनी लडाइनै हुने संभावना छ ?

यी सामान्य प्रकृयागत कुराहरु हुन् । यसमा समझदारीको आवस्यकता छ । अन्यथा बेल्जियमको कानुनी प्रकृयावाट जानु पर्ने नै हुन्छ । यो सामान्य कुरा हो । तैपनि साथीहरुले सामान्य प्रकृया पनि पुरा नगरी अधिवेशन भयो भन्दै वकिल मार्फत संगठनलाई गलत तरिकाले कव्जा गर्न खोज्नु भएछ । त्यसै कारणले केही असमान्जस्यता भएको हो ।

बिभाजित नेपाली जनप्रगतिशील मन्च, बेल्जियम भविष्यमा एक हुन सक्ने संभावना देख्नुहुन्न उसो भए ?

संम्भवै छैन भन्न मिल्दैन । नेपाली समाजमा भएको अन्तर्रविरोध हल भइ सकेको भए सोच्ने कुरा हो । तर हल नभै अन्तर्रविरोध झन चर्किएको र नेपाली जनताले समग्र समस्यावाट निकास खोजेकाले क्रान्तिकारी परिवर्तन विना नेपालको विकास सम्भव छैन । ढिलो चाँडोको कुरा हो । क्रान्तिकारी परिवर्तनका पक्षधरहरु एक ठाउँमा त अवश्य मिलन भइहाल्छ ।

विश्वले नजरअन्दाज गरेको जनयुद्ध हाँकिसकेको पार्टी सरकारमा छ पार्टी भित्रै लूट मच्चाइरहेका छन भनेर ब्यापक असन्तुष्टी र आरोप बाहिरसम्म आएका छन् । जनताका माग सडकभरी असरल्ल छन । यस्तो अवस्था आँखै अगाडि तपाईंले हेरिरहनु भएको छ कस्तो अनुभव गर्नु हुन्छ ? कसरि जनताका भावनाको कदर हुने देख्नुहुन्छ ?

यो विषयमा बोल्नु पर्दा हामी नेपालको वर्ग संघर्षमा प्रत्यक्ष नजोडिएकाहरुको त मुटु पोल्छ । आँखा रसाउँछ भने प्रत्यक्ष वर्ग संघर्षमा जोडिएका, दशवर्षे जनयुद्धमा परिवार गुमाएका, अपांग बनेका र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने सपना बोकेर आफ्ना व्यक्तिगत स्वार्थ त्यागेर होमिएका हजारौं माओवादी क्रान्तिकारीहरुलाइ अहिले आघातको अनुभुति भएको छ । देशको अस्मिता लुटिइरहेको देख्दा हामीलाई पनि पिडावोध हुन्छ । विदेशमा रहेता पनि हामीलाइ पिडा हुनु स्वभाविकै हो । यसो भन्दैमा निराश हुनु हुँदैन । एक दिन क्रान्तिको सुनौलो विहानी आएरै छाडनेछ । त्यसैले हामी आशावादी छौं ।

विश्वको अनुभवलाई हेर्दा त मार्क्सवादनै पुरानो भो भन्छन् नी !

कतै कतै क्षणिक कालकालागि त्यस्तो देखिएको हो । मार्क्सवादबारे बुझाइको कमजोरीपनि हो । वा मार्क्सवादलाई राम्रोसित बुझ्नै नसकेरपनि हो । मार्क्सवाद कहिले पनि सुन्यतामा रहँदैन । यो परिवर्तनशील छ । कुनै दिन रुस र चीनका पहाडमा परिवर्तन आँधीबेरी सिर्जना गरेको थियो भने आज नेपालमा आन्दोलनका लहर चलिरहेको छ । भोली अरु कुनै देश र समुदायमा चल्नेछ निरन्तर ।

तपाइँको प्रतिक्रिया