पानीको खेती र आँखा खोलिदिने अमिर खान

–गुमनाम द्धितिय

सृजनशिल भारतीय सुपरस्टार आमिर खानको नेपालसँग कुनै साइनो छैन् । तर, उनले उठाएका केही सामाजिक मुद्दाहरु भारतमा मात्र नभई नेपालको परिप्रेक्षमा समेत बहसका विषय भैसकेका छन् । आमिरले पानी जस्तो साधारण विषयमा आफ्नो बहुचर्चित कार्यक्रम सत्यमेव जयते मा जुन तरिकाले आवाज उठाए, त्यसले मानिसलाई एक पटक होइन चार पटक सोच्नुपर्ने बनाईदिएको छ । पृथ्वीमा जमिनको तुलनामा पानीको भाग तीन खण्ड भन्दा बढी भएपनि पिउने पानीको अभाव र मानिसले प्राकृतिक सम्पदामाथि कसरी जानी जानी शोषण गर्छ भन्ने कुरा उनले साधारण तरिकाले दर्साएका छन् ।

उनको प्रस्तुती हेर्दा लाग्छ, उनी कलाकार भन्दा पनि बढी पत्रकार र अन्वेषक हुन् । भारतमा निकै तहल्का पिटेको तर हाल बन्द भएको उनको कार्यक्रम जत्यमेव जयतेको पानी बारेमा बनाएको प्रस्तुती सबै नेपालीले एक पटक हेर्नु पर्छ । कार्यक्रम हेर्न  http://www.youtube.com/watch?v=kTZ6fxSL8b8 मा क्लीक गर्न सकिन्छ । यसैगरी, पानी र वातवारणका बारेमा फ्रान्सका बृतचित्र निर्देशक यान आर्थुसले बनाएको होम नामको बृचचित्रले पनि हामीलाई यसरी झकझकाईदिएको छ कि यो बृतचित्र एक पटक हेरेर धित नै मर्दैन् । यो बृतचित्र हेर्न http://www.youtube.com/movie?v=jqxENMKaeCU&feature=mv_sr मा क्लीक गर्न सकिन्छ । यी दुबै बृचचित्रले हाम्रा आँखा मात्र होइन मन र मष्तिष्क समेत खोल्ने काम गरेका छन् ।

पानीलाई जमिनमा भण्डार गर्न सकिएन भने त्यसले बिकराल रुप लिन्छ र हाहाकार हुन्छ भन्ने कुरा आमिरले उदाहरण सहित दिएका छन् । उनले एक किलो मासुका लागि कति धेरै पानी खर्च हुन्छ भन्ने कुरा बृतचित्रमा देखाएका छन् । पानीको सन्दर्भ म चितवन र पोखरासँग जोड्न चाहन्छु । केही दिन अघि मेरो आफन्तले चितवनमा पहिले पहिले इनार थोरै खन्दापनि पानी आउने तर अहिले छिमेकीले पानीको लागि गहिरो इनार खन्नु परेको बताउनु भयो । मैले संझिएँ, आमिरले भारतमा भयावह तरिकाले देखाएको कुरा हाम्रो देशमा पनि संकेतका रुपमा देखा पर्न थालेछ । वाटर हार्भेस्ट अर्थात पानीको पनि खेती हुँदो रहेछ भनेर आमिरले देखाएको कुरा मैले उहाँलाई भने र कार्यक्रम हेर्न भनें । कार्यक्रमले कसरी पानी जोगाउन सकिन्छ भनेर चेतना जगाउन र कार्यान्वयन गर्न सिकाउँछ । उहाँले कार्यक्रम हेर्नु भयो भएन मलाई थाहा भएन । किनभने त्यसपछि उहाँसँग मेरो सम्पर्क हुन सकेको छैन् ।

मानिसको सभ्यताको शुरुवात नदी किनारबाटै भयो । तर, हामी तिनै नदिलाई मलमूत्र फाल्ने ठाउँ बनाउँदैर्छौ । काठमाडौका बाग्मती र विष्णुमतीको कुरा गर्नु बेकार छ । यी सुध्रनै नसक्ने अवस्थामा पुगेका छन् । पोखराको सेतीको पनि हालत यस्तै हुँदै गएको छ । तर सुधार्न सकिने अवस्था छ । सेती नदी प्रदुशण मुख्यगरी महेन्द्रपुल आसपासबाट शुरु हुन्छ । महेन्द्रपुल त्यही ठाउँ हो जहाँ बुद्धि र पैसा भएका मानिस बस्ने ठाउँ भनेर चिनिन्छ । घरपिच्छे ब्यापार छन । सधैजसो विदेश आउ जाऊ गर्छन । जलबायु परिवर्तन, वातावरण प्रदुशण अनि प्राकृतिक विनास बारे जानकार मात्र होइन परि आए भाषण पनि ठोक्छन । तर तिनै ब्यक्तिहरु विहानै उठेर सू वा …जे आउँछ त्यही सेती नदीमा मिल्काएर विन्दवासिनीमा किर्तन गर्न वा घर नजिकैको वरपिपलमा पानी चढाउन पुग्छन् धर्मका नाउँमा । ट्वाइलेटको फ्लस बटन दबाए पछि मलमूत्र सेती तिर लाग्यो अनि आफू चाहि हिड्यो मठ मन्दिर ।

आफूले त्यागेको मलमूत्र केही तलका बासिन्दाले पिउने पानीका रुपमा प्रयोय गर्छन । चौपायले (माताका रुपमा पुजिने गाईले समेत) पिउँछन । अरुले शुद्ध जल ठानेर प्रयोग गर्छन भन्ने जान्दा जान्दै पनि हामी त्यसो गर्छौ । यो हाम्रो साझा चरित्र हो । पानी प्रदुषण नगरे त्यसै धर्म भो । धर्म गर्न मठ मन्दिर धाएर घण्टी बजाउनै पर्दैन । घण्टी बजाउँदैमा धर्मात्मी हुने भए मेरो हजुरबुवाको पालको स्वर्गीय सिगौरी बाख्रीको नाम गिनिस बुक अफ वल्र्ड रेकर्डसमा लेखिने थियो । घण्टीमा झुण्ड्याउन सक्ने भएदेखि विरामी भएर थला नपर्दा सम्म उनीले घाँटीको घण्टी हल्लाइरहिन् । कति वर्ष निरन्तर घण्टी बजाइन त्यो त मलाई पनि थाहा छैन् । घण्टी लगाउनुको कारण चाँही उनको चोर्ने बानी हो र फेला पार्न सकियोस भनेर हो ।

मेरो घर पारीका एक जना क्षेत्री दाइले सुगा पालेका थिए । मान्छे देख्न नहुने वा उसलाई । सनक चल्यो कि गोपी कृष्णक….भनेर लेघ्रो तानेर भन्न थाल्ने । उसको नाम पनि गिनिसको अन्तर कुन्तरमा भेटिनु पर्ने । ऊ पनि ठूलै धर्मात्मी हो, हरबखत भगवानको नाम जप्ने ।

आमिरको कार्यक्रम र यानको बृतचित्र मैले करिब महिना दिन अघि हेरेको हुँ । त्यो दिन देखि आजसम्मपनि मलाई यसको विषय बस्तु र प्रस्तुतीले छाडेको छैन् । साधारण विषयमा हाम्रो जीवनसँग जोडिएको कुरालाई कति सरल, शशक्त, बैज्ञानिक र तथ्यगत हिसाबले कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुरालाई आमिरको कार्यक्रम र यानको बृतचित्रले देखाएका छन् ।

म त भन्छु, तपाईले यी दुई कुरा हेर्नु भो भने औधी राम्रो गर्नु भो । हामीले पनि संरक्षणका लागि यसरी नै आवाज उठाऔ । हेर्नु भएको छैन भने पनि लाख बिन्ति गरेर भन्छु जति महत्वपूर्ण काम छाडेर भए आमिर र यानको प्रस्तुती हेर्नु होला । आमिरले उठाएका विषयले भारतका एक तिहाई जनसंख्यालाई प्रभाव पारेको र त्यसैका आधारमा सरकारले आफ्ना कार्यलाई अघि बढाएकाले प्रसिद्ध अमेरिकी साप्ताहिक म्यागजिन टाइमले आमिरको कामलाई केही समय अघि मात्र आफ्नो कभर स्टोरी बनाएको छ भने यानको बृचचित्र करोडौं मानिसले हेरेका छन् । आमिर र यानका कामलाई मैले पुनः हेर्न बिचार गरेको छु, जति हेर्यो उति हेरौं हेरौं लाग्ने ।

तपाइँको प्रतिक्रिया