सँगठीत हुँदैमा महिला स्वतन्त्र हुन्छ र ?

 

 

फेब्रुअरी २० तारिखमा ददिराम जी ले यसै ब्लगमा खोइ त महिला जहाँ पनि पुरुषकै बर्चश्व भन्ने लेख लेख्नुभएको थियो । बिषय एकदम राम्रो थियो । मेरो बिचारमा लेख्न खोजिएको बिषयपनि उठाउनै पर्ने बिषय थियो । पाठक प्रतिक्रिया हेर्दा बिषय लेखिनुपर्ने हो भन्ने लाग्छ । झन्डै आधा जसो पाठक प्रतिक्रियामा कैँची पनि लाग्यो । किनभने पाठकहरुले भन्न बाँकी केहि राखेका थिएनन । जसले गर्दा मानिसका आन्तरिक कमजोरीहरु छरपष्ट भएनन । पेरिसमा तीन वटा नेपाली सँस्था छन् खासगरि र तिनवटैमा कम्तिमा ३३ प्रतिशत पनि महिला सहभागिता छैन । झन् फ्रान्समा १५ सदस्यीय एनआरएनएमा जम्मा तीनवटी महिला छौँ । यति पनि सँख्यामा अरु दुइमा महिलाहरुको सहभागिता छैन । किन छैन ? भन्ने कुरा हामीले खोतलेर हेरेका छैनौँ । झन् फ्रान्सको एनआरएनए त यूरोपभरीकै एउटा उदाहरणिय सँगठन रहेछ जहाँ उपाध्यक्ष, सचिव र महिला प्रतिनिधी महिला भएको र यति धेरै महिला सहभागिता भएको । यो उदाहरण हामीलाई काफी छ अरु सँगठनका पछि नकुदौँ पहिला आफ्नै सँगठनलाई हेरौँ । म आँफू एनआरएनमा छु र पनि भन्न मन लाग्छ हाम्रो एनआरएन समेत कता छ ? केन्द्र देखि सँगठनका अन्य शाखाहरुमा ? हामी एनआरएनएहरु देश बनाउने, हाम्रो लगानी नेपाल लाने, हाम्रो शिप देशका लागि दिने कुरा गर्छौ‌ तर त्यो भित्र महिला किन सँगठीत छैनौँ ? के देश निर्माणमा महिलाहरुको सहभागितै नचाहिने हो ?

 

या के सँगठीत हुँदैमा महिला स्वतन्त्र हुने र असँगठीत हुँदैमा महिला बन्धनमा पर्ने हो त ? यो कुरो बुझेकि छैन । ददिराम जी को यो आर्टिकल पछि म सोच्न बाध्य छु । म सँग राम्रो उत्तर छैन । कृपया राम्रा राम्रा बिचारहरु यो पढ्ने सबैले लेख्नुहोला । महिला सँगठीत हुन किन जरुरी छ । हुन पर्छ कि पर्दैन ।

 

अस्तिको फेब्रुअरी १५ को भेलामा एनआरएनएका १५ पदाधिकारीहरु मध्ये दुइ अनुपस्थित हुनु भो । अनि पाँच जना सदस्यहरु श्रीमतीहरु नलिइकन कार्यक्रममा आउनुभयो अथवा श्रीमतीहरु आउन चाहनुभएन । उहाँका श्रीमतीहरुका साथ लागेर आउनुहुने अरु झन्डै तिन गुना महिलाहरु महिलाहरु समेत कार्यक्रममा अनुपस्थित रहनुभयो । यसले गर्दा कार्यक्रममा सहभागीता कमी देखियो । व्यक्तिगत रुपमा मेरो कसैप्रति आग्रह र पूर्वाग्रह र रिसराग केहि छैन । म कोही पनि महिलालाई सानो र अज्ञानी देख्दिन । बरु म उहाँहरु सँग रहेको शिप र क्षमता ममा पनि भएको भए कति राम्रो हुनेथियो भन्ने सोचिरहन्छु । म सँग उहाँहरुमा रहेका कयौँ शिपहरु छैनन ।

 

तर पनि मनमा एउटै कुरो छ साँच्चै उहाँहरु किन आउनुभएन ? हामीले गलत जानकारी प्रबाह गर्यौँ भनौँ भने सबैको समान सहभागिताकालागि पत्रमा आग्रह गरिएको थियो । छोराछोरीले गर्दा हो भनुँ भने महिला प्रतिनिधीकी सबैभन्दा सानी बच्ची छिन उहाँ पाँच महिनाकी छोरीका साथ आउनुभएको थियो । बिरामी भए भनुँ भने सबै बिरामी पर्न नपर्ने हो । महिलाहरुलाई कार्यक्रम मन नपरेर हो भनुँ भने श्रीमानहरु दिनरात एनआरएनए भनेर खटिरहनुभएको छ । अरु बेला फेरि उहाँहरुका जहान परिवारले एनआरएनए लाई निकै मद्दत गर्नुभएको छ । गर्नुहुन्छ । अब आउने मार्च आठ महिला भेलाकै कुरा गरौँ न । उहाँहरु यसकालागि एकदम तयारी गरिरहनु भएको छ । अहो महिलाहरुको कार्यक्रम । आफ्नै कार्यक्रम हो भनिरहनु भएको छ । उहाँहरुबाट प्रत्यक्ष सहयोग र अप्रत्यक्ष सहयोग सबै मिलेको थियो र छ । कोहि कोहि महिलाहरु त उहाँहरुका लोग्नेहरु भन्दा निकै सक्रिय समेत हुनुहुन्छ । धेरै मोटिभेटेड हुनुहुन्छ । तर त्यो भेलामा मात्र किन त्यसो भयो ? त्यो मिराकल किन थियो ? कुरो यसैमा हो । त्यही पनि पाँच पाँच सदस्यका श्रीमतीहरु । के उहाँहरुको कुनै साझा कारण थियो ? म एनआरएनए फ्रान्सको सचिव हो तर म सँग उत्तर छैन । यो मेरो सानो जिज्ञासा हो । मलाई लाग्छ ददिराम जी को जिज्ञासा पनि यहि हो ।

 

त्यसो भन्दैमा कार्यक्रममा महिला सहभागिता भएन भन्ने होइन । असाध्यै राम्रो महिला सहभागिता भयो । भलै बोल्नेमा एक महिला पर्नुभो । हामीले पेरिसमा को महिला के बिषयमा दक्ष हुनुहन्छ पत्ता लगाएको पनि छैन । एउटा कुरो चाँही पक्का के हो भने हरेक भोजहरु र ठूला ठूला कार्यक्रमहरु सफल हुनुका पछाडि भान्साको व्यवस्थापनामा महिलाहरुको अति राम्रो सहभागिता हुन्छ यहाँ । पुरुषहरुले थोरै सहयोग गरे पुग्ने । केहि महिलाहरु त अझ भान्सा ब्यवस्थापन र नृत्य मा बारँबार चर्चामा आइरहनुहुन्छ । यो सुखद पक्षपनि हामी सँग छ । हामीसँग कला र शिप भएका अरु थुप्रै महिलाहरु हुनुहुन्छ । त्यहि हो उहाँहरुको शिप चिन्ने मौका पाइएको छैन । त्यही शीपलाई हामी हामी महिलाहरु नै मिलेर फुलाउन सक्यौँ भने पेरिसमा पुरुषहरु भन्दा अझ महिलाहरु अगाडि आउन सक्ने बातावरण छ । समय क्रममा आउलान् पनि । अब देखि यहाँ रहेका महिलाहरुले गरेको योगदान भुल्नु भएन । मन्चमा नआउँदैमा महिलाहरु सक्रिय छैनन भन्न भएन । ल ददिराम जी लाई यो कुरा चेतना भया ।

तपाइँको प्रतिक्रिया