एन आर एन जलबिद्दुत लगानी : पछुताउनु पहिलेनै सोच्नुस् है ?

गैह्र आवाशिय नेपाली संघले नेपालको जल बिद्दुतमा लगानी गर्ने भन्दै यतिखेर आव्हान गरिरहेको छ । देश देशमा रहेका प्रवासी नेपालीहरुका प्रतिनिधी सहयोगी र चासो दिनेहरुले आफु बसेको देशमा रहेका नेपालीहरुलाई लगानीकालागि जोड गरिरहेका छन् । धेरैले भनेका छन्, यो यस्तो लगानी हो जुन डुब्दैन । मुनाफा आउँछ । कतिपय नेपालीहरुमा भने यो संयुक्त लगानीका बारेमा अन्यौल र बास्तबिकता बुझेको देखिन्न । किनभने ति बिदेशमा दुख गर्नु भन्दा यसमा लगानी गर्न पाए छिट्टै नाफा पाइन्थ्यो र ढुक्क भएर बसिन्थ्यो भन्ने मानसिकतामा देखिन्छन् । जुन सत्य होइन ।

पक्कैपनि बिदेशमा बस्ने नेपालीहरुको आफ्नो देश प्रति ठूलो जिम्मेवारी छ नै । त्यो जिम्मेवारी पुरा गर्ने बिबिध तरिका मध्ये आफ्नो मात्रिभुमीको विकास र संव्रिद्दीकालागि जल बिद्दुतमा लगानी गर्ने एउटा अवसर हो । तर बुझ्नुपर्ने कुरो के छ भने बिदेशमा बस्ने धेरै नेपालीहरुको अवस्था वर्षौं वर्ष मुनाफाकालागि धैर्य गर्न सक्ने खालको छैन । घरबारी बेचेर, ऋण काढेर ति बिदेशका अनेक कुना कोप्चेरामा श्रम घोटिरहेका छन् । तिनको कमाई भनेको न्युन रहेको छ । तिनले दुखजिलो कमाएको कमाइले आफ्नो ऋण तिर्नु छ । बालबचेरा र परिवार हेर्नु छ । आज घोटेको श्रमको मूल्यले भोलीनै घर पखेरो जोड्नु छ । ऋणपान तिर्नु छ । भाइभतिजा हेर्नु र छोरा छोरी पढाउनु छ । तिनलाई आफ्नो दैनिक समस्या टार्न वर्षौं वर्ष कुर्ने ब्यवहारिक अप्ठेरा छन् । त्यसैले वर्षौं वर्ष मुनाफाकालागि कुर्नु पर्ने यस्तो कुनैपनि लगानीको क्षेत्र त्यस्ता नेपालीकोलागि प्राथमिकताको विषय नहुन सक्छ । यो लगानीका लागि हात हाल्नु अघि सोच्नु पर्ने विषय हो ।

त्यो भन्दा महत्वपूर्ण विषय के हो भने यसमा लगानी कस्ता मान्छेले कसरि, कुन शर्तमा गर्दै छन् । भनिएको छ, कुनै कम्पनी खोलिन्छ । त्यस कंपनी मार्फत लगानी गरिने छ । तर त्यो कंपनीको लगानीकर्ता को को छन् ? बास्तविकता के हो भने यो जल बिद्दुतमा ५१ प्रतिशत लगानी ठूला लगानीकर्ताको हुने छ । ४९ प्रतिशत मात्रै विभिन्न देशमा रहेका गैह्र आवाशिय नेपालीको हुने छ । यसलाई निश्पक्ष ढंगले हेर्दा जल बिद्दुतको लगानीमा बहुमत हिस्सा ठूला लगानीकर्ताको हुने हो । त्यसैले, लगानी भएको रकम के भयो ? कंपनी कसरि चल्दै छ । विवरण के हो ? कति खर्च भो ? कति नाफा भो ? निति र नियम के हुन् ? कंपनीको नियम अनुसार होलानै । तर जब ठूला लागनीकर्ताहरुको हिस्सा बमुमत हुन्छ भने त्यहाँ सबै कुरोको निर्णय वा अन्तिम निर्णय उनीहरुकै हुने छ । उनिहरुकै अनुसार चल्ने छ कंपनी । बहुमतका आधारमा गरिने निर्णय नै मान्य हुनु स्वभाविकै हो । ४९ प्रतिशकका लगनीकर्ता जतिसुकै संख्यामा किन नहोउन् तिनले ५१ प्रतिशत लगानीकर्ताको निति र निर्देशन मानेर बस्नुपर्छ ।

लगानी गरेर वर्षौं वर्ष कुर्‍यो मुनाफाकालागि । तर ५१ प्रतिशत लगानीकर्ताले बहुमतका अधारमा अल्पमतका हिस्सेदारलाई भोली निकाला नगर्लान् भन्ने कसरि निश्चित हुने ? कंपनीका ठूला लगानीकर्ताले बहुमतको निर्णय भनेर नाफा आउन थालेपछि तपाईको हिस्सा दिएर बिदा नगर्लान् भन्नेपनि त छैन । यसको सुनिश्चितता के हो ? लगानी गर्नु पहिले यस्ता विषयमा सोच्ने हो कि ?

यो संयुक्त लगानी त हो नै । तर समान लगानी, समान हैसियत होइन भन्ने नभुल्नुहोला । यदि समान लगानी र समान हैशियत हुन्थ्यो भने त यसलाई सबै नेपालीको समान हिस्सा हुनुपर्थ्यो । अर्थात् जलबिद्दुतमा गरिने यो लगानीमा जसले जति सक्छ त्यति लगानी गर्ने तर ठूला ब्यापारीको ५१ (बहुमत) र बाँकि को ४९ प्रतिशत नगरिनु पर्थ्यो । यसरि हेर्दा ठूला लगानी कर्ताको लगानी र ब्यापारिक स्वार्थलाई सुरक्षित गर्न खोजिएको हो कि भन्ने सोच धेरैमा देखिएको छ । त्यसो त लगानीको जोखिमपनि ठूला ब्यापारीहरुलेनै लिन अघि सरेका छन् । तर यो लगानी सुरक्षित छ भनेकाले सुरक्षित लगानी हुने ठाउँमा चाहिँ विश्व भरिका नेपालीको लगानी भनेर ठूला ब्यापारीएहरु नाफा कमाउन चनाखो बनेकोपनि देखिन्छ ।

जतिसुकै लगानी सुरक्षित हुन्छ भनिएपनि यो ब्यापार हो । ब्यापारमा घाटा र नाफा के हुन्छ भनेर पहिल्यै ठोकुवा गर्न सकिन्न । हामीले देखेकै छौं, अरुण तेस्रो देखि माथिल्लो कर्णाली आयोजनासम्म कति समस्या परेका छन् । नेपालमा राजनितिक दलका आआफ्ना स्वार्थ देखि बिदेशीका स्वार्थले धेरै अर्थ राख्छ । त्यसैले लगानी गर्न थालेदेखिनै धेरै समस्या आउन सक्छन् । जलबिद्दुत योजना कर्यान्वयनमा आउनपनि तोकिएको भन्दा धेरै समय लाग्न सक्छ । ब्यापार भएकाले यतिनै नाफा यो वर्षबाट हुन्छ नै भन्नपनि सकिन्न ।

फेरि जलबिद्दुत भनेको यस्तो क्षेत्र हो त्यो सुचारु हुनै वर्षौं लाग्छ । शुरु भएर पनि सहि किसिमले कार्यान्वयनाम ल्याउनै समय लाग्छ । त्यसपछि मुनाफा आउन झन धेरै समय लाग्छ । तर धेरै नेपालीहरुम के भ्रम रहेको छ भने यो नेपालीले लगानी गर्न लागेको ब्रिहद परियोजना हो । सरकारले यसैमा लगानी गर्न उत्साहित गरिरहेको छ । बिजुलीको माग तिब्र छ । लगानी गर्ने रकम जम्मा भएपछि एकाध वर्षमा बाँध बन्छ । आवश्यक मेशिन लगेर जोडेपछि भटाभट काम हुन्छ र मुनाफपनि आउन थाल्छ । तर यसरि यदि तपाइहरुले सोच्नु भएको छ भने त्यो पुरै गलत हो ।

नाफा भए होस्, नभए ठिकै छ भनेर सोच्ने हो भने ठिकै छ । आफ्नो देशको लागि केहि योगदान हुन्छ । नाफा तत्काल नआएपनि जहिले आउँछ त्यहि बेलासम्म धैर्य गरौंला भन्ने हो भनेपनि यो उपयुक्त हुन सक्छ । किनभने आखिर जसले लगानी गरेपनि यो मात्रिभुमीकै लागि जाने हो । हाम्रै देशमा लगानी हुन्छ । हाम्रै नेपालीले रोजगार पाउँछन् । आफ्नै श्रममा बनेको बिजुलीले हाम्रा केहि गाउँमा बिजुली बाल्न पाइन्छ ।

पियनको जागिर खानु छ । तर त्यसकोलागि तपाइले पाँच लाख तिर्नुपर्‍यो भने कसरि ल्याउनुहुन्छ ।त्यो रकम ? ऋण खोज्नु भयो भने तलबबाट आएको रकम ब्याज तिर्ने कि घर चलाउने ? आर्थिक समस्याले दुई चार पैसा होला र घर ब्यवहार चल्ला भनेर केहि हजारको पियनको जागिर खान खोज्ने । तर त्यसको लागि त्यत्रो रकम तिर्नुपर्‍यो भने कसरि तिर्ने ? हो, यो लगानी त्यस्तै हुन सक्छ । बिदेशमा दुख गरेर कमाइयो । अब लगानी गर्न पाए केहि वर्षमा नाफा आउला र सुख होला, खुत्रुक खुत्रुक आएको नाफाले घर खर्च गरौंला । यो बिदेशमा कति हड्डि घोट्नु भनेर भएको केहि रकमपनि यो जल बिद्दुतमा हाल्नुभयो भने तपाइको योजना र सोचाई सहि होइन भन्ने बुझ्नुस् ।

बरु त्यस्ता ब्यक्तिहरुले साना पसल, कुटिर उध्योग, घरेलु उध्योग, क्रिषी र अन्य क्षेत्रमा लगानी गर्नुनै उत्तम हुन्छ । किनभने त्यसमा धेरै लगानी हुन्न र नाफाकालागि लामो समय पर्खिनु पर्दैन । यस्तो विषयमा एन आर एनका बुझेका प्रतिनिधी, ठूला लगानी कर्ता र प्रवर्धकहरुलेपनि स्पष्ठ पार्नु जरुरी छ । किनभने दुख गरेर थोरै रकम जम्मा गरेका नेपालीले तत्कालै नफा आउला भन्ने सोचेर पैसो खन्याए भने त्यसले नेपालीको हित गर्दैन उल्टो दुखिहरुलाई समस्यामा पार्छ । त्यसैले लगानीका लागि अलि राम्रोसित वास्तविकता बुझेर मात्रै तम्सिने हो कि ?

तपाइँको प्रतिक्रिया