चोक चोकमा नेपाली झण्डा फहराउँदै बेल्जियममा नेपाली मेला
● शेर बहादुर छन्त्याल (फोटोपनि) / बेल्जियम
मौसमले साथ नदिए पनि बर्षेनी बिभिन्न शहरमा गरिदै आएको पाँचौ नेपाल मेला २०१२ हिजो बेल्जियमको एतिहासिक, पर्यटकीय र औधोगिक शहर आन्त्वर्पेनमा चाहलपहलका साथ सम्पन्न भएको छ । गोडाको रथमा सजिएका नेपालीहरुले दर्जनौं नेपाली झण्डा बेल्जियमका चोर चोकमा फहराएका थिए ।
बेल्जियम स्थित नेपाली दूतावासको संरक्षकत्वमा एन आर एन बेल्जियम, नेपाल टुरिज्म बोर्ड र यहाँका बिभिन्न संघ संस्थाहरुको आयोजनामा बेल्जियमकै क्रिश्चियन डेमोक्र्याटिक पार्टीका पार्लियामेन्ट सदस्य नाहिमा लान्ज्रीको प्रमुख आतिथ्य रहेको थियो ।
बेनेलक्सका लागि नेपाली राजदूत राममणी पोख्रेल र नाहिमा लान्ज्रीले पानसमा बत्ती बालेर पाँचौ नेपाल मेला २०१२ को समुद्घाटन गरेका थिए ।
एन आर एन बेल्जियम का अध्यक्ष जानकी गुरुङले उपस्थित सबैलाई स्वागत गरेकी थिईन ।
मेलामा नेपाल सम्बन्धी जानकारी दिने ब्रोसर, नेपाली परिकार , नेपाली पोशाक र क्युरियो सामानका स्टलहरु राखिएका थिए ।
खराब मौसमका बाबुजुद पनि नेपाल मेलामा बेजियमको सबै शहरमा बसोबास गर्ने नेपालीहरु सपरिवार सहभागिताले साँच्चिकै नेपाली जमघट भएको मेला जस्तो देखिन्थ्यो ।
मेलाको खास उद्देस्य विदेशमा नेपाल बारे र नेपाली उत्पादनहरुको विदेशीहरु बिच प्रचारप्रसार गर्नु प्रमुख भएता पनि नेपालीहरु मात्रैको मेला जस्तो देखिन्थ्यो ।
प्रमुख अतिथीका साथै ४,५ जना बेल्जियन बाहेक अन्य विदेशीहरुको कुनै उपस्थिती थिएन ।
सो मेलामा बेल्जियम स्थित बिभिन्न संघ संस्थाहरुको मातहतमा भेषभुषा सहितका झांकीहरु र न्रित्यहरु प्रस्तुत भएका थिए ।














