धन्य रहेछौ परिवारको रगतसित राष्ट्रियता साट्नेहरु
माओवादीका अध्यक्ष प्रचण्ड रहेछन् त्यस्ता नेता जसले एकदिनपनि जेलनेल नभोगेका, भोग्नै नपरेको । त्यत्रो जनयुद्द कालमा जम्माजम्मी एक वर्ष मात्रै नेपालमा बिताएका । बांकि समय सुरक्षित तरिकाले बिदेशमा । यो कुनै अनुमान र आरोप होइन । उनैको पार्टीका, उनैका समकालिन, दौंतरीले गरेको दाबी हो । उनका परिवारका सदस्यलेपनि उति सास्ति भोगेका रहेनछन् । कहिँ न कहिँ सुरक्षित भएका । त्यसैले उनलाई परिवार गुमाउँदाको पीडा पक्कै छैन । अंगभंग भएको देख्नु परेन । जेलका कोठरीमा भोग्नु परेका सास्ती र यातना परिवारकोपनि सुन्नु परेन होला । यस्तैमा पर्छन् प्रधानमन्त्री डा बाबुराम भट्टराइपनि । सयौं हजारौंलाई छिचोलेर उनले बुर्जुवा जिवन अँगालेका । बिदेशको पढाइ, शहरिया जिवन । कष्टनै पाएनन् त भन्न नमिल्ला । तर आम कार्यकर्ताले जुन सास्ति भोगे, उनी सरहका केहि नेताले जुन त्रास सहे, यातना भोगे । त्यति उनले भोगेनन् । तर माओवादीमा यस्ता नेता छन्, जसको सामुन्ने परिवारका सदस्य ढलेका छन् ।
माओवादीमा मन्त्री बनेका पोष्ट बहादुर बोगटी, क्रिष्ण बहादुर महरा यस्तैमा पर्छन् । अरुपनि कयौं छन् । यीनले देश र जनताको मुक्तिकालागि भनेर परिवारका सदस्य गुमाए । तिनका सदस्य यीनै नेताका मार्गमा लाम लागे । तिनको अभिस्ट थियो, यो मुलुकलाई पराधिनताबाट मुक्त गराउने । राष्ट्रियताको संरक्षण गर्ने । हाम्रो राष्ट्रिय अखण्डता बचाउने । देशलाई राष्ट्रिय रुपमा आत्म निर्भर बनाउने । कुनैपनि बिदेशीका अगाडि हाम्रो मुलुकलाई झुक्न नदिने । हाम्रा असमान सन्धिहरु खारेज गर्ने र राष्ट्रिय हित अनुकुलका सन्धि र संझौता गर्ने । यीनै कसम खाएर, लोभ्याएर र आश्वासन बाँडेर तिनले जनतालाई मात्रै लाम लगाएनन् । आफ्नै छोराछोरी, भाइ भतिजा, छर छिमेकि र बाल बचेरासम्मलाईसमेत जनयुद्दको लाममा उभ्याए । कसैका काँधमा बन्दुक राखिदिए। कसैका हातमा बारुद थमाइदिए । कसैलाई हुलाकी बनाए । मुलुक परिवर्तन नभएसम्म हाम्रो परिवारको अवस्था मात्रै परिवर्तन भएर केहि हुन्न । युग बदले सबै र सधैंका बदलिन्छौं भनेर जनयुद्दमा होमे ।
ति लाममा लाग्ने मध्ये जनताका, पराईका छोरा छोरीमात्रै मारिएनन् । माओवादी नेताका छोराछोरीपनि परेका छन् । दाजुभाइको ज्यान गएको छ । त्यसरि ज्यान गुमाउँदा तिनले कसम खान्थे “हामी शहिदको रगतलाई एक चिन्टी खेर जान दिन्नौं कामरेड, हामी सहिदका सपना पुरा नभएसम्म एक थोपो रगत रहुन्जेलसम्मपनि लडिरहन्छौं । तर आज देखियो, तिनले जनतालाई मात्रै धोका दिएनन् । अर्काका छोराछोरीलाईपनि झुठो आश्वासन दिएछन् । जनताका छोरा छोरीको मात्रै ज्यानलाई स्वार्थसित साटेका रहेनछन् । आफ्नै छोरा छोरी, परिवारका सदस्यको रगत सित तिनले सत्ताको स्वाद साटे । आफ्ना परिवारको रगतसित तिनले हाम्रो राष्ट्रियता साटे । पारिवारकै बेदना, छटपटी, यातना र चित्कारसित तिनले नेपालको राष्ट्रियता साटेर पदको लाभ लिइरहेका छन् । कसरि सकेका होलान् यस्तो गर्न ?
भएको संविधान सभा भंग गराए । आम कार्यकर्ता, पार्टीका ‘कामरेड’, जनवर्गिय संगठन कहिँ कतै सल्लाह नगरि अर्को संविधान सभाको निर्वाचन घोषणा गरे । त्यसरि रातरात अपर्झट पार्टीको निर्देशन नलिई भंग गरिएको किन रहेछ त ? एकै रातमा त्यस्तो निर्णय अँध्यारो कोठीमा बसेर किन गर्नु परेको रहेछ ? राष्ट्रघाती स्वार्थ सिद्द गर्नु रहेछ । आफ्नै छोराछोरीको रगतमा पौडी मारेर भएपनि यो मुलुकमाथि बिदेशी बुट बजार्न बोलाउनु रहेछ ।
अहिलेको सरकारले त्यहि गर्यो । हाम्रो देशको हित विपरीत जबरजस्ती कानुन मिचेर भारतीय कम्पनी आईएल एन्ड एफएसलाई विमानस्थलको व्यवस्थापन सुम्पने निर्णय गरेर भारत भक्ति, भारतीय नेताप्रतिको चाकरी देखाएको छ । यदि देशमा संसद हुन्थ्यो भने यस्ता राष्ट्रिय महत्वका विषय संसदबाट अनुमोदन गराउनु पर्थ्यो । त्यसैले भारतीय पिछलग्गु, भारतीय सरकरको तलुवा चाट्न बनेको यो सरकारले जानी जानी संसद भंग गराएको रहेछ । यस्तै राष्ट्रघाती सम्झौताहरु संसद नभएको मौका पारेर पास गर्ने र भारतलाई सुम्पिने प्रधानमन्त्री भट्टराई र यो सरकारका मन्त्रीहरुको दाउ रहेछ ।
अब भारतले हाम्रो विमानस्थलका सबै गोप्यताहरु लिने छ । हाम्रो विमानस्थलमा आउने सबै यात्रुका भेद उसले लिने छ । हाम्रो, सुरक्षा संयन्त्रलाई हेप्ने र गिज्याउने, कमजोर तुल्याएर बिदेशीलाई शिरमा बोक्ने काम गरेको छ । अब हाम्रै देशभित्र बिदेशीको निर्देशन, मनपरी, धम्की र उसको मनोमानी नेपालीले सहनुपर्ने छ । त्योपनि हाम्रो शिरै माथि । हाम्रो एक मात्र अन्तर् राष्ट्रिय बिमानमाथि । हाम्रो आकाशमाथि । यसैका नाममा भारतीय मनपरी अझै फैलिने छ । यो भन्दा गद्दारी, राष्ट्रघात अरु के हुन्छ ?
जनयुद्द शुरु गर्नु पहिलेदेखि माओवादीका नेताले गालि गर्नुसम्म गरे भारतीय शासक वर्गलाई । आश्वासनका अन्य पोका त कति दिए दिए उल्लेख गरि साध्यै छैन । तर आफ्नै परिवारका सदस्यलाई भारतीय चंगुलबाट यो मुलुकलाई पार लगाउँछौं भनिभनि युद्दमा होम्दा तिनको ज्यान गयो । आज तिनको रगतसित कसरि कुर्सी साट्न सकेका ? न आफु जेल पर्यो, न यातना भोग्यो । न आफ्ना परिवारका सदस्यको चित्कार सुन्नु पर्यो न त असुरक्षानै भोग्नु पर्यो । त्यस्ताले त लौ सत्ताकालागि यो देशको राष्ट्रियता र राष्ट्र हितलाई भारतीय पाउमा बिसाए । कुर्सीको लागि ज्यान फाले । तर जेका लागि लड्ने भनेर कसम खाँदै आफ्नै परिवारलाई समेत लामबद्द गराए । ज्यान लिए । कसरि पोष्ट बहादुर बोगटी, क्रिष्ण बहादुर महरा, देबी खड्का जस्ताले आफ्नै परिवारको रगत सित सत्ता साटेर लिन सकेका ? आफ्ना परिवारलाई जेका निम्ति लड्न भन्दै उचालेर ज्यान जाने बनाए, आज तिनैको रगत बेचेर भारतीयसित राष्ट्रियता साट्न कसरि सकेका ? यति सम्म संवेदना नभएका, आफ्नै परिवारको रगत सित पर्वाह नभएका, आफ्नै बोली र बचनको कुनै अडान र ख्याल नहुनेले भोली के पो बाँकि राख्लान र ? धन्न रहेछौ नव राष्ट्रघातीहरु हो !




