किन चाहियो यूरोपमा पत्रकार महा संघको शाखा ?
यूरोपमा कति पत्रकार छन् यसै भनिहाल्न सकिने अवस्था छैन । अब नेपाल पत्रकार महसंघको यूरोप शाखाले खोजि गर्ला नै । तर यूरोपका धेरै मुलुकमा नेपाली पत्रकारहरु छरिएका छन् । छरिनाले प्रशस्तै घाटा ब्यहोर्यौं । आफैंले लिन र दिन सकिने लाभ र सिपबाट बञ्चित भयौं । देशलाई दिन सकिने थुप्रै संभावना हुँदा हुँदैपनि हामीमा त्यो अक्किल र ज्ञान भएन । यूरोपका जटिल संरचना, संस्क्रिति र भाषाको अज्ञानताले गर्दापनि धेरै साथीहरुले दुख पाउनुपर्ने अवस्था रह्यो । पत्रकारिताका सिप लिन पाइने अवस्था हुँदा हुँदैपनि चुकियो ।
यूरोपका नेपाली ठग, पिरहा, फटाहा नेता र पेरिसका नेपाली राजदूत मोहनक्रिष्णको ठगी, भ्रस्टाचार, अख्तियारीको दुरुपयोग र उनको धम्काउने दुस्साहसका बारेमा लेख्दा धेरै साथीले स्याबासी दिन्थे । म नेपाललाई माया गर्ने यूरोपेलीको खोजि गर्न यूरोपका अरु देश जाँदा प्रशंसा सुनाउँथे । नजिक वा टाढाबाट आफ्नो ठानेर चिन्ता गर्नेले भन्थे ‘दाई तपाइ नेपाल जानु भो भने यो राजदूतले मार्छ होला’। भित्रभित्रै असाध्यै हाँसो लागिराखेको हुन्थ्यो ‘ठग्न, खान, लुट्न, चाकरी गर्न, पासपोर्ट बेच्न, घुस खान, भोजभतेर गर्न बाहेक अरु ध्याउन्न नभएको र आफ्नै कार्यालय परराष्ट्र मन्त्रालयमा समेत बदनाम र सधैं त्रसित यस्तो राजदूतको आँट कमिलो कुल्चन सक्ने त छैन होला, त्यस्तो आँट कहाँबाट आओस् ?’ तिनको चिन्तालाई माया ठानेर म मुसुक्क हाँसेरै छोडिदिन्थें । किनभने फटाहा, पिराहा, मोहन क्रिष्ण जस्ता भ्रस्टहरुलाइ सडकको सानो बुट्याउन देख्दापनि डर त्रास र भय हुने हो । हामीलाई के को डर ? डर त्रास हुने काम गरे पो डराउनु ।
तर नेपाली पत्रकारहरु संगठित नहुँदाको पीडा मलाई दुई तिन पटक भयो । पहिले सँगै काम गरेका साथी गजेन्द्र बुढाथोकी दूर्घटनामा परे । उनलाई महसुस हुने जस्तो सहयोग एक्लै केहि गर्न सकिँदैनथ्यो । तरपनि मन चाउरी पारेर बसियो ।
त्यसैगरि अन्य एकाध दूर्घटना ब्यहोरे नेपाली पत्रकारले स्वदेशमा । मनमा केहि गर्ने आकांक्षा हुँदा हुँदैपनि एक्लो परेर त्यसै मेटियो । नेपालमा हाम्रा साथीहरु कुटिए । चुटिए । तरपनि हामीले संस्थागत रुपमा त्यसको बिरोध गर्न सकिएन । हामी यूरोपको पूल बनेर ति आवाजहरु यूरोपेलीका माझ लान सकिन्थ्यो । त्योपनि सकिएन । यतिखेर संस्थागत एकताको खाँचो खट्किरह्यो ।
पछिल्लो पटक श्रमजिवी पत्रकार रमेश चालीसेका दुबै म्रिगौलाले काम नगर्ने भए । नेपाल पत्रकार महा संघका अध्यक्षलेनै सहयोगको आव्हान गरे । त्यो बेला कम्तिमा दुई चार लाख रुपियाँ यूरोपबाट जाओस् भन्ने आत्मै देखिको इच्क्षा थियो । आफुले झैं कलम र कापी घोटेर खाएको साथी प्रत्यक्षरुपमा अपरिचित किन नहोस् । उपचारको याचना गर्दै अस्पत्तालको बिस्ताराबाट उनले गरेका निबेदन । अनि आफुले ठूलो सहयोग गर्न नसकेको यथार्थता । साह्रै मन कटक्क भएको हो ।
संघ संस्था हुनेहरु आफ्नो तालमा निर्णय गर्थे । कार्यक्रम गर्थे । आफु अर्काको समाचार लेख्दै, फोटा खिच्दै हिँड्यो । देउसी खेलेका र तीजमा नाचेका समाचारमा कुद्यो । तर उहाँ नेपालमा आफ्नै समकालिनको हालत उपचार नपाएर बेहाल हुँदा आफु रमिते । यहि बेला मलाई लागेको थियो, ओहो हामी पत्रकारहरुपनि संगठित भैदिएको भए के हामीले केहि सहयोग गर्न सक्थेनौं ? माथि उल्लेखित सबै प्रसंगमा हाम्रो पनि गणनायोग्य सहयोग हुन्थ्यो ।
नेपालबाट संविधान बनाउने, प्रान्तिय शासन पद्दती हेर्ने, सुशासन कायम गर्ने आदि अनेक नाममा सबै जस्तो दलका नेता आउँथे । तिनको पारा उहि नेपालकै जस्तो । यता आएरपनि यूरोपका संरचना, आधुनिक प्रविधी, विकासका आधार र अक्किल, नेपालकालागि गर्न सकिने, सिक्न सकिने कामको अध्ययन, यूरोपका यस्ता स्रोत र साधनको खोजि होइन । ति फोस्रो भाषण दिन्थे । कतिपय अवस्थामा उता यूरोप घुम्न भनेर आउँथे सरकारको बजेट लिएर । यता फेरी दुतावासमा बस्थे । नेपाल सरकारको गाडी, बत्ति, पनी र खान्कीको प्रयोग गरेर दोहोरो भत्ता र सुबिधा लिन्थे । कतिपयले अझ होटेलमा बसेको बिल यहाँका नेपालीलाई बनाउन लगाएर नेपाल सरकारबाट पैसा असुलेको सुनिन्थ्यो । तर तर हामी पत्रकारहरुको सञ्जाल नभएकाले त्यस्ता सूचना भरपर्दो गरि पाइँदैनथ्यो ।
हाम्रो सन्जाल गतिलो भैदिएको भए यूरोपभरिका यस्ता सूचना पाइन्थ्यो भन्ने लागिरहन्थ्यो । उसो त नेपाली कुटनितिज्ञका ठगी, बेथीती, भ्रस्टाचार र दुतावासमा नेपालीले पाउने सास्तीका कथापनि उत्तिकै छन् । त्यसकोलागि पनि सन्जाल चाहिन्थ्यो । कतिपय देशमा साथीहरु भएपनि मेडिया थिएन तिसित । अनि पाएका महत्वपूर्ण सूचनापनि सडेर जान्थे । कतिपय सथीहरुसित सूचना छ, मेडिया छ । तर विविध ब्यवहारिक कारणले आफू बसेको देशमा सार्वजनिक गर्न सक्ने अवस्था रहन्न । अर्को देशको साथीलाई दिउँ भने सम्पर्क छैन ।
नेपाललाई माया गर्ने फ्रान्सेली र अन्य यूरोपेलीको खोजि गर्दै जाँदा अनुभव भयो, नेपाललाई सहयोग गर्न चाहने ब्यक्ति यूरोपका हरेक देशमा रहेछन् । तर तिनको खोजि कसले गर्ने ? कसरि गर्ने ? कसरि सहयोग माग्ने ? नेपाललाई कसरि बिदेशमा प्रवर्धन गर्ने ? नेपालका के के वस्तु यूरोपका चाख र चाहनामा पर्छन् ? नेपालका कस्ता सूचनाको तिनलाई खाँचो पर्छ ? यस्ता कामहरु नेपाली पत्रकारको सञ्जाल हुँदा धेरै सहज हुन्छ ।
बिदेशमा आफन्त भन्नु नै नेपाली समूदाय हो । देशका बिबिध ठाउँबाट आएका भिन्न भाषा, भूगोल, संस्क्रिति र पहिचान भएका नेपाली । ति धेरैका आआफ्नै संघ र संगठन छन् । नेपालका सबै ठूला राजनितिक पार्टीका भात्रि संगठन छन् यूरोपमा । नेपाली भाषा, संस्क्रिति, रमाइलो, चाडबाडसित रमाउन पनि तिनलाई नेपालीको संगत चाहिन्छ । त्यहि कारणले गर्दापनि थुप्रै पत्रकार तिनै राजनितिक दलका निकट संस्थामा पुग्छन् र ति प्रयोग हुन्छन् । स्वतन्त्र लेखनका बारेमा चिन्तनमनन, मूल्यांकन, हौसला र निगरानी हुने हो भने त्यो कम हुने अवस्था छ ।
यूरोपका कुन कुन देशमा कस्ता विषय नेपाल र नेपालीकालागि चाखलाग्ने, महत्वपूर्ण विषय बन्छन् ? कस्ता विषयलाई यूरोपका नेपाली पत्रकारले उठाउनुपर्छ भन्ने ज्ञान नभएरपनि कतिलाई सहज नभएको अवस्था छ । पत्रकारितामा विकास भएको पछिल्लो सिप, सोच र तौर तरिकाका बारेमा सिक्न यहाँ स्थानिय भाषाले पर्खालको काम गरिदिन्छ । नेपालबाट टाढा भएकाले तिनलाई सहज हुन्न । तर पत्रकारहरु एकजूट हुँदा यी सबै विषयमा छलफल, बहस र अनुभव आदान प्रदान गर्न सकिन्छ ।
यूरोपका कतिपय नेपाली पत्रकारको पहुँच यूरोपका सांसद (वा सभासद), वकिल, पत्रकार, मन्त्री, कुटनितिज्ञ, कलाकार आदि हरेक क्षेत्रमा पुगिसकेको छ । अनेक विषयमा ज्ञान हाँसिल गरेका छन् । तर त्यो ज्ञान आफैंमा सिमित छ । आफूसित नहुँदा पनि यूरोपका अरु नेपालीको पहुँच र ज्ञानसित ति परिचित छन् । त्यसलाई सदुपयोग गर्न सकिएला । नेपाल र नेपालीका बारेमा चासो राख्ने यूरोपेलीलाई परिचालित गर्न पनि पत्रकारहरुलाई सहज हुन्छ । यूरोपका नेपाली संघ संस्थाकै बिचमापनि नेपाल पत्रकार महासंघको तर्फबाट जाँदा बढि पहुँच हुन्छ र काम गर्न सजिलो बन्न सक्छ । हामीबिचका सूचनाहरु आदानप्रदान गर्न सकिन्छ । यूरोपका बारेमा छरिने भ्रम र गलत सूचनालाई यदि यूरोपभरि नेपाली पत्रकार संगठित हुने हो भने सजिलोसित चिर्न सकिन्छ । अहिले नेपाली महावाणिज्य, कन्सुलर कार्यालय, दुतावासका काम पारदर्शी छैनन् । वार्षिक बजेट कहाँ जान्छ ? कसरि खर्च हुन्छ ? कुन शिर्षकमा हुन्छ ? तिनले गर्ने कामको सदुपयोग कसरि हुन्छ ? उपयोगिता के हो ? यसका बारेमापनि अब हामीले दह्रोसित संस्थागत प्रयास गर्नै पर्छ । महा संघ यूरोप शाखाले यस्ता विषयमा अब पक्कै ध्यान दिने छ ।
यसरि यूरोपमा बसेर नेपाली पत्रकारले आफ्नो, यहाँको नेपाली समूदाय र स्वदेशकालागि गर्न सक्ने काम धेरै छन् । तिनलाई लिपिबद्द गरेर प्रस्ताब गर्ने र देख्न, छुन, हेर्न र अनुभव गर्न सकिने केहि काम अगडि बढाउने सोच हामीले बनाएका छौं । त्यसकोलागि पत्रकारितामा प्रतिबद्द, देशको लागि केहि गरौं भन्ने मानसिकता र तत्परता भएका साथीहरुको खाँचो छ । क्षणिक लाभ, कुनै संघ संस्थासित निकट हुन, पद देखाएर प्रतिस्ठा बढेको देखाउन, नेता, कुनै पार्टी र कुनै शक्ति केन्द्र वा कुनै वर्गको निकट पुग्न र पत्रकारको कार्ड भिर्नकालागि नेपाल पत्रकार महा संघको शाखा अवश्यै आवश्यक परेको होइन । र अहिले जति साथीहरु देखापर्नुभएको छ, उहाँहरुको उत्साह साँच्चिकै केहि गर्ने खालको छ । यसलाई कायम गरेर बाँकि साथीहरुलाई समेट्ने र पत्रकारितालाई दुरुपयोग हुन नदिनेतिर सचेत हुन सकियो भने साँच्चै नेपाली पत्रकारहरुले केहि गर्न सक्ने अवस्था छ यूरोपबाट । त्यसकालागि फेरीपनि यूरोप भरिका प्रतिबद्द र सक्रिय साथीहरुको खोजि हुनु जरुरी छ




