ढुंगाले छोपेर हिँड्थ्यौं पर्यटकका लास

स्टिरनिस लुकसित चिनजान भएको करिब दुई वर्ष भयो । नेपालप्रेमी उनीसित उनले देखेजाने, बुझेको नेपालबारे बातचित गर्न मन लागेको उहिल्यै हो । तर बल्ल यस पटक मिल्यो । बोस कम्पनीका उच्च इञ्जिनियर उनी पेशाले । विश्वका अनेकौं मुलुक गैरहने रहेछन् कामका सिलसिलामा । त्यसैले भेट्नै मुस्किल । संयोगले यो पटक म बेल्जियम आउने मेसो गर्दा उनी फेला परे । विश्वकै सबैभन्दा लामो पदमार्ग (ट्रेकिङ रुट) पत्ता लगाएका उनले नेपालमा । तर त्यसलाई मान्यता दिलाउन, प्रबर्धन गर्न पर्यटन मन्त्रालय, नेपाल टुरिज्म बोर्ड लगायतका निकायमा लिखित पत्राचार निकायमा सुन्ने कान लगाएका रहेनछन् । उनी दिक्क थिए ।

उनले मलाई अन्तर्वार्ता दिन्छु भनेर त बोलाए । तर कुराकानी शुरु गर्न खोज्दा आनाकानि गरे । मैले उनलाई निकै बेर सम्झाएँ । अनि फ्रान्सदेखि आउने मान्छेलाई हुन्छ भनेर आनाकानी गरेको देख्दा पारो चढिहाल्यो । म नम्र भाषामा कडा रुपले प्रस्तुत हुनुपर्ने भो । केहिबेर कड्किएँ । अलि ब्याख्यापनि गरें । अनि राजिभए र आफैंले भने “ल मलाई प्रश्न गर्न थाल्नुस् । अब रेकर्डपनि गर्नुस्”।

नेपालाबारे त उनले कति हो कति ज्ञान लिएका । ३० वर्षको ज्ञान रहेछ । सन् १९८३ यताको नेपालबारे त हामीले के जान्दछौं होला र झैं लाग्ने उनको ज्ञान देख्दा । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मनै पदायत्रा गर्न सकिने मार्ग उनी आफैंले पत्ता लगाएछन् । कहिले पूर्व, कहिले मध्यम भाग त कहिले पश्चिमी क्षेत्र गर्दै उनले पदयात्रा गरे । त्यसपछि ति सबैलाई जोड्ने मार्ग पहिल्याए । यो यात्रा पुरा गर्न करिब एक वर्ष लाग्ने उनको अनुभव छ । विश्वकै सबैभन्दा लामो पदयात्रा आफुले पत्ता लगाएको र त्यो नेपालकै भएको उनको दाबीपनि छ । त्यस क्रममा उनले जे भोगे, जे देखे नाथे २ घण्टा मैले सुनेर सुनेर के पुरा हुने ? मैले दुई घण्टामा उनको तिन दशकको अनुभव के खोतल्न सक्ने । तर दुइ घण्टा सुन्दा पनि म अचम्मित पर्थें ।

सबैभन्दा मुस्किल उनलाई सन् २००५ मा कर्णाली क्षेत्रमा भएको रहेछ । माओवादी जनयुद्द चुलिएको बेला । नेपाली सेना र माओवादी जनसेनाको दोहोरो भिडन्त । दोहोरो त्रास । नेपाली सेनालाई अप्ठेरोमा पार्न जनसेनाले भएका पुल सबै उडाइदिएका रहेछन् । कर्णाली नदी के बाट पार गर्ने ? पारी पट्टी पाँच मिनेटमा पुगिने ठाउँमा जान कहिले तिन चार दिन लाग्ने रे । तुईनको ब्यवस्था गर्दा रहेछन् माओवादीले । दिउँसो सामान्य तुईन लगायो, सानो हल्लिने पिर्कामा ट्यास्स पुठ्ठो अड्यायो । अनि जोखिम पूर्ण तरिकाले कर्णाली तर्यो । “ओहो त्यहाँ बाट खस्या भए त कहाँ पो पुगिन्थ्यो होला?” जिरिङ्ग जिरिङ्ग गर्छन् अझैपनि उनी ।

साँझ त नेपाली सेना गाउँ छिरेर उसको बितण्डा र अत्याचार रोक्नु पर्यो । आफ्नो क्रियाकलाप गर्नु पर्यो । के गर्ने त माओवादीले ? पुल ध्वस्त पारेपछि ति तुइनपनि साँझ झिकेर लैजाने रहेछन् । अनि ढुक्कै, यता न उता । जो जहाँ छ त्यहिँ बस । नेपाली सेनालाई कर्णाली पारीनै रोक । बाटोमा उनले नेपाली वालवालिकाको घौ कुहिएको, हात भाँच्चिएर उपचार नपाएको अनेकौं घटना देखेछन् । कति वालवालिकाको त्यस्तो हालत देख्दा उनले आफ्नै पैसामा जुम्ला हुम्ला सम्म ल्याएरपनि उपचार गरिदिएछन् । “हैन नेपालमा जिवनको मूल्य छैन कि क्या हो?” घरी घरी सोध्थे उनी मलाई । मान्छेले ज्यान त त्यसै फाल्दो रहेछ नेपालमा । भएका स्वस्थ्य चौकी कोहि खण्डहर भएका । कोहि निशानामा परेर “घर हुनु पर्छ पहिले” भनेर चिन्ने सम्म मात्रै । यदा कदा बाँकि बचेकामापनि स्वास्थ्यकर्मी छैन । स्वास्थ्यकर्मी हुँदापनि सरकारले सेवा र सुबिधा अनि औषधी बन्द गरिदिएको । किन त ? माओवादीले उपचार गर्छन् भनेर रे । माओवादीलाई उपचार गर्न के खाँचो सरकारलाई हैन ? ति नेपाली हुन् र ? बिद्रोही पो त । त्यसै मौलाएको हो र माओवादी बिद्रोह ?

उनी कतिदिन त एकलासे जंगलै जंगल हिँड्ने रहेछन् । मानव बस्तिबाट पुरै टाढा । निर्जन बस्ति । हिउँ, हिउँ पहिरो, खोलानाला र चराहरुको संसार । त्यस्तो ठाउँमा मुसुक्क मुस्कुराउने शेर्पा भरियासित टेन्ट गाड्यो । खोलाको सुस्साहट, चराको सुइय सुइय, हिउँको संगित, स्वच्छ हावाको झोक्कासित मिलेर बस्यो, रमायो । कहिलेकाहिँ बाटो बिराएर उनी बिमान कता ओरालो लाग्छ छ भन्दैनियाल्ने रहेछन् । बिमान ओरालो लागेतिर जाँदा गाउँ हुन्छ रे ।

करिब ६ हजार मिटरको उकालो हिँड्नु पर्दो रहेछ करिब तिन चार हप्ता । त्यो बेला त यति डरलाग्दो रे कि कहाँ टेक्ने हो कुनै मेसो, छनक नपाइने । सबै अनुमानका भरमा । दुई पटक उनले ईटालियन पर्यटकको लास देखेछन् लडिराखेको । हिउँमा पल्टिएका ति लासको बिजोक । उनीहरुले ढुँगा बटुल्ने रहेछन् । अनि ति लासमाथि टन्न ढुँगा चाँगेर छोडिदियो । “उफ् मान्छेको जिवन, कत्रो आसा र रमाइलो गर्न आएका हिउँमा लडेर बिजोक भाको छ” भन्दै मन अमिल्याएर हिँड्ने रहेछन् । ढुंगाको चाङ लगाएर सानो चिहान बनाइदियो हिँड्यो। मनको शान्ति न हो ।

जुका देखेर चाहिँ उनलाई अचम्मै लाग्ने रहेछ । हुलका हुल रे जुका त । माहुरीको गोलो झैं आउने रे हाँहाँहाँहाँ गर्दै । एक पटक उनी कर्णालीमा नुहाउन गएछन् । सेटो सुरुवाल लगाए । उनलाई उति वास्ता भएनछ त्यति हेरै जुकाले रामराज्य बनाइसके उनको शरिरमा भनेर । शेर्पाहरुले क्याम्प खडा गरेको ठाउँमा आइपुग्दा त पिसाब फेर्ने ठाउँ मुन्तिर सबै रगताम्मे । अनि गाइडहरुले सोधेछन् “लुक बेल्जियममा पुरुषहरुपनि महिनावारी हुन्छन् ?” अकमक्क परे लुक ।
कहाँ हुन्छन् ? के भन्छन् यीनीहरु ?
अनि तिम्रो त महिनावारी हुने ठाउँमै रातो न रातो छ त । सबै रगतले भिज्या छ त ।
यस्सो हेर्दा त सबै राताम्मे रगतले । मरिमरि हाँसे उनी ।

नेपालबाट यूरोपेली नागरिकले धेरै कुरा सिक्न सक्छ भनिरहन्थे उनी । नेपालको तारिफ खुब गर्थे । शहरका मान्छे बढि पैसामुखि र स्वार्थी हुँदै गएको अनुभवपनि सुनाए उनले । उनलाई अहिले हुटहुटी भनेको त्यो विश्वकै सबैभन्दा लामो पदमार्गलाई पहिचान गराउनु, सरकारद्वारा मान्यता दिलाउनु छ । त्यसलाई प्रवर्धन गर्न सके साहसिक यात्रा रुचाउने, विविध संस्क्रिति रुचाउने, प्रक्रितिका अनेक छटा चाख्न खोज्ने, एकलासे निर्ज ठाउंमा यात्रा गर्न रुचाउने, लामो समय भएकालाई समेत आकर्षित गर्न सैने उनको अनुभव छ । उनले त्यसको सप्रमाण, चित्र सहित, हरेक दिनको गतिबिधी, हरेक दिन बस्ने ठाउँको जानकारी सहित नेपल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयमा जानकारी दिएका छन् त्यसलाई पहिचान गरिदेउ भनेर । उनको यो प्रस्ताब गरेकै एक वर्ष भन्दा बढि भयो । तर गफाडी पर्यटन बोर्ड र सुताहा काम ठग कर्मचारी भएको पर्यटन मन्त्रालय न हो किन सुन्थे ? बिदेशीले सित्तैमा गरिदिएको त्यस्तो कामलाई सामान्य हेरेर के गर्नुपर्ने हो त्यत्ति फुर्सद र चासो पनि छैन । “कमसेकम जवाफ त दिन सक्थे । मैले गरेको त्यत्रो प्रस्ताबको जवाफ दिने चासोपनि लगाएनन्” दिक्क मान्दै थिए उनी ।

तपाइँको प्रतिक्रिया