नेपाली विश्व साईकलयात्री पुश्कर शाहको यात्रासंस्मरण

nepali-wprld-cyclist-pushkar-shah.jpgकंगोको ब्राजाभीलबाट दुलिसीसम्म रेलबाट जाने सल्लाह दिइन आन्दृयाले मलाई। यि दुई ठाउँको बिचमा साइकल चलाउनु निकै असुरक्षित रहेछ। ब्राजाभीलको बाहिरी भाग अझैपनि कङ्गोका बिद्रोहीहरुको नियन्त्रणमा रहेछ। त्यसैले मैले उनलाई विश्वास गर्नै पर्‍यो। गणतन्त्र कङ्गोका राष्ट्रपतीकी छोरी उनलाई थाह नहुने कुरै भएन। हिजोमात्रै उनी मसंग थिइन भन्ने संझदापनि आज कताकता अपत्यारीलोझैं लाग्छ। तिन घण्टा त उनी म संगै हिडिन ब्राजाभीलको सडकमा मलाई प्रथप्रदर्शककारुपमा बाटो देखाउँदै। उनैले ल्याइदिएको रेलको टिकट लिएर म त्यसबिहान रेल स्टेसन गएँ।

  म पुग्दा थुप्रै मानिसहरु रेल स्टेसनभित्र पस्न बाहिर पर्खिरहेका थिए। त्यतिबेला एक्कासी एकजना प्रहरी आएर मलाई भित्र पस्ने भने। त्यस बिहान त्यो रेल स्टेसनभित्र छिर्ने सायद म पहिलो यात्री थिएँ। वरिपरीका सबैले एकतमासले मेरो साईकल र मलाई नियालीरहे। किनकी म सबैभन्दा पछाडी आएर स्टेसनभित्र भने सबैभन्दा पहिले छिर्ने यात्री थिएँ। सायद सबैलाई यो को रहेछ भन्ने कौतुहलता लागेहोला। मलाई त्यसरि सुरुमै छिर्न दिएकोमा बिरोध गर्ने चाहिँ कोहिपनि भएन। त्यत्तिकैमा प्रहरीले “तपाई बस्नुस” भन्दै एउटा कुर्सि दियो। “दुवासली जाने रेल यहि हो”।  यती भनेपछि त्यो प्रहरीले मसंग पैसा माग्यो। हातको पार लगाएर मैले उसलाई एउटा पेय पदार्थ र दुई सय फ्र्यांक (संभवत तिन सय नेपाली) टक्र्याएँ।

   रेल आयो। रेल अतीनै थोत्रो थियो। संभवत त्यो रेल यो देश उपनीवेशहुँदाताकाको थियो। रेल हिँड्ने बाटोपनि उस्तै पुरानो। रेलको लिक घाँसले ढाकेको। त्यो देखेपछि यहाँबाट धेरै भएछ क्यारे रेल नहिडेको जस्तो लाग्यो मलाई।

यस्तै कुरा सोच्दासोच्दै एक पुरुषले रेलका डिब्बा सफा गर्दै गरेको देखेँ। थोत्रो रेल आफै एकदम अल्छी मानेजस्तो देखिन्छ। यो रेल तोकिएको समयमा हिड्ला जस्तो मलाइ लागेन। रेल हिड्ने भनेको समय ७ बजे हो। पौने सात हुनै लाग्यो तैपनि हिड्ने कुरै सुरसार छैन। रेलमा चढ्ने यात्रुनै स्टेसनभित्र छिर्न बाहिर लामलागेर पर्खिएका छन। रेल भित्र जम्मा एक जना यात्रुमात्रै छ। त्यो मै हुँ। एक्लो नेपाली साईकल यात्री। तैपनि रेलका डिब्बा सफा गरेपछि मानिसहरु भित्र पस्लान भन्ने म सोच्दै थिएँ।

  कती दिक्कलाग्दो देखिन्छ भने मानिसहरु भित्र पस्नै मारामार, ठेलम्ठेल गरिरहेका छन। मेरो पहिलो श्रेणीको टिकट थियो। त्यसैले म चाहि हतारमा थिइन। पहिलो श्रेणीको टिकट अलि महगो पर्ने हुनाले यो श्रेणीमा यात्रीहरु कम हुन्छन। एक्कासी रेलको कन्डक्टर मकहाँ आएर सोध्यो-तपाईसंग साईकलको टिकट छ ? म संग साईकलको टिकट थिएन। त्यसपछि साईकलको टिकट लिन मलाई उसैले सहयोग गर्‍यो। साईकल लगेर सामान राख्ने डिब्बा (लगेज स्टोर)मा राखिदियो। अनि मेरो पिछा गर्नुस भन्यो। उसंगै अर्को एक जनापनि थियो। मैले उसलाई पछ्याएँ। हिँड्दाहिँड्दै बाटो काटेर सानो भट्टी (बार) मा पसेर उसले तिनवटा बियर किन्यो मेरो लागिसमेत गरेर। यतिखेर बिहानको ७.३० मात्रै बजेको थियो। एकाबिहानै यसरि रक्सीखाने सायद कंगोली (कंगोका जनता) को संस्कृतीनै पो हो की! हामी रमाइलो मान्दै ८.३० सम्म त्यहि भट्टीमा बितायौं।

   बल्ल कन्डक्टरले रेलमा चढ्नुस भन्यो। हामी पहिलो डिब्बामा पस्यौं। भित्रपस्दा त खाली सिट कतै रहेनछ। केहि मान्छेहरु त सित नपाएर उभिएकासमेत थिए। रेल मानिसले नभएर सामानहरुले भरिएको थियो चारैतिर। तैपनि कन्डक्टरले मेरो लागि एउटा सिटको ब्यवस्था गरे एकजनालाई उठ्न लगाएर। बसिरहेको सिट छोड्नुपर्दा त्यो मानिस रिसायो। रिसले चर्को स्वरमा केहि भन्दै सिट छोडिदियो। अन्तत: नौ बजेर ५ मिनेट जादामात्रै रेल हिँड्यो।

  रेलभित्र थुप्रै मानिसहरु हल्ला गरिरहेका थिए। यस्तो हल्ला की त्यसले रेलको आवाजलाईनै मथ्थर पारेको थियो। एक घण्टाजति सुस्तले गुडेको रेल एउटा बिसौनी (स्टेसन) मा पुगेर टक्क रोकियो। यत्तिकैमा हातहतियारले सुसज्जित चार जना बिद्रोहीहरु रेलभित्र छिर्दै गरेको मैले देखेँ। मलाइ डर लाग्यो। कन्डक्टर कता छ भनेर आँखा डुलाएँ। उ वरिपरि कतै देखिएन। विद्रोहीहरु सबै २० वर्ष भन्दा कम उमेरका देखिन्थे। तिनले बोकेको बन्दुकचाहिँ ति आफुभन्दापनि बुढा देखिन्थे। तिनको हतियार वर्षौंसम्म माटोमुनी गाडेर भर्खरै बाहिर निकालेकोजस्तो देखिन्थ्यो।

  तिनको पहिरनपनि गतिलो थिएन। पुठ्ठामा दुल्का परेका जीन पाइन्ट लगाएका थिए। एक जना त झन नांगै खुट्टामा थियो। अर्को एक जनाले त यति थोत्रो चप्पल लगाएको थियो कि कुर्कुच्चा फाटेर भुईँमा माटो छुन्थ्यो। तिनले हाम्रो रेलभित्रका यात्रुहरुसंग पैसा उठाउन थाले। सबैले केहि न केहि पैसा दिएका थिए। अस्विकार गर्ने आँट त्यहा कसैको देखिएन। तिनीहरु पैसा उठाउँदै म कहापनि आइपुगे। मैले कति पैसा दिनुपर्ने भन्दै गोजीबाट थैली निकालेँ। एउटा बिद्रोहीले थैलीनै खोसेर भित्र हेर्‍यो। उसले भएको पैसाजति सबै लगेर रित्तो थैलीमात्रै फिर्ता गर्‍यो। मैलेपनि केहि भनिन। मैले वादविवाद गरेपनि त्यहाँ कसले सुन्ने हो र मेरो गुनासो ? हाम्रो डिब्बाबाट पैसा उठाएपछि ति अर्को डिब्बातिर गए।

  हुनत मैले बिद्रोहीहरु आफ्नै देशमापनि नदेखेको होइन। नेपाली माओवादी बिद्रोहीहरु देखेको छु। तर हतियारसहितका बिद्रोही देखेको मेरो यो पहिलो पटक हो। अर्को बिसौनीमा पुगेर रेल रोकिनासाथ ति चार बिद्रोहीहरु ओर्लेर नयाँ बिद्रोहीहरु चढे। तिनले एक अर्काको बन्दुकपनि साटासाट गरिरहेका थिए। त्यतिबेला मैले झ्यालबाहिर हेर्दै के थिएँ नयाँ बिद्रोहीहरु हामी बसेको डिब्बामा छिरे। एकजनासंग गफ गर्दै हात मिलाए। सायद तिनको एक अर्काबिच परिचय हुँदो हो। तर यसपटकका बिद्रोहीहरुले पैसा चाहिँ मागेनन। हाम्रो डिब्बामा नियालेपछि ति अर्को डिब्बातिर गए। यि बिद्रोहीहरुपनि त्यहि २० वर्षे उमेरका देखिन्थे। उस्तै आकृती , उस्तै भरोसा , उस्तै चालढाल। उहि पारा।  बिद्रोही बन्नु सौख होइन। यो तिनको बाँच्ने एउटै आधार हो। यस्ता बिद्रोहीहरु हरेक बिसौनीमा देखिन्थे। हरेक बिसौनीमा ति रेलभित्र पस्थे। डिब्बाभित्र निगरानी गर्थे। हेल्लो भन्थे अनी उत्रन्थे।

दिउँसोको तिन बजे रेल एक्कासी रोकियो। ड्याङ् ! ड्याङ् !! रेल बिसौनी वरिपरिबाटै बन्दुक हानेको आवाज आयो। मैले चाहिँ कताबाट आएको हो आवाज भनेर मेसो पाउन सकिन। कोही रेलको छतमा दौडिरहेको थियो। फेरि आवाज आयो ड्याङ्! ड्याङ्!! , ड्याङ्!!! यो आवाज एकातिरबाटमात्रै आएको थिएन। सबैतिरबाट गोली आइरहेका थिए। प्रहरी र बिद्रोहीहरुबिच हानाहान भएछ भन्ने मैले अनुमान गरे। बालबच्चा र महिलाहरुको रुवाबासी चल्यो। मानिसहरु सिटमुनि लुकिरहेकाथिए। मैले बिस्तारै झ्यालबाहिर हेरेँ। एकजना बिद्रोहीले लुकेर गोली हानीरहेको देखियो। एक जनाले चिच्याउदै मलाइ भन्यो “तिमीलाई मर्न मन लागेको छ ?” त्यसपछि म पनि सिट मुन्तिर लुकेँ। लगत्तै एउटा गोली मेरै सिट अगाडीबाट गएर रेलको सिसा झर्‍यामझुरुम पार्‍यो। त्यो देखेपछि बालबच्चा र महिलाहरु रुन थाले। ति निर्दोषकालागि कसैको सहानुभूतिसम्म देखिएन।

  आफ्नो घर, देश , परिवारबाट यति टाढा यो बिरानो मुलुकमा मर्नु ? अहँ, म यहाँ मर्न चाहन्न। कसैले मारे त्यो भिन्नै कुरा हो। तर “ईश्वर मलाई बचाउ” भनेर प्रार्थना गर्नुबाहेक अर्को उपाएपनि त छैन। अर्को एक घण्टाको लडाईँपछि एक्कासी शान्त भयो। रेलपनि बिस्तारै गुड्न थाल्यो। रेल आफै बिद्रोहीसंग डराएर सुरक्षितस्थल खोज्दै हिँडेजस्तो भान हुने! मैले टाउको बिस्तारै उचालेर झ्यालतिर हेर्ने कोसिस् गरेँ। बाहिर दुई जना बिद्रोहीहरु बन्दुकलाई सिरानी पारेर सुतिरहेको देखेँ। तिनको छातीबाट आलो रगत बगिरहेको थियो। मलाई थाह छैन अरु कति बिद्रोही र सरकारी प्रहरीहरु छरिएका थिए। मैले चाहिँ हामीलाई बचाएकोमा ईश्वरलाई धन्यावाद दिएँ। रेल चल्न थालेपछि बर्दिधारी एक प्रहरी हाम्रो डिब्बामा छिर्‍यो। हाम्रो डिब्बामा पहिल्यै एक जना प्रहरी छ भन्ने मलाई थाह थियो। तर उ भने बिनाबर्दिमा थियो।   अहिले बल्ल मैले अली आनन्दको महसुस गरेँ। झ्यालबाहिर प्रकृतीका सुन्दर दृश्य हेर्दै छु। साना पहाड, पहाडबाट खसेका साना खोला, हरियो जंगल , ससाना गाउँ त्यो पनि जंगलभित्रै। यहाँका बासिन्दालाई बाहिरी संसारको जानकारीनै छैन। उनीहरु यसैमा खुशि छन। यस्तो सुन्दर बस्तीमा मानिस किन खराब भएका होलान ? तिनले धरतीलाई प्रेम गर्ने हो भने धरतीले पनि तिनलाई प्रेम गर्दिहुन। म बुझ्न सक्दिन किन मानिस बन्दुकलाई प्रेम गर्छन। हुनत तिनले बन्दुकलाई जतिसुकै प्रेम गरुन न बन्दुकले तिनलाई प्रेम गर्ने होइन क्यारे! तैपनि तिनले बन्दुकलाईनै प्रेम गर्छन।   रातीको आठ बज्यो। रेलभित्र बत्तिसत्ती केहि छैन। पुरै अन्धकार। आकाशमा अर्ध चन्द्र देखिन्छ। नजानिँदो घुम्तिबाट रेल यसो मोडिँदा डिब्बालाई चन्द्रमाको प्रकाशले रिमरिम उज्यालो पार्छ। त्यसपछि उहि अँध्यारोको अँध्यारै। कन्डक्टरले हामीहरु दुलिसी नौ बजे पुगिन्छ भन्यो। दुलिसी पुग्नु अगाडी फेरि सरकारी बिद्रोहीहरुले चन्दा उठाउने रहेछन। ति बिद्रोहीले बत्ति (टर्च लाइट) बाल्दै आएर प्रत्येकसंग एकहजार फ्र्यांक मागे। म संग केहि नेपाली पैसामात्रै थियो। बिद्रोहीले बिश्वासै गरेनन। मेरो सिट छेउमा बसेकी एक महिलाले मेरो पैसाजति सबै बिद्रोहीहरुले पहिलेनै खोसेको बताइदिएपछि मात्रै बिश्वास गरे। तर तिनले मेरो नेपाली दश रुपियाँको एउटा नोट लिए। ति सरकारी बिद्रोही हुन।  गणतन्त्र कंगोका प्रहरी! एक्लो यात्रीपुश्कर ( यात्राको ९६ औ देश कंगोमा पुग्दा पुश्कर शाहले अंग्रेजीमा लेखेको एक दिनको डायरी ददि सापकोटाद्वारा अनुबाद।)  

तपाइँको प्रतिक्रिया