यो गोरेले हाम्रा कुरा सुनेर कम्निष्टेहरुलाई त लाइँदिँदैन ?
पुस्तक लेख्ने क्रममा एकदिन दिदी कल्पना घिमिरेसित भेट भयो । मैले पुस्तककालागि कस्ता कस्ता कुन कुन पात्र छाने भनेर दिदीलाई सुनाएँ । फ्रान्सेली भाषा र साहित्यमा नाम कमाएकि उनी । फ्रान्सेली भाषा र साहित्यको सेवा गरेबापत भनेर उनले फ्रान्सेली सरकारबाट पुरस्कारनै पाएकि । कल्पना दिदी नेपालमा चासो राख्ने फ्रान्सेली समाजमा राम्ररी भिजेकि मान्छे । केहि सुझावपनि माग्नुपर्यो भन्ने ठानें । दिदीले सुनाएका मध्ये अधिकांशसँगलाई मैले भेटिसकेको रहेछु । नभेटेकामध्ये एक थिए – फिलिप रमिरे । उनी फ्रान्सेली अनुसन्धान केन्द्र (सिएन आर एस) का समाजशास्त्री, अनुसन्धानदाता ।
अर्खाखाँची जिल्लामा बसेर त्यति बेलाको अर्थात सन् १९८६ तिरको राजनितिक चहलपहल, पञ्चायती निर्वाचन आदिको अनुसन्धान गरेका रहेछन । उनको अर्को विषय रहेछ त्यतिबेलाका कोटहरुको अध्ययन । उनको विषय सुनेको त अँ भाई, भेटौं क्यारे झैं लाग्यो । ईमेल लेखेर पठाएको उनैले फोन नंबर दिएर पठाए । उनैको कार्य कक्षमा भेटघाटको मिती तोक्यौं । उनको बारेमा अग्रिम जानकारी राखेकै थिएँ । कहाँ कहाँ गए उनी, के के अनुसन्धान गरे, कति किताब लेखे । कुन विषयमा दख्खल राख्छन आदि ईत्यादी । आफुलाई के के विषयमा चासो छ भन्ने कुरा सबै बताएँ उनलाई । प्रश्न उत्तर शुरु भो ।
फ्रान्सेली अनुसन्धानदाता भनेर के गर्नु ? त्यत्रो अनुसन्धानका क्रममा उनले कयौं मानिससित बातचित गरेकोले प्रश्नोत्तर गर्ने बानी त भैहाल्छ नी भन्ने सोचेरपनि नहुने रहेछ । उनलाई साँच्चै कुनै पत्रकारले प्रश्न सोध्न थालेपछि अलि असहज लाग्ने रहेछ । शुरुमै उनी खोइ, हिँ, मेरो त अन्तर्वाता दिने बानी छैन, के भन्नु र !! यस्तै भनेर कुर्सीमा यता र उती हल्का मडारिन थाले । सजिलो महसुस गरेनन । अनि मैले उनलाई अलि रमाईलो क्षणतिर लैजाने कोसिस गरें । आफुपनि अलि खुकुलो रुपमा प्रस्तुत हुन खोजें । एकदम रमाइलो कतातिर कहिले लाग्यो भनेर सोधें । उनले अर्खाखाँचीमा चुनाव लागेका बेला खुबै रमाईलो मानेका रहेछन । ल त्यहि विषय सुनाउनुस भनें । उनी मुस् मुस् मुस् मुस् गरे । थाह भयो, साच्चिकै कुनै रमाईलो पाटो छ भन्ने । सुनाउनुस सुनाउनुस भनें ।
फ्रान्सेली खुला समाजमा हुर्केको त्यो बेलाको २४, २५ को ठेट्ने केटो । जुरेलीको रौं जस्तो कपाल माथि फर्काएर हिँड्ने उमेर । फ्रान्सेली रातो वाईन जिब्रोमा गडेको । त्यहि उमेरका ठिटा ठिटी मिलेर ताहुर माहुर गर्दै हिँड्ने बेला । कुखुरा, रक्सी र च्वाँचे उनाकोलागि पुरेतको जलजस्तो नियमित भोजन । तर उता अर्घाखाँची भने बाहुनै बाहुनको बस्ती । उनको रगतमा जे भिजेको छ, जिब्रोमा जे गडेको छ त्यहि छुनसम्म नहुने । जात त जाने तर कहाँ कसरि जाने ? त्यो जात के गर्दा जाने, के गर्दा आउने ? हेर्दा सबैको शरिर उस्तै छ, कसरि छुट्याउने को हो कामी, कोहो दमाई ? हिमाल भन्ने सुनेका । भिरालो भन्ने जानेका । तर कहिल्यै नभोगेका । जे जानेका, परेका भोगेका छैनन उता त्यो मात्रै छ । यस्तै परिस्थितिमा कतै हराए हराएकै अवस्थामा पुगेछन उनी अर्घाखाँची ।
चुनावको बेला अचम्मै हुने रहेछ रे । पञ्चायती राजको बेला । चुनावमा उम्मेरदवार जती नाम लेखाउँदा सबै पञ्च । तर भित्र भित्र ति सबै कि त कांग्रेस, कि मशाल हुने रहेछन । पञ्चायतले दिएको चिन्ह कुनै रोज्यो अनि लाग्यो त्यसैको बिरुद्दमा । उनलाई त्यो निकै चाख लाग्दो रहेछ । ए रात्तै !! गाउँमा हेर्यो कोहि कांग्रेस छन त कोही मशाल । अनि प्रधानपञ्च र उपप्रधानपञ्च हेर्यो सबै पञ्च जस्ता । पञ्चायतकै सरकारमा छन ती । अरु बेला गाउँमा पञ्च जस्तो कोहि देखिँदैन । होइन के हो यस्तो ? अचम्म परेछन उनी । ढिलो मात्रै बुझेछन उनले कि पञ्चायती राजमा त्यसैको उपयोग गरेर छिर्ने, चुनाव जित्ने र त्यहि ब्यवस्थालाई नंग्याउने । नगर पञ्चायतको चुनावमा जितेर गाउँलेका काम गर्ने र आफ्नो पार्टीलाई लोकप्रिय बनाउने ।
फिलिपले सुनाएछन म त राजनितिका बारेमा अनुसन्धान गर्न आएको भन्दै । जति चुनाब नजिकियो उति चहलपहल । पञ्चेहरुका पनि उतिनै फाइँफुट्टी बढि । नारा र जुलुस । भागा भाग । दौडा दौड । कता जाने त्यो फ्रान्सेली ठिटो ? उनी बसेका रहेछन एक जना शिक्षकको घरमा । मास्टर साप परेछन मशाल । कम्निष्टेको घरमा बसेको यो गोरे ? उनलाइ केहि कांग्रेसीहरु कम्युनिष्टको समर्थन गर्ने रहेछ क्यारे यो गोरे त ! ठान्ने रहेछन । जुलुस हुन थालेपछि उनी कांग्रेसीको तिरपनि गए । ए, यो गोरे त हामीतिरपनि आउँछ बा ! के गर्न खोज्यो यसले ? यो मोरोले हाम्रा कुरा सुनेर उता कम्निष्टेहरुलाई त लाइँदिँदैन ? कांग्रेसीले सोचे । कमश:
(उनी हाम्रो प्रकाशोन्मुख पुस्तकका एक पात्र हुन । यिनले देखे, भोगेका र अनुसन्धान गरेका धेरै पक्षमध्ये एउटा सानो भागलाई मात्रै उधिनेर यो ब्लग लेखिएको हो। उनले देखे भोगेका र फेला पारेका महत्वपूर्ण पक्षबारे राम्ररी थाह पाउन हाम्रो प्रकाशोन्मुख पुस्तकको प्रतिक्षा गर्नुहोला-ददि सापकोटा) ।




