खगेन्द्र दाई सितको भेटका केहि संझना
(खगेन्द्र संग्रौला र पत्रकार बिनोद ढुंगेल)
मैले झण्डै किताब लेखेर भ्याइसकेको थिएँ । अनि पिरलो लाग्यो, अब के र कुन विषयको किताब लेखौं । मसित तिन बिकल्प थिए-अहिलेनै लेखेको किताबको दोस्रो भाग । विशिष्ठ फ्रान्सेलीहरुको नेपाल अनुभवबारे । दोस्रो थियो- चराको जिवन र क्रियाकलापलाई अलि साहित्यिक स्वाद दिएर एउटा उपन्यास लेख्ने । कि त समग्र जिवजन्तुको प्रेम जिवनबारे पुस्तक । यि तिन मध्ये कुनैपनि पुस्तक लेखनकालागि म तयार थिएँ । तर कुन लेख्ने त निर्णय गर्न गाह्रो भो । अब अर्को किताब लेख्नुपर्ला भन्ने लागेपछि नेपाल एफ एमका साथी बिनोद ढुंगेललाई सुनाएँ तिन वटै बिकल्पबारे । मेरो पहिलो किताब पन्छि जगतपनि उनैले सम्पादन गरेका थिए जुन निकै लोकप्रिय पनि भयो ।
निर्णय गर्न गाह्रो भएपछि गर्ने के त ? नेपालको कोहि न कोहि चर्चित उपन्यासकार, लेखकलाई भेटेर सुनाउँ अनि तिनको सुझाब लिउँ-भने बिनोदले । सल्लाह ठिक लाग्यो । त्यसो भए कसलाई भेट्ने त ? खगेन्द्र संग्रौला सबैभन्दा बिक्ने लेखक । झण्डै सबै बिधाका किताब लेखिसकेका । मैले हल्का चिनेको पहिलेनै । बिनोदजीसँग गतिलो दोस्ति रहेछ । एक दिन दारुपानी खाने गरि बसौं । बुढापनि लगाउँछन दारुपानी । त्यसो गरियो भने अलिबेर रमाइलो गफ सुन्न पाइन्छ बुढाको । साथी बिनोदले म मिलाउँछु भनेकोले त्यो जिम्मा उनैको भयो ।
बिनोदले फोन गरेछन तर बुढा चितवन गएको बेला परेछ । तैपनि “एकजना खासगरि चरामा दखल भएको साथीले यस्तो उपन्यास स्रिजना गर्न खोज्नु भएछ । दाईसित यसो बिचार आदानप्रदान गर्न भनेर” भनेपछि खगेन्द्र दाईले “ओ हो यार त्यो त बडा राम्रो विषय हो, बडो नौलो, नितान्त नौलो नेपालको लागि” भनेछन ।
सोचेको भन्दा अलि पछि एक दिन निश्चित भएछ । पाँच बजेतिर गइयो बुढालाई भेट्न । परिचयलाई तिखारियो । चाबहिल बस्छन भन्ने थाह थियो तर यहिँ भन्ने थिएन । सिपी मैनालीको दरबार हेर्दै खगेन्द्र दाई फुच्चे घरको पिँढीमा बसेका रहेछन । चुरोट त मजैले तुन्काउँदै रहेछन मनका तन्नेरी बुढा । “दाई ल गफ सुनाउनुस” बिनोदजीको आग्रह झर्नासाथ बुढाले शुरु गरे राजनितिक गफ ।
सिपी मैनालीको घरपनि यतै वरिपरि होइन र दाई ? भनेर सोध्यौं हामीले । अनि त बुढाले शरिर तनक्क तन्काईहाले नी फिस्स हाँस्दै । सिपी मैनाली त्यतिबेला मुख कोच्याक्क कचौरा जत्रो पारेर हिँडेको छ, भने दाईले । किन रहेछ दाई ? जिज्ञासा राखियो । उनी परे छिमेकी । हावापनि वल्लोपल्लो घरमा त छ्यासमिस भइनै हाल्छ । सीपी मैनालीको दाउ रहेछ आफ्नी पत्नीलाई मन्त्री बनाउने । प्रचण्डकहाँ धाउनु धाएछन सिपीले । नंग्रा भाँचिएको, दाह्रा लुछिएको लम्पसार पर्ने बेला भएको बुढो बाघ जस्तो सीपीलाई के पुछ्ने अहिले प्रचन्डले । पहिले थुम्थुम्याएछन बिरालाले मुसा खेलाएझैं सीपीलाई आश्वान दाहालले। पछि सकिन्न कामरेड भनिदिएपछि सब चईट !!! रातो झण्डा हल्लाउँदै पत्नीसित सयर गरौंला भन्ने दाउ बलेसीको फोको झैं झिरिप !! अनि त प्रचण्डले मलाई धोका दियो भन्दै बर्बराउन थालेछन सीपी । गाउँले भेट्दापनि त्यहि सुनाउने होला ।
घर त दरबारै रहेछ सीपीको । खगेन्द्र दाई हामीलाई “म जिन्दगीभरि आफ्नो काम गरेको, ब्यक्तिगत सम्पत्ती कमाउन लागेको, मेरो सबै परिवारले पारिवारिक स्वार्थकालागि काम गर्ने । मेरै घर यस्तो यार । तर त्यो सीपी जनताको राजनिति गर्ने, सुकुम्बासीको नेता, जनताको सेवा गर्न हिँडेको कम्युनिष्ट नेताको त्यत्रो महल यार” भन्दै खुब रोचक पाराले सुनाउँथे ।
हामीले भेटेकै दिन बिहान खगेन्द्र दाईसमेत एक दर्जन बुद्दीजिवीले प्रधानमन्त्री प्रचण्डसित भेटेका रहेछन । माओवादी अर्को एमाले होस, त्यो भन्दापनि खराब नहोस भन्ने आशा ब्यक्त गरें प्रचण्डका सामु, भन्दै सुनाए उनले । कतै नसुनेको कुरो पर्यो । बुझ्न मुस्किलै पर्यो । किन र दाई ? जिज्ञासा छर्कियौं । बुढाको ब्याख्या गर्ने पारा, भाषा र हाउभाउ नै मजा लाग्ने । यसो रोकिएझैं गरे। ढुकुर जत्रो शरिर यस्सो कुर्सीमा घुमाए । एक सर्को चुरोट फ्याँस्स पारेका बुढाले तर्क राखे-कम्प्युटर अपरेटरका नाममा छोरो अमेरिका लाने । त्यस्तै अनेक नाम र बहानामा आफ्ना मान्छे भर्ति गर्ने बिभिन्न ठाउँमा । चिल्ला गाडी चढ्ने । अनेक सुबिधा लिने । यो सब एमाले पथतिरको पारा हो भनें यार मैले त, सुनाए उनले । असन्तुष्टी र कमिकमजोरी भटाभट हाकै भनिदिएछन बुढाले प्रचण्डलाई । प्रचण्डले टाउको हल्लाइरहे रे प्रतिवादलाई त दुई चार कोस परै राखेर । “गाली गर्यो गर्यो बोल्दैन, यो चतुरे प्रचण्ड” भने बुढाले ।
माओवादीका नेता मोहन बैद्द जति बोल्यो उति पार्टीलाई घाटा हो भन्थे उनी । प्रत्येक पटक बोल्दा कम्तिमा १० पटक घाटा । बोलिरहे घाटै घाटा रे । सरकारमा बसेर प्रतिपक्षको भाषा बोल्न त मिलेननी भन्छन् खगेन्द्र दाई । बाबुराम भट्टराईको चाहिँ बुढाले प्रशंसा गरे है । माओवादीमा बौद्दिक जमात कोहि छैन । त्यहि बाबुरामले ईज्ज्त धानी दिएका छन । बाबुराम माओवादी पार्टीकै शोभा हुन भन्दै थिए उनी । बाबुराम भट्टराईलाई देखेरपनि धेरै मानिस माओवादी वा कम्युनिष्ट बनेका रहेछन । खगेन्द्र दाईको हेराईमा पढेलेखेका धेरै मानिस कम्युनिष्ट आन्दोलनमा लागेका रहेनछन । बाबुरामको स्तरका त झन छैनन रे । बाबुरामलाई देखेर पनि ए ! पढे लेखेका मानिसपनि कम्युनिष्ट बन्ने रहेछन भन्ने सोचाईको विकास भएको छ रे । बाबुराम नभए माओवादीमा बौद्दिक जमातको संक्ट हुन्छ भन्छन उनी ।
त्यतिबेला बजेटको चर्चा थियो जतापनि । भर्खरै सार्वजनिक भएकोले होला सायद । बजेट धेरै महत्वाकांक्षी भयो भनेर आलोचना गर्नेहरु थुप्रै रहेछन । अनि खगेन्द्र दाईलाई त्यो चित्त बुझेनछ । उनलाई चाहिँ के लाग्ने रहेछ भने मानिसस्वयं महत्वाकांक्षी प्राणी भएकाले बजेट महत्वाकांक्षी हुनु स्वाभाविक हो । “अरे यार, महत्वाकांक्षानै नभए त मान्छेको जिवनको सार्थकता नै के रह्यो र ?” हल्का जोसका साथ किटान गरे बुढाले । जिवनमा महत्वाकांक्षानै नभए, बैराग्य र निराशा मात्रै हुनेले त आत्महत्या गर्छ नी !
मान्छेलाई आश्वासन बाँड्न चतुर, आश्वासन दाहाल भनेर चिनिन लागेका प्रचण्ड चाहि कस्तो लाग्ने रहेछन यिनलाई ? बुढाले सलाईको बट्टा ताने । सिखरेट बट्टाबाट एउटा फुत्त झिकेर सल्काए । एक डोज स्वाट्ट मारेर दलिनतिर धुवाँ फुस्काएका बुढा रफ्तारमा अगाडि बढे । प्रचण्ड एकदम चलाख यार । हो र दाई ? उँहुँ, आम्मै, एकदम, भने । प्रचण्ड अरुलाई मिलाएर जान सक्ने नेता रहेछन । भारतियहरुसँग हेर्नुस त, सन् १९५० लगायतका सन्धि संझौताबारे स्पष्ठ कुरा अरु कुन नेताले राख्न सकेको थियो ? भने उनले । त्यस्तरि भारतिय नेतासित आफ्ना कुरा राख्न सक्ने अहिलेसम्मकै स्पष्ठ नेता रे ।
केहि गर्ने आँट र उत्साह भएको नेताका रुपमा मानेका रहेछन् प्रचण्डलाई । उनको बुझाई कस्तो पनि रहेछ भने प्रचण्डको प्रस्तुती र आफ्ना कुरा राख्ने स्पष्ठ अडान देखेर भारतियलेपनि प्रशंसा गरेका थिए भन्ने । प्रचण्ड सबैलाई सबैथोक दिन सक्ने खुकुलो नेता । जो जान्छ र माग्छ उसलाई हुन्छ, हस भनिदिने । तर पछि दिन नसक्दा आलोचित बन्ने रहेछन रे । भेटघाटका लागि चाहिँ असाध्यै सजिला नेता रे प्रचण्ड । हामीले उनलाई १६ नोभेम्बरमा भेटेका थियौं । त्यसदिन बिहान भेट्दापनि केहि गर्ने द्रिढ ईच्छा देखिन्थ्यो प्रचण्डमा भन्थे खगेन्द्र दाई ।
(बाँकि अर्को हप्ता ) ।





