मान्छेलाई खान्की छैन गिद्दलाई रेस्टुरेन्ट !
-रुपेन्द्र कर्माचार्य (तस्बिर र आलेख दुबै)
पिठौली, नवलपरासी
मान्छे खान नपाएर मर्न लागे गिद्दलाई रेस्टुरेन्ट ? सुन्दै टाउको तात्ने कुरा । रेस्टुरेन्ट मानिसकोलागि नभई गिद्धको लागि भन्दा अचम्म लाग्दैन त ? तर के गर्नु खोलिएको छ गिद्दकालागि रेस्टुरेन्ट, नवलपरासी जिल्लाको पिठौलीमा । अनि नाम राखिएको छ “जटायु रेस्टुरेन्ट“। मान्छेकालागि निषेध त्यो रेस्टुरेन्टमा गिद्दहरु टाउको मर्काउँदै, भूँडि पल्टाउँदै मस्तीले आहारा खान्छन । मान्छेहरुले चाहिँ हेर्ने । खान त पाउनु छैन अझ हेर्नेपनि टाढैबाट लुकेर ! तर गिद्द रेस्टुरेन्टमा गिद्दलाई खाना खोजेर ल्याइदिने चाहिँ मान्छे नै हुन है फेरि । मान्छेले खोजेर ल्याएर राखिदिने अनि गिद्दहरुले खाने । खानापनि चानचुने हो र ? मान्छे आफु बरु गुन्द्रुकको झोल र रायोको साग खाएर बस्छ । तर गिद्दलाई भने मासु खुवाउँछ । खुवाउनेपनि एक दुई किलो हो र ? सारा गाउँ चहारेर भैसी वा गोरु ल्याउने अनि गिद्दलाई सिंगै दिने । सजिलो कति भने तिनलाई टेबल सजाईदिनपनि नपर्ने । नत राख्नु पर्ने प्लेट । न दिनुपर्ने काँटा र चम्चा । न मुख्न पुछ्न माग्छन तिनले नेप्किन पेपर । भूईमै छोडिदियो आएर सिधै मुख गाड्न थाल्छन धमाधम ।
हो त्यो जटायु रेस्टुरेन्टमा मानिसले पस्केका मृत गाइवस्तुको सिनो खान पाउँछन् गिद्दले ।
दूर्लभ र लोपोन्मुख गिद्ध प्रजातिहरुको संरक्षण, अध्ययन र अनुसन्धान गर्नकालागि त्यहाँ यस्तो रेस्टुरेन्ट खोलिएको हो । तपाईहरुलाई लाग्ला, आकाशमा स्वतन्त्रपूर्वक उड्ने गिद्दलाई किन चाहियो रेस्टुरेन्ट ? मान्छे बहुलाएर कि पैसा कहाँ फालौं फालौं भएर ? वास्तबिकता त्यसो होइन ।
पहिले प्रशस्त देखिने गिद्धहरुको संख्या विगत एक दशकमा एसियाबाट अप्रत्यासित रुपमा घटेर लोपोन्मुख अवस्थामा पुगेपछि चिन्ता थपियो-प्रक्रितिका यि सुन्दर रचनालाई कसरि संरक्षण गर्ने त ? गिद्दका प्रमुख आहारानै म्रित गाइ भैसीं हुन । घरपालुवा जनावरमा प्रयोग हुने डाइक्लोफेनेक नामक औषधीको असरले गिद्धहरु मासिएको भन्ने कुरा वैज्ञानिक परिक्षणबाट थाहा भयो । त्यस्तो औषधी मिसिएको जनावर खाएपछि गिद्द भकाभक मर्न थाले ।
गिद्दलाई त्यस्तो विष नभएको आहारा कसरि जुराउने त ? सन् २००७ मा नमूना मध्यवर्ती सामुदायिक वनमा स्थापित जटायु रेस्टुरेन्टमा वरपरका गाउबाट ल्याइएका बृद्ध गाइवस्तुहरु किनेर गौरक्ष केन्द्रमा पाल्न थालियो ।
परिक्षण गर्दा तिनीहरुमा डाइक्लोफेनेक प्रयोग नभएका पाल्तु जनावर मरेपछि तिनको छाला काढेर गिद्दलाई दिन थालियो । पंक्षी संरक्षण संघको प्रयास, सामुदायिक वन समितिहरुको सहभागिता र अन्य दातृ संस्थाहरुको आर्थिक सहयोगमा गिद्ध सम्बन्धी अध्ययन र अनुसन्धान गरी यो अवधारणा ल्याइएको हो । यहाँ बाहेक रुपन्देहीको गैडहवा ताल र दाङको लालमटियामा मापनि यस्तै गिद्ध रेस्टुरेन्ट सञ्चालन भैरहेको छ ।
“पहिले कुकुरले सिनो खान थाल्छ, त्यसपछि मात्र वरपरका रुखहरुबाट गिद्धहरु एक एक गर्दै आउछन् ।” स्थानिय पथप्रदर्शक (नेचर गाइड) इश्वरी चौधरी भन्नुहुन्छ । हामी त्यहा पुग्दा कुकुरले सिनो खाइरहेको थियो ।
एकछिन पछि गिद्धहरु तल झर्न थाले । पहिले त कुकुरले गिद्धहरुलाई लखेट्न थाल्यो । तर, गिद्धहरुको संख्या बढी भएपछि तिनीहरुले कुकुरलाई धपाएर सिनो लुछ्न थाले ।
सयौंको संख्यामा आएका ति गिद्धहरुले मासुको एक चोक्टाकोलागि एकआपसमा घम्साघम्सी, तानातन, लुछाचुडी गरेको त्यो दूर्लभ दृष्यले सबैलाई रोमान्चित गरिरहेको थियो ।
५ प्रजातिका लगभग १ सय ११ वटा गिद्धहरुले सिंगो भैसी १०–१५ मिनेटमा नै स्वाहा पारे । जटायु रेस्टुरेन्टको स्थापना पश्चात गिद्धहरुको संख्या र प्रजातिमा पनि बृद्धि भएको रहेछ । “नेपालमा पाइने ८ प्रजाति मध्ये लामागर (खैरो घाटी, लामो र चुच्चो पुच्छर भएको) बाहेक अरु सबै यहा पाइन्छ ” प्रफुल्लित मुद्रामा देखिनुभएका कार्यक्रम सहसंयोजक डि.बि. चौधरी भन्नुहुन्छ । ह्वाइट रम्प्ड भल्चर (पखेटा मुनी सेतो भएको), राजगिद्द (रेड हेडेड भल्चर) र स्लेण्डर विल्ड भल्चर (कालो टाउको) रैथाने रुपमा बस्छन् भने अरु गिद्धहरु निश्चित अवधीको लागि वसाइ सरेर आउँछन् । रेस्टुरेन्ट स्थापना गर्नु अघि यस क्षेत्रमा गिद्धको गुडहरु १७ वटा मात्र थिए । अहिले बढेर करिव ६६ पुगेको कुरा स्थानिय नेचर गाइड राधिका भुसालले बताउनुभयो । यसमध्ये एउटा गुड स्लेण्डर विल्ड भल्चरको हो भने बाकी सबै ह्वाइट रम्प्ड भल्चरको हो । गिद्धहरुले सिनो खाइरहेको दृष्यावलोकनको लागि टावर पनि बनाइएको छ । टावरबाट गिद्दको भोज हेरियो ।
कति गिद्दको भोज मात्रै हेर्ने भनेर हामी नजिकैको जंगल वरिपरि यसो अन्य प्रजातीका पन्छी र वन्यजिवन नियाल्न थाल्यौं ।
थप जानकारीको लागिः
जटायु रेस्टुरेन्ट, पिठौली–५, लौखानी
नवलपरासी, फोनः ०७८ ६९२५६८ ।