कसरि बनाउने एन आर एनलाई आफ्नो र राम्रो संस्था ?

देवमान हिराचन / प्रमुख संरक्षक, गैरआवासीय नेपाली संघ

विदेशमा बसेका नेपालीले प्राप्त गरेको ज्ञान, शिप, सम्पती र अनुभवलाई नेपालको विकास र पुर्ननिर्माणमा लगाउनुका साथै विदेशमा बसेका नेपालीको पिरमर्का र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघको स्थापना गरिएको सबैलाई अवगत नै छ । हामीहरुले संस्थाको स्थापना कालदेखि नै नेपालको शान्ति, विकास र पुननिर्माणमा लाग्ने प्रतिबद्धता जनाएका थियौ । सुन्दर, शान्त र समुन्नत नेपालको साझा सपनामा जन्मिएको यस संस्था आज पनि यही अठोट लिएर अगाडि बढनु पर्छ र बढीरहेको पनि छ ।

हामीले बिदेशमा रहेका नेपालीको सुरक्षाको कुरा पनि बारम्वार उठाउँदै आएका छौं । दुवईमा भएको पाँचौ क्षेत्रीय सम्मेलनमा हामीले सामुहिक लगानी र सुरक्षित आप्रवासनको नारा मुख्य रुपमा उठाएको थियौ । आज पनि हामीले सुरक्षित आप्रवासनको समस्यालाई समाधान गर्न कुटनीतिक नियोगसँग पहल गरिनु पर्छ भनेर आवाज उठाउँदै आएका छौ । ठूलो संख्यामा बिदेशिएका नेपालीको समस्या निराकरणका लागि गैरआवासीय नेपाली संघले सरकारलाई बारम्वार सुझाब दिँदै आएको छ । यस्ता समस्यालाई निराकरण गर्न सरकारलाई गैरआवासीय नेपालीको नयाँ नेतृत्वले दबाव सिर्जना गर्नुपर्छ । यसले बिदेश स्थित नेपालीका माझमा अभियानकै रुपमा तरङ्ग पनि ल्याउनु पर्छ ।

एनआरएनको पहिलो काम भनेको विश्व भरि छरिएर रहेका नेपालीहरुलाई सुरक्षित गर्नु हो । एनआरएनको नयाँ नेतृत्वले मध्यपूर्व र मलेसियामा काम गर्न गएका नेपालीको सुरक्षामा ध्यान नदिएको गुनासो केही साथीहरुबाट सुन्न आएको छ । सुरक्षालाई विशेष ध्यान दिनु पर्छ । बास्तवमा त्यहा कार्यरत रहेका नेपालीको सुरक्षाको समस्या अन्य देशको तुलनामा बढी नै छ । यो समस्यालाई समाधान नगर्ने हो भने दीर्घकालिन रुपमा यसले असर पुर्‍याउँछ ।   

एनआरएन स्थापना भएको एक दशक भएको छ । लामो समय हुदाँ पनि एनआरएनको दर्ता प्रक्रियाले मूर्तरुप लिन सकेको छैन । संस्थादर्ता एनआरएनको विधान अनुसार हुनुपर्छ । हाम्रो विधानमा सार्क मुलुक बाहेक १ सय ८३ दिन नेपाल बाहिर बसेको नेपालीलाई एनआरएन भनिएको छ । त्यसैलाई आधार मानेर एनआएनको परिभाषा गरिनु पर्छ । अन्यथा मध्यपूर्व र मलेशियामा रहेका धैरै साथीहरु एनआरएनको मूल प्रवाहबाट बाहिर रहन सक्छन । यो कुरालाई ध्यान दिनुपर्छ । उनीहरुलाई समेटन सकियो भने हामीले सोचेको एनआरएन हुन सक्छ ।

हाम्रो यो संस्था मुनाफा कमाउने उद्देश्यले स्थापना भएको होइन । यस संस्थामार्फत कसैले नाफा कमाउने उद्देश्य राख्छ भने त्यो सरासर गलत हुने छ । एनआरएनको नयाँ नेतृत्वमा पुगेका साथीहरुले पद्दती बसाल्ने र बनाउने हो । फूलको मालामा सबै फूल अटाए जस्तै हाम्रो यस संस्थामा सवै एनआरएन अटाउनु पर्छ । यो संस्थामा प्रवेश गरिसकेपछि धर्म, वर्ग, लिंग, जातजाति, क्षेत्र र समुदायका अधारमा भेदभाव गरिनु हुँदैन र गरिएको पनि छैन । नेपालीको साझा फूलबारीको रुपमा गैरआवासीय नेपाली संघले आफुलाई स्थापित गर्दै लानुपर्छ । हामी माझ सुदृढ, समावेशी र अझ सक्षम बनाउने चुनौती थपिएको छ । यसलाई समयमै समाधान गर्नतिर लाग्नु पर्छ ।

नेपालमा बसोबास गर्दै आएको करिब पौने तीन करोड नेपालीले दैनिक ९ घण्टका दरले लोडसेडिङ्गको मार खेपिरहेका छन । नेपालमा प्रयाप्त मात्रमा जलविद्युत आयोजनाको निर्माण हुन सकेका छैन । जलविद्युत आयोजना निर्माण गर्नको लागि धेरै रकमको आवश्यक छ । यति ठूलो लगानी लगाउँदा पनि तत्काल आयोजना बन्न सकेको छैन । हाइड्रो पावरको निर्माण सम्पन्न गर्नका लागि कम्तिमा ८/१० बर्ष लाग्दछ । त्यस्तो आयोजनाबाट प्रतिफल प्राप्त गर्नका लागि २८/३० बर्ष लाग्दछ । त्यति लामो समय धैर्यता गर्न सक्ने एनआरएनहरु कमै छन । विद्युत आयोजना निर्माण गर्नका लागि कम्मर कसेका साथीहरुले पनि यो कुरा प्रष्ट बुभ्नुपर्छ । आयोजनामा लगानी लगाउन अनुरोध गर्नेले पनि यो कुरा स्पस्ट पारिदिनु पर्छ । हामीले केवल पैसालाई मात्र लगानीको रुपमा लिएका छौ । बुद्धि, शिप र अनुभवको आदान प्रदानलाई पनि लगानीका रुपमा लिनुपर्छ ।

गैरआवसीय नेपाली संघका अनगिन्ती मुद्दाहरु मध्ये दोहोरो नागरिकता प्रमुख समस्याको रुपमा रहेको छ । दोहोरो नागरिकताको प्रश्न बारे सरकारले आफ्नो स्पष्ट दृष्टिकोण छिट्टै ल्याउनु पर्छ । यसबारे थुप्रै प्रश्नहरु उठेका छन् । दोहोरो नागरिकताले ल्याउने चुनौती र समस्याका बारेमा बहस गरी एउटा निष्कर्षमा पुग्नु जरुरी छ । नयाँ संविधानमा एक पटकको नेपाली सधैको नेपाली भएकोले अन्य मुलुकको नागरिकता लिँदा नेपाली नागरिकता खारेज हुने अहिलेको कानुनी प्रावधानलाई बदल्नेतिर लाग्नु पर्ने छ । यसका लागि संविधानसभा र सम्पूर्ण राजनीतिक दलहरुलाई दवाव दिनु आवश्यक छ । कुनै पनि देशको जन्मसिद्ध नागरिकले आफ्नो मातृभुमिको नागरिकता त्याग्नु पर्ने अवस्था सिर्जना गर्नु  प्राकृतिक नियमको आधारले पनि ठिक हुँदैन । मातृभूमि प्रतिको भावनात्मक प्रेम कायम राखी देश प्रतिको लगाव एवं लगानीमा आर्कषित गर्न पनि  दोहोरो नागरिकता प्रदान गर्नु पर्छ जुन विषय हामीले शुरुदेखि नै उठाउँदै आएका छौ ।

गैरआवासीय नेपालीले नेपालमा लगानी लगाउनु पर्छ । त्यस्तो लगानी केवल पूँजीको मात्र होइन, वुद्धि र शीपको पनि लगाउन जरुरी छ । नयाँ नयाँ शीप र प्रविधिहरु नेपालमा भित्र्याउन सकियो भने पनि नेपालको विकास हुन सक्छ । परम्परागत रुपमा गरिने कृषिलाई आधुनिक तौर तरिकाबाट गर्न सकियो भने उब्जनी बढन सक्छ । यसैगरी आधुनिक तरिकाबाट बाख्रा, गाई, सुगुर र बुगुर पालन गर्न सकियो भने त्यसले राम्रै आम्दानी दिन सक्छ । मलेसिया, कोरिया तथा मध्यपूर्वबाट नेपालमा फर्केका नेपालीले आज नेपालमा आधुनिक तरिकाले पशुपालन तथा कृषिको काम गरेका छन । विदेशमा सिकेको शीप नेपालमा लगाएर पनि देशको मुहार फेर्न सकिन्छ भन्ने उदाहरण उनीहरुले दिएका छन ।

गैरआवासीय नेपालीको सामुहिक उत्साह र ऊर्जालाई देशको हितमा सहि रुपमा लगाउनु पर्छ । यसले नेपाली समाजको आर्थिक विकासमा उल्लेखनीय योगदान हुने कुरामा कुनै शंका छैन । मातृभूमि समृद्धि नभएसम्म गैरआवासीय नेपालीको व्यक्तिगत समृद्धिले मात्रै खासै अर्थ राख्दैन ।

एनआरएन संस्था कुनै व्यक्तिको होइन । कुनै व्यक्तिले भजाएर खान पनि हुँदैन । यो संस्था मेरो हो भन्ने होइन कि हाम्रो हो भन्ने भावनाको विकास हुनुपर्छ । एकले अर्कालाई आदर गर्न जान्नु पर्छ । अरुलाई आदर गरियो भने आफूले पनि उनीहरुबाट आदर पाउन सकिन्छ । जस्तो बिउँ रोपिन्छ त्यस्तै फल फल्छ । हामीले जस्तो व्यवहार गर्छौ हाम्रो भावी सन्ततीले पनि त्यस्तै व्यवहार सिक्दछन । तसर्थ एनआरएनलाई सही बाटोमा डोर्याउनु पर्छ ताकि भावी नेतृत्वले पनि हाम्रो राम्रो कामको अनुशरण गरुन ।

तपाइँको प्रतिक्रिया