अवसर पाए पुरुष भन्दा कम रैछन् त महिला ?
महिलाहरु कमजोर हुन्छन् । ती पिलन्धरे हुन्छन् । जोखिम लिन डराउँछन् । जिम्मेवारीबाट भाग्छन् । नेत्रित्व क्षमता हुन्न । छत्र छायाँमा बस्न रुचाउँछन् । कमजोर मानसिकता हुन्छ । चुनौतिपूर्ण अवस्थामा गोडा लरखराउँछन् । ज्ञान र सिपमा पुरुषभन्दा कमजोर हुन्छन् । पुरुषका सहयोगी त हुन्छन् तर नेत्रित्व लिएर आफैं अघि सर्दैनन् भनेर हेयको भावनाले हेरिने गरिन्छ महिलालाई । तर यी सबै झुठा हुन् । यी महिलालाई सुबिधाबाट बन्चित गर्ने प्रपञ्च हुन् । यी फत्तुर हुन् । महिलालाई नेत्रित्व दिन नचाहने पुरुष मानसिकताका उपज हुन् भनेर तिनलाई असत्य साबित गरिदिएकि छन् सर्बोच्च अदालतका न्यायधिश सुसिला कार्कीले।
महिलाहरुलाई कसरि अवशरबाट बञ्चित गरिन्छ भन्ने एक उदाहरण त हो नै, अवसर र जिम्मेवारी दिए पुरुषका तुलनामा महिलापनि कम छैनन् भन्ने दह्रो प्रमाण पनि हुन् उनी । अझ जिम्मेवारी र चुनौती, जोखिमपूर्ण र साहसी निर्णय गर्नुपर्दा बहादुरीका साथ अगाडि सर्छन् महिलाहरु भन्ने दह्रो प्रमाणपनि हुन् उनी ।
दुई दशक लामो राजनितिक ईतिहास बोकेका बहालवाला सञ्चारमन्त्री जय प्रकाश गुप्ता । सरकारमा बलिया मध्येपनि बलियामा पर्थे । मधेशी दलको समर्थनमा टिकेको सरकार । विशेष अदालतले माफी दिइसकेको अवस्था । यस्तो चुनौतिपूर्ण अवस्थामा सर्बोच्च अदालतले जेल हाल्ने र बिगो तिराउने फैसला गर्नु साँच्चै सजिलो थिएन । सुशिला कार्की र तर्कराज भट्टको हिम्मत चल्ला भनेर कसैले पत्याएको थिएन । खुट्टा कपाउँछन् र फेरी पेस्की सार्छन् भन्नेमै सबै ढुक्क थिए ।
तर यो पटक अचम्मै भयो। ति दुई न्यायमूर्तीको टेबलमा यो मुद्दा पुग्दा सुसिला कार्कीलेनै अझ बढि अड्डी कसेकि रहिछिन् गुप्तालाई जेल सजायँ हाल्ने फैसला गर्न । नेत्रित्वपनि उनैको थियो । र उनीहरुले ईतिहासमा बहदुरीपूर्ण र उत्तिकै चुनौतीपूर्ण निर्णय सुनाए- डेढ बर्ष कैद, ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना र त्यति नै विगो तिर्नुपर्छ । गुप्ताले ८४,०९,९२८।०७ बराबरको चलअचल सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को १ बमोजित कसुर गरेको ठहर्दछ ।
त्यसो त, उनले लोकप्रिय र साहसिक काम यो पटक मात्रै गरेकि होइन रहिछिन् । रेडियो र टिभीका मुखैमा ठोक्किँदै नहिँड्ने, पत्रकारका कलमसित धसारिँदै यताउति नगर्ने, पत्रपत्रीकाका कार्यालय नचहार्ने, पत्रकारलाई दिनदिनै राखेर गन्थन नसुनाउनेका गाथा हत्त पत्त छापिँदैनन् । हाम्रो बिडम्बना यहि हो । त्यसैले उनले गरेका अघिल्ला केहि साहसिक निर्णयकोपनि यहाँ कुनै चर्चा भएन । यीनै कार्कीको इजलासले झन्डै एक वर्षअघि पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई बिगो तिराउने र जेल हाल्ने फैसला गरेको थियो। त्यसपछि बल्ल अकुत सम्पत्तिका मुद्दाले गति पाएका छन्।
त्यसैगरि बहुदलकालमा विभिन्न संस्थानका कार्यकारी प्रमुख रहेका रामाज्ञाप्रसाद चतुर्वेदी र अर्थ मन्त्रालयका पूर्व सहसचिव ईश्वर पोखरेलको अकुत सम्पत्ति मुद्दामा कृषि, व्यवसाय वा अन्य आयको गणना गर्ने प्रतिपादित सिद्धान्त त्यसपछिका फैसलामा आधार बनेका छन् । चतुर्वेदीलाई रेग्मी र उनको इजलासले नै भ्रष्टाचारी ठहर गरी डेढ वर्ष कैद, १ करोड ३९ लाख बिगो र त्यत्ति नै जरिवाना गरेका हुन् । ‘यस अघि सम्पत्ती जम्मा पार्यो अनि खशिबोका, धान मकै, गाइ भैंसी बिक्रि लगायतका शिर्षकमा मन लागि आम्दानी देखाउने गरिन्थ्यो। न्यायाधिशहरुले कलम धस्काएर सदर गरिदिन्थे। यीनै कार्कीको ईजलासले अकुत सम्पत्ती जोगाउनकालागि मनपरि तरिकाले सम्पत्तीको स्रोत उल्लेख गरेर हुन्न कि चित्त बुझ्दो र प्रमाणित हुनसक्ने हुनुपर्छ भन्दै थिति बसालेको हो। यस अघि भएका अधिकांश भ्रष्टाचारका चर्चित फैसला वा आदेशमा कार्कीले नै सुनुवाइ गरेकि थिइन भन्नेपनि धेरै लाई थाह थिएन यस अघिसम्म । किनभने हाम्रा मेडियाले जस लिन नखोज्ने यस्ता न्यायमूर्तीका वास्तबिकता खोज्ने लेठो गर्दैनन् । अब खुम बहादुर खड्का र गोबिन्दराज जोधीपनि उम्किन गाह्रो छ । किनभने ति मुद्दा यीनै कार्कीको टेबलमा पुगेका छन् । उनले ति मुद्दालाई तिब्रता दिईरहेकि छिन् ।
भन्सार छलेर ठग्ने, कर छ्ल्ने, सडक मिचेर घर बनाउने र सडक बनाउँदा रकम कुम्ल्याउने, सिँचाइमा भ्रस्टाचार गर्नेहरुका जुन जुन मुद्दा छन् तिनले मगाएर छानबिन गर्ने र यीनको ईजलासले कठोरताका साथ आदेश दिने गरिरहेको रहेछ । सार्वजनिक हितका मुद्दा र राष्ट्रिय सम्पत्तीको दुरुपयोगमा यी कठोरका साथ उपस्थित भएको बताइन्छ । यीनको यो तत्परता कायम रहने हो भने भ्रस्टाचारीहरु निकै समातिनेछन् । भ्रस्टचार गर्नुपूर्व दश पटक सोच्ने छन् ।
यस्ता साहसिक निर्णय गर्दापनि उनमा पटक्कै अहं छैन । त्यसको जस लिनपनि उनी तयार छैनन् । गल्ति हुँदा अरुका थाप्लामा हाल्ने । राम्रो काम भए आफूले जस लिने । काम भन्दा भाषण बढि गर्ने । टिपनटापन काम गरेर शक्ति केन्द्र धाउने र पदमा बढोत्तरी खोज्ने अहिलेको परिपाटीलाई निमोठेर उनले देखाइन् । उनैको ठाउँमा अरु हुन्थे भने उफ्रिँदै समाचारका कार्यालय धाउँथे । बधाइ थाप्न हतारिन्थे । तर उनले आफैंले गरेको काम पनि कि त न्याय सम्पादनका न्युनतम परिपाटी, अघिल्ला नजिर लाई दिईन् । कि त आफ्ना अघिका प्रधान न्यायधिसलाई ।
अदालतले न्याय गर्छ भन्ने विश्वासमा कमी हुँदै जाँदा अलिकति आशा छरेर हिँडेका थिए पूर्व प्रधानन्यायधिस राम प्रसाद श्रेस्ठले । किनभने उनको कार्यकाल अघि कि त यस्ता अपराधी र भ्रस्टले उन्मुक्ति पाउँदै आएका थिए । कि त न्यायधिश आफैं लेनदेनमा संलग्न देखिन्थे, बुझिन्थे । त्यसपछि खिलाराज रेग्मी आए । उनलेपनि श्रेष्ठको बाटो पछ्याए । तिनलाइपनि उछिनेर देखिएकि छन् सुशिला कार्की ।
उनको ईजलासले त जयप्रकाश गुप्तालाई सफाइ दिने विशेष अदालतका न्यायधिशलाईपनि कारवाही गर्नुपर्छ भनेर अचम्मै पारेको छ । न्यायका अगाडि कोहिपनि बच्न सक्दैन, हुँदैन । नियम र कानुन यदि कसैले दुरुपयोग गर्छ भने उ पनि बाँकि रहन्न, उसलाईपनि उन्मुक्ति दिनु हुन्न । न्यायधिश भएकै आधारमा बच्न पाउन्न भनेर गज्जबको नजिर बसालेको छ कार्कीको ईजलाशले । यो निर्णय गराएर उनले भ्रस्टहरुसित मिलेर भ्रस्टचारलाईनै मजजल गर्ने न्यायधिश र वकिलका मुटुमापनि ढ्यांग्रो बजाइदिएकि छिन् । न्याय ठूला लाई लाग्दैन भन्ने आम विश्वासले जरा गाडेर ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने भनाई नै स्थापित भैरहेका बेला उनले त्यसलाई असत्य सावित गर्न खोजिन् ।
यो घटनाले गर्दा अब मुलुकमा केहि हुन्छ कि ! सांच्चै अब भ्रस्टाचारीहरु उम्किन पाउँदैनन् कि ! वकिल र न्यायधिशपनि सप्रिन्छ कि ! जनताले न्याय पाउँछन् कि । राष्ट्र डुबाउनेहरु दुरुत्साहित हुन्छन् कि भन्ने नयाँ आशा पलाएको छ । यो सुशिला कार्कीको पछिल्लो साहसले दिएको हो । देश बनाउन धेरै मान्छे चाहिँदैनन् । एकाध बहादुर, हिम्मतिला र कानुनको पालना गर्ने ब्यकि निस्किए भनेपनि मुलुकको धेरै फोहोरले थान्को लाग्ने बाटो पाउँछ भन्ने उनको हिम्मतले देखाएको छ । महिला कमजोर हुँदैनन् बरु अवसर नदिएर हो । महिलालाई अवसर दिने हो भने पुरुषभन्दा अझ साहसि हुन्छन्, निस्वार्थी हुन्छन् र तिनले मुलुकलाई एक क्षेत्रबाट निर्देश गर्न सक्छन् भन्ने उदाहरण पनि हुन् सुसिला कार्की । महिलाहरुका लागि प्रेरणाकि स्रोत हुन् नै पुरुषकालागि पनि हुन् उनी । र हुन् चुनौतीकि एक पात्रपनि । सलाम छ शुशिला तिम्रो हिम्मतलाई ।
(फोटो -नागरिक न्युज)




