किरा खाने विरुवा फेला पर्‍यो, पातले धरापमा पार्दै खाँदै

केहि केहि विरुवाहरुका पात माटो मुनि समेत उम्रिन्छन् । वैज्ञानिकहरु अचम्ममा परेका थिए किन होला ? माटोमुनी त खासगरि जरा हुन्छन् विरुवाका । पोषण तत्व वा खान्की भनौं न । त्यो लिन र पानी पिउन । घामको स्रोतबाट बाँच्ने विरुवालाई किन चाहियो माटोमुनी पात ? एकदम चलाखी पो रहेछ यो त विरुवाको । माटोमुनी पात राखेर त्यस्ता विरुवाले झ्यापकिझ्याप किरालाई पो अक्करमा पार्दै खाँदै गर्ने रहेछन् । 

ब्राजिलको स्टेट यूनिभर्सिटी अफ क्याम्पिनसका वैज्ञानिक राफायल ओलिभियराले यसको रहस्य पत्ता लगाएका हुन् । यो ब्राजिलस्थित विश्व बिध्यालय हो । अहिलेसम्म जानकारीमा आएका बोट विरुवा मध्ये मांसहारी विरुवा जेनस फिलोक्सिया (Philcoxia ) मात्रै हो । उनको अध्ययनले के देखायो भने ति पातले माटो मुनीका नेमाटोड भनिने किरालाई धरापमा पार्ने रहेछन् । पातहरुले ति किरा नजिक आउँदा धरापमा पार्दै खाँदै गर्न सहयोग गर्ने रहेछ । ब्राजिलको केन्द्र भागमा पाइने ओडिटी नामका यी विरुवाको मुख्य पोषण नै यिनै किरा रहेछन् । तिनको आधारमा यो विरुवाको जिवन धानिन्छ ।

ओलिभियरा गज्जबको तर्क गर्छन् । मान्छेहरुलाई विरुवा दिक्क लाग्दो हुन्छ । किनभने ति यस्सो हावा हुरी र बतास चल्दा बाहेक चल्दैनन् । न त तिनले सक्रियतापूर्वक शिकार नै गर्छन् । बरु दिक्क लाग्दो गरि एकै ठाउँमा ठिङ्ङ उभिन्छन् । त्यसैले मानिसलाई विरुवामा रमाइलो लाग्दैन । तर तिनले पानी पिउने, आफ्नो आहारा लिने, पोषण तत्व प्राप्त गर्ने बडो रमाइलो तरिकाको विकास गरेका हुन्छन् । त्यो बुझ्ने हो भने मानिसकालागि चाखलाग्दो हुन सक्छ ।

आफ्नो अध्ययनलाई पुष्टी गर्न बैज्ञानिकहरुले नेमाटोडलाई नाइट्रोजनमा उत्पादन गरे । त्यसो गर्नुको कारण विरुवाले किरा पचाउँछ कि पचाउँदैन त भनेर जाँच्नु थियो । त्यसपछि प्रयोगशालामा हुर्काइएको विरुवालाई लगेर ति नेमाटोड किरा दिए । अनि २४ दिन र ४८ दिनपछि त्यस विरुवाका पातहरु टिपियो । त्यसपछि ति पातहरुमा भएको रसायनिक अनुसन्धान गरियो । विरुवाका पातको अनुसन्धान गर्दा नेमाटोडमा भएको नाइट्रोजन पाइयो । यसरि यो विरुवा मांसहारी रहेछ भन्ने उनीहरुले प्रमाणित गरेका हुन् ।

अहिले सम्मको अनुसन्धानमा शुन्य दशमलव दुई प्रतिशत विरुवाले मात्रै मासु पचाउने गरेको पाइएको छ । तर ओलिभियराका अनुसार यदि राम्रोसित अनुसन्धान गर्ने हो भने यस्ता मांसहारी विरुवा पाउने अझै धेरै संभावना छन् । नेपालमा ? हाम्रो देशमा झन विश्वका अन्य मुलुकको तुलनामा अझ विविधतापूर्ण र अझ धेरै थरीका विरुवा पाइन्छन् । त्यसैले नेपालमा यस्ता विरुवा पाइन सक्ने अझ ठूलो संभावना हुन सक्ला । तर यति सुक्ष्म अनुसन्धान गर्ने कसले ? त्यसकालागि आर्थिक स्रोत र प्रविधिपनि त चाहियो । दिने कसले ? तैपनि नेपाली वनस्पती विशेषज्ञहरुकालागि भने यसले केहि सचेत पार्छ कि ?

फोटो- प्रोसेडिङ अफ द नेशनल एकेडेमी अफ साइन्स

तपाइँको प्रतिक्रिया