विदेशका नेपालीलाई के नेपाली भन्नु ?
नेदरल्याण्डसमा अन्तर्वार्ता लिनुपर्ने । कसरि सम्पर्क गर्ने ? नेपाल समाज नेदरल्याण्डसलाई दुई तिन पटक मेल लेखें गत साल । जवाफसम्म दिएनन् । यो पटक पुष्प बरुवाल मित्र बने एम्स्टरडममा । उनैको लहरोले गर्दा फणिन्द्र पन्त र क्रिष्ण बहादुर विष्टसम्म थपिए । तिनैले साह्रै सजिलोसित हात फैलाए । फणिन्द्रपनि त्यहाँको सरकारी रक्त संचार केन्द्रको राम्रै ठाउँमा पुगेका । पुष्पजीले आएको चार वर्ष नपुग्दै आफ्नो ब्यक्तित्व निकै उँचो पारिसकेका । क्रिष्ण बहादुर विष्ट आफ्नै व्यवशायमा भिजेका । तिनै जना एक एक खाले पहुँच भएको नेपाली देखि डच नागरिक सम्म ।
पुष्पजीले नेपालबारे जाने बुझेका, अध्ययन अनुसन्धान गरेका डचको खोजि गर्न फेरी फणिन्द्रजीलाई जिम्मा लगाए । फणिन्द्रजीले प्रस्ताब गरे, डाक्टर विल्को । उनको सिफारिसले होला, असाध्यै ब्यस्त हुँदापनि उनले मिठोसित स्विकारे । उनी एउटा निकै ठूलो अस्पत्तालमा साह्रै महत्वपूर्ण जिम्मेवारी लिएर बसेका । तैपनि मलाई २ घण्टा दिन राजी भए । आफूले खाना खाने मध्यान्हको समयमा । पुष्पजी र म हान्निँदै गयौं ।
चिनापर्जी गर्यौं । लेख्न लागेको नयाँ पुस्तकबारे छोटकरीमा बताएँ । अस्पत्तालकै क्यान्टिनको टेबलमा बसियो । पुष्पजीले क्यामरा सोझ्याउन लागे । म उनका कुरा सुन्न लागें । नेपालसँग उनको नातो के हो ? कहिलेदेखि हो ? नालीबेली खोतल्नै पर्यो । फलेको व्रिक्षको हांगो नुघेको हुन्छ भन्ने यथार्थ यस्ता मान्छे भेट्दा अनुभव हुन्छ । रमाइलो लाग्छ । सामान्य जिवनशैली झैं लाग्ने । हाउभाउ, तडकभडक, बडप्पन केहि थिएन । सारै सहज लाग्यो । ठुरठुरे त्यो जाडोमा कफीको चुस्की सँगै उनले नेपालबारे जाने बुझेका कुरा सुनाउँदै गए । गज्जब रहेछ उनको अनुभव । मैले अबको पुस्तककालागि अहिलेसम्म लिएका १२ देशका करिब २६ जना मध्ये उनको अनुभव माथिल्लो श्रेणीको मात्रै नभएर नितान्त फरकपनि लाग्यो । उनको कुरा सुन्दा लाग्थ्यो, हामीले के नेपाल चिनेका छौं र ? उनले नेपालको शिक्षा पद्दती, त्रिभुवन विश्व बिध्यालयको शैक्षिक पारा । शिक्षकहरुको मनपरी । स्नातकोत्तर तहमा पुग्दापनि विध्यार्थीहरुको घोकन्ते पारा । सार्है राम्रोसित भोगेका, देखेका रहेछन् । आफैंले अनुभव गरेका प्रत्यक्ष ।
पुस्तककालागि भएकाले यहाँ सबै तथ्य राख्ने कुरो भएन नै । संभवपनि छैन यो सानो लेखमा उनले करिब दुई घण्टा सुनाएका रोचक तथ्य सबै समेट्न । उनले नेपालको मात्रै होइन, विदेशका नेपालीको पारापनि राम्रोसित देखे बुझेका रहेछन् । नेपाली समाज, नेपाली चाख र नेपालीहरुको रहनसहन, संस्कार विदेशमा कस्तो छ राम्रोसित ज्ञान लिएका । विदेशमा अलि लामो समय बसेका नेपालीले आफू नेपाली भनेपनि ति साँच्चै नेपालीका रुपमा छन् कि छैनन् ?
उनलाई विदेशमा अलिक लामो समय बसेका नेपालीहरु नेपाली जस्ता लाग्दो रहेनछ । गज्जबको तर्क थियो उनको । यहाँका नेपालीले नेपाली गित गाउन जान्दैनन् । वालवच्चाले नेपाली सिक्दैनन् । तिनलाई नेपाली बोल्नै आउँदैन । एकाध होलान् जान्ने । तिनलाई नेपालको मत्लव नै छैन । नेपालबारे तिनले जाने बुझेकै छैनन् । नेपालमा भएका तिनका आफन्तबारे तिनको चासो भनेको बिदामा बाउ आमासित एकाध वर्षको अन्तरालमा बिदा मनाउन जाने मात्रै हो । नेपाली गित र संगितको तिनलाई वास्ता छैन । तिनले पप गितहरु गाउलान् गित गाउन मन लागे । नाच्न मन लागे डिस्को र यस्तै विदेशी नाचमा रमाउँछन् ।
ति यस्सो नेपाली कार्यक्रममा अभिभावकसित आउने हुन् । मन्द मन्द सुन्यो कार्यक्रम भरि । त्यसपछि सकियो । के तिनले नेपाली गायक फत्तेमानका गित सुनेका छन् ? फत्तेमानलाइ चिन्दापनि चिन्दैनन् । नेपालका त्यति धेरै कर्णप्रिय गित गाउने अरुण थापालाइ चिन्छन् ? चिन्दैनन् । त्यस्ता गायकको कुनै मतलव छैन । यहाँका नेपाली यतैको रहन सहन, भेषभुषा र जिवनशैलीमा हराइसके । यतैको राम्रो र महान लाग्छ तिनलाई । तिनमा नेपालीमा हुनुपर्ने खासै केहि बाँकि छैन । ति २० प्रतिशत मात्रै नेपाली हुन् । ८० प्रतिशत ति यहिँका विदेशी भैसके । तिनलाई के नेपाली भन्नु ?
पक्कैपनि त्यो उनको अनुभव हो । उनको बिचार । उनैको भोगाइ । विदेशमा उनले जहाँ जहाँ नेपाली देखे, भेटे, चिने र भोगे त्यहाँ उनले पाएको अनुभव। विदेशमा बसेका नेपालीले नेपालको लागि केहि गर्दैनन् भन्ने उनको भावना र मूल्यांकन होइन होला नै । तर बढिरहेको नेपाली जमात, विदेशमा हुर्किरहेको नेपाली सन्तती र अधिकांश नेपालीलाइ इंगित गरेका हुन् । त्यो सोचनियपनि छ । उनका तर्क हुन् । आफ्ना हेराइ, भोगाइ, बुझाइ र फरक अँखा र भिन्न पाराले गरिने मूल्यांकन । सबैको एक नास हुन्न नै । तर उनले छोटै समयमा साँच्चिनै नेपाली समाजबारे गहिरो ज्ञान लि इसकेछन्, राम्रै सित हामीलाई उनले छामिसकेछन् झैं लाग्थ्यो ।
गज्जबको पक्ष के रहेछ भने उनले नेपाल जाँदा जाँदै नेपाली चेलीसित घरजम गरेका रहेछन् । तिनबाट दुई सन्तान पनि भएका । उनका वालवच्चाले बरु नेपाली भाषा बोल्ने । उनले नेपाली गीत र नेपाली न्रित्य सिकाउने रहेछन् आफ्ना फुच्चाफुच्चीलाई । उनी आफैंपनि नेपाली नाचका पारखी । गीत सुन्यो, नाच हेर्यो अनि आफैंले कोसिस गर्यो नेपाली नाच्न । नेपाली कार्यक्रममा कुनै धक नमानी मज्जाले नाचिदिने ।
गायक अरुण थापाका गितका ठूलै प्रशंसक झैं लाग्थ्यो उनका कुरा सुन्दा । भन्छन् नी आङ्ल भाषामा फ्यान भनेर । त्यो दुई घण्टाको समयमापनि उनले केहि नेपाली गित गुनगुनाउन भ्याए । आफूलाई मनपर्ने केहि गितपनि के के हुन् केहि नाम लिए । ‘नेपाली नाच्न चाख दिए गाह्रो छैन, सिकिन्छ । मुख्य कुरो चाख छ भने जानिहालिन्छ नी’ पनि भन्दै थिए ।
आफ्नो देशको लागि केहि गर्नुपर्ने हो । तर नेपालीहरु धेरै यतैको हावापानी, संस्कार, राजनिती र हा हु मा अल्झिएको । नेपालकोलागि खासै योगदान नगरेकोमा दुखेसोपनि गर्दै थिए । आखिर जिवन भनेको एक दिन् विश्राम लिने त होनी ! सक्नेले नसक्नेलाई, हुनेले नहुनेलाई केहि गर्नुपर्छ सामाजिक काम भन्दै थिए । किनभने नेदरल्याण्डमा धेरै चिज छ । अझ भन्नु पर्दा त चाहिने भन्दा ज्यादा छ । जहाँबाट नेपालकालागि केहि गर्न सकिन्छ । यस्तै यस्तै भावनात्मक कुरा गर्नपनि भ्याएका उनले त्यहि भएर होला आफूलाई मनपर्ने गित गुनगुनाए
जिवन हाम्रो सङ्लो पानी हो
सलल राजै खोला झैं बग्यो सलल !!!
(उनीसितका केहि रोचक कुरा अर्को लेखमा )




