विपन्न परिवारलाई सहयोग लिएर गाउँगाउँमा हिराचन

सरकार काठमाडौंमा केन्द्रित छ । सभासदले जनताको भोट लिए गाउँ गाउँबाट । अनि तिनको काम सकियो । फर्केर गाउँ छिर्ने पनि कमै छन् । जनताका दैनिक समस्या टार्न कम्तिमा आय आर्जन थोरै भएपनि हुनुपर्छ । तर सरकारी स्तरको काम प्रभावकारी छैन । अर्कोतिर स्थानिय र निजि स्तरकापनि धेरैले सरकारलाई गाली गर्दै समय फाल्छन् । आफ्नो तर्फबाटपनि केहि गर्न सकिन्छ भनेर लाग्ने कमै छन् । गैह्र आवाशिय नेपाली संघ एन आर एन) का पूर्व अध्यक्ष र हाल एन आर एनका प्रमुख संरक्षक देवमान हिराचन सानै तर स्थानिय स्तरमा प्रभाव पार्ने काम लिएर गाउँ पसेका छन् ।

हाम्रोजस्तो मुलुकमा सरकारको मुख ताकेर मात्र काम नचल्ने र चाहने हो भने नीजि तवरबाट पनि गरिबी निबारण कार्यमा प्रशस्त भूमिका निर्वाह गर्न सकिन्छ भन्ने सोचबाट प्रेरित रहँदै आएका हुन् उनी । त्यहि सोच लिएर नवलपरासीका बिपन्न परिवारलाई बाख्रा बितरण गरेर पनि ग्रामिण जनताका दुखमा साथ दिन सकिन्छ भन्ने देखाउँदै छन् उनी ।

आफू मात्रै होइन उनले जापानका आफ्ना मित्र र हितैषीहरुलाईपनि ग्रामिण जनताका समस्याको हल नगरे नेपालको वास्तविक समस्या हल हुन्न । शहरमा बसेर विकासका चर्का चर्का नारा फलाकेर हाम्रो देशको समस्या समाधान हुन्न भन्नेमा विश्वास गर्ने बनाए । त्यसैले उनले आफैंले  पहलकदमी लिएर क्योतो हियोशिगाओका लायन्स क्लब जापानको सहयोगमा नवलपरासी जिल्लाका ‘१५ बिपन्न परिवारलाई ७५ वटा बाख्रा बितरण गरे । प्रत्येक परिवारलाई पाँच वटाका दरले । बाख्रा किन्ने पैसोपनि नभएर हात खुम्च्याउँदै बसेका बिपन्न परिवार र दाता दुबै पक्ष तिनको आय आर्जनमा यसले सहयोग पुर्‍याउँछ भन्नेमा विश्वस्त देखिएका छन् ।

प्राय हामी नेपालीको बानी के हुन्छ भने कुनै दाताको रकम आउँछ । केहि प्रतिनिधी जान्छन् । यति दियौं र उति दियौं भन्छन् । कतिपय रकम त्यहि कार्यक्रम आयोजना गर्दै सकिन्छ । तर जनतासित न त सहयोग गर्नेको संवन्ध हुन्छ । न त तिनको वास्तबिक परिवर्तन । हिराचनले त्यसो गरेनन् । आफ्ना सहयोगी जापानीलाई सिधै गाउँमा लगेर देखाए । आफूले मात्रै जस लिने होइन कि स्थानिय जनता र सहयोगि जापानीबिच हेलमेल गराइदिएर कामको वास्तविक क्षेत्र देखाइदिए । सानै काम कसैले ठानेपनि परिवर्तनकालागि यसले धेरैलाई बाटो देखाउन सक्छ ।

विश्वकै सबैभन्दा बाठा नागरिक न परे जापानी । अनि तिसित काम गर्ने हिराचन । यो योजनामापनि तिनले चलाखि गरेका छन् लगानी नडुबोस् र सहयोग लिनेले मनपरि नगरुन् भनेर । यसरी प्रदान गरिएका बाख्राबाट २–३ वर्षमा थुप्रै पाठापाठी जन्मन्छन् । तीन वर्षपछि एउटा बाख्रा बोनसका रुपमा छोडेर उक्त परिवारबाट चारवटा बाख्रा फिर्ता लिई त्यसमा एउटा थपेर पुनः अर्को विपन्न परिवारलाई प्रदान गर्ने दातृसंस्थाको योजना छ । यसको अनुगमन व्यवस्था तथा बाख्रा वितरण कार्यक्रम परिचालनका लागि एउटा छुट्टै संयन्त्र समेत निर्माण गरेका छन्। विपन्न परिवारलाई बाख्रा बितरण गर्ने काम् यहाँ मात्रै होइन । यसलाई यस्तै मनकारी जापानी र आफ्नो  पहलकदमीमा देशका अन्य स्थानमा पनि निरन्तर जारी राख्ने योजना रहेको बाख्रा वितरण कार्यक्रममा मुस्कुराउँदै बताएका थिए समाजसेवी हिराचनले ।

बाख्रा बितरणका साथै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य सहयोगका प्याकेजसहित नेपाल आएका क्योतो लायन्स क्लबका नौ जापानी सदस्यहरु नवलपरासीमा बाख्रा बितरण कार्यक्रममा आफैं सहभागी हुन पाएर अत्यन्त हर्षित देखिए । क्लबले जापानमा आफ्नो २० औं वार्षिकोत्सव मनाइरहेको अवसर पारेर नेपालका विपन्न परिवारको सहयोगमा हात बढाइएको प्रतिक्रिया उनीहरुले दिए । नेपाल र नेपालीप्रति अत्यन्त आकर्षित बन्न पुगेको अनुभव सुनाउँदै आफूहरुले नेपालमा यस्ता सहयोग जारी राख्ने बताए ।

हिराचन अरुको सहयोग ल्याएर दिने काम मात्रै गर्दैनन् । आफ्नै कमाइ र पसिनाको मेहनतको कमाइलाईपनि सहयोग गरेर सामाजिक सेवा गर्छन् । नवलपरासीकै दाउन्नेदेवी चौपतामा रहेको शहिद स्मृति सामुदायिक विकास केन्द्रलाई गत मंसिर २७ गते उनले आधुनिक प्रविधिको एक अल्ट्रासाउण्ड मेसिन सहयोग गरेर अर्को मनकारी काम गरे । दुर्गम स्थानका महिलाले प्रसुती ब्यथाका कारण अनेक कष्ट झेल्नुपरेको तथ्य देश बिदेशका नेपालीलेपनि सुन्दै आएकै हो । कैयन महिलाले प्रसुती ब्यथाकै कारण ज्यानसमेत गुमाउनु पर्दा उनी दुखि बन्थे ।

त्यसैले महिलाको जीवन सुरक्षित गराउन टेवापुग्छ कि केहि न केहि भएपनि भन्ने सोचले आफूले सो सहयोग प्रदान गरेको हिराचनले त्यो मेशिन हस्तान्तरण गर्दा स्वास्थ्यकर्मी, विकास केन्द्रका कार्यकर्ता र गाउँलेका अगाडि बताए । करिब आठ लाख मूल्यको उक्त अल्ट्रासाउण्ड मेसिनको सहायताबाट गर्भवती महिलाको पेटमा रहेको शिशुको अवस्थाबारे पूर्वजानकारी लिएर जटिल केसमा पहिले नै आवश्यक उपचार गर्न मद्दत पुग्छ ।  यसबाट प्रसुतीकै कारण ज्यान गुमाउनु पर्ने अवस्थाबाट सो क्षेत्रका महिलाले मूक्ति पाएको भन्दै शहिद स्मृति सामुदायिक विकास केन्द्रका अध्यक्ष क्षेत्रबहादुर थापाले प्रसन्न ता ब्यक्त गरेका थिए ।

अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरिएको भोलीपल्ट बिहान स्थानीयवासीको जमघट आयोजना गरेर दाँत सफाईको महत्व र सफाइको तरिकाबारे एक जनचेतनामूलक तालिमपनि दिए । क्योतो हियोशिगाओका लायन्स क्लब जापानबाट आएका दन्तचिकित्सकहरुले स्थानीयवासीलाई प्रशिक्षण दिएका हुन् । दाँतको सफाईका निम्ति आवश्यक सामग्रीहरु उपहारस्वरुप प्रदानपनि गरे ।

जापानलाई कर्मथलो बनाए पनि मातृभूमिसँग न त उनी टाढा छन् । नत दुख र सुखबाट पन्छिएरै बसेका छन्। आफू जहाँ भएपनि आफ्नो जन्मथलो प्रति माया, ममता र जिम्मेवारी भुल्न हुन्न भन्दै प्रेरित गर्छन् अरु नेपालीलाई उनी । आफ्नो मात्रीभूमीको दुख सुखमा निरन्तर जोडिँदै आएका देवमान हिराचनले गोर्खा, कास्कीलगायतका जिल्लामा स्कूलहरु स्थापना गरेका छन् । उनले आर्थिक समस्या झेलेर शिक्षाको ज्योतिबाट बञ्चित सैयौं विद्यार्थीलाई नीजि तवरबाट छात्रवृत्तिपनि दिँदै आएका छन् । उनको यो मनकारी सेवा र मात्रीभूमी प्रतिको कामले विदेशमा बस्ने नेपालीहरुलाई प्रेरित गर्छ कि ?

तपाइँको प्रतिक्रिया