त्यसले त गोरेनी च्यापेर उतै बस्या छ रे !

आम्स्टरडममा केहि नेपाली जसको विदेश बसाईका क्रममा देखे भोगेका, जाने बुझेका र ब्यहोरेका कष्ट अनि भोगेका सास्तीबारे सुन्न मन लागेको थियो । फणिन्द्र पन्त र उनै पुष्प बरुवाल मेरा भर अभर थिए । मनमा त्रास थियो, ‘पुष्पजीले हस्, फरक पर्दैन त भने तर अन्तिम अवस्थामा कतै धोका हुने पो हो कि ?’ बेल्जियममा दुई पटकसम्म धोका खाएको थिएँ । हुन्छ भनेर बचन दिइसकेपछिपनि अन्तिम अवस्थामा नआइदिएर । त्यस्तै होला कि भन्ने त्रास थियो मनको कतै कुनामा । गएकै साँझ पुष्पजीले रुपनारायण ढकाललाई सम्पर्क गरेर बोलाए । उनी टुप्लुक्क आइपुगे ।

ढकालजी आए । एक्कैछिनमा गफ गाफ शुरु गरियो । गाउँमा सोझो, मेहनति भनेर चिनिने रहेछन् । घर छोडेर उति बाहिर नबरालिने । उनले ७, ८ वर्ष खाडीमा बिताएका । मान्छेलाई जति भएपनि पुग्दैन । खाडीमा कमाएको पैसोले यस्सो घर ठड्यायो । कान्लाकान्ली थप्यो । भैंसी गाइ दुहुना ल्यायो । रिन धन तिर्‍यो । यताउति यस्सो एकाध वर्षमा खर्च गर्दा सक्कियो । अब के गर्ने ? लौ अब कोरिया जाने भनेर राजाको गाउँ दगुर्दा दगुर्दै दलालका चिप्ला कुराले गर्दा उनी यूरोप हानिने भए ।

उनका संघर्षका कथा भनिसाध्य छैनन् । उनले जुन सास्ती भोगे त्यसको राम कहानी लामै बन्छ । कतिपयको लागि अत्यास लाग्ने बन्छ । तरपनि उनी निर्धक्कले दुख नभोगे झैं गर्छन् । बिदेश बस्दाको एउटा पीडा उनको के रहेछ भने आफ्नी पत्नीलाई संझाउँदै हैरान । देख्दै नदेखि, नभोगीकनै गाउँलेहरुले पत्नीलाई अनेक झुठो सुनाएर दिने मानसिक यातना र त्रास ।

गाउँमा सोझो, हक्कि र ईमान्दार कहलिएका । खाडी जाँदापनि वर्षै पिच्छे झैं परिवार भेट्न आउने गरेका । गाउँलेसित साह्रै नजिक हुने बानी । साथीभाइ भनेपछि हुरुक्कै। तर त्यो यूरोप, झन सुख र संव्रिद्दी, डलरका क्याँट त्यसै ओइरिने मूलुक । पैसा जतिपनि भएपछि त घर छ छ महिनामा आएपनि भो भन्ने मानसिकता । यस्तो मुलुक गएर उनी साथ आठ वर्ष सम्म घर फर्केनन् । दुई तिन वर्ष न आएपछि अब गाउँलेले त्यसै हचुवामा गोली हानेझैं गरे ——-

‘त्यो रुप नारायण एक्लै बस्न सक्छ ?’

‘त्यो सउदीमा हुँदा वर्षै पिच्छे आउने मान्छे अहिले किन नआको त्यसै बुझिन्छ नी ‘

‘ए तेल्ले त उतैकि गोरेनी च्यापेर बस्या छ रे अनि के आउँथ्यो त’

‘उसको त उतै कि गोरेनीसित बच्चा समेत भैसके भन्छन् त’

‘लोग्ने मान्छे यत्रा वर्ष एक्लै बस्न सक्छ नत्र ?’

‘होइन कहिले हो त्यो च्याट गर्दा छेउमै कुइरो कपाल देखियाथ्यो । गोरेनीछेउमै बसेकि होली नी’

‘गोरेनीले आउन दिए पो आओस त, नत्र आफ्नो घर आउन केले पो रोक्छ हँ’

कसैले ‘ए नानी, बाबुले त बदमासी गरे है ?’ भनेर उचाले । कसैले ‘ए भाउजु यतिका वर्ष आएनन् के कुर्ने त्यस्तो निस्ठूरीलाई’ भनेर जग हालिदिए । कसैले ‘अब दाइ उतै बस्ने भए हेर ह्याँ बच्चासित भाउजुको बिजोग’ भन्दै झन आगो झोसिदिए । परिवार र साथीभाइसित गफ गर्न भनेर साइबरमा गयो । अरुपनि हुन्छन् ईन्टनेट चलाउने । छेउमा बसेर अरु गोरे गोरेनीलेपनि चलाएका हुन्छन् ईन्टरनेट । क्यामरामा छेउछाउका मान्छे देखिन्छन् नै । छेउछाउमा गोरेनी देखिएपछि उचाल्दिन, आगोमा घिउ थपिदिन, मान्छेलाइ भड्काउन पुगिहाल्यो । त्यहि देखेर मान्चेले ‘रुप नारायणको त ईन्टरनेट गर्दा’नी छेवैमा गोरेनी बस्याथी’ भन्दिए ।

मान्छेनै पिच्छे यस्ता कुरा सुनाएपछि सुन्नेकोपनि मन भाँडिन्छ ‘हो कि त ? साँच्चै किन आएन हँ’। रुपजीकि पत्नीलाईपनि पिर नपर्ने कुरै भएन । अनि उनी निकै संझाउन खोज्थे । तर दशौं जनाका ‘गोरेनी च्यापेर बस्या छ’ भन्ने भनाईलाई जवाफ दिने उनी एक्ला परे । कसरि पत्याउनु ?

अनि उनलाई अक्किल निकाल्नु पर्ने भो । कागजको ब्यवस्था भएर घर जाने साथीभाइ हरेकलाई घरमा गएर रुपनारायण कसरि बसेको छ, कहाँ कसरि काम गरेको छ भनेर बेलिबिस्तार सुनाउन लगाउने । नेदरल्याण्डबाट मोरङ जाने चिनेजानेका सबैसित उनी बिन्ति गर्थे ‘मेरी बुढीलाई दुनियाँले यो रुप नारायणले गोरेनी च्यापेर बस्या छ भन्देर दुख देका छन्, लौ न साथी हो मेरो घर गएर म कसरि बस्या छु सम्झाइदिनु है?’ उनका साथीहरुले उनको अवस्थाबारे सुनाउँथे । साथीहरु घर गए भन्ने जान्दापनि रुपनारायण खुशि हुन्थे ।

हुर्कँदै गरेका चिचिलाहरुलाई देख्न नपाउनु । श्रीमतीको साथबाट टाढिनु । घरको जिम्मेवारीबाट कता हो कता । यहाँ काम गर्ने ईजाजत नभएर लुकेर अर्काको ठाउँमा काम गर्नु । कतै पोलिसको गाडीले साइरन बजाउँदापनि ‘मैलाई समात्न आको हो कि ‘भन्ने त्रासले बुर्कुसी मार्दै अर्कै बाटो दगुर्नु । कामबाट लखतारन भएर आएपछि फेरी लुगाफाटो धोइधाइ, खाना पकाउ, खाउ । सफासुग्घर राख । न कोठामै आएर झ्याप्प पारेर झ्याउँकुटी पार्दै बिमानस्थल लगेर कोच्छ कि बिमानमा भनेर तर्सि तर्सि सुत । झन ‘अरुनै केटी च्यापेर बस्या छ ‘ भनेर मानसिक तनाब दिनेबाट उनी दिक्क हुन्थे ।

उनले पत्नीलाई संझाउने अनेक उपाय निकाले ‘हेर ह्याँका केटी पाल्न हाम्ले सकिन्न । ह्याँका केटीलाई पाल्न भन्दा त २० वटा हात्ती पाल्न सस्तो र सजिलो पर्छ । यताका केटी पाल्न त्यति महँगो पर्छ । मेरो त श्रीसम्पत्ती सबैले पनि पुग्दैन । त्यस्तो कुरोपनि पत्याउने तैले?’

अनेक दुख झेलेर उनी नेदरल्याण्ड आए । कागजी तौर तरिका मिलाउन खोजे । जति कोसिस गर्दापनि सकेनन् । कागजका लागि दर्ता गर्ने सिलसिला चलिराखेकै बेला छोडेर कहिँ कतै जाने अनुमती हुन्न । आज होलाकि, अर्को महिना बन्लाकि भन्दा भन्दै वर्षौं बित्यो । छोडेर जानासाथ कागजी प्रोसेस सबै ढुस हुन्थ्यो । त्यहि लोभले उनी घर जान सकेनन् । यो यथार्थता बुझिदिने कसले ?

जति लडाइँ गरेपनि उनले नेदरल्याण्ड बस्ने स्थायी अनुमति पाउन सकेनन् । कति पर्खिने ? अब त परिवारलेपनि कसरि पत्याउने ? अब चाहिँ यहाँ आर्जेको ज्ञान र सिप अनि जम्मा पारेको सानोतिनो रकम लगानी गरेर नेपालमै केहि गर्ने अन्तिम सोच बनाएका छन् उनले । नेपालमा क्रिषी क्षेत्रमा केहि गरेर देखाउँछु भन्ने साहस लिँदै आफू जस्तै पौरखि केहि हात खोज्दै छन् । त्यसैकालागि उनले खुट्टो उचालेर बसिरहेका छन् ।

तपाइँको प्रतिक्रिया