पत्रकार दीक्षितसित अकस्मात आम्स्टरडममा भेट

आम्स्टरडममा अन्तर्वार्ताका क्रममा ठ्याक्क थाह भो ‘कनकमणी दिक्षित’ दाइपनि यतै आएका छन् भन्ने । ‘लौ मेसो मिलाएर भेट्नुपर्‍यो’ भन्दै मैले तु उनको फेसबूकमा खबर लेखें । ‘समय त पटक्कै छैन तरपनि तपाईसित त भेट्नै पर्‍यो नी जसरिपनि’ भन्दै अस्ति बिहीबारलाई ब्रेकफास्टका लागि बोलाए । आम्स्टरडमको साह्रै सुन्दर, समुद्रको भंगालोको किनारमै बनाएको र शहर छर्लंग देखिने मोभेनपिक होटेलमा बसेका रहेछन् । डेढ घण्टा समय दिएपनि हामीलाई होटेलको मूल ढोका पत्ता लगाउनै समय लाग्यो ।

समुद्र हेर्दै उनीसित बसेर ब्रेक फास्टसँगै गफ गाफ गर्न लागियो । मेरा मित्र पुष्प बरुवाल साथैमा थिए । दिक्षित दाइले हाम्रो अवस्थाबारे सोधे । ‘मेरो हालसालै प्रकाशित किताब ‘त्यो नेपाल’ बारे टिप्पणी गरे । नेपालीहरुले पश्चिमाहरुको नेपालप्रतिको चासो भन्नासाथ अमेरिकी र बेलायती संझिन्छन् । त्यसलाई चुनौति दिँदै नेपालमा चासो राख्ने त्यतिबिधि फ्रान्सेलीहरु खोजिखोजि पुस्तक तयार पारेर ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरे । नेपालबारे चासो राख्ने पश्चिमाहरुबारे निरन्तर लागि पर्नपनि हौसला दिए ।

उनले यतिसम्म भने ‘तपाइले एउटा ऐतिहासिक काम गरेर देशलाई गुण लगाउनुभयो, राष्ट्रले यसको एकदिन सम्मान गर्छ’ । मैले उनलाई आफू त्यस्तो लोभ लालच, आशा र कुनै पुरस्कार अनि रकमको पर्खाइमा लागेर त्यो काम नगरेको बरु आफ्नो आत्म सन्तुस्टि र देशको लागि केहि काम हुन्छ, सानोतिनो नाम रहला भनेर गरेको प्रस्ट पारें । मेडिया, लेखन, पुस्तकको गूण र लेखनबारे राम्ररि बुझेका अग्रजहरुको मूल्यांकन, सल्लाह र ढाडसले उर्जा थपिएको महसुस हुने रहेछ । कनकमणी जस्ता अग्रजहरुले क्याम्पस र स्कूलमा गएर थुप्रै यूवा यूवतीहरुलाई यस्तै हौशला मात्रै बाँडिदिने हो भनेपनि कति रचनात्मक काममा सहयोग पुग्दो हो हाम्रा यूवा पिँढीमा ?

‘गर्ने त सबैले आफ्नो लागि हो । तर देश र समाजलाईपनि सोचेर काम गरे सबैलाई हुन्छ’ भन्थे उनी । हामी नेपालीहरुको बानी अर्काको धेरै आलोचना गर्ने हुन्छ भन्ने कुरो उनले पनि भोगेका रहेछन् अमेरिकाबाट संयुक्त राष्ट्र संघको जागिर छोडेर नेपाल फर्किँदा । ‘यो कनकले त्यसै छोड्छ कहिँ यू एनको जागिर ? निकाल्दिएहोलान् अनि नेपाल फर्कियो होला’ भन्ने रहेछन् । उनले आफ्नो उदाहरण दिँदै मलाईपनि साना तिना आलोचना नसुन्न र द्रिढ भएर अहिलेको काममा लाग्न हौशला थपे । अझ बिदेशमा बसेर काम गरिराखेको बेला हौसला, उर्जा र प्रेरणाको बढि जरुरत हुन्छ भन्ने अनुभव रहेछ उनलाई ।

उनलाई म देश देश हिँडिरहेको देखेर अचम्म लाग्ने रहेछ । यो मान्छेले कसरि समय मिलाउँछ ? कसरि नेपालबारे चासो राख्ने, नेपालबारे विशेषज्ञता हाँसिल गरेकासित सम्पर्क गर्छ, खर्चको जोहो कसरि धानिरहेको छ ? कसरि लगातार खटिरहेको छ ? मैले सबै ठाउँमा मनकारी नेपालीहरु नभेटेपनि सबैको सहयोग र आफ्नो द्रिढ इच्क्षाले अहिलेसम्म संभव भएको, खर्चको सिलसिलामा केहि कठिनाइ भोगेपनि अहिलेसम्म धानेको बताएँ । करिब ११, १२ देशमा कम्तिमा हरेक देशका दुई नेपालप्रेमी र दुई नेपाली आप्रवाशिसित भेटघाट पूरा गरेको सुनाएँ ।  अहिले लेख्न लागेका यी दुई पुस्तकमा उनले नेपाली बारेको पुस्तककालागि केहि गतिला सुझाव दिनपनि भ्याए। यूरोपेली बारेको पुस्तककालागि गाह्रो साह्रो परे केहि पात्र खोजिदिन सहयोग गर्ने बचन दिए । पुष्पजी यतिन्जेल सुनिरहेका थिए । ‘तपाइको कामबाट हामीलाई उर्जा र प्रेरणा मिल्छ’ भन्दै हौसाउनपनि भ्याए कनकमणीले ।

नेपालको राजनितिक विश्लेषण सुन्न पाइने ब्यक्ति उनी भन्दा तगडा हामीले को भेट्ने अहिले ? के हुँदै छ, के होला ? संविधान बन्ला नबन्ला भन्ने चासो लाग्यो । उनले माओवादीले अन्य राजनितिक दललाई पक्षघात भएर हलचल गर्न नसकि बसेझैं बनाइदिएको सुनाए । प्रचण्डलाई राष्ट्रपती हुनको लागि अहिले संविधान र शासकिय स्वरुप कस्तो हुने भन्ने लिंगरिङ भैराखेको, उनको राष्ट्रपती हुने योजना अनुरुप बनाउन खोजेको भन्दै थिए उनी । मैले भनें ‘हैन प्रचण्ड एक जनाका लागि भनेर समग्र देश नै सती जान सक्छ कि के हो ?’ उनले भने ‘हो मेरो भनाईपनि त्यहि हो र हिजोको नागरिक दैनिकमा मेरो लेखपनि त्यहि विषयमा छ’ ।

बिदेशीहरुलाईपनि नेपालमा शान्ति मात्रै भए पुग्छ । उनीहरु मूर्दा शान्ति चाहिरहेका छन् । पश्चिमाहरु त्यहि खोज्छन् । भारतलाईपनि आखिर नेपालमा दिर्घकालिन शान्ति चाहिएको छ । तर नेपालीहरुलाई भने जनताको चाहना र आकांक्षालाई पूरा गर्ने, परिवर्तनलाई संवोधन गर्ने संविधान र शासकिय स्वरुप चाहिएको छ । भारतीय चाहना दिर्घकालिन शान्ति भएकालेपनि ढिलो वा चाँडो भारतपनि माओवादी योजनामा सहमत हुन्छ भन्ने सुनाए । उनी नागरिक समाजका प्रतिनिधी, वरिष्ठ पत्रकार, लेखक र राजनितिक विश्लेषक परे । गफ त धेरै विषयमा गर्न मन थियो तर भ्याइएन । नेपालको सुशासनका बारेमा, नेपाली कूटनितिज्ञ मध्ये केहिका ठगी, चाकरी, राम्रो काम गर्ने र प्रवाशमा रहेका नेपालीले जसलाइ रुचाउँछन् ति माथि हाकिम भैखाएकाको दमन र पेलाइ । यसमा बहस गर्न नभ्याउँदा थक्क थक्क भयो । मेलबाट साझेदारि गरौंला भनेर टार्नुपर्‍यो ।

साथी पुष्प बरुवाललाई नेपालबारे चासो राख्ने, माया गर्ने बिदेशीमाथि डकुमेन्ट्री बनाउने रहर रहेछ । उनले जानकारी लिन खोजे । कनक दाइले त्यो पनि साह्रै राम्रो हुन्छ भन्दै हौशला थपिदिए पुष्पजीलाईपनि । 

मैले लेख्न लागेका दुई पुस्तक मध्ये एउटाको बारेमा उति सोध्नुपर्ने रहेन । किनभने अब ‘त्यो नेपाल’ ले फ्रन्सेली विशिष्ठ ब्यक्तिहरुलाई समेटेझैं यूरोपेलीको अनुभव समेट्ने भएकोले सहज भयो । नेपाली बारेको पुस्तकका बारेमा भने उनले मलाई राम्रो खुराक थपिदिए । पुस्तकका पात्रको पाटोमा एउटा भाग नेपालीहरु जति सुकै दुख गरेपनि हरेश खाँदैनन् । मेहनत गर्छन् । आशावादी हुन्छन् । संघर्ष गरेरैपनि सफल हुन्छन् भन्ने उदाहरण देखाउनु राम्रो हुन्छ भन्ने उनको सुझाव मलाई चित्त बुझ्यो । 

उनको यहाँ बस्ने समय बँकि नै थियो । हाम्रा धेरै प्रशासक, नेता र मन्त्री हुँदा हुन् त सकेसम्म वरिपरिका देश चहार्दै हिँड्थे । थपेर बस्थे । नेपालीहरुलाई जम्मा पारेर भाषण ठोक्थे । तर उनी कुनै जिम्मेवारीमा नहुँदापनि देश प्रति जिम्मेवार महसुस गरिरहेका थिए । उनी सकेसम्म कार्यक्रम आयोजकलाई आएकै पर्सि पल्टबाट कार्यक्रम छोट्याइदिएर छुट्कारा दिन आग्रह गरिरहेका रहेछन् । नेपाल फर्किन उनलाई हतारो रहेछ । 

मैले सोधें ‘दाइ पेरिस तिर जाने होइन ?’ ओहो देश यस्तो संबेदनशिल अवस्थामा छ कहाँ जानु ? बरु पाएसम्म यहाँबाटपनि आजै फर्किन चाहन्थें । देशभित्रै बसेर संबिधानकालागि काम गर्नुपर्छ’। आहा ! सत्तामा हुनेले पनि यसैगरि सोचिदिए !!

तपाइँको प्रतिक्रिया