कसैसित नझुक्ने मैले भोगेका योञ्जन
‘ट्रकमा साइकल ठोक्किँदा संरक्षणविदको निधन’ शिर्षकमा डा प्रल्हाद योञ्जनको फोटो देख्दा मैले उनी दूर्घटनामा परे भन्ने पत्याइन । रेला र घटनालाई हँसाएर प्रस्तुत गर्ने योञ्जनले कुनै घटना जोडेर केहि सुनाए होलान् पत्रकारलाई, पछि पढौंला भन्दै पन्छाएँ । फेरी अर्को दिन उनैको फोटोसहित कान्तिपुरमा अर्को समाचार छापियो । त्यसपछि चिसो पस्यो र पढें । लल्याकलुलुक्कै भए हातगोडा । टाउको दुख्यो र म केहिबेर ओछ्यानमा पल्टिएँ ।
उनको म्रित्यु बारे लेखिएको कान्तिपुरको समाचारमा घोत्लिँदै उनीसित मैले बिताएका थोरै समय स्म्रितिमा टिल्पिलाए । जैविक विविधताका क्षेत्रमा विश्व समूदयका मै हुँ भन्ने बैज्ञानिकसित तथ्य र तर्कका आधारमा नेपालको इज्जत राख्न सक्ने सायद उनी एक्ला थिए । मेरोलागि प्रेरणाका स्रोत । अर्कै ग्रहका झैं लाग्ने एक अनौठो पात्रपनि ।
अहिले हङकङमा बसिरहेका साथी राजेन्द्र अधिकारी र चितवनका रुपेन्द्र कर्मचार्यसित डा योञ्जनको अलि बढिनै हिमचिम रहेछ । चितवनका यूवा मध्ये राजेन्द्रलाई सायद सबैभन्दा बढि विश्वास र माया गरेको म अनुभव गर्थें । राजेन्द्रकै संगतले म योञ्जनसित परिचित हुन पुगेको थिएँ । पहिलो भेट ललितपुरको रिसोर्सेज हिमालयको कार्यालयमा भएको थियो । भेट्नासाथ उनले केहि रमाईला ठट्टा सुनाएर हँसाए । सरहरु ! भन्दै सम्बोधन गरे । ‘कफी बनाउँ है ‘ भन्दै कोठामा पसेका थिए । योञ्जनले बनाएको कफीको सुर्को सँगै हामीले चरा अनुसन्धानबारे केहिबेर गफ गरेर फर्कियौं ।
भारतको आसाम र नेपालसम्म हात्तीहरु बसाइसराइं गर्छन् भन्ने उनैले त्यहि दिन सुनाएका थिए तथ्यगत रुपमा । पछि उनैको सुझावमा मैले त्यसैलाई नेपाल साप्ताहिकमा चर्चा पाउने खालको लेख बनाएँ । त्यसै दिन उनले ‘महाभारत पर्वतदेखि चुरे पर्वतसम्म चरा र जनावर बसाइ सर्छन् भनेर धेरैले भन्छन्, त्यसको लागि करिब १०, १५ वर्ष लगातार प्रत्यक्ष सर्वेक्षण गरेर प्रमाणित गरेर देखाउँ हामी’ भन्दै प्रस्ताब राखेका थिए । पहिलो पटक भेटेको मैले उनीसित उति बोलिन । उनीपनि राजेन्द्र अधिकारीसितै झ्याम्मिन्थे ।
उनैको सल्लाह अनुसार महाभारत पर्वतदेखि चितवनको खोरसोर हात्ती प्रजनन् केन्द्रको जंगलसम्म चरा सर्बेक्षण गर्ने भइयो । पहिलो वर्ष म जान पाइन । दोस्रो वर्ष राजेन्द्र अधिकारी, रुपेन्द्र कर्माचार्य, गोकर्ण खनाल र म टोलीमा थियौं । हामीले महाभारत पर्वतको काखमा रहेको सुन्तिखोला आसपासबाट चरा सर्वेक्षण शुरु गर्यौं । ‘डाक्टर साप आउने रे’ भनेपछि डर, त्रास, माया र अब केहि सिक्न पाइन्छ भनेर दंग पर्थे साथीहरु । ‘बुढाले लोत हसाउनी यार’ भन्थे । त्रास यस अर्थमा कि कतै गल्ति गरियो भने यो बुढोले ठाडै हपार्छ भन्ने लाग्थ्यो हामीलाई । उनले अघिल्ला वर्षहरुमा यस्तै कामका सिलसिलामा सुनाएका हँसीमजाकहरु फेरी सुनाएर हसाउँथे साथीहरु ।
दोस्रो वा तेस्रो दिन हामी नयाँ पदमपुर वस्तीमा आएका थियौं टेन्ट गाडेर रात बिताउन । ‘आज डाक्टर साप आउने भन्नु भएको छ’ भन्दै सुनाउन योगेश अधिकारी आइपुगे । हामीलाई लाग्यो ‘ल अब जोक सुन्न पाइने भो बुढाको । दिनभरी जंगल हिँडेको थकाई मेटिने भो’।
हाम्रोलागि सुत्ने बस्ने ब्यवस्था टेन्ट गाडेर हुन्थ्यो । दिनभरी हिँडेर लखतरान परेका हामी साँझ प्राय योञ्जनकै कुरा गर्थ्यौं । खासगरि योञ्जनसित बढि नजिक र धेरै संगत गरेकाले राजेन्द्रजीले सुनाउनुहुन्थ्यो योञ्जनले सुनाएका कहानी । हामी हाँसेर मुर्छा पर्थ्यौं ।
एक्लै डाँडामा के के खोज्दै भौतारिँदा बुढोको ढाडै खुस्किएछ लडेर चितवनको डाँडामा । अनि उनी पुगेछन् अस्पत्ताल । त्यो सर्भेमा भेटै हुन पाएन । थक्क थक्क गर्दै सकियो । पछि कै कता हो कुन्नी एकदिन फ्याट्ट आइपुगे उनी । ‘के छ सरहरुको खबर ?’ भन्दै सोधे । ‘मख्ख बनाउने रैछ यार यो बुढाले सर सर भनेर’ भन्दै हामी हाँस्यौं ।
‘किन ढिलो त डाक्टर साप ?’ हामीले सोध्यौं ।
‘क्या यार बाटोमा एउटा बुढो भेटियो है, बुढाले रग रग सुनायो यार क्या टेन्सन’ उनले भने । उनको भन्ने पारापनि बडो गज्जबको थियो । शान्तराज ज्ञवाली, डा उदयराज शर्मा, कर्ण शाक्य लगायतका संरक्षणबिदका कमजोरी, काम गर्ने पारामा आफूले बेला बखत गरेको छेडछाड सुनाएरपनि खुब हसाउँथे ।
उनको बारेमा दुखद समाचार सुनेपछि थाह नपाइदिए हुन्थ्यो भन्ने सोचेर मैले राजेन्द्रजीलाई भनिन । गोप्य राख्न खोजें । मैले सारा मेडियामा छाएको समाचार कसरि छोप्न सक्थें र ? उहाँलेनै मलाई खबर गर्नु भो ‘थाह पाउनुभो ददिजी? के हो बुढाको खबर?’ भन्दै । अनि बुढासितका क्षणबारे हामीले एक छिन दुखि भै भै साझेदारी गर्यौं फोनमा ।
एउटा प्रसंग, महेन्द्र प्रक्रिति संरक्षण कोषको कार्य सञ्चालन समितीको बोर्ड बन्दै रहेछ । दरबारिया संस्था न पर्यो । कति चाकरीका आधारमा पुगेका थिए, छानिन लागेका थिए । उनलाई त्यो पटक्कै मन नपर्ने । दरबारबाट निम्ता त गरियो तर उनी गएनन् । बोर्ड सदस्य छनौट गर्ने बेला को छ को छैन भन्ने खबर गर्दा दरबारबाट सिधा उनको नाम लिइएछ । उनी नआउने बताएछन् अरु सदस्यले । ‘ज्ञानेन्द्रले सिधै भनेछन, ‘ए त्यो भोटे आउँदैन रे ? त्यसलाई अहिले भर्खरै गएर घाँटीमा बाँधेर ल्याओ त, त्यो नभै त कहाँ हुन्छ ?’ उनी नआउँदा आलोचना खप्नु पर्थेन, धेरै सहज हुन्थ्यो धेरै संरक्षणविदकालागि । तर दरबारलाई उनको क्षमता ज्ञात नहुने कुरै भएन ।
उनलाई कुन जंगलको कुन क्षेत्रमा कस्तो छ जमिन, कस्ता चरा पाइनुपर्छ भन्ने ज्ञान हुने रहेछ । त्यसैले आफू नगएपनि उनी अनुमान लगाउँथे र हामीले कस्तो काम गर्यौं । कत्तीको गम्भिरतापूर्वक काम भो भएन भन्ने छड्के बुझ्न खोज्थे । सधैं सुनाउँथे ‘साथीहरु हेर्नुस्, किताबी ज्ञान, कम्प्युटरमा मिलाएर, अर्काले गरेको अध्ययनलाई टालटुले पारेर हुन्न, आफैंले फिल्डमा गएर देखाउनुपर्छ, जे हुन्छ कागजमा होइन जंगलमा हुन्छ नी । फिल्ड भनेको त फिल्ड हो नी यार’। बेला बेला फेरी ‘के होइन?’ ‘मैले ठिक भनिन ?’ ‘कस्तो लाग्यो?’ भनेर सोध्थेपनि । हामी टाउको कन्याउँदै ‘हो हो डाक्टर साप’ भन्थ्यौं । उनी फेरी ‘किन होइन र हो ? कि मैले नचाहिने भनें ?’ भनेर सोध्थे ।
सन् २००१ मा नेपालमा ‘ग्यालिफर्मिज सेम्पोजियम नेपाल २००१’ भन्ने विश्व चरा सम्मेलन हुँदै थियो । हामीले त्यसमा भाग लिन खोज्दा चराका विषयमा पिएचडी गर्ने पहिलो नेपाली भनेर चिनिने हेमसागर बरालले भाँजो हाले । मुख्य आयोजक वर्ल्ड फेजेन्ट एशोसिएसन थियो बेलायतको । तिनको आधिकारिक प्रतिनिधी बर्ड कन्सरभेसन नेपाल (नेपाल पन्छी संरक्षण संघ) थियो । नेपालमा पन्छी संरक्षण संघले सहमती जनाउनुपर्ने । संघ अध्यक्ष बराल थिए । उनको हातमा तालाचाबी परेको । उनले त्यो चरा सम्मेलनमा सहभागि हुनै नदिने षडयन्त्र रचे । डाक्टरले ‘चितवनका साथीहरुलेपनि मन गरेका छन् नी’ भाग लिन भनेर प्रस्ताब राख्दा थुतुनो लेप्र्याउँदै ‘भो उनीहरुलाई त नगरौं’ भनेका रहेछन् बरालले । भाग लिन नपाइने अवस्था भएपछि हामीले तिनै डाक्टरलाई गुहार्यौं । उनले ‘काम गर्ने आँट गर्नुस् हामी छौं, म छु, उसले रोकेर रोकिन्छ र’ भनेर ढाडस दिए ।
चरा सम्मेलनकालागि तिन महिना चितवनका चार वटा क्षेत्र रोजेर लगातार सर्भेक्षण गर्ने र त्यसैको निचोड लिएर अन्तर्राष्ट्रिय चरा सम्मेलनमा प्रस्तुत हुने उनले सुझाव दिए । म, खगेन्द्र ढकाल (अहिले काठमाडौं विश्वविध्यालय) र रुपेन्द्र कर्माचार्य कस्सियौं । उनैले यसो यसो गर्ने भनेर सुझाव दिए । सर्भेक्षणको समय सकिएपछि रिसोर्सेज हिमालयमै गयौं रिपोर्ट लेख्न । हामीलाई लेख्न भने । मसित सामान्य सल्लाह गर्दै रुपेन्द्रजीले लेखे । थोरै लेखेर देखाएको उनले पुरै कलमले कोरिदिए । यस्तो लेखेरपनि हुन्छ सरहरु ? भन्दै । हामी लाज र डरले पानी पानी भयौं। फेरी अर्थ्याए यसो गर्नु भन्दै । त्यसैगरि लेखियो । उनले खुइँ खुइँ लेखिदिएको भए उनको समयपनि बच्दो हो । तर हामीले सिक्थेनौं । उनी हरेक पेज लेखिएपछि हेर्दै सुझाव दिँदै गर्थे । रिपोर्ट यसरि लेख्नुपर्छ भन्थे । साँच्चिकै अरुलाई सिकाउनुपर्छ भन्ने भित्रि मनोकांक्षा थियो । त्यसरि सिकाउने सिपपनि थियो । ब्यवहार गर्दा सामान्य अवस्थामा साथी झैं, जोक गर्ने, जिस्काउने । तर कामको बेला बाघ झैं लाग्थ्यो डरले । बिगार्यो भने बुढाले मारिहाल्छ झैं लाग्थ्यो । उनको सहयोग, सुझाव र निर्देशनमा हामीले ‘ग्यालिफोर्मिज अफ चितवन भ्याली’ भन्ने कार्यपत्र लिएर अन्तर्राष्ट्रिय चरा सम्मेलनमा प्रस्तुत भयौं ।
चरा संरक्षणको आवरण (त्यसै त भन्नुपर्यो) मा डाक्टर भैखाएका एक नेपाली हेमसागर बरालले चरा संरक्षणमा बामे सर्दै गरेको संस्थाका साथीहरुमाथि भाँजो हालिदिएपछि डाक्टर योन्जनले बेलायतमा सिधै सम्पर्क गरेर मिलाए । अनि बिचरा हेमसागर मरिच झैं चाउरी परेर स्विकार्न बाध्य परे । स्थानिय जनताको ज्ञान, स्थानिय जनता, स्थानिय युवा र सिक्ने भित्रि मनोकांक्षा भएकालाई ज्यान फालेरै सहयोग गर्ने, तिनका पक्षमा जोखिम लिइदिने गर्थे योञ्जन । त्यस्ता मान्छेसित प्रत्यक्ष सहभागि भएर ‘म छु तिनकालागि’ भनेर ढाडस दिन्थे । स्थानिय ज्ञानलाई बाहिर ल्याएर देखाउनु र संरक्षण गर्नुपर्छ भन्ने पक्षमा हुन्थे उनी ।
मैले बुझेका योञ्जन कस्ता हुन् भने जतिसुकै पढोस, जानोस्, ठूलै शक्तिका पछाडी पुगोस्, सिंगै प्रिथ्वी उचाल्ने शक्तिशाली बनोस् उनलाई चासो लाग्दैनथ्यो । क्षमता, जाँघर, ईमान्दारिता, तथ्य, मेहनत र तर्कपूर्ण, खोजपूर्ण, सिद्दान्तनिस्ट मान्छे रुचाउँथे । मन नपरेको हाकै भन्थे । ‘जाबो पिएचडी त राजा कुकुरलेपनि गर्छ, कुकुरलाई रसी बाँधेर लगेरपनि गराइदिन्छु म पिएचडी त’ भन्ने गर्थे । उनको भनाई किताब पढेर र डाक्टरी लिँदैमा हुन्न कि सहि र सत्य तथ्य गहिरो ज्ञान त्यो किताबी ज्ञान र डाक्टरी भन्दा माथि हो भन्ने थियो ।
मलाई संझना छ, एक पटक उनले म र राजेन्द्र अधिकारीलाई रिसोर्सेज हिमालयको कार्यालयमा भेट्न बोलाए । हामी पुग्दा उनी कार्यालयमा रहेनछन् । यस्सो ढोकातिर हेर्दै थियौं हामी । अगाडि एउटा ट्रक । पछि पछि उनी साईकलमा । ट्रकले फुतुतु धुलो उडाएको, उनी पछि पछि साइकलमा कमिजको फेरोले मुख छोप्दै आउँदै गरेका । कार्यालयमा छिरेपछि उनले भने ‘के हो यार साईकल चढ्नेको होइन कि के हो यो मुलुक ? हामीलाई त हिँड्नै नदिने।’ आखिर त्यस्तै कुनै ट्रकको नियतीबाटै जिवन चुँडिनुपर्ने रहेछ उनको ।
पत्रकारका रुपमा मैले शुरु शुरुमा प्रतिक्रिया लिन खोज्दा अप्ठेरो मानेका थिए । सकभर टार्थे । तर एक पटक पन्छी जगत पत्रीकामा ‘यसरि गरियो चराहरुको न्वारन’ शिर्षकमा मैले हावादारी पाराले नेपाली चराको नेपाली नाम राखेर सार्वजनिक गर्नेको कडा आलोचना गरेर लेखेको लेख पढेछन् । त्यसबेला देखि बल्ल उनी खुले । जम्मा ५०० प्रति छापिने त्यो पत्रीकाको त्यो लेखले त्यतिबेला जिवजन्तुविदका सामू सन्सनी फैलाएको थियो । त्यो पत्रीकाको प्रशंग सुनाउँदै उनले भनेका थिए ‘ढाडै भाँचिने गरि हानिएछ हैन सर ? गज्जब गरिएछ ल, हो हो छोड्नुहुन्न’। त्यो बेलादेखि उनी मेरालागि मागेको विषयमा टिप्पणी गर्न सहज तरिकाले उपलब्ध भए । विषयमा ज्ञान छैन भन्ने लागेपछि उनी त्यस्ता पत्रकारसितपनि तर्किन्थे । हामीले सिकेको ज्ञान, वालवालिकाको सिपलाई प्रस्फुटन गर्न र चरा संरक्षणमा स्थानिय सहभागिता बढाउनपनि स्थानिय स्तरको पत्रीका चाहिन्छ भन्ने उनै योञ्जनको सुझावमा हामीले चरा संवन्धि नेपालकै पहिलो पत्रीकाका रुपमा पन्छी शुरु गरेका थियौं ।
(दाहिनेबाट वन्यजन्तु र चराविद राजेन्द्र सुवाल, प्रल्हाद योञ्जन र नेपाल पत्रकार महा संघका तत्कालिन सभापती तारानाथ दहाल । मेरो किताब पन्छी जगत विमोचन समारोहमा )
हुँदा हुँदै मैले पन्छी जगत किताब लेखें । बिमोचन कसका हातबाट गराउने ? मन्त्री ? सिडियो ? कुनै जमेको नेता ? सायद डाक्टर प्रल्हाद योञ्जनसित मेरो संपर्क हुँदैनथ्यो भने मेरो त्यो किताब कुनै मन्त्रीले बिमोचन गर्दो हो । त्यो किताब लेखेपछि महेन्द्र प्रक्रिती संरक्षण कोषका अध्यक्ष पारसबाट गराउने, राजा ज्ञानेन्द्रको मन्तब्य राख्ने प्रस्ताब आएका थिए । प्रकाशकनै महेन्द्र प्रक्रिति संरक्षण कोषलाई गराउने । त्यसो गर्दा दामपनि आउने लेखकलाई, प्रचारप्रसारपनि हुने । थरीथरीका प्रस्ताब आएका थिए । उनै योञ्जनले नेतागिरी, चम्चागिरी र यस्ता नामकालागि जे पनि गर्ने ब्यक्ति र नियतबारे सुनाउँथे । घ्रिणा गर्थे । म त्यसबाट एकदम प्रभावित थिएँ । उनको प्रभावले त्यो सबै अस्विकार गरियो । साथीहरुले उनै योञ्जनका हातबाट बिमोचन गराउने प्रस्ताब गरेछन् । उनले मेरो हातबाट लेखिएको पहिलो किताब पन्छी जगत बिमोचन गरे । त्यो उनको लागिपनि आफूले बिमोचन गरेको पहिलो किताब रहेछ । बुढाले किताब पढेर कहाँ कहाँ गल्ति भेट्टाउने हो, अब ढाड फुत्किने गरि आलोचना खप्नु पर्ने होला भन्ने लागिरहेका बेला खुब प्रशंसा गरेछन् किताबको ।
नेताका पछि लागेर, चाकरी गरेर पद पड्काउने, झुठो विवरण लेख्ने र बदमासी गरेर बिदेशीलाई नेपालका डाटा बेच्ने केहि संरक्षणविदका नालीबेली र तिप्रतिका घ्रिणा सुनाउँथे । त्यसबाट हामी असाध्यै प्रभाबित हुन्थ्यौं । अब गाह्रो साह्रो पर्दा यो डाक्टरले ज्ञानको छानो साझेदारी गर्छ, हेप्नेलाई खबरदार गरिदिन्छ, उपायनास्ति हुँदा म छु भनेर केहि सुझाव दिन्छ भनेर हामी गमक्क पर्थ्यौं । हामी राजेन्द्रजी र म ‘अब यसो यसो गर्ने, यस्तो यस्तो काम गर्ने अनि अन्तिममा त्यहि बुढालाई दुख दिने हो’ भन्थ्यौ । तर समय यति बलवान, यति निष्ठुरी र क्रुर हुने रहेछ कि सबल र सक्षम, देशलाई नभै नहुने यस्तै मान्छेहरुलाई ताकि ताकि छानी छानी निमोठ्ने रहेछ ।
राजेन्द्रजी र म निक्कै बेर दुखि भयौं । भावुक बन्यौं बुढाका कुरा गरेर । आ इ एस्सी पढेका ठेट्नाहरुले, किताबी ज्ञान लिएका तर कार्यक्षेत्रमा गएपछि उस्तै परे भाले र पोथी हात्ती छुट्ट्याउन नसक्नेहरुले ‘म त बैज्ञानिक हुँ, हँ’ भन्दै पुइँकिनेहरुको जमातले राज गरेको हाम्रो देशमा हामीलाई साथ दिने यस्ता मान्छे अब हामीले कहिले भेटेर संगत गर्न पाउने ? हाम्रोलागि त यो क्षेत्रकालागि सर्वस्वनै गुम्यो नै । बुढासित मैले भन्दा बढि काम गरेका रुपेन्द्र कर्माचार्य, गोकर्ण खनाल र योगेश अधिकारी लगायतका साथीहरु अझ बढि मर्माहित बन्नुहुन्छ होला । उनी त गए तर अहिले त्यस्तै कोहि छ भनेर त्यो सोच्न सम्म सक्ने कुरो भएन । आसपास पुग्न सक्नेपनि मुस्किल । तर साँच्चै प्रल्हाद योञ्जनको स्थान लिन सक्ने कुनै प्रक्रितिविद जन्मेको होला अहिले नेपालमा जो नेपालमा भोलीका केहि वर्षमा देखा परोस् ? भोली योञ्जन बन्न सक्ने कुनै फुच्चे यो नेपाली धर्तीमा अहिले टुकु टुकु हिँड्दै रहेछ भनेपनि नेपालकालागि त्यो ठूलो अवसर मान्नुपर्छ ।
मान्छेहरु ईश्वरमा खुब विश्वास गर्छन् । भन्छन्, ईश्वरले दुखिका पुकार सुन्छन् । यदि साँच्चै हो र ईश्वर छन्, सुन्छन् भने मपनि भन्छु ‘लौन ईश्वरले उनलाई पूनर्जन्म दिएर फेरी पठाउन्, त्यो सिद्द गरुन् । हाम्रो पुकार सुनुन् ।’ किनभने उनको अभाव खट्किएर ईश्वर नामका तिमीलाई पुकार्ने म जस्ता हजारौं छौं ।





