स्पेनमा प्रचण्डलाई प्राडो कि पाडो ?
दक्षिणी फ्रान्समा पाँच दिनको कार्यक्रम सक्नासाथ म पेरिस फर्किएकै दिन स्पेनको बार्सिलोना गएँ । बिमानमा जाने टिकट लिएपनि एयर फ्रान्सको विमान अन्तिम अवस्थामा रद्द हुँदा मैले अकस्मात रात्री रेलको टिकट लिनुपर्यो । अन्तिम अवस्थामा अर्को कंपनीको बिमान टिकट किन्न ज्यादै महँगो देखियो ।
कहिल्यै नदेखिएका, नभेटिएका, बोलचालसम्म नभएका आधा दर्जन नेपाली र केहि स्पेनिश नागरिकसित भेट्नु थियो । फेसबूक मार्फत मित्र बनेका इश्वर नास्तिक शर्मा र गोपाल रेग्मीले सहयोगको हात फैलाएका थिए । फैलाउन त कांग्रेसको नेपाली जनसंपर्क समितीका एकराज गिरीलेपनि फैलाएका थिए । तर अन्तिम अवस्थामा उनी बिलुप्त भए । नेपालकालागि बार्सेलोनाका कन्सुलर लुइस बेल्भिसलाई म बार्सेलोना आउँदै गरेको थाह थियो । उनैले गिरीलाई ‘फालानो मान्छे आउँदै छ नी’ भनेका रहेछन् । अनि गिरी आफैंले मेल लेखेर मेरो लागि बस्ने ठाउँ र अन्य सहयोगको लागि हात फैलाएका थिए । निकै अघिदेखि मेरो बार्सेलोना आगमनकालागि सहयोग र चासो राखेका ईश्वर शर्माले डिक कार्की र सरला सापकोटाकोमा ब्यवस्था मिलाएछन् । बार्सेलोना पुगेपछि मैले इश्वर मार्फत एकराजसित सम्पर्कपनि गरें । मैले अन्तर्वार्ता गर्न खोजेका संभावित पात्रबारे सहयोगपनि मागें । तर अन्तिम अवस्थासम्म एकराजले वास्ता गरेनन् वा उनी बेफूर्सदिला भए । हामी आफ्नै तालमा हिँड्यौं ।
पहिलो दिन थाकेर गएको ईश्वर शर्माको पसलमा बित्यो अधिकांश समय । उनले सर्सर्ती नेपाली गतिबिधी, स्पेनको सरकारी प्रावधान र नेपालीका समस्याबारे सुनाए । भोली पल्ट कन्सुलर लुईससित अन्तर्वार्ता गरें । खाना सँगै खाउँ र अन्तर्वार्ता गरौं भन्दै प्रस्ताब गरेका थिए उनले । लुईस असाध्यै ब्यस्त हुने रहेछन् । त्यति ब्यस्त हुँदापनि उनले झण्डै आधा दिन मसित बिताए । स्पेनका नेपालीबारे सुनाए ।
त्यसैदिन यस्सो अलिअलि चक्कर मारियो । स्पेन बसाइ र कागजी प्रावधान मिलाउने क्रममा सास्ति भोगेका मोती गौतमजीसित छलफल गरियो । कागजको पर्खाइमा आफ्नी छोरीको बिहेमासम्म पुग्न नसकेको, हुर्कँदै गरेको नौ वर्षे छोरो क्याम्पस जाने बेलासम्मपनि भेट नहुँदा जुँगाको रेखि बस्दै गरेको ओंठ सम्म हेर्ने चाहना, आउने जाने चाड पर्वले दिने पीडा खुब पोखे मोतीजीले । मलाई त सोच्दापनि झसंग बनाउँथ्यो ।
तेस्रो साँझ समुद्र हेर्ने भनेर जाँदा जाँदै बलराम वाग्लेजीले भर्खरै खोल्न लागेको साइबरमा पुगियो । जाने जाने भन्दा भन्दै त्यहिँ जमियो । केहि बियरका क्यान आए । मासु र आलूका परिकार । गफ जम्यो । राती हुन लाग्यो अनि कहाँ जाने । आ…… अब कता जाने हो समुद्र भन्दै त्यहिँ निकै ढिला सम्म बसियो । गफ गाफ जमाइयो । बलरामजीपनि निकै रसिला रहेछन् मान्छे । त्यहाँबाट लौ न त अब जाउँ भनेको त साथीहरुले हिँडाउंदै फेरी लगे राजु बस्नेतको बारमा । त्यहाँ त फेरी जम्नेनै भो गफ । सब यूवाहरुको जोस र उमंग । राजुजी आफैं अति रसिला र फरासिला रहेछन् । भोलि पल्ट बिहानै एदुर्ने पासाबानसित अन्तर्वार्ता छ । लौ त्यसो भए गोपालजी जानुपर्छ परिचय गर्न, सधैंलाई काम लाग्छन् त्यस्ता विश्व प्रसिद्द मान्छे भनियो । अर्कोतिर मलाईपनि सहज हुने भयो स्थानिय शहर जानेबुझेका साथी सँगै गैदिएपछि । त्यस साँझ गोपालजी र म रात्री जिवनको द्रिश्यसित रमाउँदै उनैको घर गयौं ।
तेस्रो दिन विश्वकै ८ हजार मिटर अग्ला १४ वटै हिमाल चढेकी एदुर्ने पासाबानसित अन्तर्वार्ता थियो । पासाबानसित अन्तर्वार्ता गरेको साँझ स्पेनकै प्रसिद्द साग्रादा फामिलिया भन्ने गिर्जाघर घुमाइदिए डिकजीका भाइ क्रिष्णले । चौथो दिन फर्किनु थियो साँझकै रेलमा । ईश्वरजी, गोरखाका गोपाल रेग्मी र रामेछापका क्रिष्ण कँडेलजी मिलेर मलाई सामुद्रि टापू जस्तो पहाडमा घुमाउन लगे । यी तिनै जना साथीहरु मेरालागि नयाँ थिए । तर नयाँ भएको अनुभूती पटक्कै भएन । ईश्वरजी अलि गम्भिर लाग्थे । क्रिष्ण जी र गोपालजी रेला गर्नपनि उत्तिकै खप्पिस । राजनितिक गफ गर्न र छेडछाड मच्चाउनपनि उस्तै । सबै जना तातो रगतका । जोशिला उस्तै । सबै जना केहि समय निकालेर यूरोपमा नेपालीले भोगेका कठिनाई र हाम्रो दूतावास अनि काठमाडौंका नेताको कानमा भुवा कोचेर बसेझैं गर्ने ढिलासुस्ती पारा । यी सबैका बिरुद्द डटेर सामना गर्ने हो अब भन्दै जोस्सिन्थे । बेला बेला राजनितिक गफ खुब जम्थ्यो । यत्तिकैमा हामी सामुद्री किनारको टापूमा पुग्दै लाग्दा निकै जमाए राजनितिक गफ । केन्द्रमा थिए प्रचण्ड र माओवादी अन्य नेता, पार्टी ।
क्रिष्णजी ‘हिजो जनताको घरमा काँचै आँटो र भुट्या मकै खाएर हिँडेका नेता आज आफूले प्राडो चढ्न थाले तर जनतासित गरेका बाचा चाहिँ सबै भुले’ भन्थे । उनको चिन्ता माओवादी सुबिधाभोगी भयो । जनतासित गरेक बाचा भुले । उनि नेपाली कांग्रेस र एमालेका नेता झैं भए । अब झन ओरालो लाग्छन् । त्यत्रा जनताले ज्यान फाले माओवादीले केहि गर्छ कि भनेर । तर जनतालाई चप्पल किन्न सक्ने नबनाई आफू पजेरो प्राडोमा हुइँकिने, महँगा होटेलमा आराम गर्न जाने भएर बिग्रिए भन्ने थियो ।
गोपालजीले गज्जबका तर्क अगाडि सारे । ‘ ए बाबा जे भएपनि त्यत्रो संसारले पत्याएको, त्यत्रो उथलपुथल ल्याएको, त्यत्रो शासन ब्यवस्था ढालेको, विश्वले अहिलेपनि नेपालको मुख्य नेता मानेको ब्यक्ति गाढामा, रिक्सामा हिड्ने त ? साइकल चढेर, टाँगामा दौडिन सुहाउँछ प्रचण्डले ? भन्थे उनी । इश्वरजी र म चाहिँ ति दुई मित्रका गफ सुनेर मुर्छा परेका छौं ।
क्रिष्णजी के कम ? गोपालजीलाई जवाफ फर्काए । ‘हिजो खरले छाएको घरमा, पिँढीमा बैठक बस्थे । अहिले तिनलाई पाँच तारे होटेलमा बैठक गर्नुपर्ने ? पाँच तारे होटेलमा गएर बहस र छलफल राख्नुपर्ने ? हिजो आफैंले जनयुद्द गरेका गाउँमा गएर गुन्द्रिमा बसेर बैठक गर्न नहुने ? कति बिग्रेका हाम्रा नेता ।
(दोस्रो विश्व युद्दमा समुद्रतिरबाट हमला गर्न आ उने शत्रुलाई आक्रमण गर्न टापूमा राखिएको हतियार । बार्सेलोना भ्रमणका बेला माओवादी नेता पोस्ट बहादुर बोगटीलेपनि खुव नियालेका रहेछन् यो ।)
गोपालजी के कम ? पालुङटार बैठक त खरकै छाना भएको, गुन्द्री र मान्द्रोकै भित्तो हालेको, खेतमै खाडल खनेर चर्पी बनाएको ठाउँमा गरेका हुन् त कहाँ बिर्सिएका छन् र ? यतिखेर भने मलाई चुप्प लाग्न मन लागेन । त्यो त हामी अझैपनि गाउँले मानसिकतामै छौं भनेर देखाउन । गाउँका पार्टी कार्यकर्तालाई देखाउन, त्यहि झुप्रामा सिमित राख्नको लागि एकाध दिनलाई त्यसरि आयोजना गरेका । कार्यकर्ताकोपनि स्तर नेताको झैं माथि पुगे त नेताहरुमा म ठूलो भन्ने कसरि रहन्छ र ? यसको जवाफ कुनै मित्रलेपनि दिएनन् ।
क्रिष्णजी गरिब जनतालाई निकै आश्वासन दिएर आएका नेताको जिवन बिलासी बनेकोमा आक्रोशित देखिन्थे । उता गोपालजी बाबुराम भट्टराईले बीपा सम्झौता गरेर आएपछि खिन्न बनेका रहेछन् । ‘हैन, नेपालको हितकालागि केहि गरेर आएको भए, दोहोरो कर र आफ्नै पार्टीले उठाउँदै आएको सन् १९५० को सन्धि पूनरावलोकनसम्म गरेको भए कम्सेकम नेपालको हितपनि हेर्यो है भन्न त हुन्थ्यो । नेपालको हितमा फिट्टै केहि भएन अनि के भन्ने ? ।
राजनितिक गफ अलि बेरनै चलेपछि यस्सो मरमसलापनि त चाहियो । अनि हिँड्दा हिँड्दै गोपालजीले आफ्नै संगठनका एक जना बाजेले आधुनिकतासित जुध्नु परेको रोचक प्रसंग सुनाए ।
बाजेका आफन्तले बिदेश ल्याएछन् घुमाउन । घुम्न निस्केका बेला पिसाबले चेपेछ । चर्पी कता हो ? भन्दै उनी पसे भित्र । कभर्डवाला चर्पी प्राय छोपिएका हुने । उनले छोपिएको सेतो, चिल्लो त्यो ढकनी खोलेर पिसाब गर्ने होला भन्ने के मेसो पाउनु ? अनि यसो हेरेछन् । हात मुख धुन बनाएको धारोमा तन्किइ तन्किई बल्ल बल्ल पिसाब गर्ने ईन्द्रियलाई उचालेर पिसाब गरेछन् ।
बाजेले कठिनाई भोगे । बाहिर निस्केपछि रिसाएछन् बाजे ‘हामो साइजकोलाइ नमिल्ने चर्पी बनाउने ? सबै अग्ला मान्छेका लागि मात्रै चर्पी बनाउने ? होचा मान्छे के मान्छेनै हैनन् ? होचा मान्चेले चाहिँ कसरि पिसाब गर्ने नी ? के अग्ला मान्छेको मात्रै राज्य चल्छ ? होचा मान्छेले चाहि पिसाब फेर्नु पर्दैन ?’ कति अग्लो रहेछ हँ भन्ने जिज्ञासा लागेर ल देखाउनुस् त भन्दै भित्र हेर्न जाँदा त मुख धुने धारोमा सु गर्ने ईन्द्रिय उचालेर बाजेले कष्ट गरेका रहेछन् । त्यो देखेर मुर्छानै परियो भन्दै हँस्दै र हँसाउँदै थिए गोपालजीं ।
ईश्वर शर्मा उति बोल्दैनथे । बेला बेला सामान्य प्रक्रियामा हसाउँथे । गोपाल जी र क्रिष्णजी भने ताता ताता बहस गर्थे । क्रिष्णजी चाहिँ नेताले अति बिलासीताको जिवन भोगे भन्ने रहेछ मूल्यांकन । हाम्रा नेतालाई यो बिलासी गाडी र त्यो बसाई दिनुहुन्न भन्थे उनी । उनले हाकै भने ‘प्राडो होइन प्रचण्डलाई, अब पाडो दिनुपर्छ पाडो’। हाम्रा राष्ट्रपती, प्रधानमन्त्री, पार्टी अध्यक्ष सबै गाइ भैंसी चराएर, पाडामा चढेर आएका त हुन् नी । त्यसैले तिनलाई पाडो दिनुपर्छ’ ।
अबको प्रसंग
– पासपोर्ट लिँदा दूतावासलाई घुस
– नेपाली ठग्ने स्पेका नेपाली
– किन फुटेका नेपाली यतिबिघ्न ?
-पासाबान र लुईस सितका रोचक कुरा लगायत फटाहा र चाकरीबाजकै चक्करमा नेपाली संघसंस्था । नेपालीका बिभिन्न ब्यापारमा संलग्न केहि तस्विरहरु ।





