एन आर एन बेल्जियमका पदाधिकारी हो कता गए तिम्रा आश्वासन ?

सन्तोष न्यौपाने / बेल्जियम 

‘यहाँ जसले भर्खरै आएर आफ्नो बसाइलाई ब्यवस्थित गर्न प्रयत्न गरिरहनुभएको छ, यहाँको बसाइलाई स्थाइ गराउन विभिन्न प्रोसेस र प्रक्रिया छन । त्यो प्रक्रियालाई ब्यवस्थित गरेर उहाँहरुको बसाइलाई स्थाइ बनाउने कुरामा मैले र हामीले एउटा समावेशि समूह निर्माण गरेर काम गर्नेछु’ शिव बरुवाल 

‘यदि हामिले जितेको खण्डमा विभिन्न समस्यामा परेका नेपाली दाजुभाइहरुलाई सक्दो सहयोग गर्ने छौ । उहाँहरुको बसाइ प्रक्रियालाई सहज बनाउन हाम्रो प्रयत्न रहने छ । नयाँ कार्यसमितिले जिम्मा लिएको तिन महिना भित्रमा प्रत्येक क्षेत्रमा शाखा बिस्तार हुनेछ । महिला बालबालिकाका तथा अगाडि बढदै गरेका युवापिढिको लागि विषेश कार्यक्रम ल्याउनेछौ’ जानकि गुरुङ 

करिब ५ महिना अगाडि बेल्जियमको आन्तरपेनमा भएको उम्मेदवार साक्षात्कार कार्यक्रममा वर्तमान एन आर एन अध्यक्ष् गुरुङ तथा महासचिव पदमा रहेका बरुवालले यसो भन्दै थिए । तर बिजयी भएर पद सम्हालेको आफनो कार्यकालको करिब एक चौथाइ समय बितिसक्दापनि आफूहरुले बोलेका माथिका कुरालाई एन आर एनको बैठक मार्फत कुनैपनि निर्णय दिन सकिरहेका छैनन । 

चुनावका बेला नेपाली आप्रवासि दाजुभाईहरु अर्थात नमिठो भाषामा भन्दा नेपाली शरणार्थिहरु भएको रेडक्रस क्याम्पमा तथा उनीहरु बस्दै गरेको सोसल हाउसमा गइ सदस्य बनाए । मत तान्ने काम गरियो । सायद त्यो समयमा नम्र रुपमा मिठो बोलिले चिने जस्तो गरेर आफूतिर आकर्षित पनि पक्कै गरेका हुन उम्मेदवारहरुले । तर तिनै नेपाली जो गैरकानुनि रुपमा बेल्जियम बसिरहेका छन उनीहरुकोलागि एन आर एनले आजसम्म सम्बोधन नगर्दा उनिहरुमाथि ठाडो बज्रपात भइरहेको छ । 

सायद आफुले मत दिएर विजयी भएका उम्मेदवारहरुले आफ्नोलागि केहि गर्छन भन्ने उनीहरुको आशा अब बिस्तारै निराशामा परिणत भइरहेको छ । करिब ३० जनाको संख्यामा नेपालीहरु डिपोट भई नेपाल नेपाल फर्काइएको थाहा हुन आएको छ । अन्य नेपालीहरु जो स्थायी कागजकालागि मुद्दा लडेर बसेका छन तथा बस्ने क्रममा रहेका छन उनीहरुको लागि एन आर एन बेल्जियमले के दिन सक्छ ? खै डिपोट भएकाहरुलाई रोक्न सकेको ? खै उनीहरुका समस्या माथि छलफल गरेको ? के तिमिहरु चुनाव जित्नकोलागि उनीहरुलाई आश्वसनका पोका बाँड्ने काम गरेका हौ ? यसको जवाफ आश्वासन बाँडेर मत लिनेले अब दिनुपर्छ कि पर्दैन ? 

आज दिनानुदिन बेलायतमा अध्ययन गर्न आएका विध्यार्थिहरु शरणार्थि बन्दै बेल्जियम बसिरहेका छन । खै ति युवाहरुको बारेका एन आर एन बेल्जियमले प्रश्न उठाएको ? ठूला ठूला महत्वाकांक्षी योजनाहरुले एन आर एन बेल्जियमलाई कदापि माथिै लैजाँदैन । प्रवाशमा बस्ने नेपालीहरु मध्ये जोसुकै होस् आफनो देश विकशित भएको देख्न चाहन्छन । देश विकसित हुन पक्का पनि दक्ष युवा शक्तिको खाँचो पर्दछ । तर बिडम्बना देश बनाउने यूवा शक्ति दिनानुदिन बिदेशिईरहेका छन् । यदि एन आर एन बेल्जियमले एउटा ठोस कार्यनै गर्नेहो भने नेपाल सरकारको मातहतमा नेपाली युवाहरुलाई देशमै बस्ने एउटा अवसर सिर्जना गरोस ताकि देशको माटोलाई बेचेर आफू शरणार्थि भएको नाटक रच्दै आगामी दिनहरुमा नेपाली युवाहरु बेल्जियम लगायत अन्य युरोपियन देशहरुमा आश्रय लिन बाध्यतामा नपरुन जसले गर्दा नेपाल देशले मात्र होइन सम्पुर्ण विश्वमा रहेका नेपालीहरुले एन आर एन बेल्जिएमलाई सम्झनेछन । 

अर्कोतर्फ बेल्जियममा आफ्ना बुवाआमासँग आएका तथा यहि जन्मेका नयाँ पिढि तथा युवा युवतिहरुको सम्बन्धमा आज सम्मको बैठक बाट कुनै पनि कार्ययोजनाहरु तर्जुमा गर्न सकिरहेको छैन । के एन आर एन भित्र ति बालबालिकाहरु तथा युवायुवतिहरु पर्दैनन त ? यो प्रश्नको जवाफ सम्बिन्धित ब्यत्रि संग नै होला । यहाँ जन्मेका बालबालिकाहरु जो बेल्जियमका जुनसुकै सहरमा बसेका नै किन नहोउन् उनीहरुकोलागि नेपाली भाषा र संस्कृति सिकाउनु जरुरि रहेको छ । यो कार्यको प्रमुख जिम्मेवारि एन आर एन बेल्जियमको नै रहनेछ । आज यहाँको स्थानिय भाषा नेदरल्याण्ड र फ्रेन्च सिकेर पछि आफ्नो मातृभाषा सन्तानले बोल्न र लेख्न सकेनन् भने त्यसको सबैभन्दा पिडा बुवाआमालाई नै हुने हो त्यो अवस्थामा उनीहरुले आफ्ना सन्तान प्रति गौरव होइन आफै प्रति धिक्कार गर्नेछन । तसर्थ एन आर एन बेल्जिएमले यो कुरालाई बेलैमै ‘सोचोस । 

अर्को तर्फ तातो रगत, नयाँ जोस, नयाँ उमंगले भरिपुर्ण भएका युवायुवतिहरुको संख्या पनि दिनानुदिन वृद्धि भइरहेको  छ। उनीहरुप्रति एन आर एन बेल्जियमले एक रत्ति पनि नसोच्नु दुखदायि विषय बनेको छ । उनीहरुको बढि घुलमेल बेल्जिक साथिहरुसंग नै बढि हुने गर्दछ , उनीहरुलाई हौसला हुने कार्य दिएर तथा उनीहरुले नेपाली तथा नेपालको लागि गर्ने हरेक कदममा एन आर एन का पदाधिकारिहरुले कहिले साथ दिने ? सायद उनीहरुलाई यि कुराहरुमा सोच्न समेत फूर्सद नभएको हुनसक्छ । किनकि अहिले बेल्जियमको प्रमुख एजेण्डा भनेकै नेपाल हाउस रहेको छ । 

विगतमा चुनाव जितिसकेपछि तिन महिनाभित्र क्षेत्रिय समिति गठन गरेर कार्यक्रमहरुलाई अगाडि लैजाने वर्तमान अध्यक्ष् गुरुगंको प्रतिबद्दता पनि प्रतिबद्धतामै सिमित भएको छ । बैठकमा पारित भएका निर्णयहरु कपिका पानाहरुमा मात्रै सिमत भएका छन । जसले गर्दा जति जोगि आए पनि कानै चिरेका भन्ने नेपाली उखानलाई एन आर एन बेल्जियमको नयाँ समुहले बिस्तारै चरितार्थ गर्दैछ । 

त्यसै गरेर बेल्जियममा नेपाली दिदिबहिनिहरु पुरुषको तुलनामा जत्तिकै सक्षम रहेका छन । लाग्छ, उनीहरु बिहान बेलुकाको घर धन्दा र दैनिक कार्यमा ब्यस्त रहेका छन । बेल्जियममा रहेका अधिकासं संस्थाहरुमा उनीहरुको उपस्थित अत्यन्तै न्युन छ । खै एन आर एन ले महिला सहभागिता तथा महिलाहरुको अभिवृद्धिको लागि कार्यक्रम प्रस्तुत गरेको ? चुनाव नहुन्जेल महिला दिदिबहिनिहरुकोलागि यसो गर्छौ उसो गर्छौ भनेर खोक्ने र आफुले पद सम्हालिसकेपछि सबै बिर्सने ? यो कस्तो रिति हो पदाधिकारि ज्युहरु ? 

बेल्जियममा बस्ने अधिकांश महिलाहरु यहाँको भाषा सिक्न सकिरहेका छैनन । एन आर एनले नै विशेष भाषा कक्षा संचानल गरेर उनीहरुलाई सिप मुलुक प्रदान तालिम प्रदान गर्न सक्छ कि सक्दैन ? यसो भन्दा यहाँ तालिम दिने संस्था प्रशस्त छन भाषा सिक्नको लागि ।तिनमा गएर निसुल्क अध्ययन गर्न मिल्छ भन्ने कुरो उठन पनि सक्छ  । तर बेल्जियममा रहेका सबै दिदिबहिनीहरु पुर्ण रुपमा सक्ष्म र शिक्षित छैनन । तसर्थ उनीहरुको समस्यालाई वर्तमान एन आर एनले ध्यान कहिले दिने ? कार्यकाल सिद्धिने बेलामा कि कार्यकालको उत्तरार्धमा ? 

एन आर एनका पदाधिकारिहरुले मान सम्मान, इज्जत र आफ्नै प्रचार प्रसारलाई केहि पर राखेर नेपाल र नेपालीहरुका लागि गम्भिर भएर सोच्न आवश्यक छ । मुल जरोबाट उत्खनन गर्नुपर्दछ ताकि रुखको हागामा गएर होइन । ठूला ठूला योजना परियोजनाहरु होइन साना साना कार्यले पनि एन आर एन बेल्जियमको छविलाई चम्काउन सक्दछ भन्ने बुझ्नुपर्छ । एन आर एन बालबालिकाहरु युवायुवति तथा घरधन्दा तथा आफ्नो दैनिक जिवनमा ब्यस्त सबै महिला दिदिबहिनिहरुको संस्थाको रुपमा परिचित गराउनुपर्दछ ताकि विगतका दिनहरुमा जस्तो एन आर एन बेल्जियमप्रति रहेको वितृष्णा हटेर अहिलेको कार्यसमितिलाई सबै ले स्वच्छ तवरले हेर्न सकुन ।यसतर्फ ध्यान गई बेलैमा घैटोमा घाम लागोस ।

तपाइँको प्रतिक्रिया