करिब चार दर्जन संस्थाबिच नेपाल चिनाउन म दक्षिण फ्रान्समा

(सहभागिहरु । हामी पनि यतै कतै हराएका छौं)

यतिखेर म फ्रन्सको दक्षिणी भागमा छु । सानो गाउँ सार्बोनिएमा। ४२ वटा संघ संस्थाले प्रत्यक्ष भाग लिने र अन्य संस्थाहरु आमन्त्रित भएको पाँच दिने कार्यक्रममा । नेपाल संवन्धि भित्ते प्रदर्शनी गर्नु । नेपालबारे नयाँ र नौला फ्रान्सेलीलाई वताउनु । नेपालमा केहि सहयोग लैजानु । नेपालका चरा बारे प्रवचन दिनु मेरो उद्देश्य हो । यति ठूलो कार्यक्रममा नेपालका प्राक्रितिक र सांस्क्रितिक महत्व लगायत अन्य पर्यटकिय आकर्षणका तस्विरहरु भित्तामा टाँसेर प्रदर्शनी गर्न पाउनु नेपालको लागि ठूलो मौका थियो । त्योपनि सित्तैमा । नेपाली दूतावासका मिनिस्टर काउन्सिलर जिवन प्रकाश श्रेष्ठले ‘त्यस्ता पोस्टर तपाइ चढ्ने रेल स्टेशनमा पठाइदिन्छु’ भनेरपनि पठाउन सकेनन् । मैले रेल छुट्नु पाँच मिनेट अगाडिसम्म रेलको डिब्बा बाहिर कुरेर बसेको थिएँ । त्यसको कारण राजदूत मोहनक्रिष्ण श्रेष्ठको मनपरी रहेछ । यसका बारेमा अर्को छुट्टै ब्लग लेखौंला । त्यसले गर्दा हजारौं फ्रान्सेलीबिच हामीले सित्तै प्रवर्धन गर्न पाउने हाम्रो मौका चुकेको छ । त्योपनि अन्तिम अवस्थामा अस्विकार गरिदिनाले नेपालको बेइज्जाति भएको छ । 

अस्ति म लियोंबाट एक घण्टाको दूरीमा पर्ने गाउँ आएँ । साँझ कार्यक्रमबारे छलफल गरियो साथीहरुसित । हिजो साँझा विशाल सभा हलमा भएको कार्यक्रम हेरियो । कार्यक्रम विश्वका बिभिन्न देश र शहरमा स्वयंसेवकको काम गर्ने स्वयंसेवी र संस्थाहरुका काम र भविश्यका संभावना बारे हो । प्लानेट दँफँ, कोनेसँस दु मोंद जस्ता प्रसिद्द फ्रान्सेली संस्था र यूनिसेफ जस्ता विश्व प्रसिद्द संस्थाले भाग लिएका छन् । मेरा साथीहरुले नेपालका वालवालिका, पर्यटन र क्रिषी लगायतका क्षेत्रको प्रसार प्रचार गर्दै छन् । मैले ‘नेपाली संस्क्रितिमा चराको स्थान’ विषयमा पावर पोइन्ट सहितको प्रवचन दिँदै छु । यो नेपालमा चरा अवलोकन गर्ने पर्यटक र अनुसन्धानकर्मीलाई आकर्षित गर्नु हो । पहिले नेपाली, त्यसपछि अंग्रेजी र अन्तिममा फ्रान्सेली भाषामा तयार पारियो । बनाएको सामाग्रि तिनवटै भाषीलाई काम लागोस भनेर मैले त्यसो गरें । 

शुक्रबार मेरो प्रवचन । त्यसै दिन साथी प्रवेश सुबेदीको ‘बियोण्ड द हिमालय’ देखाइने छ जुन मुस्ताङको संस्क्रितिमा आधारित छ । त्यसै दिन दाई मोहन मैनालीको ‘पुनेज ट्राउजर’ (पुनेको पाइन्ट) डकुमेन्ट्री देखाइने छ । पाइन्टमा दुल्को परेको र नयाँ पाइन्ट किनिदिन परिवारसित खर्च नभएकाले दुल्को परेको पाइन्ट लगाएर स्कूल जाँदा साथीहरुले जिस्काउने डरले पुने नामको फुच्चे स्कूल नगएको मार्मिक कथा छ । यो डकुमेन्ट्री देखाउँदा मेरा केहि फ्रान्सेली साथीहरुले आँसु झारेका थिए । 

हिजो साँझ प्रतिस्ठित फ्रान्सेलीहरु आए । हिजो मूलत संगित संवन्धि कार्यक्रम थियो । ३५० जना जति थिए हलमा । हलको कार्यक्रम सकिएपछि बाहिर घुमाउरो परेको साँघुरो हल जस्तोमा छलफल, चिनजान, आआफ्ना कुरा राख्ने, बोल्ने कार्यक्रम थियो । अचम्म अचम्मका पात्र भेटिए । ‘नेपाली पनि छ रे’ भन्ने सुनेपछि कोहि को हो भनेर खोज्दै आएका थिए । कोहि चराविद हो भन्थे । कोहि लेखक हो भन्थे । कोहि चाहिँ राती कराउने चरा कुन हो ? भन्थे । कोहि ‘ए ए मैले नेपालमा ठोंड थेप्चो भएको, कालो र पहिंले सानो चरा देखें के हो हँ’ भनेर हसाउँथे । कोहि चाहिँ चराविद हो भनेपछि हो कि होइन भनेर जाँच्न चरा बारे प्रश्न सोध्थे ‘नेपाल र फ्रान्स दुबै देशमा पाइने चरा कुन हो ? फ्रान्सदेखि, यूरोपदेखि कुन कुन चरा बसाइ सरेर नेपाल जान्छन् ?’ त्यस्ता प्रश्नको जवाफ मेरालागि गाह्रो हुने कुरै थिएन । अनि धेरैले ‘ल अब उसो भए शुक्रबार हामी आउँछौं तपाइको प्रवचन सुन्न र हेर्न’ भन्थे । 

(सहभागीहरुलाई स्वागत गर्दै संगित टोली)

कोहि नेपाल गैसकेका पनि भेटिए । एकजना इसाबेल भन्ने अघिल्लो साता लुक्लाको जाममा परेकि रहिछिन् । चार दिन सम्म बिमान छैन । बिहानदेखि विमानस्थलमा चिसोमा पर्ख्यो । आकाशतिर हेर्‍यो । बिमान आ उन सकेन, मौसमले अनुहार छोपिदियो भन्ने जवाफ विमानस्थलका कर्मचारीले दिएपछि ति बिहान बिदाबादी गरेर हिँडेको होटेलमा फेरी फर्किए । अर्को दिन त्यसै गर्‍यो, त्यसैगरि बित्यो । बल्ल बल्ला चरा जत्रो फुच्चे हेलिकोप्टर हल्ला खल्ला नमच्चाइ फुत्त झर्छ । अनि चार जना अटाउने त्यो हेलिकोप्टरमा चढ्न भनेर सयौं दगुर्छन् । ठेलमठेल गर्दै ति पुगे, अघिल्ला चार जना भाग्यमानीलाई लिएर उड्यो । अरु जिल्लै । फेरी ‘न अर्को पो आउँछ कि ‘ भन्ने आसा गर्दै फेरी लाइनमा बसे । त्यसो गरिगरि पाँच दिन पर्खेपछि ति फर्किन पाए । 

एक जोडी भेटिए जसले दिनको दुई हजार तिरेका रहेछन् गाइडलाई ट्रेकिङका लागि । बिहानको नास्ता, दिउँसोको खाना र साँझकोलागि । त्यसमा पेय पदार्थ लिए पर्यटक आफैंले तिर्नुपर्ने । बिहान सात बजे उठेर नास्ता गरायो । दिउँसो १२ वा दुई बजे हो पर्यटकले खाना खाने भन्ने गाइडलाई थाहा छ । बिहान देखि हिँडेर १२ / १ बजेसम्म त पेट खालि हुन्छ । ति भोकले चुर हुन्छन् । अनि ‘हाम्ले पैसा तिरेको छ क्यारे’ भन्दै भक्कु खान्छन् । जति धेरै खायो उति धेरै पैसो तिर्नुपर्छ । अनि गाइडले के गर्ने रहेछ ? १० बजे तिरै ‘ल लन्च खाम । अब अहिले नखाए चार पाँच बजेसम्म पाइन्न है केहिपनि’ भन्दै रेस्टुरेन्ट हुल्यो । अनि कर गरिहाल्यो । पर्यटकलाई के थाह कहाँ के पाइन्छ के पाइन्न । न पाइन्न कि भन्दै ‘लौ जति रुच्छ उति खाम्ला’ भन्दै पस्ने रहेछन् । अनि अलिकति खायो हिँड्यो । यसरि पैसो जोगाउने रहेछन् गाइडहरुले । हुन्छ बरु चार बजे खाम्ला भनेमा साँझा कम खान्छन् र उता जोगिन्छ । ट्रेकिङ एजेन्सीले कसेर अड्कली अड्कली दिएको पैसो यसरि पो रहेछ ठेक्कामा जोगाउने गाईडले । 

कोहि चितवनमा सर्प देखेको कथा सुनाउँथे । गाईडहरु दुर्बिन बोकेर नजिकै जाने अनि ‘ओ ल हेर हेर, आउ आउ’ भन्ने । फ्रान्सेलीहरुको लामो न लामो सर्प देख्दै सातो जाने । किन हेर्न आउन सक्थे । ‘हैन सर्पले टोक्ला भन्ने डरपनि लाग्दैन कि के हो नेपाली गाईडलाई ?’ भन्दै सोध्थे । 

एक जना अर्धबैशें अचमकैका निस्किए । नेपालको बखान सुनेछन् । ति म छेउ आएर सोधे ‘हजुर, नेपाल कति राम्रो देश रैछ है ? जंगल, जनावर, चरा, हिमाल । साँच्चि कति घण्टा लाग्छ हँ गाडीमा नेपाल जान ?’ नेपाल गएकि एक जना महिला नजिकै थिइन मसित गफ्फिँदै । अरु तिन चार जना सुनिरहेका थिए । त्यो अर्धबैंशेको कुरो सुनेर त ति मरिमरि हाँसे । ति अर्धबैशेंको नेपाल गैहालौं भन्ने हाउ भाउ कस्तो थियो भने अहिलेनै गाडी स्टर्ट गर्‍यो । छोरा छोरीलाई पछिल्लो सिटमा राख्यो अनि सुरुर्र गाडीमा केहि घण्टामा नेपाल पुगिन्छ । नेपाल नचिन्ने स्वाँठ पनि हुने रैछन् भन्दै हाँस्दै थिए कोहि । नेपालका बारेमा चासो राखे त्यसैमा खुशि लाग्यो मलाई ।

यूरोपमा अर्थिक अवस्था मात्रै खस्कँदो छैन । राजनिति, सामाजिक संरचना र धेरै मूल्य र मान्यता खस्कँदो छ । तर एउटा पक्ष रहेछ अति राम्रोसित काम गरेको । सयंसेवकको काम । यूरोपको ५० करोड जनसंख्या मध्ये १० लाख त स्वयंसेवक रहेछन् । यो जानकारि यहिँ आएपछि पाइयो । ति बिभिन्न मुलुकमा स्वयंसेवकको काम गर्छन् । यहि गाउँमा मात्रै सात सय स्वयंसेवक रहेछन् । यूरोपका यस्तै सामाजिक संस्थासित राम्रो सञ्जाल बनाउन सकेपनि नेपालको लागि धेरै काम गर्न सकिने रहेछ । तर यतातिर ध्यानन् दिने कसले ? सित्तैमा प्रचार गरिदिन्छु नाथे फोटा देउ तिम्रा देशको भन्दा त नदिने, तर एउटा पत्रकार आएको छ रे घुम्न भन्ने सूचना कतैबाट पाउनासाथ काम न बेकाम स्विजरल्याण्डसम्म नेपाल सरकारको पैसोमा गाडी दौडाएर धुवाँ उडाउँदै भेट्न पुग्ने फ्रान्सका राजदूत मोहनक्रिष्ण श्रेष्ठ जस्तै राजदूतबाट त्यस्तो सोच कहिल्यै आउला ? त्यस्तो ब्यवहारबाट यूरोपेलीले कहिल्यै पत्याउलान् ? दूतावासका कर्मचारीसितको ब्यक्तिगत रिस, आवेग र स्वार्थलाई देशको हितसित जोडेर बैमन्स्य साँच्ने अदुरद्रिष्टि भएकाबाट यस्तो संभावना हुन्छ ?

तपाइँको प्रतिक्रिया