केरा खेतीलेनै दिन्छ लाखौं, किन जाने खाडीतिर ?
तपाई कतै खाडी राष्ट्रतिर हानीने तरखरमा त हुनुहुन्न आठ दश हजार रुपियाँकोलागि ? त्यसो हो भने सोच्नुस, आफ्नै देशमा सामान्य केरा खेती गरेरै लाखौं कमाउन सकिने रहेछ । अनि किन जाने बिदेश सयौं हण्ड र ठक्कर खाएर ? किन र कसरि त ? पढ्नुस किसानहरुसँगै प्रत्यक्ष कुराकानी गरेर तयार पारेको रत्ननगर टाँडीबाट रुपेन्द्र कर्माचार्य को फिचर ।
पहिले चितवनलाई तोरी धेरै उत्पादन गर्ने जिल्लाको रुपमा चिनिथ्यो । अहिले त्यो स्थान विस्तारै फलफूल र तरकारी जस्ता नगदे वालीले लिँदैछ । फलफूलमा विशेष गरेर केरा खेतीतिर किसानहरु आकर्षित भैरहेका छन् । पूर्वी चितवनको महेन्द्र राजमार्गदेखि उत्तरी भागका धेरै ठाउँमा हरियो केरा वगानहरु देखिन्छ । यहाँ २ सय भन्दा बढी किसानहरुले अनुमानित ९ सय विगाहा क्षेत्रमा ब्यवसायिक केरा खेती गरिरहेका छन् । केरा खेतीकोलागि पानी नजम्ने जग्गा र बलौटे माटो उपयुक्त हुन्छ । धेरैजसोले झापाली मालभोग (विलियम हाइब्रिड) जातका केरा लगाएका छन्, जुन स्थानिय मालभोगको तुलनामा चाँडो उत्पादन हुन्छ । केराको मुख्य बजार काठमाडौं र पोखरा भएतापनि यहाँको केरा वाग्लुङ, गोर्खा लगायत तातोपानीसम्म खपत हुन्छ । चाडवाडको बेला केरा बढी खपत हुँदा त्यसै अनुरुप माघमा केरा लगाइन्छ, जुन दशैं तिहारबेला तयार हुन्छ । किसानले भने जस्तो मुल्य पाउँछन् ।
विगत ५ बर्षदेखि आफ्नो २ विगाहा जग्गामा ब्यवसायिक केरा खेती गर्दै आउनुभएका जीरौनाका सूर्य अर्याल भन्नुहुन्छ, “एक विगाहाबाट १ लाख ५० हजारसम्म आम्दानी हुन्छ ।” कम लागत, बाह्रै महिना हुने र सामान्य ज्ञानबाटनै यो खेती गर्न सकिने भएकोले धेरै किसान यसप्रति आकर्षित भइरहेको उहाँ बताउनुहुन्छ । हुनत यो खेती कम चुनौतिपूर्ण भने छैन । धेरै मल, जल र स्याहार सुसार चाहिन्छ । जमुनापुरमा आफ्नो ११ कठ्ठामा केरा खेती गर्नुभएकी मनोरमा रेग्मी भन्नुहुन्छ “मैले यो खेतीकोलागि धेरै समय दिन सकिन । त्यसैले त्यति राम्रो भएको छैन ।” केराको लागि नाइट्रोजन बढी चाहिन्छ । ब्यवसायिक खेतीमा प्रांगारिक मलले मात्र पुग्दैन । युरिया, पोटास जस्ता रासायनिक मल बढी प्रयोग गर्नुपर्छ । अत्यधिक रासायनिक मलको प्रयोगले वातावरण, जीवजन्तु र मानव स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको अर्का किसान शम्भु भट्टराई बताउनुहुन्छ । केराको बजार राम्रो भएता पनि भारतबाट भंसार छलेर आउने निम्नस्तरको उत्पादनसग प्रतिस्पर्धा गर्नुपर्ने समस्या रहेको सूर्य अर्यालको भनाई छ । महँगो ज्यालादारी, मल र, विषादीको चर्को मुल्य बृद्धिले पनि किसानहरु मारमा परिरहेका छन् । बजार ब्यवस्थापनको पनि समस्या रहेको छ ।
ब्यवसायिक केरा खेतीले यहाँका धेरै किसानहरु लाभान्वित मात्र भएका छैनन्, धेरैलाई रोजगारी र अवसर पनि प्रदान गरेको छ । साना तिना कठिनाई र समस्या कहाँ कुन पेशामा देखिँदैन र ? घर घडेरी बेचेर, साहुको ऋण काढेर, घर गाउँ र परिवारलाई शुन्य पारेर खाडी मुलुकमा सस्तो श्रम बेच्न जानु भन्दा के आफ्नो देशमा गाउँघरमै बसेर वर्षको लाखौं आम्दानी हुन्छ भने यो धेरै गुणा राम्रो होइन र ? महिनाको आठ दश हजारकालागि बिदेश हिँड्ने तरखर गर्नुभन्दा कि सोच्ने को केरा खेती गर्नतिरै ? वार्षिक करीब १३ करोड ५० लाख रुपियाँ आय आर्जन गर्ने यस ब्यवसायको प्रवर्धन र विकासको लागि सरकार र सम्बन्धित निकायलेपनि त उत्तिकै ध्यानदिनुपर्ने होइन र ?
केरा खेती संबन्धि थप जानकारी लिन हो ? ल रुपेन्द्रलाई सम्पर्क गर्नुस । [email protected]
रुपेन्द्रजी सँग सम्पर्क गर्न कठिनाई परे नेपालप्लसलाई गर्नुहोला ।