त्यसले मेरै अगाडि आत्महत्या गर्नुपर्ने ?
आत्महत्याका छनक र रोक्न सकिने केहि सुझावपनि
वातावरणिय कार्यक्रम, वातावरणिय कार्यशाला आयोजनाहरु सञ्चलान गर्ने घर (इन्भाइरोमेन्टल हाउस) र कार्यक्रम सञ्चालन गर्ने तरिका हेर्न आउ भनेर बोलाए लिलिएन र बार्बीले । एक महिना अघिदेखि उनीहरुले बोलाएको बोलाई थिए । बल्ल तल्ल त्यता जाने मेसो जुर्यो गत बुधबार । पेरिसबाट एक घण्टाभन्दा अलि पर बस्छन् उनीहरु सँरेमी ले सभ्रुज भन्ने ठाउँमा । ‘१२ बजे भेट्ने, हाम्रोमा खाना खाने अनि लाग्ने’ भन्दै निम्तो गरे ।
बिच बाटोमा आईपुग्दा फोन हान्नु अनि रेल तिमी उत्रिने ठाउँ आइपुग्दा हामीपनि लिन आइपुग्छौं’ भने । १२ बजे पुग्नेगरि रेलको टिकट किनें । बाटोमा केहि स्टेशन नरोकि जानुपर्थे थियो रेल । तर नरोकिने भनिएको स्टेशनमा घ्यास्स्स्स्स्स्स्स्स्स्स्स्स गर्दै रोकियो । रेल त रोकियो तर किन रोकिएको केहि जनाउ दिईएन । यात्रुहरु हेरा हेर गरे ।
केहिबेरमा रेल कंपनीकी एक जना महिला हातमा वाकिटाकी बोकेर यता र उति गर्न थाली । उ आकाशतिर हेरेर उस्स्स्स्स्स् गर्थि । कहिले चाहिँ फन्फनाउँथी । केहिबेरमा एकाएक प्रहरी, उद्दारकर्मी र रेल कंपनीका कर्मचारीको घुइँचो लाग्यो । तिनले रेलभित्रै पसेर सबै यात्रुलाई भन्न लागे ‘ठूलो दूर्घटना भयो, तपाइहरु ओर्लेर रेल स्टेशन बाहिर गइदिनुस्।’
रेल स्टेशनबाटपनि बाहिरै निस्किनुपर्ने भनेपछि त ठूलै मानव दूर्घटना भएको हुनुपर्छ भन्ने लख काटें । मैलेमात्रै चाल नपाएको रहेछु, फ्रान्सेलीहरुले त तुरुन्तै मेसो पाएछन् । कोहि कोहि लाटा मै जस्ता सोध्नेपनि थिए, के भयो ?
‘मानव क्षती भो’ उनीहरु जफाव दिन्थे । एक जना पुलिसले भनिहाल्यो ‘कसैले रेल दौडेकोबेला अगाडि एक्कासि हाम्फालेर आत्महत्याको प्रयास गर्यो’।
कोहि टाउको समाउन थाले । कोहि भावुक बने । कोहि टाउको घाँटी तन्काइ तन्काइ हेर्न लागे । अलि पछाडी बस्नेहरुले अगाडिको त्यो घटना नियाल्न खुब कोसिस गरे । मपनि पाएसम्म हेर्न खोज्ने मै परें । उद्दारकर्मीले भर्याङ हालेर खाडल परेको लिकबाट उठाए एउटा शरिर । टाउको ढलेको र राताम्य देखियो । मन त्यत्तिकै दिक्दार भो । मन कस्तो कस्तो भएपछि एक्कासि मेरो मुखबाट फुत्किएछ, त्यो मोरोलाई मेरै अगाडि आत्महत्या गर्नुपर्ने ?
नजिकैको अर्को युवाले भन्यो ‘आत्महत्या गर्नेलेपनि यो रेलमा होइन अर्कोमा गर्छु, यो रेलमा नयाँ मान्छे छ भन्ने सोच बिचार गर्छ र ? त्यो सोच्नेले आत्म हत्यानै गर्दैन ।’
अर्को अर्धवैंशे अगाडि सर्यो ‘यो त एर आ ते पे’ (रेल कम्पनी) कोपनि दोष हो । सुरक्षाको तरिका त अपनाउनुपर्ने हो नि । एक त त्यसरि गुडेको रेल अगाडि हाम्फाल्न नसक्ने बार लगाउनुपर्थ्यो । अर्को कुरा एक जनाले आत्महत्या गर्दा यी हामी पैसा तिरेर यात्रा गर्नेहरुलाई मर्का पर्यो । पैसा तिर्नु, मर्कामापनि पर्नु त भएन नी’।
अब झन वादविवाद गर्नेहरु थपिए । अर्कोले भन्यो ‘आत्महत्या गर्नेलाई बार हाल्दैमा रोकिन्छ र ? उसले जसरी’नी गर्छ । यहाँ बार हालेको भए उ अन्तै जान्थ्यो, कि सेन नदीमा हाम्फाल्यो र जसरिपनि मर्थ्यो।’
कस्ता कस्ता अचम्मका तर्क बितर्क र कुतर्क गर्ने रहेछन् जाने बुझेका, पढे लेखेका र बिद्वानझैं देखिने यूवाहरुपनि । एक जनाको तर्क त सुन्दै अचम्म लाग्दो थियो ‘रेल कम्पनीले मर्नेकै लागि भनेर बार हाल्न सक्छ ? उसले त आम यात्रुको सुरक्षा मात्रै हेर्ने हो । कोहि मान्छेले तपाइको वगैंचाको रुखमा आत्महत्या गर्छ भनेर के तपाइ त्यसलाई रोक्न रातभरि जाग्रम बस्ने ?’
तर आमा भन्ने चिज यस्तो हुने रहेछ कि जहाँपनि मात्रित्व देखिहालिने, झल्किहाल्ने । तिनका अनेक अनेक तर्क सुनेपछि एकजना महिला अगाडि सरि जसको साथमा त्यस्तै ११ १२ वर्षे किशोर थियो । उसले भनी ‘त्यो पुरुष गर्भमा बस्दा मैले यो छोरो पाउन जस्तै त गाह्रो भो होला । कति पीडा सहि होला त्यसकी आमाले । हुर्काउन्जेलसम्म कति दुख सहि होला । ति हरेक दुख र वेदनालाई उसले कति सहजै पचाइ ‘एक दिन उसले खुशी देला’ भनेर । म मेरो छोरो डाक्टर, इन्जिनियर कि अनुसन्धानकर्ता होला, कि कुनै क्षेत्रको राम्रो विषय पढ्ला र राम्रो जागिर खाला, परिवार रमाउला भनेर कति सपना देख्छु । त्यो पुरुषकी आमाले पनि त त्यस्तै देखेकि हुँदो हो नी ।
तर त्यो पापी रहेछ, जन्मिँदा आमालाई सास्ति त दियो दियो । तर फेरीपनि उसकि आमालाई बाँचुन्जेल उसैलाई सम्झी सम्झी आशु झार्नुपर्ने बनाएर गयो । उसले परिवारलाई दुख दियो । हामीलाईपनि दुख दियो । राज्यको प्रशासनलाईपनि दुख दियो । त्यो आफैं मर्नेको लागि यत्रा पुलिस खटिए, उद्दारकर्मी आए । अब अस्पत्ताल लगेपछि फेरी डाक्टरलाई दुख । वच्चा पाउँदाको बेदना बच्चाको हाँसोसित साटिन्छ भन्थे होइन रहेछ । आमा हुनुपनि गाह्रो कुरा रहेछ ।
उनका कुरा सुनेर सबै भावुक बने । उद्दारकर्मीहरुले बाहिरै निकाले सबै यात्रुलाई । कति बेरमा सेवा शुरु होला त ? रेलका कर्मचारीलाई सोध्दा उनीहरुलाई समेत मेसो थिएन । एक घण्टा लाग्ला कम्तिमा, दुई घण्टापनि लाग्न सक्छ भन्थे । रेल कम्पनीले अतिरिक्त वस सेवा त देला तर कति घण्टामा आउला भन्नेपनि पक्का थिएन । जाने उपाय के त ? रेल पाइने अर्को स्टेशनसम्म पुग्न हिँडेर फटाफट गए आधा घण्टा भनेर कसैले सुनाएपछि हिड्न थालें । साथीहरुलाई घटना विवरण बताएँ फोनबाट ।
फ्रान्सेलीहरु कति सौखिन भएका । त्यतिपनि ओहोहो त्यत्रो आधा घण्टा कहाँ हिँड्ने, बरु पर्खिने यहिँ रेल’ भन्दै थिए । बरु दुई घण्टा रेल पर्खेर बस्ने रे तर आधा घण्टा नहिँड्ने । केहि बेर हिँड्नासाथ बस भेटियो । तर आधा घण्टामा हिँडेर पुग्ने बसले ४० मिनेट लगायो । त्यो गाउँमा नागबेली परेर सयौं स्टेशनमा रोकिँदै पो जाने रहेछ । अलि परको स्टेशनमा पुगेर फेरि रेल लिइयो । अर्को रेल स्टेशनमापनि चर्चा आत्महत्याकै थियो । आजकाल फ्रान्समा जिवन कस्टकर भएको, मानसिक रुपमा बिक्षिप्त हुनेको संख्या बढि भएकोले अहिले आत्महत्यापनि निकै बढेको बताउँदै थिए । यहि दिशा कुद्ने लिकमै हप्तै पिच्छे आत्महत्या गर्ने रहेछ एउटा न एउटाले ।
दुई घण्टा भन्दापनि ढिलो भो । साथीहरुको घरमा पुगेर खाना खाएर हिँड्दा कार्यशाला सकिएको रहेछ । तर वातावरणिय पुस्तकालय, वालवालिकाले फ्याँकिएका कार्टुनका कागजबाट बनाएका टेबल, किताब राख्ने र्याक हेर्न पाइयो ।
वातवरणिय अन्य कार्यक्रम कसरि चलाउने रहेछन् भनेर आँखा लगाएँ । क्रिषी, वातावरण मैत्री अन्य सामाग्री उत्पादन, खेति गर्ने वातावरण मैत्री तरिका लगायत निकै चिज हेरियो, बुझियो । साधन र स्रोत सम्पन्न भएपनि सामान्य वस्तुहरुको प्रयोग गरेर, अलि बढि ध्यान दिएर र सामान्य खर्चमापनि वातावरण जोगाउन सकिने उपाय छन् भनेर उनीहरुले ब्यवहारिक रुपमै देखाएका थिए ।
ऋतु बदलि हुँदै गरेकाले प्रक्रितिका रुपपनि बदलिँदै थिए । वगैंचा र वनका पात कतै हरिया । कतै पहेंलपुर । कतै भने कलेजी, प्याजी, पहेंला । बडो आकर्षक देखिन्थ्यो । यतिखेर फ्रान्सेली वन साँच्चिकै रमणिय बनेको छ विविध रंग फेरिएर ।
तर के गर्नु साँझ फर्किने बेलापनि मन त्यहि घटना सम्झेर खिन्न भैरहेको थियो । यस्तो सबै सेवा सुविधा र साधन स्रोतले सम्पन्न मुलुकमापनि के नपुगेर, के दुखले आत्महत्या गरेको होला ? झन मेरो मन अमिलो पार्न त्यसले आजै, मेरै अगाडि आत्महत्या गर्नुपर्ने ?
आत्महत्याका छनक र रोक्ने उपाय
(१) कोही एक्कासि निराश, एकलाश मन पराउने, कम बोल्ने, टोलाउने, जिवनको अस्तित्व र जगतप्रतिनै नकारात्मक कुरा गर्ने हुन लाग्यो भने बुझ्नुस् कि उसमा समस्या देखिँदै छ आत्महत्याको । यसलाई गम्भिर रुपमा लिनुस् ।
(२) आत्महत्या गर्ने खालको बानी ब्यवहार देखिनु भनेको नभुल्नुस् कि यो सहयोगको क्रन्दन र याचना हो ।
(३) जति सक्दो त्यस्तो ब्यक्तिलाई सहयोग दिन र उसको केहि सहयोगपनि लिन ढिला नगर्नुस् ।
(४) उसका कुरा सुनिदिनुस् ।
(५) प्रसंग मिलाएर सोध्नुस् कि आत्म हत्या भन्ने चिज कस्तो लाग्छ ? आत्महत्या गर्ने सोच आ उँछ कि कहिलेकाहिँ ।
(६) आत्महत्या गर्ने सोच पलाएको देखिएमा एक्लै नछोड्नु ।
(७) उसका सकारात्मक कुरा गर्नुस्, प्रशंसा गर्नुस्, साकारात्मक सोच भरिदिने र सहासी बन्न प्रेरणा दिनुस् ।
(८) चिकित्सक वा कुनै पेशागत सहयोग लिन ढिलो नगर्नुस् ।
(९) कसैले आत्महत्या गर्ने सोच बनाएको थाह पाइसेपछि त्यसलाई गोप्य नराखिदिनुस् ।
(१०) त्यसलाई त्यसै छोड्ने वा झन समस्या बढ्न दिने भन्दा सन्चो बनाउने उपाय के के हुन्छन् खोजिहाल्नुस् । आफूले नसके अरुसित छुट्टै सल्लाह लिएरपनि उपाय निकाल्नुस् ।











