पचास लाख भारतीयको नागरिकता खोसे प्रवासी नेपालीलाईपनि चाहिन्न

● एकराज भूसाल /अष्ट्रेलिया

देशको भौगोलिक र राष्ट्रिय अखण्डताको संवेदनशिलताले गर्दा गैह्र आवाशिय नेपालीहरुलाई नेपाली नागरिकता दिन सकिन्न भनेर अर्थमन्त्री पूनले वर्तमान सरकार र माओवादी पार्टीको नीति प्रस्ट्याए । अब स्पष्ठ भयो, न त यो सरकारबाट नेपालीको नागरिकता जोगिन्छ (जसले अरु देशको नागरिकता लिएका छन्) नत माओवादी पार्टीलेनै जोगाउने छ ।

तर आफ्नो नेपाली नागरिकता गुमाउन नचाहने नेपालीलाई जबर्जस्ति बिदेशी बनाउन खोज्ने मन्त्री पून र उनैको पार्टीको कारणले कति नेपाली प्रवाशी हुन बाध्य भए भन्ने चाहिँ उनले ख्याल गरेनन् । उनको त्यो भनाईपछि प्रवासी नेपालीहरु झस्किएका छन् । कतै जायज भनिएको छ । कतै उनको भनाईको तिब्र आलोचना र बहसपनि शुरु भएको छ । टिप्पणीकार सोध्न चाहन्छ, पूनको पार्टीको कारणले कति नेपाली प्रवाशिन बाध्य भए ? त्यसको जिम्मेवारी कसले लिने ?

माओवादीले जनयुद्द शुरु गर्नु अघिसम्म मुलुक शान्त थियो । थिचोमिचो, अन्याय, अत्याचार भएपनि मुलुकको अहिले जस्तो दुरावस्था थिएन । २०५२ सालमा नेकपा (माओवादी) ले जनयुद्द शुरु गर्‍यो । त्यतिबेला जनवादी राज्यसत्ता स्थापना गर्ने भन्दै उनीहरुले आम यूवाहरुलाई आव्हान गरे । स्कूल फोडे । क्याम्पस भत्काए । कापी र कलम खोसेर जबर्जस्ति जनसेना बनाए । सुराकी र अनेक आरोपमा गाउँबाट खेदे । तिनको त्रास, डर र जनसेनाको भर्तिकेन्द्रमा जाने डरलेपनि कति यूवा बिदेश पलायन भए । आफन्त गुमाएरपनि कामको खोजिमा कयौं बिदेश हिँडे । तिनै मध्ये हजारौं यूवा अहिले प्रवाशी भएका छन् ।

माओवादीले जनयुद्द कालभरि बिध्वंस पछि पूनर्निर्माणको नारा दिएर पूल पुलेसा भाँचे । गाउँमा गएको रकम लूटे । बैंकका पैसा कब्जा गरे । विकास निर्माण शून्य भयो । देशमा विकासको गति रोकिएपछि के हुन्छ ? रोजगारी शुन्य भयो । बाँच्ने आधार भएन । र यूवाहरु विदेश लागे । टाढा बाठा, जाने बुझेका र शिक्षित वर्ग देशमा बेरोजगारी, त्रास, असुरक्षाकै कारणलेपनि विदेश पलायन भए । सायद मन्त्री पूनलाई हेक्का छ कि छैन, माओवादीले जनयुद्द शुरु गर्दा विदेश पलायन हुने यूवाहरुको संख्या दिनमा २०० पनि थिएन । तर पूनको पार्टीले जनयुद्द शुरु गरेर हत्या हिंसा शुरु गरेपछि दिनमै ८०० यूवा बिदेशिन थाले । त्यसैले देशको दक्ष जनशक्ति बिदेश पलाय गराउने प्रमुख जिम्मेवार पून लगायतका नेता हुन् । नेपालीलाई प्रवाशमा खेद्न मुख्य भूमिका खेल्ने मुख्य पार्टीपनि उनैको हो । त्यसैले विदेश पलायन भएका दक्ष र अदक्ष सबै जनशक्तिको मुख्य जिम्मेवार माओवादी पार्टी र त्यसैका नेता हुन् । तिनको जिम्मेवारीपनि अब पून जस्ता नेताले लिनुपर्छ ।

त्यतिखेर पूनलाई गाउँमा टाठा बाठा यूवाहरु बसे भने जनयुद्दको बिरोध गर्छन्, हत्या र हिंसा बिरुद्द उत्रन्छन् भन्ने डर थियो र जसरि हुन्छ लखेटे । सोझासाझा निमुखालाई आश्वासन बाँडेर जनयुद्दमा होमे । अहिले आफैंले लखेटेका नेपालीले ‘हाम्रो नागरिकता नखोसिदेउ’ भनेर बिन्ति गर्दा जबर्जस्ति बिदेशी नै बनाएर झन पलाउने बनाउने नीति अँगाल्दै छन् ।

अर्कोतिर कम्तिमा ५० लाख भारतीयले नेपाली नागरिकता लिएको विश्वास गरिएको छ । त्यसको छानबिन गरेर खोस्ने साहसपनि मन्त्री पुनले गर्ने कि नगर्ने ? भारतीयहरुलाई खुरुखुरु नेपाली नागरिकता दिने तर आफ्नै देशका नागरिकको भने भएको नागरिकतापनि खोस्ने ? यदि हाम्रो देशको राष्ट्रियता, राष्ट्रिय अखण्डतामा आँच आउँछ भने भारतीयले लिएको नेपाली नागरिकताका बारेमा चाहिँ मन्त्री पून किन चुपचाप छन् ? नेपालको राष्ट्रियतामा आँच भारतीयबाट आएर नागरिकता लिनेबाट आउँछ कि नेपालीबाट ? किन उनले भारतीयले लिएको नागरिकता बदर गर्छौं भन्न सक्दैनन् ? कि पूनका लागि भारतीय नागरिक प्यारो र नेपाली पराइ भएका हुन् ? भएको नागरिकता यदि खोसिन्छ भने भारतीयलाई घुसपैठ गरेर दिएको नागरिकता पूनले किन खोस्न सक्दैनन् ? यस विषयमा पून किन एक शब्दपनि बोल्दैनन् ? कि कमजोर नेपालीहरुलाई हेपेर, दबाएर उनले भारतीय शासक वर्गलाई चाकरी गर्न खोजेका हुन् ? कि पूनको उद्देश्य नेपालीलाई जबर्जस्ति बिदेशी बनाएर नेपालमा भारतीयको संख्या बढाउने र नेपाललाई सिक्किम बनाउने हो ?

हामी विदेशका नेपालीले विविध सिप, ज्ञान र अनुभव दुखजिलो गरेर भएपनि सँगालेका छौं । हामी मध्ये कोहि खुशिले आए होला तर अधिकांश देशको दूरावस्था, शिक्षा स्वास्थ्य र रोजगारको समस्याले गर्दा बिदेशिएका हौं । हाम्रो सिप अनुसार यदि पूनले हामीलाइ उपयुक्त अवशर स्रिजना गर्छन्, हामीलाई रोजगारीको अवशर दिन्छन् भने हामी नेपाली एक मिनेटपनि बिदेशमा दोस्रो नागरिक भएर बस्ने छैनौं । बिदेश गएका नेपालीको यत्ति जिम्मेवारी बिदेश लखेट्ने वातावरण स्रिजना गर्ने पून र उनको पार्टीले लिनै पर्छ । हामी प्रवासी नेपालीहरुलाई आफ्नो देशको जति मायाँ यो विदेशी मुलुकको छैन । आफ्नो देशको चिन्ता हामीलाईपनि उत्तिकै छ । तर हाम्रो मुलुकमा धमाधम भारतीयलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने षडयन्त्र गर्ने पून जस्ता कुनै पनि नेताको हैकम पनि सहिन्न ।

तपाइँको प्रतिक्रिया