सालीताजियासँग चार घण्टा स्पा
सलीताजियाले मलाई धेरै पहिला देखी नै हङेरीमा स्वागत छ भनेर इमेलमा निम्ता दिएकी थिइन । म बुढापेस्ट पुग्दा उनी ईटालीमा रहिछन। सुरेन्द्रले मलाई सिङ्गै अपार्टमेन्ट मिलाई दिए । दुई दिनपछि सलीताजिया पनि आइपुगीन । उनले मलाई लन्चको लागि निम्तो दिइन । हामी एउटा टर्किस रेस्टुरेन्टमा गयौं । टर्किस खाना हाम्रो लागि नौलो नै थियो। स्वार्मा र कबाब बाहेक मलाई अरु नाम थाहापनि थिएन । हामीले रेस्टुरेन्टमा गएर खानाको रङ हेरेर खाना मगायौं। सजिलै चिनेको र मनपर्ने भात थियो । त्यही भातसँग अरु खाना । मैले मागेको खाना त ठिकै परेछ । सलीताजियाको खाना त चिल्लो र पिरो बढी रहेछ । उनको आधी खाना त मैले नै सिध्याइदिनुपर्यो ।
लन्चपछि उनले मलाई स्पा (साउना) जानको लागि आग्रह गरीन । मेरो अरु कुनै काम नभएकोले म उनीसँग स्पा जान तयार भएँ । हामी आइसक्रिम खाँदै हिँडेर उनको अपार्टतिर लाग्यौं । लण्डन र पेरिससँग दाज्न मिल्ने यहाँका भवनहरु त्यस्तै सुन्दर र भब्य छन । संसद भवन त यहाँको ल्यान्डमार्क नै हो । दोस्रो विश्वयुद्दको अवशेष झैं लाग्ने कतै कतै साना गल्लीहरु भने न्यास्रा लाग्छन । त्यसबेला युद्धले तहस नहस भएका भवनलाई जस्ताको तस्तै राखे झैं लाग्छ । फुस्रे नरङिएका । तै पनि मान्छेको बास भने देखिन्छ। आजकाल बलियो इलेक्ट्रोनिक् ढोका बनाएर कोड सिस्टमले ढोका खोलेर भित्र छिर्छन मान्छेहरु । दोश्रो विश्वयुद्दताका बम बारीबाट ज्यान जोगाउन त्यतीबेला बनाइएका भूमिगत सुरुङहरु अहिले डिस्को र पब बनाउन खुबै उपयोगी भएका छन । मेट्रो स्टेसनका सिडीहरुमा बच्चा बोकेर माग्न बसेका तरुनी आमाहरु प्रशस्त देखिन्छन । उनीहरुको छेवैमा फुलका गुच्छा बेचिरहेका बुढी आमाहरु पनि देखिन्छन । यि द्रिश्यले तरुनी आमाहरुलाई ब्यङ्य गरे झैं लाग्छ । सलीताजियाको अपार्टमा गएर हामीले स्पाको लागि कपडाहरु लियौं । स्पा भन्नासाथ मलाई लाओसको याद आउँछ । धेरै बर्ष अगाडि लाओसमा डायनाले मलाई स्पा लैजाँदा मैले सम्भोग गर्ने स्नान घर पो रहेछ भन्ठानेर अत्तालिएको थिएँ । आज मैले त्यो लाओसको घटना सलीताजियालाई सुनाउँदा एक किलोमिटर जती हाँसीन। हामी ट्राम चढेर स्पा सेण्टरतिर लाग्यौं । ट्राम (रेल जस्तै देखिने र फ्लामे लिकमै गुड्ने । तर रेल भन्दा धेरै सानो) मा टिकट उपलब्ध हुँदैन। टिकट भूमिगत मेट्रोमा किन्नुपर्छ । हामीलाई भूमिगत मेट्रो झर्न अल्छि लाग्छ। ट्राममा बेला बेलामा टिकट जाँच हुन्छ । टिकट जाँचमा परियो भने जरिबाना हुन्छ। नत्र त्यत्तिकै हिंडे हुन्छ । मान्छेहरु टिकट किन्छन र ट्राममा चडछन । यो एउटा इमान्दारिताको नमुना हो । प्राय नयाँ पर्यटकलाई यो कुरा थाहा हुँदैन । सलीताजियासँग महिनाभरीको टिकट छ । केहीगरी म जाँचमा परें भने थाहा भएन भन्नुपर्ला । हुन पनि म आएको दुई दिन त भयो । आधी घण्टा लगाएर हामी स्पा सेन्टर पुग्यौं। सलीताजियाले हामी दुबै जनाको टिकट किनीन। चिसो पानी, मन तातो, तातो, अती तातो, स्विमिङपुल, स्टिमबाथ, ड्राइबाथ कस्तोमा बस्ने ? हामीले सबै ठाउँ आफुलाई पुर्यायौं। सलीताजिया मेरो लाओसको घटना सम्झेर बेला बेलामा मरी मरी हाँस्छिन । चार घण्टामा थाकेर हामी निस्कियौं । म फेरी बिना टिकट ट्राममा चढें । बेलुकी हामीलाई सुमीकहाँ खाना खाने निम्तो थियो । हामी पुग्दा मम बन्दै रहेछ । सबै मिलेर आफ्नो आफ्नो आकारको मम बनायौ। आकार जस्तो भए पनि मम निकै मिठो भएछ । पिरो टिम्बुरको अचार क्या स्वादिलो !!!!! सुमीले बुढापेस्टमा मम पसल खोले पनि चल्छ होला । मैले पिउँदा पिउँदै एक गिलास वाइन पोखें । त्यो पनि ल्यापटपमा। जस्मिनले मलाई वारेन्ट दिइ- अब फेरी पोख्यौ भने म तिमीलाई यहाँ आउन दिन्न । ५ बर्ष कि फुच्चीको वारेन्टलाई मैले दुबै कान समातेर स्विकारें। मम सकिँदा रातको १२ बजी सकेको थियो । यहाँ यातायातको २४ सै घण्टा कुनै दु:ख छैन । सलीताजिया आफ्नो अपार्टतिर लागिन । म सुरेन्द्रको अपार्टतिर । मलाई अली अली वाइन लागेको छ । म एक्लै फुटपाथमा हाँस्दै हिँड्छु । सलीताजियाले मलाई पहिलो पटक इमेल लेख्दा मैले उनलाई कुनै हंगेरियाली केटी भन्ठानेको थिएँ । पुर्बी यूरोपियाली वा रसियाली जस्तै लाग्ने नाम । गहुँगोरो छालामा अलीकती सेतो रङ बढी भएको । बाटुलो अनुहार, खिरिलो बन्न बन्न खोजेको नाक, मुस्काउन खोजेका ओँठ, चिम्सा चिम्सा खुलेका आँखा । उनी त सलीताजिया गुरुङ पो रहिछन। यहाँ उच्च शिक्षा लिन आएकि । अहिले उनलाई भेटेर खुब हाँसो उठेको छ मलाई । लाओसमा डायनासँग भएको घटना सुनाएर सलीताजियालाई खुब हँसाएँ । अब सलीताजियाको घटना डायनालाई सुनाउन पाए उ कती हाँस्दी हो ? सलीताजिया !!!





