दोहोरो नागरिकता माग्नेलाई ठिक जवाफ दिए अर्थमन्त्रीले

यस पटक गज्जब जवाफ दिए अर्थमन्त्रीले गैह्र आवाशिय नेपालीहरुलाई । यस अघिका सरकारका पदवालाहरु लुते देखिएका थिए । गैह्र आवाशिय नेपाली संघले माग्दै आएको दोहोरो नागरिकता दिन मन कुनै दललाई थिएन । कांग्रेस, एमाले र माओवादी कसैलाईपनि । तर बिदेश बस्ने, सुकिला मुकिला, जाने बुझेका, पैसो र पहुँच भएका ठानिने ति नेपालीका आँखामा तारो बनिएला भनेर ति मुख चपाएर बोल्थे ।

दोहोरो नागरिकता दिन हुन्न भन्यो भने गैह्र आवाशिय नेपालीहरु चिढिएलान्, रिसाउलान् र सर्वस्वनै होला, ति नेपालीका माझ आफ्नो पार्टी र नेता आँखाकै कसिंगर बन्लान्, कता नेपालकै चुनाव पनि हारेर कन्तबिजोक पर्छ कि झै गरेर डराएका थिए । तर अर्थमन्त्री वर्षमान पुनले हिम्मत गरेर भने, गैह्र आवाशिय नेपालीलाई दोहोरो नागरिकता दिन सकिन्न । पहिले लगानी गर । उनले जसरि हिम्मतका साथ भने त्यो तर्कयुक्त छ ।

टाढा किन जाने ? गैह आवाशिय नेपालीहरु मध्ये सबैभन्दा धनी मानिएका उपेन्द्र महतोलाई नै हेर्दापनि अर्थ मन्त्रीको जवाफ जायज लाग्छ । किनभने दशकौं देखि रसिया बसेर पनि उपेन्द्र महतोलाई नेपालमा लगानी गर्न दोहोरो नागरिकताले रोकेको छैन । उनले सञ्चार, मेडिया, बैकिंग लगायतका क्षेत्रमा लगानी गरिरहेकै छन् । उनको लगानीमा सरकारले हस्तक्षेप गरेको छैन । रसियाका सफल ब्यापारी उनी यता नेपालमापनि राम्रो लगानीकर्ताकै रुपमा दरिएका छन् । दोहोरो नागरिकताबिना आफ्नो लगानीको जोखिम हुने भए उपेन्द्र महतोलाई किन त्रास भएन ? नागरिकता दोहोरो नहुँदैमा के देशको, आफ्नो मात्रीभूमीको माया हुन्न ? त्यसो हो भने नेपालका हरेक ठाउँमा स्कूल र धार्मिक काममा किन करोडौं दान दिइरहेका उपेन्द्र महतोले ?

गैह्र आवाशिय नेपालीहरुले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्दै दोहोरो नागरिकता मागेका छन् । तिनको माग अनुसार सरकारले एन आर एन कार्ड ब्यवस्था गरिदिएकै छ । त्यो दिनु भनेकै नेपालीहरुको पहिचान गरेरै हो । त्यो कार्ड भएपछि न त नेपाल जान भिसा लाग्छ । न त लामो समयसम्म बस्न बाधा नै पर्छ । न त बिदेशको नागरिकता नै त्याग्नुपर्छ । उनीहरुले निर्वाध लगानी गर्न पाउँछन् । आफ्नो लगानी मन लाग्दा बेचेर ल्याउनपनि सरकारले छुट दिएकै छ । भएको सम्पत्तीपनि बेचेर ल्याउन रोकेको छैन ।

जसलाई बिदेशमा बसेर नेपाल यस्तो भयो र उस्तो भयो भन्ने मज्जा लाग्छ । जसले देशको लागि केहि गर्दैन र खाली नेपाली नेतालाई मात्रै सरापीरहन्छ, आफू केहि सुधारको काम गर्दैन तर स्वदेशको प्रशासनलाई मात्रै धिक्कार्दै बस्छ । जसले स्वदेशमा भएको सम्पत्तीपनि सिरिखुरि बेचेर बिदेशतिरै सारिसकेको छ उसैलाई दोहोरो नागरिकताको बढि लोभ छ । नेपालमा केहि नगर्ने र गर्ने इच्क्षापनि नभएका आलोचकलाई मात्रै अहिले दुबैतिरको नागरिकताको खाँचो बढि खट्केको छ । तिनै बढि आलोचक छन् । जसलाई स्वदेशको साँच्चै माया छ, जो आफ्नो जन्मभूमी प्रति वास्तविकरुपमा चिन्तित छ उसले लगानी गरिरहेको छ सक्दो । उसले जे सक्छ आफ्नो मात्रीभूमीका लागि गरिरहन्छ । नागरिकता त के आफूले सामाजिक काम गर्न जाँदापनि भिसाको शुल्क तिरि तिरि बिदेशीहरु गएर खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा सहयोग गरिरहेका छन् भने नेपालीलाई आफ्नो देशमा सहयोग गर्न र सानोतिनो लगानी गर्न दोहोरो नागरिकता नभए रोकिन्छ ? एन आर एन संस्थागत भएपछि सरकारले निकै दिईसकेको छ । जति एन आर एनले संस्थागत रुपमा देशलाई दिएको छ त्यो भन्दा धेरै दिएको छ सरकारले ।

कसै कसैले तर्क गर्छन्, देश पुरै एन आर एनको रेमिटेन्समा, बिदेशका नेपालीको पसिनाको कमाइमा धानिइरहेको छ । अहिलेपनि देशको रेमिट्यान्सको अधिकांश भाग दोहोरो नागरिकता नचाहिने र नमाग्नेहरुबाटै चलिरहेको छ । किनभने देशको रेमिटेन्सको मुख्य भाग खाडी राष्ट्रबाट आउँछ जहाँका नेपालीलाई दोहोरो नागरिकतासित सरोकार नै छैन । नत तिनलाई एन आर एन प्रति चासो र चाखनै छ । यूरोप, अमेरिका, जापान तिरका नेपालीको सम्पत्ती त नेपालमा नगन्य मात्रामा मात्रै भित्रिएको छ जसले देशको आर्थिक विकासमा खासै महत्वपूर्ण भूमिका खेल्दैन । तर दोहोरो नागरिकताको माग र लगानीको त्रास भने त्यहिँका नेपालीलाई बढि छ ।

त्यति हुँदापनि सरकारले गैर्ह आवाशिय नेपालीलाई आफ्नो पहिचान दिएकै छ । अब सरकारले दिएझैं गफ होइन गैह्र आवाशिय नेपालीले आफ्नो देशमा आम नेपालीले महसुस गर्नेखालको लगानी गरेर देखाउनुपर्छ । अर्थमन्त्री वर्षमान पुनले ‘गफ बढि भए, ठोस लगानी गरेर देखाउनुस्’ भन्ने भनाई जायज छ । उनको भनाई जायज नभएको भए, लगानी सुरक्षित नहुने भए एन आर एन कै योजनाकार उपेन्द्र महतोले किन करोडौं करोड लगानी गरिरहेका छन् त नेपालमा ?

तपाइँको प्रतिक्रिया