नेपालका हिमालले विश्व प्रसिद्द बनायो
गत साल पोर्चुगलका विश्व प्रसिद्द हिमाल आरोही जोआओ गार्सियसित लिस्बोनमा भेट हुँदा उनैले सुझाए ‘तिमी नेपालप्रेमी यूरोपेलीबारे पुस्तक लेख्न लाग्या भए म एक जनाको नाम दिन्छु । उनी मेरा साथी हुन् आलाँ हुबे ।’ गार्सिया कति सहयोगि रहेछन् भने उनले अन्तर्वार्ता सकिनासाथै लिस्बोनको एक नेपाली रेस्टुरेन्टबाट तत्कालै मेरा बारेमा केहि शब्द लेखेर भेट्न चाहेको खबर पठाईदिए एसएमएस मार्फत् । हुबेको फोन र मेलपनि दिए ।
तर लगातार उनलाई खोज्दा भेट्न सकिन एक वर्षसम्म । यस पटक बेल्जियम अन्तर्वार्ताका लागि जाने निधो भैसकेपछि यस्सो सम्पर्क गरेको उनले जवाफ दिए । एक वर्षको खोजाईले काम गर्यो ।उनले मात्रै एक घण्टा समय दिन सक्ने भनेर ब्रसेल्सस्थित कार्यालयमा भेट्न बोलाए ।
मेरो अन्तर्वार्ता कम्तिमा डेढ घण्टा नभै नसकिने । त्यसैले तयारि गरें । भेट्न गइयो । ओहोहो उनको कार्यालय त कत्रो रहेछ ! सयौं मान्छे काममा ब्यस्त थिए । उनी त्यहि फाउन्डेशनमा ब्यस्त रहने रहेछन् । नेपालप्रेमी हुन्, नेपालका हिमाल नापेका छन् आफ्नै गोडाले भन्नेसम्म ज्ञान थियो । तर उनी त अन्तर्राष्ट्रिय स्तरका ब्यक्तिको रुपमा चिनिने पो भैसकेका रहेछन् । रमाइलो पक्ष के भने उनलाई त्यो अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने माध्यम बनेका रहेछन् हाम्रै नेपालका हिमाल । हाम्रै चुचुरा । हामी नेपालीकै हिउँ र तिनैले सिकाएका रहेछन् उनलाई ।
जम्मा एक घण्टाको समय छ । त्यो स्तरका मान्छेसित धेरै थुत्नु छ । कसरि गर्ने ? मैले लेख्न लागेको किताबको बारेमा सरर पहिलेनै मेल मार्फत जानकारी पठाएको थिएँ । सामान्य परिचय गरेर उनलाई मैले खोजेका जिज्ञासाको जवाफ दिन भनें । उनले सरर बताउँदै गए । असाध्यै हँसिला, फरासिला उनी नेपाल भनेपछि हुरुक्कै रहेछन् । नेपालका दर्जन भन्दा बढि चुचुरामा लडिबुडि गरेका । सयौं हजारौं मान्छेका दिन चर्या बुझेका ।
उनका कुरा सुन्न थाल्दा महिनौं सुनौं झैं लाग्थ्यो । उनी पहिले नेपाल यस्सो छड्के मारौं भनेर गए । सेता हिमाल यूरोपेलीका लागि मन चोर्ने, आँखा लोभ्याउने माध्यम भैहाले । त्यसैले उनले साना साना चुचुराबाट शुरु गरे । जति चढ्यो झन लोभिँदै गयो उनको मन । फरक फरक हिमालका चुचुरामाथि जाने ताकेता जारी राखे । ति चुचुरा चढ्दा उनी पटक पटक लडे । अनेकौं पटक खुरमुरिए । कति पटक् धुन्मुनिए कति । त्यसो गर्दा गर्दै उनले हिमाल चिने । हिउँ के हो बुझे । हिम पहिरासित पारंगत बने । उनले सिक्दै गए । हिमालले सिकाउँदै गयो । अब उनी सर्वोच्च अग्लो हिमाल सगरमाथा ताक्ने भए । र लागे सगरमाथा को टुप्पोबाट संसार चियाउन ।
तर के जिवन भन्दा विश्व रेकर्ड बनाउनु ठूलो हो र ? जिवन छ र पो मान्छे त्यस्ता रेकर्ड बनाउँछ, जिवननै नरहे के को रेकर्ड ? पहिलो पटक सगरमाथाको शिर पुग्नै लाग्दा सगरमाथा आरोही लडेको देखेका उनले उद्दार गर्न लागे । तिनलाई बचाउन खोज्दा खोज्दै उनको सगरमाथाको शिर पुग्ने समय बित्यो । उनी ‘कसैलाई बचाएँ’ भनेर सन्तोषको सास फेर्दै ओर्लिए । महिनौं महिना लगाएर बनाएको उनको योजनाले अरु कसैको जिवन बचाउन लाग्दा बिश्राम लियो । सगरमाथालाई घाँटी सम्म नापेर तिनै संझना खेलाउँदै उनी ओर्लिए ।
तर उनले त्यत्तिमै चित्त बुझाएनन् । शिरमै नपुगेपनि आखिर हिमालले दिने आकर्षण र सिकाउने ज्ञान त घट्ने होइन । पाइहालिन्छ । उनले दोस्रो पटक यात्रा तय गरे । यो पटक उनी तिनै विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमाल चढेर विश्व रेकर्ड बनाएका पोर्चुगाली आरोही जोआओ गार्सियाका मित्र बनिसकेका थिए । संयोग थियो, जोआओ र उनी एकै पटक सगरमाथा चढ्न जाँदै थिए । सगरमाथाको चुचुरो पुग्न केहि मिटर मात्रै बाँकि रहँदा गार्सिए लडे हिउँमा । हुबे फेरी गार्सियालाई उद्दार गर्न गए । उनलाई उद्दार गरेर ल्याउँदा यो पटक पनि सगरमाथाको चुचुरोले आलाँ हुबेको पैतालालाई स्पर्ष गर्न पाएन । उनी ओर्लिन बाध्य भए । यसरि उनले कहिल्यै सगरमाथाको शिरमाथि उभिएर विश्व नियाल्न पाएनन् ।
तर के फरक पर्यो त ? आखिर उनी प्रतिस्पर्धाका लागि गएकै थिएनन् । सगरमाथा जसरिपनि पुगेर रेकर्ड बनाउनु आफ्नो ध्येय नभएको उनले सुनाए । उनको बिचारमा हिमाल चढ्नु एउटा सोख हो । एक खाले खेलपनि । आनन्द, सौन्दर्यता र आफ्नै सन्तुस्टिका लागि चढ्छन् उनी हिमाल । कसैलाई मैले यति माथि पुगेर रेकर्ड बनाएँ भन्दै छाती पिट्नकालागि होइन ।
आखिर क्षमता हुनेलाई शिरैमा नपुगेपनि केले रोक्छ र ? उनले शिरमै पाइला नटेकेपनि हिउँका बारेमा आन्द्राभुँडी खोतले । हिउँसित लुकामारी खेल्ने अक्किल बुझे । हिउँको जिवन उनकालागि अब आजिवन नछुट्टिने भयो । नेपालको त्यहि हिउँ र हिमालको नाताले उनलाई अन्टार्कटिका महादेश पुग्ने अवशर जुर्यो । हिउँनै हिउँको राज्य त्यो अन्टार्कटिका पुगेका उनी पटक पटक जारी राखे । हुँदा हुँदा यति धेरै पटक पुगे कि उनले अन्टार्कटिकामा अनुसन्धान गर्ने विश्वको पहिलो अनुसन्धान केन्द्र नै बनाउने निधो गरे । त्यहाँको वातावरण, हावा, हिउँ, घाम र एक एक केलाएपछि उनलाई त्यो बनाउन सकिन्छ भन्ने अक्किल निस्कियो ।
त्यसको नाम राखियो प्रिन्सेस एलिजावेथ पोलार स्टेशन । त्यसको अध्यक्ष उनी आफैं बने । त्यो चलाउनको एक सचिवालयनै गठन गरियो । रमाइलो कुरो के भने उनले अनुसन्धान गरेर खडा गरिएको त्यो पोलार स्टेशनले एक प्रतिशतपनि कार्बनडाइअक्साइड उत्सर्ग गर्दैन । पुरै वातावरण मैत्री हो । अन्टार्कटिका जस्तो अति जाडो, बाह्रै महिना बाह्रै काल हिउँनै हिउँ हुने ठाउँमा कार्बडाइअक्साइड फाल्दै नफाल्ने स्टेशन बनाउनु नै विश्वकालागि अपत्यारिलो र ठूलो सफलता हो । यो नै उनले देखाएको उदाहरण हो । उनले भने ‘अन्टाकटिका जस्तो अति चिसो ठाउँमा कार्बनडाइअक्साईड शुन्य मात्रामा निकाल्ने स्टेशन बनाउन सकिन्छ भने विश्वका जुनसुनै ठाउँमा त्यस्ता स्टेशन बनाउन सकिन्छ’ । जुन उनले देखाएरै पुष्टि गरिदिए ।
यो स्टेशन बनाउन उनले निजि स्तरबाट १२ लाख यूरो उठाए । जुन मूलत उनैको प्रयास हो । उनले निजि स्तरबाट उदाहरण देखाएर ‘मैले बनाइदिएँ अब सरकारले चलाओस्’ भन्दै बेल्जियन सरकारलाई हस्तान्तरण गरिदिए । यो स्टेशनमा बसेर अनुसन्धान गर्न अहिले वार्षिक दुई लाख यूरो निकासा हुने गर्छ । यो देखेर लोभिएका जापानीहरु यस वर्षबाट साम्बा भनिने नौलो प्रोजेक्ट बनाएर हातेमालो गर्न थालेका छन् । उनीहरुले त्यसकालागि छुट्टै बजेट थपेका छन् । त्यसबाहेक त्यो प्रोजेक्ट चलाउन फाउन्डेशनकालागि (प्रशासनिक काम) पनि वार्षिक दुई लाख यूरो थप निकासा हुन्छ । अन्टार्कटिका महादेशमा भएको हिउँको प्रक्रिति, त्यहाँका हिउँको पग्लाइ, वातावरण हेरेर हाम्रो देशका हिमालको अवस्थालाई संकेत गर्छ भन्ने धेरैको विश्वास हावादारी रहेछ भन्ने पनि हुबेसितकै अन्तरंगबाट थाह भयो । ‘नेपालको हिउँ, प्रव्रित्ति र अन्टार्कटिकाको हिउँ बिच त्यस्तो तुलना गर्ने, संकेत गर्ने कुनै नातो छैन, नितान्त फरक कुरो हो’ हाँस्दै सुनाए उनले ।
हिम मानव झैं लाग्ने यी हिउँका किरा फेरी उतै अन्टार्कटिका तिरै जाने तर्खरमा रहेछन् । अबको छ हप्तापछि उनी अन्टार्कटिका पुग्ने तरखर गरेकाले औधी ब्यस्त रहेछन् । उनको योजना अब त्यहाँ चार हजार किलोमिटर पैदलमा अनुसन्धान गर्दै हिँड्ने, घुम्ने रहेछ । त्यो स्टेशनमा अनुसन्धानकालागि चाहिने मेशिन, बत्ति, बस्ने व्यवस्था सारा उपलब्ध रहेछ । यतिसम्म कि ईन्टरनेटको सुविधासमेत चौबिसै घण्टा । कुराकानी गर्दा गर्दै मेरो जिज्ञासा नमिटिएको उनले बुझे । उनका कुरा सुनिरहें तर आफ्ना प्रश्न तेसार्नै भ्याइन । अब बाँकि छलफल कहिले गर्ने त ? मैले सोधें । उनले हाँस्दै जवाफ दिए ‘म अन्टार्कटिका पुगेपछि त्यहि स्टेशनबाट छलफल गरौंला है ? मेरो स्काइप जोड्नुहोला’।
मलाई चाहिँ लागिराख्यो, नेपाल भनेपछि हुरुक्कै हुने अन्तर्राष्ट्रिय स्तरका यस्ता ब्यक्तित्वलाई नेपालले आफ्नो हितमा प्रयोग गर्न सक्ने हो भने कति फाइदा लिन सक्दो हो ? विश्वका प्रसिद्द पत्रपत्रिकाका मुख पेज ढाकिराख्ने यीनको पहुँचलाई हाम्रो देशको हितमा सदूपयोग गर्न पाए केहि न केहि त हुँदो हो । तर भोज भतेर र रमझमै रमाउने अधिकांश नेपाली लम्पट कूटनितिज्ञ र विदेशमापनि आफ्नै घेरो भन्दा हत्त पत्त बाहिर ननिस्कने हाम्रो नेपाली मानसिकता यथावत रहेसम्म कहिले संभव होला ?
(तस्विरहरु हुबेकै स्रोतबाट लिईएको हो)





