कसलाई मतलव अन्तर्राष्ट्रिय महत्वको यो तालको ?

bis-hazari-lake-of-chitwan.jpgचितवनको विस हजारी तालको हो यो फोटो । पहिले कस्तो थियो र अहिले कस्तो हालतमा छ भन्ने कुरा त फोटोलेनै बताउँछ । सङ्लो पानी । हजारौं चराहरु चिर्बिराउने यो ठाउँ । थुप्रै गोहीहरु छेउमा गजधम्म परेर मुढो झैं पल्टिन्थे । गैंडाको पिउने र शरिर पखाल्ने नियमित ठाउँ जस्तै थियो । सेता कमलाका फूलले टाढैबाट आकर्षित गर्थे । वरिपरिका ससाना पानीका स्रोत गर्मीयाममा सुक्दा चितवनको वरण्डाभार क्षेत्रका सारा जिवजन्तु सोहोरिएर यहि पानी खान, खेल्न आउँथे । बाघ, भालु, म्रिग र चित्तल, अजिंगर, चितुवा र वनबिरालाहरुको पनि वासस्थान हो यो । यि सारा जिव जन्तु देखाउँदै सौराहा र वरिपरिका हजारौं पर्यटक भिड लगाएर होटेलवालाहरुले डलर कमाए । थुप्रै पर्यटकले यहिँका जिवको फोटो खिचेर बिदेशी पैसो हात पारे । थुप्रै गैह्र सरकारी संस्था उँभो लागे । रिपोर्ट धेरै तयार गरिदियो यो तालले बैज्ञानिककालागि । अहिले ताल आफैं संकटमा परेको छ । तर कसैले वास्ता गरेको छैन । 

नत डलर कमाउने सौराहाका पर्टन ब्यवसायी, न अन्तर्राष्ट्रिय सिमसार क्षेत्र बनाउनुपर्छ भन्ने सरकार नत बैज्ञनिक । गैह्र सरकारी संस्थाको त झन के कुरा गर्नु र ! कसैलाई मतलब छैन । स्रोत र साधन जिवन्त रहुन्जेल दोहन गर्‍यो अनि छोडिदियो । अहिले ताल पुरै माटो र झारले पुरेको छ । तालको स्वरुपनै मेटिन लागेझैं छ । पहिले छिनभरमै दर्जनौं चरा सल्बलाउने ठाउँ सुनसान देखिन्छ । तर यसको संरक्षणका लागि कसैलेपनि चासो राखेको देखिँदैन । कम्सेकम दिनदिनै पर्यटकलाई देखाएर डलर सोर्नुपर्ने सौराहा पर्यटन ब्यवसायीलाई त यसको चासो हुनुपर्ने हो । यहि ताल देखाएर अरु दाम कमाउनु पर्छ भन्ने सोचलेपनि तिनले संरक्षण गर्नुपर्ने हो । जैविकविविधताको प्राक्रितिक महत्व नबुझेपनि । तर तिनमा पनि कुनै चासो, चिन्ता र सरोकार देखिँदैन । महिनैपिच्छे दुइ तिन जना ब्यक्ति खटाएर डुंगाको माध्यमले त्यस्ता हमलाकारी झार मात्रै झिकिदिने र तालको निगरानीको ब्यवस्था गरिदिएपनि धेरै संरक्षण हुने थियो । त्यतिका लागि त्यतिबिघ्न खर्चिलो हुँदैनथियो । त्यसको लागि त स्थानिय केहि होटेललेपनि ब्यव्स्था गर्न सक्थे । तर ताल संरक्षणकालागि भन्दापनि तिनको ध्येय ताल जिवित रहुन्जेल दोहन गर्नमै देखिन्छ ।

बीसहजारी ताल (हजारिया ताल) किन महत्वपूर्ण ?  यो ताल चुरे पहाड र महाभारत पर्वतलाई जोड्ने एक मात्र वन्यजन्तु ओहोरदोहोरको सुलभ मार्गका रूपमा रहेको चितवन जिल्लाको बरण्डाभार जंगलभित्र पर्छ। गीतानगर गाविसको देवनगरछेउ र पूर्वपश्चिम राजमार्गको टिकौली वन कार्यालयबाट पश्चिम करिब तीन किलोमिटरको दूरीमा रहेको यो तालले करिब ३२ हजार हेक्टर क्षेत्रफल ओगटेको छ। तालको वरिपरि साल तथा मिश्रित वनसमेत हुनाले रैथाने तथा बसाइँसराइ गरेर आउने चराका लागि समेत महत्वपूर्ण मानिन्छ। मुख्य तालको वरिपरि थुप्रै साना तालहरू रहेकालेपनि यसलाई हजारिया तालसमेत भन्ने गरिएको हो। विस २०१६ सालमा तत्कालिन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले खगेरी नहर उद्घाटन गर्ने बेलातिर बिस हजारी तालवरिपरि थुप्रै खाल्टाखुल्टि थिए र नहरको पानीले मात्रै नपुग्नेहुदा तिनमा पानी जमाइन्थ्यो। त्यसबेला यो बिसहजारी ताललाई आँपेताल भनिन्थ्यो ।

यहाँ आठ हजारिया, सोह्र हजारिया, सत्र हजारिया, अठार हजारिया भनिने अन्य साना तालहरूसमेत छन्।  प्रारम्भिक सर्भेक्षणबाट यहाँ १७ प्रजातिका माछा, १ सय ३१ प्रकारका वनस्पति, १३ जातिका सरिसृप, १२ जातिका स्तनधारी जन्तु र दुई सय ७३ प्रजातिका चरा पाईएको छ। ति मध्ये ६० प्रजातिका त सिमसारमै आश्रित पर्छन। करिब १९ प्रजातिका दूर्लभ श्रेणीका चरा छन। यहाँ पाइएका चरामध्ये विश्वबाटै लोप हुनसक्ने जोखिम (Globally Threatened) मा परेको लेसर एजुटेन्ट स्टोर्क (Lesser Adjutant stork) भनिने तालु खुइलिएको गरुड, विश्वबाटै लोप हुनसक्ने जोखिमको निकट पुगेको (Near Threatened) हंग्राई (Great Hornbill), ग्रे हेडेड फिस ईगल भनिने चिल (Grey headed Fish eagle) र सर्पे चरा (Darter) , फेजेन्ड टेल्ड जकाना (Pheasant tailed Jacana) भनिने लामा खुट्टा, घाँटीको माथिल्लो भाग पहेँलो, पखेँटाको तल्लो भाग सेतो धब्बा, शरीरको तल्लो भाग कालो र पुच्छर लामो भएको पानीचरा जस्ता चरा पाइनुले यो ताल चराहरुका लागि कति महत्वपूर्ण छ भन्ने देखाउँछ। बसाइँ सरेर आउने चराका निम्ति आराम गर्ने तथा यात्रा छोट्याउने स्थलको रूपमा समेत रहेको छ यो ताल  यहाँ पाइने मध्ये ६० प्रजातिका चरा यही तालमा आश्रति छन् । तीमध्ये १९ प्रजातिका दुर्लभ श्रेणीका मानिन्छन् । जाडोमा बसाई सरेर आउने तथा गर्मीयाममा ससाना धाप र खोल्साको पानी सुक्ने हुनाले टाढा टाढाका चरा पनि पानीका निम्ति यहीँ धाउँछन्   

(बिस हजारी ताल संबन्धि बीसहजारी ताल (हजारिया ताल) किन महत्वपूर्ण ? भन्ने जानकारी मैले आफ्नै पुस्तक ‘पन्छी जगत’बाट साभार गरेको हुँ । पहिलो तस्बिर म आफैंले खिचेको हुँ नेपाल प्लसकालागि )

तपाइँको प्रतिक्रिया