आफ्नै लोग्नेको ठगीबाट जोगिनपनि पढ्न थाले महिलाले
● गिता घिमिरे / डँडेल्धुरा
नेपालमा अधिकतम महिला अशिक्षित छन्। कृषि पेशाबाट जीविकोपार्जन असम्मभव भएकाले यहाँका अधिकांश पुरुष भारत पलायन हुन्छन् । त्यसमा पनि दलित समुदायका व्यक्तिहरुको स्थीति झन् दयनिय छ । समग्रमा महिलाको अवस्था नाजुक छ । झन दलित महिलाहरुको अवस्था त भनिसाध्य छैन । दलित परिवारमा जन्म लिनु नेपाली समाजमा एउटा ठूलो चुनौती खेप्नु हो । त्यसको पीडा देख्ने र सुन्नेलाई होइन खेप्नेलाई बोध हुन्छ । तिनले मनग्गेसित पढ्न त पाउँदैनन् नै, दुई चार पटक साक्षरता कक्षामा बसेकै भरमा सामान्य अक्षर चिन्नपनि हम्मे हम्मे पर्छ ।
त्यसैले, महिलालाई साक्षर बनाउन डँडेल्धुरा, अमरगढी नगरपालीका वार्ड ३ गुजरलेकमा व्यावसायीक साक्षरता कक्षा संचालन गरिएको थियो । महिला उद्यमी बनाई उनीहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले तीन महिने व्यावसायीक साक्षरता कक्षा संचालन गरियो । जसमध्ये १४ गैर दलित तथा १२ दलित गरी जम्मा २६ जना महिलाहरु सहभागि थिए । ति मध्ये धेरैले साक्षरता कक्षा पढिसकेपनि सामान्य हिसाब किताब गर्न गाह्रै परेको थियो । २६ जना सहभागी मध्ये हिरा देवी पल्ले पनि एक हुन् जसको कथाले धेरैको मन चस्स छुन्छ ।
उनी गरिब दलित परिवारमा हुर्केकी महिला । उनका दुई छोरा, श्रीमान् र आफु गरी जम्मा चार जनाको परिवार । दुई छोरा कामको खोजीमा भारत पलाएन भएको लगभग दुई बर्ष भएको । कक्षा अवलोकन गर्ने क्रममा सेसीसहकार्यका कर्मचारी गुजरलेक पुग्दा कुराकानीका क्रममा उनले आफ्नो बिगतका दुखेसा सुनाउँन थालिन् ।
अहिले हिरा देबीको साथमा रहेका दुईजनाको परिवार तरकारी उत्पादन तथा बाँस र निगालोको काम पनि गर्दैआएको छ । एक दिन उनले आफ्ना श्रीमानलाई बाँसको काम गरेपछि प्रति डोको रु. २०० का दरले १० वटा डोका बेच्न पठाईन् । राति श्रीमान्सँग हिसाब माग्दा केबल रु. ७०० मात्र देखाए । त्यो बेला आफुलाई हिसाब नआउने भएकोले होला भन्ने विश्वास गरिन् । पछि थाहा भयो- १० डोकाको २०० का दरले त २००० रुपियाँ पो हुने रहेछ । आफुले हिसाब गर्न नजानेपछि घरपरिवारबाट नै महिलाले ठगिनुपर्ने रहेछ । आफूले उत्पादन गरेका सामान बेच्न जाँदा व्यापारिले आफै हिसाब गरेर पैसा दिने गर्थे । तर कति सामानको कति पैसा आउँछ भन्ने उनलाई जानकारी नहुँदा ब्यापारीले जति दिन्छ त्यत्ति लिएर फर्किन्थिन् उनी । ‘आफ्नो सामानको कति पैसा लिनुपर्ने हो भन्ने नै थाह हुन्थेन मलाई पहिले’ उनले सुनाईन् ।
तर अहिले उनको अवस्थामा परिवर्तन आएको छ । यो तीन महिने व्यावसायिक साक्षरता कक्षाले गर्दा अहिले उनी क्याल्कुलेटर चलाउन सक्ने भइन् । व्यावसायिक योजना बनाई आफ्नो लागत, नाफा छुट्याउन जानिन् । बजार माग हेरेर आफुले उत्पादन गर्नुपर्ने र सबै महिलाहरु मिलेर लागे गर्न नसकिने केही रहेनछ भन्नेपनि बुझिन् । अब भारत गएको छोरालाई पनि बोलाएर आफ्नो व्यावसायमा संलग्न गराउने विचार गरेको उनले बताईन् । “अब मलाई श्रीमानले फेरी ठग्ने आवस्था छैन । थोरै तिनो पैसाका लागि श्रीमानको मुख ताक्नुपर्ने अवस्थापनि छैन । म आफै बजार गएर आफ्नो उत्पादन बेच्छु । हरहिसाब आफै गर्छु” उनले भनिन् । पहिलेको भन्दा घरको आर्थिक अवस्थामा पनि सुधार भएको छ ।
यसरी महिलाहरु शिक्षाका कारणले पछि परेका भएपनि तीन महिने व्यावसायिक साक्षरता कक्षाले यस्ता महिलाहरुको जीवनमा ठूलो परिवर्तन ल्याउन सफल भएको छ । तर सबैको अवस्था एकै छ चाहिँ भन्न मिल्दैन । हिरा देवी पल्ले जस्तापनि महिला छन् जसको जिवनमा त्यसैले खासै परिवर्तन ल्याउन सकेको छैन ।
गुजरलेक डडेल्धुरा जिल्लाको नगरपालीका क्षेत्र भित्रपर्ने भएपनि सुदुर पश्चिमको अन्य पहाडी जिल्ला सरह विकासको दृष्टिकोणले पछि परेको वार्ड हो । मिश्रित जातजातिले भरिएको यो वार्डमा महिलाहरुको अवस्था झनै दयनिय छ । बिहान बेलुका हातमुख जोर्न पनि धौ धौ पर्नै भएकाले यस क्षेत्रका पुरुषहरु सानोतिनो कमाईकालागि प्राय भारत जाने गरेका हुन्। त्यसैले घर व्यावहार मिलाउनेदेखि बालबालिका तथा वृद्धहरुको जिम्मेवारीसमेत महिलाको काँधमा पर्छ । गुजरलेकका महिलाहरु विभिन्न कृषि क्रियाकलापमा संलग्न भएतापनि व्यावसायीक ढंगले उत्पादन गर्न नसकेको अवस्था थियो । फलस्वरुप आफ्नो परिश्रम बढि तर प्रतिफल भने न्यून रहेको थियो । तर अहिले साक्षरता कार्यक्रमले गर्दा कम्तिमा महिला चनाखा भएका छन् । आफ्नै श्रीमानले समेत ठग्ने यस भेगमा सनै भएपनि परिवर्तनका रेखाहरु देख्न सकिन्छ ।





