जनै छिनाल्दा गोरेलाई आपत (बेल्जियम यात्रा)
बेल्जियम यात्राको अघिल्लो लेखमै भनिहालें, अन्तर्वार्ता दिन्छु भनेर अन्तिम अवस्थामा अस्विकार गरिदिएपछि आपत पर्यो । यो पटकपनि सकिएन भने त असफल नै भइयो । बेल्जियमका पत्रकार सन्तोष न्यौपाने साथैमा थिए । सुनाएँ, सन्तोष झुरै भो यार, दोस्रो पटकपनि बिग्रियो मेरो यात्रा । असफलनै भईयो । ल न कोहि न कोहि त खोज्नुपरो । नत्र त बेल्जियममा साथीभाइ छन् भन्नु’नी बेकार हुने भो ।’
उनले यस्सो आँखा घुमाएर भने ‘एकजना मेरा हजुरबा छन्, कथा र कहानी त गज्जबकै छ । मान्नुहुन्छ की म यस्सो घन्टी मार्छु है त फोनमा ?’ बाबु उमेरका उनका हजुरबा जागिरमा रैछन् । त्यसैले फोनको घण्टी बज्नासाथ काटिदिए । ‘लौ त्योपनि नहुने भो ‘ भन्ने पर्यो । अनेक बिकल्प सोचे सन्तोषले तर सिप लागेन ।
केहिबेरमा हजुरबाले फोन गरे ‘नाती केका लागि हो बाबु तिम्ले फोन गरेको?’
अन्तर्वार्ता लिने, फोटो छाप्ने, तपाइका दुखका रामकहानी सब उप्काउने, निदिखोजी गरिगरि एक एक केलाएर छरपस्ट पार्ने । एक जना पत्रकार आ’का छन् । तपाइसित उनले कस्सिएर प्रश्नका भारी ओछ्याउँछन् । यस्तो भन्यो भने केके न गर्न लागेझैं आतंक छाउँछ । त्यसैले मैले भनें, ‘धेरै नभन्नुस । एक जना लेखक साथी छन्, हजुरका चाखलाग्दा अनुभव सुन्न चाहेका । म लिएर आउँछु है हजुरवा ? उनले सुनाउन राजि भए वा भेट्न मात्रै राजि भए भनेपनि हजुरबुवाकै घरमा गएर म उहाँलाई राजि गराइहाल्छु’ । सन्तोषले भेट्न राजि गराए ।
बेल्जियमका मुख्य शहरबाट निकै टाढा क्रिषी क्षेत्र भनेर चिनिने ठाउँमा बस्ने रहेछन् हजुरबा । हतारिएर जाँदापनि रेलले साँझ साँढे नौ बजे पुर्यायो । हजुरबाका घर पुग्दा पौने १० भो । सोह्र सराद लागेकाले उनी एक छाक मात्रै खाने रहेछन् । दिउँसो केहि नखाने भएकाले साँझ पेटका मुसा छिटो दगुर्छन् । त्यसैले हजुरबा र हजुरआमाका जोडीले हामी पुग्दा भात खाइसकेका । जानासाथ हाम्रोलागि खाना ल्याए । आफूलाई हुटहुटी भो ‘खाना खाँदा खाँदै बुढाले बाबु हो ल सुतम अब’ भनेर ओछ्यानतिर हिँडेभने के गर्ने ? सारा ध्वस्त हुने भो । त्यहि भएर यस्सो संकेत गरें ‘सन्तोषले हजुरबासित अथाह ज्ञान छ भन्नुहुन्थ्यो। असाध्यै प्रशंसा गर्नुहुन्थ्यो । मलाई’नी कहिले सुनम झैं भो । त्यसैले आको म पनि । खाना खाए’सी सुनम्ला’नी है हजुरबा? ‘ बुढाले ‘हस बाबु’ भन्दै सहमती जनाए । अलिकति मन ढुक्क भयो ।
खाना खाएर यस्सो अनौपचारिक कुरा गर्दै थियौं हजुरआमाले हजुरबालाई भनिन्, ‘ल अब म सुत्न गएँ । भोली बिहानै उठ्न पर्छ, हजुरपनि जानुस अब सुत्न’। ल परेन त आपत ? कुरा शुरु गर्न पाएको छैन उनी सुत्न गएभने त ? उफ् ! योपनि भत्किने भो के हत्ते !
बुढाले कुरा निकाल्न थाले । अहिलेका बुढाबुढीले बाबु आमाको ईतिहाँस मेटे रे । कसरि त ? गाउँघरमा सिल्टी, सिलावरका थाल कचौरा र अंखोरामा खाने चलन थियो । पुरानो भएपछि ति सब मधेशीलाई पत्रुमा दिएर साना साना कचौरा लिने । कि त कुच्याएर मिठाइसित भएपनि साट्ने । लगाएका लुगा च्यातेर थाङ्ना बनाउने । पुराना बच्चा हुँदाका लुगा सबै मिल्काउने । बालककालको कुनैपनि चिनु नराख्ने । पुरानो भयो भन्दै च्यातेर मिल्काउने । अनि अहिलेका बालबालिकाले हाम्रा बाउ बाजेले कस्तो दुख पाए, कसरि बाँचेका रहेछन् भनेर कसरि जान्न पाउने ? आफ्ना बाउ बाजेको दुख कसरि बुझ्ने ?
प्रशंसा नरुचाउने मान्छे को हुन्छ ? एकदमै कम । प्रशंसा गरिदिएपछि मान्छे बत्तिन्छ । झन सुर्रिन्छ अरु सुनाउन । मैले हजुरबालाई त्यसैगरि प्रशंसा गरें ‘ओहो है हजुरबा ? क्या ज्ञान छ के हजुरसित । कस्तो जायज कुरो गर्नुभो । यस्ता ज्ञान त कति होलान् कति है हजुरसित ? ल ल सुनाउनुस् सुनाउनुस् ।’
यसले मेरा हजुरबालाई जग हाल्यो भनेर बुझिहाले सन्तोषले । हजुरबाको पछाडी बसेका उनी मुर्छा पर्नेगरि हाँस्नथाले । तर हजुरबाले बुझ्लान् भनेर आवाज दबाएका छन् । घरीघरी म तिर हेरेर हजुरबालाई मैले ‘हो मा हो ‘ लाएको हेर्दै आँखा सन्काउँछन् ।
आफूलाई उनले बोलेका कुरा लिपिबद्द गरेर भोलीका पिँढीलाई सुनाउनुपर्छ भनेर राजि गराउनुछ । उनले यस्तो ज्ञान कसले दिने ? कसरि बुझाउने भन्दै थिए । त्यहि मौकामा मैले उनलाई भनिहालें ‘त्यहि त हजुरबा, हजुरसित भएका यूरोपमा भोगेका ज्ञान र अनुभवपनि हामीले सुनाएनौं भने कसरि थाह पाउँछन् र हाम्रा सन्ततीले ? यीनलाई थाहै हुन्न ।’
‘हैन यहाँका बच्चालाई त सब थाह छ । केहि लेख्न, सुनाउनै पर्दैन अरुले’ उनले अर्थ्याए । मैले थपें, ‘होइन तपाइका बालबच्चालाई पो थाह छ, देखे जाने त’नी। नेपालकालाई थाह छ त ? अनि यहाँ हजुरहरुले देखे भोगेका यी कुरा लिपिबद्द नभए त त्यसै हराइहाल्छन् नी, अनि कसले सुनाउने नेपालका वालवालीकालाई ? होकि होइन त हजुरबा ?’ सन्तोषलाई अब भने यसले हजुरबालाई ‘हस्’ भनेर मनाउने मेसो निकाल्यो भन्ने लागेछ, कुर्सी मुन्तिर टाउको झुण्ड्याउँदै हाँस्न लागे । नभन्दै बुढाले ‘हो बाबु हो’ भने। अनि आवाज रेकर्ड गर्न सहमती जनाए, लेख्न अनुमती दिए । उफ् ! बचियो बा !
तर खतरा हजुरआमा उठेर ‘हैन किन अहिलेसम्म बसेको हो ? सुत्न जानुस् त खुरुक्क ‘भन्दै बुढालाई पठाइदिन्छिन् की भन्ने थियो । उनको कोठामा आवाज र बत्तिको प्रकाश पुग्ला भनेर बिचका ढोका ड्यामडुम लगाइयो । हजुरबाले गुरुरुरुरुरुरुरु सुनाउँदै गए । म उनको सामुन्ने बसेर ‘है ? ए ? हो ? आम्मामा ! ओहो ! साँच्चै ? ए क्या खतरा है ? ओहो क्या आँटिलो हजुरबा त ! कति चाखलाग्दो ! मलाई कति सुनम सुनम् लाग्छ यस्ता कुरा ! कहाँ पाउनु यस्तो अनुभव सुन्न ?’ भन्दै हजुरबालाई रामकहानी सुनाउन जोस थपिदिएँ । ‘एउटा ईतिहास हुनुहुन्छ के हजुर बा तपाइ त’ एक पटक यसरि उचाल्दिँदा सन्तोष आँखा सन्काएर हाँस्दै थिए ।
उनले नेपालमा ठेक्कापट्टा गर्दाका कहानी केहिबेर सुनाए । त्यो हामीलाई चाख थिएन नै । तर के गर्नु ? सुन्नै पर्यो । खुब चाख मानेझैं गरेर सुनियो । एक पटक आफन्तमै जग्गाको विषयमा मुद्दा परेछ । आफ्ना बाबु तिन वर्षकै उमेरमा इहलोक छोडेपछि सम्पत्तीमा हात लम्ब्याउनेहरु देखिन्छन् नै । मुद्दा जिल्ला अदालत र पुनराबेदन अदालतमा पुग्यो । फेरी सर्बोच्चमा पुग्यो उनले जिल्लाको अदालतबाट हारेपछि । सर्बोच्चलेपनि हराइदिएछ । अनि के गर्ने ? उनले राजा वीरेन्द्रलाई बिन्तिपत्र हालेछन् ‘न्याय पाउँ ‘ भन्दै । वीरेन्द्रबाट हुकुम प्रमाङ्गी भयो । अनि सर्बोच्चको फैसला उल्टिएर उनको जित भएछ । त्यसैले उनलाई बेल्जियममा ‘राजालाई चिठी लेख्ने बुढा’ भनेरपनि चिन्ने रहेछन् धेरैले ।
पोखरामा रोडा ओसार्ने ठेक्का रहेछ । ठूला ब्यापारीको चेपुवामा परेछन्। ऋणमाथि ऋण थपिएपछि बिदेश जाने भन्दै काठमाडौं हानिए । तर कयौं पटक दलालको फन्दामा परेछन् । तरपनि बडा अक्किल जानेका, ठूला नेताका पहिचानमापनि परेका र आँटीला भएकाले जहिलेपनि पैसो उठाउने रहेछन् । अक्किल कतिसम्म जान्ने भने, भिसा नमिलेपछि एक पटक बिचैमा घर जानुपर्ने । बिदेश जाँदै छ भनेपछि दिएको ऋणपनि नमाग्ने । नत्र ‘मेरो ऋण ले’ भन्दै मान्छे ओइरिहाल्छन् । के गर्ने त ? बुढाले अक्किल रचेछन्, रजिस्ट्री चिठी लेख्ने आफैंले । चिठीमा गंगाराम ल तिम्रो यूकेको भिसा मिल्यो, फलानो दिन फोटो र भिसाकोलागि यति पैसो लिएर आउनु । ‘ आफ्नो ठेगाना त्यस्तो चिठी पठाएछन् । घर गएर चिठि खोले, लौ यूकेको भिसा मिलेको कुरो लेख्या रैछ’ भने । साराले बधाइ दिए । दिएको ऋण त के माग्थे, अब यसले कमाउँछ भन्ने सोचेर बरु ‘अझै चाहिन्छ कि ‘ भनेर सोधे । उनी काठमाडौं आएर फेरी केहि महिनामा अन्तत जर्मनी उडे ।
जर्मनीमा स्थायी बसोबासकालागि कोसिस गरे । तर अहँ मिलेन । बरु एक गैह्र कानुनीरुपमा बसेको भन्दै उनी प्रहरीको फन्दामा परे । लगेर प्रहरीले गाँज्यो एउटा कोठामा । ‘तिमीलाई नेपाल फर्काउने हो ‘ भनेछ । पैसो खर्च गरेर आएको कमाउन । कसरि फर्किने ? कुनै न कुनै बिठ्याइँ नगरि त प्रहरीले अल्झाउँदैन, बिमानमा कोचेर पठाइहाल्छ । राती भुइँको टेबलमा एक मुड्की ठोकेछन् । झर्याम झुरुम भयो सिसाको टेबल । अनि त प्रहरीले आतंक सातंक मच्चाएको कसुरमा मुद्दा हाल्ने भो । यसो गरेपछि तत्कालै नेपाल फर्काउने भएन । केहि समय बस्ने अल्झो त भयो । मुद्दा लड्दै गए उनी । कामपनि बाहिर गर्दै गए ।
केहि महिनामा उनको मुद्दा सकियो । नेपाल फर्किन उर्दी जारी गर्यो प्रहरीले । अब कसो गर्ने ? उनलाई तनाब भयो । प्रहरी कस्टडीमा आत्महत्या गर्ला भनेर जुताको फित्तादेखि सारा लुगा फुकाल्न लगाउँछ प्रहरीले । लुगा त फुकाल्यो नै । हजुरबाले जनैले घाँटी सुर्काएर आत्महत्या गर्लान् भनेर प्रहरीले त्यो जनै काटिदिएछ । यो जनै काट्नुनै हजुरबाकालागि खुदो भयो भने प्रहरीलाई तनाब, आपत ।
प्रहरीले बिहान, दिउँसो र साँझ ल्याएको कुनैपनि खाना खान अस्विकार गरेछन् हजुरबाले । उनले निहुँ पाइहाले । ‘किन मेरो धार्मिक आस्थामाथि आक्रमण गर्यौ, हेप्यौ ? किन अर्काको धार्मिक आस्थामाथि अनादार गर्यौ ? म केहि खान्न । म हिन्दू धर्मावलम्भी हुँ । मेरो आफ्नै आस्था छ । तिमीहरुले जिससलाई मानेजस्तै हामी भगवान विष्णु, शिव आदी देउता मान्छौं । तिम्रो जिसस क्राइस्टको मूर्ती भएको ठाउँमा गएर मैले भत्काइदिएँ भने तिमीहरुलाई कस्तो हुन्छ ? हो मेरो लागिपनि यो जनै मेरा देउता प्रतिको सम्मान हो, मेरो आस्था हो । त्यसैले मेरो आस्थामाथि चोट पुगेकाले म खान्न । ‘ उनले जवाफ दिएछन् ।
खान नखाएर बिरामी पर्यो भने के गर्ने ? मानव अधिकारका विषयमा बढि आवाज उठ्ने देश न पर्यो । हे आपत, के गरिएछ’नी यस्तो ? प्रहरी आजित भो । सोध्यो हजुरबालाई, के गर्ने त अब ?’
उनले त्यसको बिरुद्द मुद्दा लडे । भने, ‘म यो जनै काटिएकाले अपब्रित्र भएँ । पबित्र हुन १४ जना पुरेत चाहिन्छ मलाई । ति पुरेतले बेद पढेर मलाई पबित्र पारेपछि बल्ल मैले खान्छु । नत्र खान्न ।’
कहाँ पाइन्छन् त ति पुरेत ? कहाँबाट ल्याउने बेद ? कहाँ लगाउने पूजा ? प्रहरीहरुले हिन्दू मन्दिर खोजे धुइँपत्ताल लगाएर । अनि पुरेतलाई सोधेछन् हजुरबाले गरेको साँचो हो कि झुठो हो भनेर । हिन्दू मन्दिरका पूजारीले हिन्दू धर्ममा अनेक आस्था हुने र त्यसरि मान्ने पनि हुन्छन् भन्ने जवाफ दिएपछि हजुरबालाई तिन महिनाको कागज दिएछन् । प्रहरीले त १४ जना पुरेत कहाँबाट खोज्ने ? हिन्दू पुरेत खोज्दा खोज्दा प्रहरीनै आजित भए । जर्मनीमा १४ जना पुरेर कहाँ पाउनु ? अनि तिन महिना बस्न पाउने कागज लेखेर दिए प्रहरीले । ‘अहिलेलाई यति महिना बस्नु, आफ्नै किसिमले पूजा गर्नु, यो मुद्दा के हुन्छ पछि हामी हेरौंला’ भन्दै । हजुरबालाई आखिर त्यतिखेर अल्झो हालेर प्रहरीबाट फुत्किनु न थियो । प्रहरीले उनलाई ‘यस्तो घटना कहिल्यै भएको थिएन यस अघि । माफ पाउँ, हामीलाई जानकारी थिएन’ भन्दै दिएको रहेछ कागजपनि ।
हजुरबा बाठा त हुन् तर अति सोझापनि । काठमाडौंमा एउटा दलालले केटि राखेको रहेछ । बिग्रेका केटीहरुलाई साह्रै होच्याएर भन्ने शब्द बुढाले क्या निर्धक्कसित भने ‘त्यो दलालले त भालू राख्या रैच, मलाइ त तपाईसितै यसलाई’नी बिदेश पठाउने हो पो भन्छ’। हाहाहाहाहा !! बुढालाई यो भनेको के हो भन्नेनै थाह रहेनछ क्यारे । त्यसैले साह्रै सजिलोसित भने नाती सन्तोषका अगाडि । सन्तोष हजुरबाले भनेको त्यो शब्द सम्झिँदै हाँस्दै राती ।
सधैं ९ बजे सुत्ने बानी लागेका हजुरबालाई उचाल्दा उचाल्दै राती एक बजेसम्म राखियो । हामीले हँ का हँ लगाउँदा हजुरबा पनि सुर्रिँदै गए, सुनाउँदै गए । सुत्न गएपछि पनि करिब एक घण्टाजति हजुरबाका कुरा संझिँदै मरिमरि हाँसियो ।




