घोषणा भइसकेको उमेदवारी रातरात कसरि उल्टियो ?

कुनैपनि निर्वाचनमा उमेदवारले आफ्नो उमेदवारी दिन्छन् । त्यसमा रित पुग्नुपर्छ । सहमतीमै भए त निर्वाचनपनि हुनु पर्दैन नै । गल्ति कमजोरी भएपनि सहमतीमा मिलाउन सकिन्छ । तर ‘उमेदवारी बदर भयो’ भन्दै मेडियामा प्रचारनै गरिसकेर पनि रातारात फिर्ता गर्न मिल्छ ? (नमस्ते यूरोप मा प्रकाशित त्यो समाचार अन्तिममा हेर्नुहोला )। एन आर एन फ्रान्समा चाहिँ मिल्छ । आफूहरुलाई मन लाग्यो, मुख्य पदमा बस्नेले चाह्यो भने मिल्ने गरेकै हो । भए गरेका गल्ति कमजोरी आन्तरिक रुपमा सच्याएर मिलाउनु नराम्रो होइन ।

तर उमेदवारी परेको अन्तिम समयसम्म देखिएको कमजोरी नऔंल्याइदिनु र बदर भयो , एक जनाको मात्रै सदर भयो भन्दै समाचार छपाउनु । अनि फेरी लौ लौ बदर भयो भनिएको उमेदवारी फेरी सदर भयो भन्नु ? आज हुने भनिएको एन आर एन फ्रान्सको निर्वाचनमा त्यस्तै नाटकिय परिवर्तन भएको छ रातारात ।

आज आइतवार निर्वाचन हुने भनिएपनि मान्छेहरुको आकर्षण निर्वाचनमा देखिएन एक पदकालागि बाहेक । अध्यक्ष, उपाध्यक्ष, सचिव, महासचिव लगायत सारा पदमा मिलेर उठ्ने बाहेक प्रतिस्पर्धाकालागि अरुले उमेदवारी नै हालेन । तर  अन्तर्राष्ट्रिय समन्य समिती सदस्यका (आ इ सि सी) का लागि भने महासचिव हरि सापकोटा र अध्यक्ष अशोक न्यौपानेले उम्मेदवारी दिए । हरि सापकोटाले आफ्नै उमेदवारीमा हस्ताक्षर गर्न भुलेछन् । त्यो उमेदवारी संकलन गर्ने, हेर्नेले वा समितिका कोहि न कोहिले नदेख्ने कुरै थिएन । तर अस्ति साँझसम्म उनलाई त्यो गल्ति कसैले औंल्याइदिएन । त्यसो हुँदा अध्यक्ष अशोक न्यौपानेको एक्लो उमेदवारी सदर भयो । अनि समाचार छपाउन हतार भैहाल्यो । समाचार छपाए नमस्ते यूरोप डट कममा । सामचारमा स्पष्ठ लेखियो, ‘निर्वाचन समितिको मिति १४०९२०११ का दिन बसेको वैठकले निर्वाचन समितिको नियम अनुसार विभिन्न उमेद्वारहरुले विभिन्न पदका लागि पठाउनुभएको उमेद्वारी माथि नियमअनुसार भएको छ कि छैन भनि जाँचवुझ गर्दा निर्वाचन समितिलाई प्राप्त निवेदनहरु मध्ये आई सी सी सदस्य पदका लागि उमेद्वारी दिनुभएका हरी प्रसाद शापकोटाको आवेदन पत्रमा नीजको हस्ताक्षर नभएकोले उक्त निवेदन नियमानुसार सदर गर्न मिलेन, त्यसैले बदर गरिदिएको छ’।

निर्वाचन समिति पनि बनाइयो । समितिको काम परेका उमेदवारी जाँचबुझ गर्ने हो । अनि जे छ त्यहि वास्तबिकरुपमा बाहिर ल्याउने । उनीहरुले सायद त्यहि गरे। निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्नेलाई त आफ्नो मात्रै सदर हुँदा मजै हुने भो । तर एन आर एनमा बसेर सानोतिनो काम गरिसकेको ब्यक्तिलाई उमेदवारी बदर नै हुँदा त बेमोज हुन्छ नै । अनि लौ हरी सापकोटाको उमेदवारी बदर भयो भनेर हल्लाखल्ला मच्चियो । अब के गर्ने ? अनि हिजो रातारात फेरी निर्णय उल्ट्याउने काम भएछ । ‘झुक्किएर दस्तखत गर्न बिर्सिएकाले फेरी दस्तखत गराएर सदर गराउने’ भन्ने निर्णय भएछ । समितिका सदस्य बसेर त्यो निर्णय गरेको भनिन्छ ।

यता निर्वाचन समिति गठन गर्नु । उसले बदर भयो भनेर निर्णय दिनु । समाचारपनि छपाउनु, पढेर कोहि दंगपनि परे होलान् । तर निर्णय उल्ट्याउँदा निर्वाचन समितिका मान्छेलाई कस्तो लागे होला ? गरेको निर्णय उल्टिने भएपछि त्यो समितिमा बस्नु र समितिको बनाउनुको फेरी औचित्य के होला ?  आफू आफूमा त जात्रा देखियो नै, फ्रान्सका नेपालीबिचपनि सानोतिनो जात्रा हुने नै भयो । बेफ्वाँकमा समाचार पढेर दंग पर्न समाचार छपाएर अरु देशकालाई पनि किन हँसाएका हुन् ।

आखिर एन आर एनलाई समाबेशी, सबैको साझा र सहि नेत्रित्व दिएर चलाउन त सल्लाह र छलफल बाटै हुन्थ्यो । कम्तिमा सुझबुझ अपनाएको भए ‘लौ तपाइको हस्ताक्षर रहेनछ, गर्नुस्’ भनेर सम्झाइदिनपनि सकिन्थ्यो । कि भएको निर्णय अब उल्टाउन मिल्दैन भनेर जान सक्नुपर्थ्यो । नयाँ समिति सुझबुझपूर्ण तरिकाले आउला, मिलेर जालान् भन्ने आशाको शुरुकै गाँसमा ढुंगा लगाइदिए । जगत हसाउने काम गरे । गल्ति कसबाट भएको हो कुन्नि ! तर समितिका साथीहरुले चाहिँ राम्रो निर्णय गरेछन् । कानुनी रुपमा जे भएपनि ब्यवहारिक रुपले चाहिँ ठिक निर्णय लिएका हुन् । भलै निर्वाचन समितिलाई चाहिँ हामीलाई जोक्कर बनाए भन्ने पर्नसक्छ । यसरि रातारात सच्याउन मिल्छ भने निर्वाचन हुनु अगाडि कोहि ब्यक्ति आएर मपनि उमेदवारी हाल्छु, बदर भएको निर्णय सच्याउन मिल्ने भए मेरो उमेदवारीपनि दर्ता गर्न पाउनुपर्छ भन्यो भने उसले अधिकार पाउने कि नपाउने ?

जे होस, समिति बनेको छ । समितिमा अध्यक्ष : निर्मल अर्याल, उपाध्यक्ष :- घनश्याम पौडेल, महासचिव : भक्त बहादुर वाग्ले, सचिव : सुवर्ण विक्रम हमाल, कोषाध्यक्ष : थमन टण्डन, सह-कोषाध्यक्ष : नरेन्द्र शाही, सदस्यहरु : सिद्धार्थ राजभण्डारी, प्रकाश चन्द्र पाठक, किरण के।शी। एक बहादुर मल्ल, मीन बहानुर जिशी र महिला प्रतिनिधि : शोभा मैनाली उप्रेती छन् । तुलनात्मक रुपमा यहि कार्य समिति होलानै ति पदमा अन्य उमेदवारी नपरेकाले । आ इ सिसी म चाहिँ आज अशोक न्यौपाने र हरि सापकोटाबिच भिडन्त हुने छ ।

-नमस्ते यूरोप डटकममा अस्ति शुक्रबारनै निस्किएको तलको समाचार हेर्नुस्-

एन आर एन फ्रान्स निर्वाचन आयोगको सुचना

एन आर एन फ्रान्सको चौथो महाधिवेशन अन्तर्गत नयाँ कार्य समितिको निर्वाचन सम्पन्न गर्ने उद्देश्यले गठन भएको निर्वाचन समितिको मिति १४/०९/२०११ का दिन बसेको वैठकले निर्वाचन समितिको नियम अनुसार विभिन्न उमेद्वारहरुले विभिन्न पदका लागि पठाउनुभएको उमेद्वारी माथि नियमअनुसार भएको छ कि छैन भनि जाँचवुझ गर्दा निर्वाचन समितिलाई प्राप्त निवेदनहरु मध्ये आई सी सी सदस्य पदका लागि उमेद्वारी दिनुभएका हरी प्रसाद शापकोटाको आवेदन पत्रमा नीजको हस्ताक्षर नभएकोले उक्त निवेदन नियमानुसार सदर गर्न मिलेन, त्यसैले बदर गरिदिएको छ र अन्य पदका लागि प्राप्त हुन आएका आवेदनहरुलाई निर्वाचन आयोग नियमावलि २०११ बमोजिम सदर गरिएको नामावली यस प्रकार छ :- 

अध्यक्ष :- निर्मल अर्याल, उपाध्यक्ष :- घनश्याम पौडेल, महासचिव :- भक्त बहादुर वाग्ले, सचिव :- सुवर्ण विक्रम हमाल, कोषाध्यक्ष :- थमन टण्डन, सह-कोषाध्यक्ष :- नरेन्द्र शाही, सदस्यहरु :- सिद्धार्थ राजभण्डारी, प्रकाश चन्द्र पाठक, किरण के.शी. एक बहादुर मल्ल, मीन बहानुर जिशी र महिला प्रतिनिधि :- शोभा मैनाली उप्रेती आई सी सी सदस्य अशोक न्यौपाने।

किरण चन्द्र शिंह प्रधान 
संयोजक, निर्वाचन आयोग
मुकुन्द अमात्य
सदस्य
लक्ष्मण गुरुङ
सदस्य

तपाइँको प्रतिक्रिया