मध्यरातमा जंगलभित्र बाघको फोटो शेसन

योगेश अधिकारी / सौराहा,चितवन

(यसको दाहिनेतिर देखिन्छन् क्यामरा, बाघ यी क्यामराको अगाडि पुग्दा क्यामराले आफैं फोटो खिच्छ)

जंगलका राजा मानिने बाघ । जंगल भित्र भएको खुल्ला क्षेत्रमा रयाममा कुनै मोडेल हिँडेझैं लसक्क लसक्क हिँड्ने । रयामका दुईतिर हेर्दा बट्टा जस्तो देखिने क्यामराले क्लिक क्लिक क्लिक फोटो खिच्छ । अनि १ मिनेट सम्म सन्नाटा । फेरि केहि बेरपछि अर्को आकृति आउँछ । क्यामरा सक्रिय हुन्छ अनि फेरि क्लिक क्लिक क्लिक । हेर्ने र हेरिने कोहि छैन । उहि क्यामरा र बाघ । क्यामरा चलाउने फोटोग्राफरपनि कोहि हुँदैन । ति क्यामरा यस्ता हुन्छन् कि तिनले बाघ कहिले आउला भनि ढुकेर बस्छन् । अगाडि केहि न आउँदा क्यामरापनि चुपचाप लागेर बस्छन् । यस्ता क्यामरा आमुन्ने सामुन्ने आमुन्ने सामुन्ने पारेर उक्त रयाममा प्रत्येक १ कि.मी मा राखीएका हुन्छन् । बाघ जति वटा क्यामराको सामुन्ने भएर जान्छ फोटो निरन्तर खिचिन्छ क्लिक क्लिक क्लिक ।

शिर्षक र माथिको दृश्य पढेर अचम्म लाग्यो ? यो कुनै फिल्म सुटिङका लागि बाघलाई तालिम दिएर खिचे झैं लाग्यो ? तर यो कुनै फिल्मको द्रिष्य नभएर चितवन राष्ट्रिय निकुन्जमा सन् २००० देखि निरन्तर रुपमा गरिएको बाघको वास्तविक फोटो सेसनको प्रसंग हो । अनि यो कुनै प्रतियोगीताको लागि नभएर बाघको संख्या पत्ता लगाउन विश्व वन्यजन्तु कोष नेपाल, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा कोषका बन्यजन्तु प्राबिधिकहरुद्धारा संचालन गरिने बाघ गणनाको लागि प्रयोग गरियको प्रबिधी हो । यसलाइ क्यामरा ट्र्याकिङ भन्ने गरिन्छ ।

(भारतीय वन्यजन्तुकर्मीहरु क्यामरा जोड्दै । भारतमापनि यहि प्रविधी प्रयोग गरिन्छ बाघ गन्न )

हुनत कोषको प्राबिधिक सहयोगमा यस अगाडीपनि गैडा गणना, गौरी गाई गणना कार्यक्रम संचालनमा रहेका थिए । ति जनावरहरु सजिलै देख्न सकिने कारणले प्रत्यक्ष अवलोकन गरि तिनको आकार, हिँडाइ, शरिरको बिभिन्न भागको बनावट आदिको अबलोकन गरेर पहिचान गरिन्थ्यो । गणना गरिन्थ्यो । तर बाघ लज्जालू र निशाचार (प्राय राती सक्रिय हुने) जनावर भएकोले अर्थात मानिसको सामिप्य पर्नासाथ लुक्ने भएकोले गैडा र गौरी गाई गणना गर्दा जस्तो प्रत्यक्ष अवलोकन प्रबिधि सम्भव थिएन हुँदैन । त्यसैले सन् २००० भन्दा अगाडी बाघको पदचिन्ह (पाईला) बाट पहिचान गरि गणना गरिन्थ्यो । तर यस पदचिन्ह प्रबिधि अप्रत्यक्ष प्रबिधी भएको ले बैज्ञानिक मान्यता प्राप्त नहुने रहेछ । त्यसैले सन २००० देखि क्यामारा ट्र्याकिङ शुरुवात गरियो । जस्लाई प्रत्यक्ष प्रबिधिका रुपमा बैज्ञानिक मान्यता भएको कुरा प्रकृति संरक्ष्ँण कोषका बन्यजन्तु प्राबिधिकहरु बताउँछन् ।

कोषमा लामो समय सम्म बन्यजन्तु प्राबिधिक रहेका बरिष्ठ बन्यजन्तु प्राबिधिक बिष्णु लामा पाईलाको छापबाट बाघ गणना गर्दाको अनुभव सुनाउँछन् “बाघको पंजाको अबलोकनबाट भाले पोथि मात्र होइन कति बर्षको बच्चा हो भन्ने समेत पहिचान गर्ने गरिन्थ्यो । तिनिहरुको क्षेत्रको आधारमा नाम पनि प्रदान गर्ने गरिएको थियो । कुनै बाघ गाउ तिर आएमा त्यसलाई प्रत्यक्ष नदेखेपनि उसको पंजाको छाप बाट त्यो कुन क्षेत्रबाट आएको बाघ हो भन्ने पत्ता लगाउने गरिन्थ्यो । अहिलेको क्यामरा ट्र्याकिङबाट गणना गर्दा त्यसरि आएका बाघको फोटो नखिचि त्यो कुन क्षेत्रको बाघ हो भन्ने पत्ता लगाउन चाहिँ गाह्रो पर्छ ।”

त्यस्तै अर्का बन्यजन्तु प्राबिधिक हर्कमान लामाका अनुसार क्यामरा ट्र्याकिङ गर्न सर्बप्रथम बाघ बस्ने क्षेत्रको पहिचान गरि त्यस क्षेत्रका कुन कुन ठाउँमा बाघ बढि ओहोर दोहोर गर्छ भन्ने अनुमान लगाइन्छ । बाघ हिँड्न सक्ने केन्द्र पत्ता लगाइ त्यसको चार चार मिटरको दुरीमा आमुन्ने सामुन्ने अनुमान जमिन देखि १६ फिट उचाईमा १ सेट अर्थात दुईवटा क्यामरा राखिन्छ । त्यसको १ किमि पर फेरी अर्को सेट क्यामरा राखिन्छ । १ गु्रपमा सात सेट क्यामरा जडान गरिन्छ । जब दुईतिरका क्यामराको बिचमा केहि आकृति आउँछ त्यसपछि क्यामरामा भएको सेन्सरले काम गर्छ र स्वचालित क्यामराले फोटो खिच्न शुरु गर्छ । क्यामरा ले १ मिनेटमा ७ वटा सम्म फोटो खिच्न सक्ने भएपनि गणना गर्दा प्रायजसो ३ वटा मात्र खिच्ने गरि क्यामरा सेट गर्ने कुरा प्राविधिक हरु बताउँछन ।

क्यामरा ट्र्याकिङ शुरुवात रिलवाला यासिका क्यामरा बाट गरिएको थियो । क्यामराले कुन जनावरको फोटो खिच्यो भन्ने पत्ता लगाउन क्यामराको सम्पुर्ण रिल धुलाउनु पर्ने र ब्याट्रि पनि प्रसस्त लाग्ने कारणले झन्झटिलो र खर्चिलो थियो । तर आजकाल भने तत्कालै चिप्स झिकि अर्का क्यामरामा हेरेर कुन जनावरको फोटो खिचेको पत्ता लगाउन सकिन्छ । र तत्कालै कम्युटरमा राखि आबश्यक अनुसंन्धान गर्ने सकिने डिजिटल प्रबिधि आयकोले सजिलो भएको कुरा प्राविधिक हरु बताउँछन ।

बाघको जिवन / दैनिकी

बाघ एक्लै बस्न रुचाउने जनावर हो । यिनले बिचरण गर्ने आफ्नै क्षेत्र निर्धारण गरेका हुन्छन् । भाले बाघले ५२ देखि ६२ बर्ग किमी जति र पोथि बाघले २६ देखि ३० बर्ग किमी क्षेत्र ओगट्छन् बिचरण गर्नका लागि । आफ्नो क्षेत्रको सिमाकंन गर्न यिनिहरुले रुखका बोक्रा नंग्राले कोतर्ने, जमिनमा पिसाव फेर्ने र गर्जेर आफ्नो क्षेत्रको छाप छोडेका हुन्छन । प्रजननको समयमा बाहेक बाघ दुईवटा संगै हिडेको बिरलै देख्न पाईन्छ । बाघको सरदर आयु १४ देखि १६ बर्ष हुन्छ ।  भाले ३.५ देखि ६ र पोथि ४ बर्षमा बयस्क हुने हुन्छन् । गर्भधारण गरेको १०३ देखि १०७ दिनमा पोथिले एक बेतमा २ देखि ४ वटा डमरु जन्माउने गर्दछन । बच्चा अर्थात डमरु १ देखि डेढ बर्ष सम्म आमा संग बस्ने र यसै समयमा शिकार समात्न सिकाउने गर्छन ।

राष्ट्रीय निकुन्जको तल्लो समथर क्षेत्र मात्र समेटेर सन् २००८ मा गरिएको क्यामरा ट्र्याकिङ प्रबिधी बाट ९१ वटा बयस्क बाघ पहिचान गरिएको थियो । सन २०१० मा गरेको गणनामा निकुन्जको पहाडि क्षेत्र अर्थात चुरे पहाडक्षेत्र पनि समेटता १२५ बाघ फेला परे । निकुन्जको क्षेत्रफलका आधारमा यति धेरै बाघ पाउनुको प्रमुख कारण यस निकुन्जमा बाघको लागि प्रसस्त मात्रामा शिकार उपलब्ध हुनुनै हो भन्ने कुरा बताउदै बरिष्ठ बन्यजन्तु प्राबिधिक बिष्णुलामा भन्छन “बाघको विशेष आहारको रुपमा मृग प्रजातिका चित्तल, जरायो, रतुवा, बाह्र सिंगे, बदेल, दुम्सी आदि हुन् । त्यसबाहेकपनि हात्तिका छावा, गैडाको बच्चा आदिको समेत शिकार गर्ने गरेकाले शिकार प्रसस्त प्रशस्त पुगेको छ ।  वासस्थान सुरक्षित र प्रशस्त आहारा भएकाले संख्या बढेको हो ।”

(तस्विर- पहिलो, नेशनलज्योग्राफी र बाँकि ईन्टरनेटबाट तानिएको हो)

तपाइँको प्रतिक्रिया