दूतावासको काम: भोज भतेरमै सिमित कि ब्यापारिक प्रवर्धन ?

● युवराज गुरुङ  / बेल्जियम

हामी सबैले राजनीतिक बिचार अलग अलग राख्छौं स्वभाविक हो । तर हामी तिन तिन जनाको साझा कुरा चाहिँ के हो त ? एनआरएनमा झन बढि राजनीति हुन्छ । सबै राजनीतिक मुद्दा त हो नी एनआरएनले उठाएको । दोहोरो नागरिकता भन्ने सानोतिनो राजनीति हो त्यो ? राजनीतिक पार्टीले उठाएको भन्दापनि दश गुणा चर्को राजनीति हो त्यो । तर त्यो कुनै पार्टी विशेषको पो मुद्दा होइन त । त्यस्ता मान्छेले संगठन हाँकेपछि के हुन्छ हालत ? 

कुनैपनि नयाँ ठाउँमा आएपछि देखेर सुनेर र परेर जानिने कुरा हुन्छन् । पढाइ नै नहोस् वा आफ्नो देशमा नभोगोस् । बिदेश आएपछि देखेर पनि जानिन्छ । नयाँ ठाउँमा आएपछि यत्तिसम्म गर्न हुन्छ र यति सम्म हुन्न भन्ने हेक्का रहनुपर्छ । बिदेशमा बसेर पालना गर्नुपर्ने धर्म त हुन्छन्, आचरण हुन्छन् । त्यो पनि भुल्दिने गरेका छन् । 

बेल्जियममा यति संख्या बढेको छ कि । २० वर्ष मुनीका बच्चाको संख्या निक्कै बढेको छ । हामी नेपाली अधिकांश गाउँघरमा कुपोशणका शिकार भएका हौं । केराउ खुर्केर खान हामीलाई के थाह थियो र ? जता कपाल लर्काएपनि कपाल बांगो पारेपनि उ कोरियन हुन सक्दैन । जति हाइड्रोजन हालेर लर्काएर गोरा हुन सकिन्न । हामी कुपोषणमा हुर्केका मान्छे अहिले बेल्जियम आएर गोजीमा भिसा कार्डा हाल्दैमा हुन्छ र ? 

हिजो आइयो पहिले त आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्नतिर लागियो । सामान्यता ब्यक्तिगत स्वार्थ पूरा भएपछि बल्ल मुलुकका बारेमा सोच्ने हो । हामीले सोच्ने भनेको देशप्रेम मात्रै हो । हामी कुनै देश भक्ति गाथा गाएर केहि हुनेवालापनि छैन । र गरेरपनि सकिन्न । मुलुकभन्दा बाहिर गर्ने भनेको देशप्रेम मात्रै हो । 

कम्सेकम हामी यहाँ आएका छौं हुने सम्म प्रयत्न गरौंन त । जस्तो नेपाली मेला लगाइसकेपछि कम्सेकमपनि हामीले नेपालको दुई चार वटा पार्टीहरुलाई कुन सहुलियत दिएर हुन्छ हेन्डिक्राफ्टको सामान झिकाउन सकौं न । तेस्रो पटक जति गुणात्मक फड्को मार्नुपर्थ्यो सकिएन । हामीमा जोस छ, जाँघर छ । हामी पैसा उठाउँछौं । यता गर्छौं उता गर्छौं । झाँकी निकाल्छौं बिभिन्न जात जातिको । हामीले गर्ने भनेको त्यत्ति हो । तर जो सरकारको निकाय हो उसले त त्यहि स्तरले सोच्नु पर्‍यो नी । 

एन आर एनको आयोजनामा नेपाल पर्व मनाउने निर्णय भयो । त्यसमा प्रदर्शनीकालागि मिटिङमा हस्तकलाका ब्यापारी ल्याउने कुरो थियो । सम्पर्क हुँदा उनीहरुलाई कति बिक्रिहुन्छ त भनेर सोध्दा त्यस्तै २, ३ सय भनिदिए । उनीहरुले त उताबाट जाते आते सबै हिसाब गर्छन् । कम्तिमा २ हजार यूरो खर्च हुन्छ । अनि ति आएनन् । मेलामा बेल्जिकले टपक्क टिपेर लाने कुरो देखेनन् । नदेखेपछि त त्यसले राम्रो सन्देश त गएन । ठमेलको सडकको पसलमा जस्तो दुई तिनवटा पसल भैदिएको भए मान्छेले देखेपछि न माग बढ्थ्यो । उनीहरुसित पैसा त छ तर लाने के कोठामा सजाउने, साथीलाई दिने ? सामानै थिएन के । 

अस्ति समिक्षा बैठक थियो । त्यो बैठक यहीँ बसेको थियो । राजदूतपनि आएका थिए । के समिक्षा गर्ने ? हामीले हाम्रो स्तरको गर्ने गरियो । हामीले गर्ने के भने मान्छे कुदाउने । एकदिन छुट्टि लिने । कराउन लाउने । आफू खट्ने । सरकारले सोच्ने भनेको त त्यसलाई अर्को स्तरबाट सोच्ने हो । मञ्च छ, जनशक्ति छ हाम्रो भनेपछि नेपाललाई कसरी प्रवर्धन गर्ने ? मैले दूतावासको आलोचना गरेको होइन । यो हिजोकोले त्यस्तै गरेको हो । भोलीकोलेपनि त्यस्तै गर्ने दिन आउला । तर यो तरिकाले गर्दा जति अवसर त्यो तरिकाले हामीले लीन सकिराखेका छैनौं । 

सगरमाथालाई यहाँ ल्याउन पो सकिन्न त । सगरमाथाको फोटो यहाँ ल्याउन त सकियो । यहाँका मान्छेलाई सगरमाथा पुर्‍याउनपनि सकिन्छ । यार्सागुम्बा हामीले किलोका किलो ल्याएर बेच्न पो नसकिएला । त्यसको एउटा मोडल ल्याएर देखाउन त सकिन्छ नी । एउटा व्यक्तिले ठमेलमा भएको सानो चीज ल्याएर गोरेहरूलाई अगाडि राखेर घण्टौं घण्टा गफ दिन सक्छ भने दूतावासले किन सक्दैन ? सक्नुपर्छ । प्रजातन्त्र दिवस भन्छ । लोकतन्त्र दिवस भन्छ । गणतन्त्र दिवस भन्छ । तिन  खालको । अचम्म लाग्दो । त्यो सबै उस्तै उस्तै कुरो हो । हुनत अहिले निर्देशन त्यस्तै रहेछ । 

त्यस्तो विषयमा खर्च गर्ने पैसाहरु सरकारले दिन्छ । औपचारिकता पुर्‍याउनकोलागि दूतावासले कार्यक्रमहरु गर्छ । अब हामी जानै पर्‍यो खबर आएपछि ।  गयो । दुई तिनवटा भाषण सुन्यो । भाषण सधैं एउटै हुन्छ टेप रेकर्डर सुन्या जस्तै । दोहोरो कुरा प्रश्न उत्तरपनि कहिँ केहि हुँदैन । अनि अन्तिममा भोज हुन्छ । पाँचै सय यूरो भनौं, हजारै यूरो भनौं त्यो दिन त गयो त । फेरी त्यहि शिर्षकमा खर्च गर्न भनेर उताबाट छुट्याइएको हुन्छ । समय सापेक्ष कसरि जाने भन्ने पद्दतीको कुरो छ । ब्यापारीहरुलाई त्यहाँ भेला गराएर त्यो खर्च गराइने जुन पैसा छ नी त्यो पैसा अरु शिर्षकमा खर्च गर्न उसलाईपनि छूट दिनुपर्‍यो । दूतावासलाईपनि । उसले चाहेरपनि हुँदैन के । लोकतन्त्र दिवसको लागि भनेर त्यो विषयमा खर्च गर्ने अधिकार छ तर अर्को विषयमा खर्च गर्ने अधिकार छैन फेरी । धेरै कुराहरु मिलेको छैन । कहिले मनाउने ? कहिले के गर्ने ? त्यो सोच्नै भ्याएका छैनन् । 

बेल्जियममा ब्यवसाय गर्ने साथीहरुले एउटा ब्यवसायिक संगठन बनाएका छन् । सानोतिनो गतिबिधीहरु गरिराखेका छौं । ब्यापारिहरु मिलेर एउटा नेपाल हाउस भने जस्तै घर बनाएर नेपाली उत्पादन मात्रै राख्ने, सामूहिक ब्यापार, काम गरौं भनेर मैले प्रस्ताब राखें । तर त्यस्तो कुराले सार्थकता पाउँदैन । 

सफल भइयोस् नभइयोस प्रयत्न गरौं भनेको । १० हजार डुबिहाल्यो भने हामी टाटपल्टिँदैनौं । त्यसले पूजी निर्माण गर्छ । आत्म विश्वासपनि हुन्छ । बिभिन्न ढंगले विश्लेषण धेरै गरिन्छ परिणाम आउँदैन । त्यो गर्न नसकेपनि हामी एउटा सहकारी सोचमा जाउँ । नेपालको सामान सबै ल्याउन नसके यहाँ मान्छेले जे जे खान्छन् सहकारी तरिकाले जाउँ । नेपालको सामान पनि हुन्छ । एउटा ग्रोसरी सुपरमार्केट खालको खोलौं भनियो  । 

यहाँ मन्छेले ढुकुटी खेलिराखेका छन् राम्रोसित लगानी गर्ने ठाउँ नभएर । कि ब्याजमा लगाउँछन् कि ढुकुटी लगाउँछन् । म फेरी ढुकुटीमा सहमत छैन किनभने त्यो कुनै बैज्ञानिक पद्दती होइन । पैसा राम्रोसित लगानि गर्न हामी सहकारीमा जाउँ । जानकारी नभए कुनै बिज्ञहरुको सल्लाह लिउँ । सानो भएपनि त्यसले गति लिन्छ । थोरैलाई भएपनि रोजगारी दिन्छ । भन्यो । कुरा त ठिकै हो तपाईको भन्छन् अनि सकियो । कार्यान्वयनमा जाँदैन ।

(गुरुङ एन आर एन बेल्जियमका प्रथम अध्यक्ष त हुन नै, स्थानिय नेपाली ब्यापारी पनि । उनी बिभिन्न संघ संस्थामार्फत सामाजिक काममापनि सक्रिय छन् । यहाँ ब्यक्त बिचारहरु केहि महिना अघि मेरो बेल्जियम भ्रमणका क्रममा उनले ब्यक्त गरेका हुन् । उनका विचार अझै सामयिक लागेर यहाँ राखिएको हो । बाँकि प्रसंगपनि राखिदै गइने छ । बेप्रसंगका प्रतिक्रिया नराख्न अनुरोध छ । बरु उनले ब्यक्त गरेका ब्यापार संवन्धि धारणामा बहस चलाउने र आफ्ना धारणा बिचार सामयिक हुन सक्छ )

तपाइँको प्रतिक्रिया