स्विजरल्याण्ड बनाउनु पहिले हग्न सिकाउने कि ?

society-of-nepal.jpg

यो तस्बिर चितवन जिल्लाको सदरमुकाम भरतपुर मा खिचिएको हो । अझ भरतपुर अस्पत्तालकै छेउमा । तस्बिरमा रमाईलो कहाँनिर छ भने बाटामा पिसाब गरिरहेको एक पुरुषलाई कुकुरले यसो हेरेर “तपाईले पनि मेरै सिको गरे जस्तो छ नी” भन्छ । चितवनलाई नेपालको ७६ औं जिल्ला भन्छन । असाध्यै विकसित, जागरुक, शिक्षित मानिसहरु बस्ने जिल्लाका रुपमा परिचित छ चितवन । यहि जिल्लाको हालत हेर्नुस त । अरु जिल्लाको हालत झन कस्तो होला ? अहिले सम्म सदरमुकामको बाटो घाटोमै जहाँ पायो त्यहिँ दिशा गर्ने रहेछन । अझ अस्पत्तालकै छेउमा । जहाँ पायो त्यहिँ दिशा गर्न बाट रोक्न नसकेर चितवन जस्तो जिल्लाले त बल्लतल्ल सन २००९ सम्ममा खुल्लखुल्ला दिशा पिसाब मुक्त क्षेत्र घोषणा गर्दै रहेछ । यहि घोषणापनि लागू हुने कुनै निश्चित छैन । र सरकारले यसका लागि न त जागरण थालेको छ । न सार्वजनिक चर्पीहरु नै बनाएको छ । घर घरमा चर्पी हुने त सयद झन अबको सय वर्षमा पो हो कि ! हजार शब्द बराबर एकै तस्बिरले बोल्छ भन्छन । त्यसैले यो तस्बिरनै यथेष्ट हुनसक्छ ।

हाम्रा प्रधानमन्त्री प्रचण्डले नेपाललाई स्विजरल्याण्ड बनाउँछु भनेको धेरै भएको  छैन । पूर्व प्रधानमन्त्री क्रिष्ण प्रसाद भट्टराईले नेपाललाई सिंगापूर बनाउँछु भनेका थिए । जुन निकै हाँसी मजाको विषयनै बन्यो । राजा वीरेन्द्रलेपनि नेपाललाई एशियाली मापदण्डम पुर्‍याउँछु भनेका थिए नेपाललाई । तर न त वीरेन्द्र, न भट्टराईलेनै पुर्‍याउन सके । हुन त पुर्‍याउनकालागि बोलिएकै थिएन अनि कहाँबाट पुग्नु ? स्विजरल्याण्ड बनाउने प्रचण्डको भनाई त झन हावादारी नै हो ।

जनताले हग्न जानेका छैनन अहिले सम्म । नेताहरु चाहिँ नेपाललाई स्विजरल्याण्ड बनाउने बुटी बाँड्छन। सपना देख्छन । के यो ब्यंग्य होइन ? बरु एक दशकमा जनतालाई हग्न सिकाउँछु भने पो ! कि हाम्रा प्रधानमन्त्रीलाई स्विजरल्याण्डका बाटाघाटामापनि यसैगरि हग्ने गर्छन भन्ने लाग्दै छ ? (तस्बिर-नेपालप्लस)

तपाइँको प्रतिक्रिया