राजमार्गमै वालवालीकाको मनपरितन्त्र

collectin-force-donations-in-the-nepal-highway.JPG

धादिङ जोगिमारा छेउमा पर्ने प्रिथ्वी राजमार्गमा स्कूले वालवालीकाले मनपरि बस रोकेर पैसा माग्दै गरेको फोटो हो यो । यि वालवालिका बढिमा १५ वर्षका छन । कतिपय दुध चुस्ने उमेरका । बिद्दालयलाई कुन्नी के के खाँचो पर्‍यो भन्दै तुल हल्लाएर यि बिच बाटोमा बस्छन र मनपरि रकम उठाईरहेका छन । पैसा नदिए उनीहरु ज्यानजाला सवारी साधनलाई अगाडि बढ्न दिन्नौं भन्दै बाटोमा तेर्सिन्छन । नदिए गाडी हिँडिसकेपछि पछाडीबाट ढुंगामुढा बर्साउँछन । बिचरा चालकहरु बाध्यताले मन बाँधेर पैसा बुझाएर हिँड्छन । त्यस्तो जबर्जस्तिमा बस, ट्रक, लहरी र मोटरसाईकल सबका सब पर्छन ।

 nepali-student-girl-collectiing-donations.jpg

दोस्रो फोटोपनि प्रिथ्वी राजमार्गकै हो । यिनिहरु चाहिँ क्याम्पसका बिद्दार्थी रे । भ्रमण जानकालागि भन्दै गाडी रोक्दै पैसा उठाएका । यि त झन माथिल्लो कक्षा र उमेरका भए । पैसा नदिए झन कहाँ छोड्ने ? राजमार्गमा यस्तो मनपरिसँग रकम उठाउँदा, यात्रुहरुलाई दुख दिँदा र दूर्घटना हुने संभावनालाई बढाउँदापनि कहिँकतै सुरक्षाकर्मीको उपस्थिति देखिँदैन । ग्रिह मन्त्रीको राजमार्ग गस्ति गर्ने छुट्टै गस्ति टोली कहाँ के हेरेर बस्दा हुन ?

देशको राजमार्ग भनेको चानचुने कुरो होइन । झन प्रिथ्वी राजमार्ग त देशका अधिकांश ठाउँबाट राजधानी शहर जोड्ने एक मात्र माध्यम । घण्टा घण्टामै सयौं सवारी साधन ओहोरदोहोर गर्छन । यस्तो राजमार्गको निगरानीपनि त्यहि अनुसारले दह्रो हुनुपर्ने होइन ? फलाक्न त ग्रिहमन्त्री देशको शान्ति सुरक्षा चुस्त भएको फलाक्छन । तर शान्ति सुरक्षा चुस्त भएको यहि हो त ? जहाँ राजधानी जोड्ने एकमात्र रामार्ग दिन दहाडै अपहरणमा पर्छ । अनि सुरक्षाकर्मीलाई त्यसको कि त सुइँको सम्म हुँदैन । कि त मतलब लाग्दैन ।

यसरि राजमार्गमा मनपरि गर्न दिने त्यो कस्तो बिद्दालय होला ? बिद्दार्थीलाई सडकमा छोडेर बिद्दालयका शिक्षक कहाँ के गर्दा हुन ? अभिभावकलाईपनि किन कुनै चिन्ता नभएको होला आफ्ना वालवालिकालाई त्यसरि सयौं गाडी गुड्ने सडकमा छोड्दा ? अहिलेदेखिनै यसरि किताब र कापी थन्क्याएर सडकमा मनपरी गर्दै हिँड्ने वालवालिका भविष्यमा कस्ता बन्लान ? समाज, राष्ट्र र अभिभावकले कस्तो आशा गर्ने अहिलेदेखिनै डाङडुङमा उत्रिने यस्ता विद्दार्थीबाट ?

तस्बिर नेपालप्लसकालागि म आफैंले खिचेको हुँ

तपाइँको प्रतिक्रिया