ईजरायलमा छरपस्ट सोल्टिनिहरु
संसारकै सबैभन्दा ठुलो बस स्टेशन तेल अभिवमा मलाई स्वगत गर्न नयन्द्र, भुवन अरु साथीहरु आएका थिए । दिनभरीको लामो यात्राले यस्तो लखतरान भइएको थियो कि ! गफ पनि कम गरु जस्तो । धन्न नयन्द्र दाईको अपार्ट नजिकै रहेछ । शहरको मध्ये भागमा रहेको सानो पार्क अगाडि । चार तल्ला मथिको अपार्टमा हामी सबैले मिलेर मेरो झोलाहरु माथि पुर्यायौं । साइकल भने मैले नै उचाले। अपार्टको ढोका अगाडि रखिएको थोत्रो फ्रिजले त झन्डै साइकललाई भित्र पस्नै नदिउला झै गरेको थियो। किन हो त्यो थोत्रो फ्रिज त्यसरी राखेको ? शायद फाल्न नसकेर होला। ठुलो भएपनी अपार्ट खाली नै थियो । हप्ताभरी साथीहरु काममा जाने भएकोले अपार्ट् खाली रहन्छ । फेरी शुक्रबार र शनिबार त उही हो भुइमा सुत्ने ठाउँ हुन्न। अपार्ट् केबल छुट्टीको दिनमा मात्र उपयोग हुन्छ। बिभिन्न ठाउँमा काम गर्ने साथीहरुको जमघट स्थल हो यो। हप्ताभरीको दु:ख सुख बाड्ने ठाउँ । हप्ताभरी दालभात खान नपाएर यहाँ आएर पकाएर खाने ठाउँ । मैलेपनि दाल भात नखाएको निक्कै भयो । रुआन्डा छोडेदेखी दालभात खाएको छैन। चार महिना जती भयो । रुआन्डामा शुसिल दाईकहाँ अफ्रिका भरीको धित मर्ने गरी खाएको थिए ।
म त अपार्टमा केबल पस्न मात्र बाँकी रहेछ । काममा नगएका नेपाली चेलीहरुले दालभात पहिल्यै तयार पारीसकेका रहेछन। हाम्रो भेट, त्यसमाथि संसार घुमेर आएको मान्छे । मन्दिर नगएपनि मन्दिरमा फुल पठाउनु भन्छन । त्यस्तै हो संसार नघुमेपनि संसार घुमेको मान्छे भेटनु भनेको मन्दिर गएर आएको मान्छे जस्तो। नेपाली चलनले स्वागत त गर्नै परो । हैन ?
नयन्द्र दाईले एउटा लुते व्हिस्की हाम्रो अगाडि हामीलाई तर्साउन राख्नु भो । भुबन, नबीन, मामा र मेरो अगाडि त्यो लुते व्हिस्कीको जोर के चल्थ्यो ? बिचरा ! एक घण्टामा लुते व्हिस्कीको बेहाल भो । ईजरायलमा झन्डै दश हजार नेपाली कामदार छन भनिन्छ । तर अधिकारिक आँकडा कसैसँग छैन। त्यसमाथि ८० प्रतिशत भन्दा बढी त महिला कामदार नै छन। बिशेष गरी यहाँ ब्रिद्दब्रिद्दाको हेरचाह गर्ने र घर कुर्ने (केयर गिभर) कामको लागि कामदारहरु आउने गर्छन् ।
साँच्चिकै ईजरायल नेपाली महिलाहरुको लागि एउटा राम्रो आम्दानी गर्ने गन्त्यब्य हो । एक कामदारले मासिक सरदर ६००-७०० अमेरिकि डलर आम्दानी गर्न सक्छन । हप्तामा एक दिन बिदा मिल्छ । बिदाको दिनमा पनि बाटो खर्च भनेर केही बोनस मिल्छ । अरु केही नेपाली महत्त्वपूर्ण चाड र ईजरायली चाडपर्बहरुमा समेत बिदा मिल्छ । त्यही बिदा उपयोग गर्न कामदारहरुले अपार्ट् लिएका हुन्छन।
मेरो अनुभवमा ईजरायलीहरु अमेरिकी भन्दापनि सम्पन्न र शोखिन लागेको छ । एउटा अमेरिकीले समेत घरमा काम गर्ने कामदार राख्न सक्दैन। यदी करोडपती भए छुट्टै कुरा हो। ईजरायलमा केयर गिभर काम गर्ने नेपालीहरुको संख्या मात्र १० हजार छ भने अरु एशियली देशका कामदारहरुपनि त्यत्तिकै छन। तर केही नेपाली अदक्ष कामदारहरुको आगमनले भविष्यमा नेपाली कामदारहरुलाई ठुलो असर पर्ने देखिन्छ। पूर्ण ज्ञान नभएका कामदारहरु भित्रिदा त्यस्को असर राष्ट्रको सिंगो अर्थतन्त्रमा पर्छ । कतीसम्म ज्ञान नभएका महिला कामदार आउँदा रहेछन भने एजेन्टले अंग्रेजीमा काम गर्ने ठाउँको ठेगाना लेखेर दिदा नेपालीमा लेखी दिनुस् न भन्ने । कति त जुत्ता लगेर फ्रिजमा थन्क्याउने नेपालीपनि कामदारकारुपमा आएकारहेछन ।
बिदेश गएर पैसा कमाउने रहरले ऋण धन गरेर आएका कतीपय महिलाहरु भर्खर डोको नाम्लो फालेर आएका जस्ता छन। भोलिका दिनलाई शुखसँग जिउने चाहनाले दिन रात खटिइरहेका कामदारहरुका दु:ख र बेदनापनि उत्तिकै छन । कामगर्ने ठाउँमा भनेको बेलामा खाना नदिने । कसै कसैले पिट्ने । आफ्नु प्रकारको खाना नपाईने । बिहान देखी राती अबेलासम्म काम गर्नुपर्ने। (यौन शोषणचाहिँ हुन्छ कि हुन्न सुनिएन।) अनी तिनै पिडा, दु:ख र गाउँ घर, परिवारलाई सम्झेर मन हलुंगो बनाउने ठाउँ बन्छ सेन्ट्रल पार्क । जहाँ हरेक शुक्रबार नेपाली बाहेक अरुले पाइला राख्ने ठाउँ पाउदैनन। टिम्बुरको अचारसँग तातो तातो म म भेटिन्छ। तिनै नेपालीलाई सितन बनाइरहेका हुन्छन पिलिपिनो महिला । आऊ दाई सुङुरको मासु खाने हैन ? भुटुन पनि छ । कुखुराको साप्रो छ । पिरो अचार । पिलिपिनो केटीहरुको मुखबाट शुद्द नेपाली शब्द सुन्न पाइन्छ । अनी चिसो बियर त कसले लिदैन होला ? त्यस पछी घन्किन्छ मादल – “रुखमा बसे रुखैमा डाली छ, दिलमा बसे दिलमा ठाउँ खाली छ”
“झिल झिल सितरा, परदेसी हुनाले भइयो बिचरा “।
बिहानपख पाइपले पार्कमा पानी सिरिरिरी छर्किन थालेपछी अनी नेपाली कामदार झस्यांग हुन्छन । ओहो ! अब त एक झक सुत्नुपर्ला । भोली त फेरी काममा जोतिनु पर्छ । अनी छरपस्ट हुन्छन नेपाली सोल्टिनिहरु । अर्को हप्ता सम्मलाई नयन्द्रको अपार्ट रित्तो पार्क हेरेर तिनै सिल्टिनीहरुलाई पर्खिरहन्छ ।





