खुट्टो उचाल्ने कुकुरका कति धेरै रहस्य

“ल भन्नुस् त कुकुरले यस्सो पर्खाल देख्नासाथ किन खुट्टो उचालेर पिसाव गर्छ ?”

अघिल्लो वर्ष साथीभाइ भेट भएर यस्सो जमघट गर्दा पेरिस निवासी मेरा मित्र रवीन शर्मा ओलीले हामी साथीहरुबिच सोधे । अनेक तर्क गरियो । सकिएन मिलाउन । अनि मैलेनै भनें “ल ल बढि नभइ खुरुक्क जवाफ दिनुस् त अब’।

उनले दिए जवाफ- पर्खालमा खललल्ल पारेर पानीको धारो भित्तामा ठोक्किँदा पर्खाल भत्किएर चेप्ला भनेर छेक्नको लागि एउटा खुट्टा उचालेको हो”। झण्डै मरिएन हाँसेर । यो त रेला न भयो, हाँस्ने मसला । तर कुकुरले यस्सो पर्खाल सर्खाल, डोको, डालो अलिकति उठेको, अग्लो त केहि देख्दै नहुने खुट्टो उचालिहाल्ने किन होला ? । यसको बैज्ञानिक कारण भने बडो चाखलाग्दो रहेछ ।

-भाले त पोथी दुबै कुकुरले पिसाब तुर्क्याएर आफ्नो स्तरको लागि प्रतिस्पर्धा गर्छन् ।

-उच्च रवाफिला भाले कुकुरहरुले अझ बढि पिसाब तुर्क्याएर आफ्नो प्रभुत्व देखाउँछन् ।

-भेट्नु अघिनै पिसाबको माध्यमले कुकुरहरुको प्रतिस्पर्धा हुन्छ । पिसाबको गन्धले हरेक कुकुरको स्वाथ्य र अन्य पहिचान दिन्छ ।

भाले र पोथी दुबै कुकुरले उचाइ, खुट्टो उचाल्ने आकार,क्षेत्र र पिसाबको गूणको आधारमा प्रतिस्पर्धा गर्छन् । एनिमल नेचरमा हालसालै प्रकाशित तथ्यले के भन्छ भने कुनै एउटा कुकुरले तुर्क्याएको ठाउँमै तुर्क्याउने अर्को कुकुरको स्तर अघिल्लोको भन्दा बढि हुन्छ । यस अघिल्ला अध्ययनहरुले भने के देखाएका थिए भने त्यसरि तुर्क्याउने काम भालेले गर्छन् र त्यो पनि पोथीले तुर्क्याएको ठाउँमा त्यसको प्रतिउत्तर स्वरुप मात्रै ।

त्यसैले अघिल्ला रिपोर्टले के देखाएको थियो भने पोथीको पिसावलाई छोप्न वा नस्ट गर्न भालेले पिसाब गर्थ्यो । अहिलेको तथ्य पत्ता लगाउन बैज्ञानिकहरुले ४८ वटा कुकुरमा परिक्षण गरेका थिए । काठका ठुटाहरु राखिदिएर त्यसमा पिसाब फेर्ने ब्यवस्था मिलाएका थिए ।

उनीहरु कुकुरले सु गर्दा पुच्छर कति माथि उठाउँछ, नाकले कति सिँसिँ र फिंफि गर्छ, खुट्टो कुन आकारमा कति उचाल्छ र दाह्रा कति निकाल्छ भन्ने पनि अध्ययन गरे । पुच्छर लामा हुने कुकुरको स्तर उच्च हुने रहेछ । पुच्छर लामा हुने कुकुर अरु कुकुरको पिसाबबाट तिनको अवस्था चाल पाउन बढि तगडा हुने रहेछन् ।

भाले र पोथी दुबैले पिसाब तुर्क्याउने गरेपनि भालेहरुले पोथीहरुले भन्दा बढि तुर्क्याउने रहेछन् । कुकुरहरु एक अर्कामा भेट हुनु अगाडिनै त्यहि पिसाबको अध्ययनबाट धेरै कुरो पत्ता लगाउने रहेछन् । पिसावको रासायनिक ज्ञानका आधारमा जानकारी भैसकेपछि ति सम्मुख हुँदा कसरि लड्ने, कताबाट आक्रमण गर्ने, कसरि आक्रमण गर्ने भन्ने निर्णय लिन कुकुरहरुलाई सहज हुने रहेछ ।

तपाइँको प्रतिक्रिया