वन मास्ने वनमाराको फन्दामा बाघ र गैंडापनि
● योगेश अधिकारी / सौराहा, चितवन
भर्खरै गैंडा गणना सकियो तराइका संरक्षित क्षेत्रमा । गैंडाको संख्या बढेको भनेर हर्षबढाइपनि गरियो । तर हरेक दिन तिनै गैंडाका वासस्थानमाथि भैरहेको अतिक्रमण प्रति भने कसैको चासो पुगेको छैन । संरक्षणकर्मी, वातावरणवादी र सरकारी संरक्षण निकायको ध्यान जान नसकेपनि यहि वन माराले गैंडालाई विस्थापित गरिरहेको छ । गैंडालाई बिस्तारै लखेटिरहेको छ । अँचेटेर अन्यत्र जान बाध्य पारिरहेको छ । हामीले हेर्दाहेर्दै, अनुभव गर्दागर्दै सौराहा नजिक देखिने गैंडाहरु यहि वनमाराले गर्दा निकै टाढा पुगिसके । हरेक दिन चितवन राष्ट्रिय निकुञ्जको जंगल वनमारा (कसैले वनमासापनि भन्ने रहेछन्) ले ढाकेर गैंडा लगायत अन्य महत्वपूर्ण जिवजन्तु र वनस्पतीको अस्तित्वमा संकट थपिइरहेको छ । नाम नै वनमारा वा वनमासा । साँच्चै यसको कामनै वन मास्ने रहेछ ।
घाँसे फाँटबाट त्यसरि बिस्थापित हुनुको कारण के भने गैंडाको मुख्य वासस्थान घाँसे मैदान हो । यो जनावरलाई धेरै समय चर्नु पर्छ । त्यसपछि आराम गर्ने, लुक्ने, सित्तल बस्ने, घाँस सुकेका बेला रुखका पात र हाँगाबिँगा खान नदीतटिय वन चाहिन्छ । अहिले वनमाराले सौराहा नजिक वरिपरिको घाँसे मैदान मैदान मात्रै होइन वनपनि छोप्दै गएको छ । त्यसले गर्दा गैंडा सौराहा वरिपरिको वनमा पहिले झैं सहज रुपमा देखिन छाडेका छन् । कुनै बेला निकुञ्ज छिर्नासाथ दर्जनौं देखिने गैंडा अहिले यो क्षेत्रमा मुस्किलले देखिन्छन् । भर्खरै सकिएको गैंडा गणनाले देखाएको तथ्य पनि हो यो । किनभने बिगतमा भन्दा यो पटक यस क्षेत्र आसपास गैंडा कम देखिए ।
घाँसे फाँटमा वनमाराको अतिक्रमणले गर्दा अहिले यो क्षेत्रका गैंडा सुकिभार भन्ने सौराहा क्षेत्रबाट निकै पर सरेको पाइयो । त्यो क्षेत्रमा वनमाराले आक्रमण गरिनसकेको र दुई वटा सुरक्षा चौकी रहेकाले शिकारीहरुको आक्रमण र मानविय वस्तिबाट अलि टाढा पर्नाले दखलपनि कम पर्नाले हुनुपर्छ, गैंडाहरु त्यतातिर बढि देखिए । तर तिब्ररुपले फैलिँदै गएको वनमाराले त्यो क्षेत्रपनि कतिन्जेल बच्ला र भन्ने चिन्ता यथावत छ ।
उता चितवन राष्ट्रिय निकुञ्जको पूर्वी भागको अवस्थापनि भिन्न छैन । सुनाचुरी भनेर चिनिने चितवन जंगल लज रहेको त्यस क्षेत्रमा झन गैंडा देख्न दूर्लभ भैसकेको छ । त्यो क्षेत्रमा फाट्टफुट्ट चार पाँच वटा भन्दा भेटिँदैनन् ।
समस्या यो क्षेत्रको मात्रै होइन । सौराहा देखि निकुञ्जको प्रधान कार्यालय कसरा सम्मको १८ किलिमिटर क्षेत्रकै अवस्था उस्तै छ । वनमाराले बिस्तारै सबैतिर छोप्दै लगेको छ । अझ कति क्षेत्रमा कहाँ कहाँ फैलिएको छ कसैले ध्यान दिएको, अध्ययन र निगरानी गरेको देखिएको छैन ।
रापती नदी पारीको पदमपुर सिंगै गाविसको वस्ती स्थानान्तरण गरेर निकुञ्ज बिस्तार गरियो, संरक्षणको काम गरियो भनेर घमण्ड गर्ने सरकारले दूर्लभ जनावरको बाँच्ने आधार घाँसेफाँटनै सखाप हुँदापनि रमिते बनेर बसिरहेको छ । राज्यको त्यत्रो ढुकुटी खर्च गरेर, बरन्डाभारको वन मासेर वस्ती त सारियो तर भएको घाँसेफाँटनै अतिक्रमणमा परेपछि त्यसको उपादेयता के ?कम्तिमा सरकारले वन्यजन्तुको वासस्थानको लागि भनेरै वस्ति हटाएर निकुञ्ज बिस्तार गरेपछि त्यसको सदुपयोग हुनुपर्ने हो । त्यसको संरक्षणमा ध्यान दिनु पर्ने हो । झन यो क्षेत्र नेपालकै एक प्रमुख पर्यटकिय गन्तब्य सौराहाको छेउमै पर्छ जहाँ करोडौं करोडको लगानी छ । सरकारलाई वर्षेनी लाखौं राजस्व उठ्छ । हजारौंले रोजगारी पाएका छन् ।
यहाँ आउने ९० प्रतिशत पर्यटकको उद्देश्य गैंडा नहेरि नफर्कने हुन्छ । एकै पटकको गैंडाको अवलोकनले यहाँको पर्यटन व्यवसायको भविष्य निर्धारण गर्छ । हरेक पर्टयकको खुशि, रमाइलो र हर्षले न पर्यटकको मन जित्ने हो र तिनले गर्ने सिधा बिज्ञापनपनि त्यसैले निर्धारण गर्छ । मन नै हिस्स पारी पारी बिदाबारी हुने पर्यटकले कस्तो प्रचारप्रसार गर्लान् ?
वनमारा यस्तो ज्यानमारा वनस्पती रहेछ कि यसले गैंडा जस्ता ठूला जिवलाई मात्रै खेदिरहेको छैन । यसले बाघ र चितुवा लागयतका अन्य जिव पनि खेद्छ । किनभने घाँसेफाँट म्रिग, जरायो, खरायो लगायतका जिवको प्रमुख चरनको क्षेत्र हो । बाघ र चितुवाका प्रमुख आहारा यिनै जिव हुन् । घाँसेफाँट मासिएपछि ति पनि बिस्थापित हुन्छन् । अनि म्रिग र जरायो, चित्तलनै नभएपनि बाघ र चितुवाले खाने के ?
त्यति मात्रै होइन, वनमारा जति झ्याँङ्गियो उति त्यसले सबै रुख र विरुवा छोप्छ । नत हावा भित्र खेल्न दिन्छ न घाम नै छिर्न । अनि विरुवालाई त्यसै मारिदिन्छ । नयाँ उम्रिन दिँदैन, उम्रेकालाई हुर्किन दिँदैन । विरुवाको पोषण तत्व समेत लिइदिन्छ । जमिन रुखो बनाउँछ । यसले वनका अन्य वनस्पती र सारा जिवजन्तुलाईनै सखाप पार्छ । तर यसमा कसले ध्यान दिने ?






