वेल्जियम एनआरएनको आगामी पाईलाहरु

युवराज गुरुङ / एन्टवेर्पेन, वेल्जियम

वेल्जियम एनआरएनलाई दलीय राजनैतिक गतिविधि तथा हस्तक्षेपबाट मुक्त पारिनु पर्दछ भन्ने चर्को माग र दबाव बढि रहेको सन्दर्भमा यहाँ स्थित अस्तित्वमा रहेका चारै राजनैतिक दलका भातृ संस्थाले भटाभट् एनआरएन सरोकार समिति गठन गरि सक्रिय हुन थालेका छन् । एनआरएन आसन्न अधिवेशनलाई प्रभावित पार्ने हेतुले गठित ति सरोकार समितिको काम र शैली एनआरएनको हितमा कति सम्म उपयोगी होलान् त्यो त समयले देखाउने नै छ । यद्दपी उनीहरुको प्रारम्भिक गतिविधि र संचार माध्यममा व्यक्त अभिव्यक्ति र शैली केलाउने हो भने आशावादी हुने अवस्था कम नै देखिन्छ ।

२ दर्जन भन्दा बढि सक्रिय सामाजिक संघ संस्थाहरु एनआरएनको बारेमा तटस्थता देखाईरहेको अवस्थामा राजनितिक भातृ संस्थालाई मात्र चटारो पर्नुले उनीहरुको महत्वकांक्षीलाई सजिलै अड्कल काट्न सकिन्छ । तर उनीहरुको दलीय आस्थाको आधारमा देखिन सक्ने महत्वकांक्षी चलखेललाई खबरदारी गरेर एनआरएनको हितमा ढाल्न सकियो भने फेरि त्यो भन्दा राम्रो अरु के नै पो हुन सक्ला र ?

निश्चय नै भन्नु पर्दा राजनितिक भातृ संघ संगठनको सक्रियताले एउटा प्रतिस्पर्धात्मक माहौलको श्रृजना त गर्छ नै, सँगसँगै पंजिकृत सदस्य संख्याको पनि रातारात वृद्धि गराउँछ । तर त्यस्तो अप्रत्यासित श्रृजित माहौलको आवरण भित्र भित्रै के कति विकृति मौलाईरहेको हुन्छ, त्यसलाई भावि नेतृत्वले आफनो कार्यकाल भरि सामना गरिरहनुपर्ने समेत हुन्छ । प्रजातान्त्रिक प्रक्रिया, प्रतिस्पर्धात्मक पद्यति जस्ता प्रचलित पदावली भित्र लुकेको निहित स्वार्थले संस्थालाई कार्यकाल भरि निश्प्रभावी र बेकम्मा बनाएको अनुभव पनि हामी भन्दा टाढा छैन । प्रजातान्त्रिक प्रक्रिया, प्रतिस्पर्धात्मक पद्यतिको प्रयोग त्यति बेला सार्थक र परिणाममुखी हुन्छ जब आवद्ध सदस्यहरु संस्थाको विधानलाई केन्द्रविन्दु मान्न तयार हुन्छन, स्वतस्पूmर्त र सचेत हुन्छन अनि सदस्यको कर्तव्य र दायित्वलाई पालना गर्दछन । नत्र चूनाव तथा अधिवेशन एउटा लहड र शक्ति पर्दशन गर्ने मेलाको रुपमा परिणत हुन पुग्छ ।

गठित एनआरएन सरोकार समितिका मित्रहरु तथा संवन्धित संघ संस्थाहरुलाई यस लेख मार्फत के आग्रह गर्न चाहान्छु भने यदि एनआरएनलाई सांच्चिकै साझा, पवित्र र नमूना संस्था बनाउने हो भने ति समितिहरुबाट निम्न कुराहरु क्रमिक रुपमा सार्वजनिक हुन जरुरी देखिन्छ ।

१. गठित सबै खाले समितिहरुले एनआरएन वेल्जियमका आगामी अधिवेशन प्रतिको दृष्टिकोण र कार्यक्रम र प्रतिबद्धता लिखत रुपमा आउन जरुरी छ । विगतका जस्तो राजनितिक चलखेल विल्कूल गरिनु हुन्न ।

२. गठित समितिहरुले एनआरएनको घोषित कार्यक्रममा पूर्ण सघाउ पुरयाउनु पर्दछ । एनआरएनका उपसमिति जस्तै समानान्तर उपसमिति बनाएर सदस्यता वितरण गर्ने जस्ता कामहरुलाई एनआरएन मातहत ल्याईनु पर्दछ ।

३. सामूहिक सदस्यता दर्ता गराउने, पैसा तिरेर सदस्यता दिलाउने, अन्य कुनै प्रलोभन पारेर आफूतिर आकर्षित गर्ने जस्ता कार्यलाई सबैले निरुत्साहित गर्न अठोट गर्ने । एनआरएन सहित क्षेत्रगत भेला गराएर सामूहिक सदस्यता वितरण गर्न सकिन्छ ।

४. अपारदर्शी रुपमा एउटा समितिले अर्को समिति संग गरिने अन्तर संवादहरु अन्तत वार्गेनि¨, भागबण्डा, आरोप प्रत्यारोपको रुप लिने संभावना भएकोले सबै प्रकारका संवादहरु पारदर्शी हुनु पर्दछ ।

५. नितिगत सहमति पश्चात आचार संहिता जारि गरि कार्य समिति चयनको लागि सहमतिका अधिकतम प्रयत्न गर्न प्रतिवद्ध हुनु पर्दछ । निर्वाचन अन्तिम विकल्प हुनु पर्दछ ।

एनआरएन लगायत सबै पक्षका अवधारणाहरु तथा अन्य जिम्मेवार व्यक्ति व्यक्तित्वहरु र समुदायको संयुक्त छलफलले एउटा विस्तृत साझा धारणा र मार्गचित्र तय गरेपछि सबैको सहअस्तित्वलाई स्वीकार्दै सहमतीका साथ सहकार्य गर्ने भन्ने मान्यता स्थापित गरिनु नै अहिलेको उपयुक्त विकल्प हो । एनआरएनको मर्मलाई केन्द्र विन्दु मानेर त्यसको परिधि भित्र रही जो कोही जिम्मेवारी सम्हाल्न सक्छन् । एनआरएन सरोकार समितिहरुले नितिगत विषयहरुमा केन्द्रित भएर साझा दृष्टिकोण नल्याउने हो भने एनआरएनकै लागि दुर्भाग्य पनि हुन जान्छ । आगामी अधिवेशनमा एनआरएनले संवोधन गर्नै पर्ने विषयहरु हाम्रा सामु छरपष्ट छन् । उदाहरणार्थ भन्नु पर्दा केहि संवेदनशील निम्न एजेण्डाहरु अधिवेशनको केन्द्रिय प्रश्न बन्नु पर्दछ भन्ने लाग्दछ ।

 १. नयाँ युवा पिढिलाई एनआरएनमा आकर्षण के कसरी गर्ने, ति वर्गका केहिमा देखिएका लागू पदार्थ दूव्र्यशनी हटाउन कस्तो कार्यक्रम ल्याउने ?

 २. वेल्जियमका नेपाली समुदायको विविध पक्ष थाहा पाउन तथ्यांक संकलन के कसरी गर्ने

 ३. संयुक्त लगानी (मुलूकको लागि एक परियोजना), सहकारी अवधारणा (वेल्जियमका लागि नेपाल हाउस) जस्ता दिर्घकालीन कार्यक्रम के कसरी कार्यान्वयन गर्ने

 ४. Regularization तथा Integration प्रक्रियामा सघाउ पुग्ने के कस्तो कार्यक्रम ल्याउने                  

उपरोक्त विषयहरु एनआरएनको दायित्व भित्र पर्नु पर्दछ । यस्ता विषयमा सबै पक्षको दृष्टिकोण र प्रतिबद्धता अहिलेको अपरिहार्यता हुनु पर्दछ ।

एनआरएनका उम्मेदवार हुन यस लेख मार्फत केहि आचारसंहिता अर्थात सिमाहरु समेत छलफलका लागि यहाँ प्रस्तावित गर्दछु ।

१. कनै पनि राजनितिक दल संग संवन्धित संघ संस्थाको कार्यकारी पदमा संलग्न नभएको हुनु पर्ने । आवद्ध राजनितिक संघ संस्थाबाट राजीनामा दिएको हुनुपर्ने ।

२. एक व्यक्ति एक कार्यकारी पदको मान्यता स्थापित गर्न कुनै पनि संघ संस्थाको कार्यकारी पदमा काम नगरेको हुनु पर्ने । संघ संस्थामा संवद्ध भए राजीनामा दिएको हुनुपर्ने ।

३. स्थानीय भाषाको ज्ञान भएको, समय निकाल्न सक्ने, साधन श्रोत भएकालाई ग्राहयता दिने

४. प्रमुख कार्यकारी पदहरुका लागि स्थायी बसोबासको अनुमति पाएको हुनुपर्ने ।

५. प्राविधिक पदका लागि तत् विषयमा योग्यता भएका हुनुपर्ने ।

६. महिलाहरुको प्रतिनिधित्व कम्तिमा पनि ३३ प्रतिशत हुनुपर्ने ।

७. नयाँ पुस्तालाई समेट्न १८ देखि २५ वर्ष भित्रका कम्तिमा पनि २ जनालाई स्थान दिईनु पर्ने ।

आई.सि.सि.सदस्य

राष्ट्रिय तथा अन्तराष्ट्रिय समन्वय परिषदको कार्यकारी पदमा सकुशल काम गरिसकेको व्यक्ति हुनु पर्ने ।

सल्लाहाकार

संस्थालाई आवस्यक तोकिएको क्षेत्रमा त्यस विषयमा ज्ञान क्षमता र रुची भएकालाई निश्चित मापदण्ड अपनाई मनोनयन या चयन गर्ने । सल्लाहाकार नेपाली मूल बाहेकका नागरिकलाई पनि राख्न सकिने प्रावधान हुनु पर्दछ ।

१. आर्थिक सल्लाहाकार : आर्थिक कार्यक्रम तथा निति तय गर्न सक्ने

२. राजनितिक सल्लाहाकार : दलीय राजनितिक सोंचबाट माथि उठेको, नेपाल र वेल्जियमको राजनितिको ज्ञान भएको

३. कानूनी सल्लाहाकार : नेपालको कानून, स्थानीय कानून तथा नियम र खशध को नियम संवन्धि ज्ञान भएको

४. Integration सँग संवन्धित सल्लाहाकार : स्थायी बसोवासका लागि प्रयासरत गैरआवासीय नेपालीहरुका लागि सहयोगी बन्न सक्ने त्यस क्षेत्रमा अनुभव भएका

५. Regularization सँग संवन्धित सल्लाहाकार : स्थानीय समाज संग सामाजिक सांस्कृतिक रुपमा अन्तर्घूलन गर्न गराउन त्यस क्षेत्रमा योगदान दिई सकेका

६. प्रशासनिक सल्लाहाकार : नेपाल सरकार, दूतावास तथा स्थानीय निकायका प्रशासनिक विषयमा सघाउ पुरयाउन सक्ने

७. कुटनैतिक सल्लाहाकार : उद्योग वाणिज्य तथा व्यवसाय, स्थानीय संघ संस्था, नेपालका लागि वेल्जिक सहयोगी संघ संस्थासंग समधूर संवन्ध स्थापित गर्न गराउन सक्ने

८. सांस्कृतिक सल्लाहाकार : नेपाली संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनमा लामो योगदान दिएका

९. खेलकूद सल्लाहाकार : खेलकूदमा दख्खल र लामो अनुभव भएको

संरक्षक

३ देखि ५ जना सम्म संरक्षक सदस्यको व्यवस्था उपयुक्त देखिन्छ । दूतावासको संरक्षकत्व मानार्थ मात्र भएकोले संस्था भित्र आउने जुनसुकै विपत्तिको बेला पनि संरक्षण गर्न सक्ने संरक्षकहरु तोकिनु सान्दर्भिक देखिन्छ ।

यसको अलावा संस्थाको निति तथा कार्यक्रम घरदैला सम्म पुरयाउन स्थानीय क्षेत्रगत क्षेत्रीय समितिहरु अनिवार्य निर्माण गरिनु पर्दछ । संस्थाको कार्यदक्षता अझ विकाश गर्न आवस्यकता र अनुभवका आधारमा विभिन्न उपसमितिहरु पनि उत्तीकै आवश्यकीय देखिन्छन ।

 यि सबै विषयहरुको निचोड अन्तक्रिया छलफल र सवादबाटै निस्कने हो । अन्य संघ संस्था व्यक्तित्वहरुले छलफल अन्तक्रिया चलाउन शुरु गरेका छन् जुन् स्वागत योग्य छ तर एनआरएन स्वयंले अधिवेशन अघि त्यस्ता कार्यक्रम छलफल चलाउनु झन उपयोगी हुनेछ । क्षेत्रगत भेलाहरु गराएर छलफल र सदस्यता वितरण कार्यक्रम राख्न अझ राम्रो हुनेछ । घरदैलो नै गर्न सके त सूनमा सूगन्धै हुनेछ ।

प्रतिक्रियाको लागि [email protected]

तपाइँको प्रतिक्रिया