वेल्जियम एनआरएनले अधिवेशन पूर्व के गर्नु पर्ला ?

युवराज गुरुङ/ एन्टवेर्पेन, वेल्जियम 

संघ संगठनको सर्वोच्च निकाय अधिवेशन भएकोले वेल्जियम एनआरएनको अधिवेशन अघि कार्यसमितिले केहि अतिरिक्त कसरत गरेमा नतिजा अझ राम्रो निस्कन सक्दछ । आगामी कार्यकालको निति र कार्यक्रम तय गर्ने अधिवेशन, अनि अधिवेशनले पारित गरेको विषयहरुलाई कार्यान्वयन गर्ने सक्षम नेतृत्व चयन गर्न, वेल्जियमवासी हरेक नेपालीहरुको कर्तव्य र दायित्व पूरा गर्ने यो आफैंमा एक अवसर पनि हो ।

अधिवेशनको पूर्वसन्ध्यामा गरिने हरेक संघ संस्थाको गतिविधिहरु अर्थपूर्णत हन्छन नै । एनआरएन बाहेक अन्य संघ संस्थाले समेत संगठित तवरमा बहस शुरु गरि सकेको अवस्थामा एनआरएन स्वयंले पनि वृहत सर्वपक्षीय अनौपचारिक छलफल चलाउनु सान्दर्भिक र आवस्यकता दुवै हुन जान्छ । 

अहिले जनमानसमा एनआरएन प्रतिको आकर्षण बढदो नभए पनि यस प्रति चासो राख्न कसैले छोडेका छैनन । प्रवासमा सबैको भावनाको प्रतिनिधित्व गर्ने साझा थलो आखिर एनआरएन नै हो । यद्यपी नयां पुस्ता एनआरएन प्रति वेखवर देखिन्छन । दलीय आस्थाका आधारमा संगठित शक्तिहरु अतिरिक्त कसरत समेत गरिरहेछन । अन्य सामाजिक संगठनहरुको निस्क्रियताले एनआरएनमा चलखेल गर्न राजनितिक समूहलाई मात्र छूट छ भन्ने भ्रम पनि एकातिर फैलिई रहेको अवस्था छ । विशुद्ध एनआरएनवादीहरु दलबल अघिपछि नभएकोमा केहि गर्न सकिन्न भन्ने हिनताबोध देखाउंछन त अधिकांश पुराना एनआरएनहरु यो अभियान मै वेवास्ता गर्छन । त्यो भन्दा ठूलो नेपाली समूदाय त एनआरएनका परिधि भन्दा धेरै टाढा निश्क्रिय छन, उनीहरु पंजिकृत सदस्यता लिन समेत उत्सुक देखिँदैनन ।

पछिल्ला दिनहरुमा एनआरएनप्रति जनमानसको रुची र सरोकार अपेक्षित वृद्धि हुन नसक्नुमा नेपाल सरकारको स्पष्ट निति र दृष्टिकोणको अभाव, एनआरएनको आन्तरिक संस्थागत दिगो विकाशमा सुस्तता, स्थानीय तहमा दलीय, भेगीय, जातीय लगायतका संकिर्णताको हावी र एनआरएन अभियानमा सवल नेतृत्व क्षमताको अभाव इत्यादिलाई कारकको रुपमा औंल्याउंछन । यि सबै खाले प्रवृत्तिको निदानको लागि एनआरएन अभियान अरु शसक्त र जुझारु हुन जरुरी छ । 

एनआरएन आफैमा एक व्यापक संभावना भएको संगठन हो । यहाँ हरेक क्षमता र ईच्छा शक्ति भएका व्यक्ति व्यक्तित्वहरुले निर्वाध भूमिका निर्वाह गर्न सक्छन । एनआरएनको विधानले नै हरेक प्रवासी नेपालीलाई सक्रिय भूमिका खेल्ने स्थान दिएको छ । तर हरेकले एक अर्काको अस्तित्वलाई स्वीकारेर अघि बढन सक्यो भने व्यक्तिको व्यक्तित्व विकाश संगसंगै उनको आफनै सामाजिक पहिचान पनि हुन्छ र संस्था तथा जन्मभूमी प्रति पनि योगदान पुरयाउन सकिन्छ । सह अस्तित्व, समन्वय र सहमति लाई केन्द्रविन्दु मानेर एनआरएनमा चासो राखेमा यहां कसैको हार हुन्न, सबैले जित्न सकिन्छ । पछिल्ला दिनहरुमा यहांका दलीय आस्थाका संघ संस्थाले एनआरएन प्रति संतुलित र सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता एक पछि अर्काले व्यक्त गरिरहेका छन, जून स्वागतयोग्य कुरा हो । तर ति प्रतिवद्धताहरुलाई व्यवहारमा नउतारुन्जेल आम समुदायले दवाव दिईरहनु पर्दछ । 

वेल्जियम एनआरएनको आगामी अधिवेशनमा व्यापक सहभागीता गराउन र समय सापेक्ष निति तथा कार्यक्रमहरु तय गरि सक्षम र विवेकशील नेतृत्व चयन गरि हस्तान्तरण गर्नु नै अहिलेको समितिको मुख्य जिम्मेवारी हो । अधिवेशन अगाडि यहांका सबै पक्षका सल्लाह सुझाव र सहभागिताको लागि सर्वपक्षीय तर अनौपचारिक अन्तक्रिया कार्यक्रमको टड्कारो आवस्यकता देखिन्छ । अधिवेशन औपचारिक कार्यक्रम भएकोले व्यक्ति संघ संस्थाहरु पनि औपचारिक रुपमा प्रस्तूत हुने गर्दछ, त्यसले यहांको यथार्थता संवोधित नभई ओझेलमा पनि पर्न सक्छ । अधिवेशन सम्म यहाँको समुदाय पक्ष विपक्षमा समेत विभक्त भैसकेको अवस्था समेत आउन सक्छ । तसर्थ हामी विचका तिक्तता मेटाउन, अनुभवहरु साझेदारी गर्न र व्यापक आचार संहिताको दायरा समेत कोर्न त्यस्ता अनौपचारिक छलफलहरु संस्थाको हितकर हुन सक्छ । वेल्जियमका संचारकर्मीहरुको समुपस्थितिमा वर्तमान कार्यसमितिकै पहलद्धारा वेल्जियमका संघ संस्था र व्यक्ति व्यक्तित्वको सर्व पक्षीय सहभागितामा छलफल कार्यक्रम आयोजना गर्न गराउन हामी सबैले आग्रह गर्नु आजको आवस्यकता हो भन्ने लाग्दछ । 

बुंदागत रुपमा भन्नु पर्दा यस प्रकारका अन्तक्रियात्मक कार्यक्रमले निम्न विषयहरुलाई संवोधन गरिनु पर्दछ भन्ने लाग्दछ । 

१. अधिवेशन प्रति व्यापक सहभागिता र जागरण अभियान बढाउन

२. पंजिकृत सदस्यता बन्न र नवीकरण गराउन उत्प्रेरित गर्न

३. अधिवेशन सम्पन्न गराउन आवस्यक आचारसंहिता निर्माणको गृहकार्य गर्न

४. समय सापेक्ष निति कार्यक्रमको रुपरेखा र सवल नेतृत्व चयनको प्रारम्भिक गृहकार्य शुरु गर्न

५. सह अस्तित्व, समन्वय र सहमतिलाई व्यवहारमा उतार्न नैतिक दवाव श्रृजना गर्न ।

एनआरएनले यहांका नेपाली समुदायको सबै पक्षमा समन्वय गराई अझ विकसित र उत्पादनशील बनाउन सहायकको भूमिका खेल्छ र खेल्नु पर्दछ भन्ने कुरालाई हामी सबैले राम्ररी बुझेका छौं । नेपाली समुदाय भित्र भातृत्वको भावनाको अझ विकाश गराई प्रवासी नेपाली माझ कुनै पनि प्रकारको द्धन्द र टकराव हुन नदिन एनआरएनले  समन्वयकारी भूमिका निभाउनु पर्दछ भन्नेमा हामी कसैको दुई मत नहोला । समन्वयात्क भूमिका निर्वाह गर्न संस्थाको औपचारिक कार्यक्रमको अलावा यस प्रकारका अनौपचारिक कार्यक्रम पनि उत्तिकै सहयोगी हुने  ठान्दछ ।

प्रतिक्रियाको लागि : [email protected]

(लेखक एन आरएन बेल्जियमका प्रथम निर्वाचित अध्यक्ष हुन् । हाल उनी ब्यापार तथा सामाजिक संघ संस्थामा सक्रिय छन्) ।

तपाइँको प्रतिक्रिया