बेलायती लेखकसित वाइन, किताब र म
तिन वर्षपछि पेरिसमा प्रत्यक्ष भेट हुँदा टाढैबाट जुम्ले हात लगाए। ‘अनि गफ्फिन हतार छ ल चुस्की मारौं है ?’ उनले प्रस्ताब गरे । ‘हाम्ले हल्का लाठी चार्ज भन्छौं के नेपालमा’ । किन ? बेलायतीका जिज्ञासु आँखा न हुन् ।
‘रौसी धोक्ने भन्दा अल्लि असभ्य हुने भएर होला सायद’ मैले भनें’ लाठी हान्दा तिरिमिरी झ्याइँ हुन्छ नी, हो यो खादा’नी तिरिमिरी बनाउने भएर होकी !’ दलिन काम्ने गरि हाँसे । ठ्याक्कै झोंछेको स्थानिय भट्टी जस्तै । उस्तै पुरानो टेबल, दुई चार शताब्दीको झैं लाग्ने भित्तो। पिलपिल बत्ती बिजुलिकै भएपनि।
भट्टीकि महिलाले आएर भनि- बेस्सरि हात नटेक्नुहोला है यो टेबलमा कचच्कै जान्छ फेरी । यो धेरै पुरानो भो।’ आँखा सल्बलाए मेरा । ‘के हेरेको जेम्सले सोधे । ‘झोंछेको भट्टी जस्तै लागेर’ । बुढा फ्रान्सेलीहरु पेरिसको पुरानो जिवनका कुरा साँधेर रौसीको अचार बनाउँदै थिए ।
मेरा पुराना मित्र बेलायती लेखक जेम्स म्याककोनाची पुस्तक लेख्ने सन्दर्भमा एक्कासी पेरिस आए का रहेछन् । यीनले के देखेका होलान् नेपालको अवस्था ? के सोच्दा हुन् ? आउनु अघि कीताब लेख्दै छु भन्थे, के लेख्दै होलान् ? पक्कैपनि हामी भन्दा यी पश्चिमेलीहरु लेखनमा अगाडि छन् समग्रमा । केहि त सुन्न, सिक्न र बुझ्न पाइने भो । मंगलबार भेट्ने समय मिलाइयो । उनीसितको तस्विर फेसबूकमा राखें । तस्विरमा केहि प्रतिक्रिया आए – वाइन, किताब र ददीजी । त्यसो भए किन यसैलाइ निरन्तरता दिएर टुंगैमा नपुर्याउँ ? जिज्ञासा नमेटिदिउँ ?
झट्ट हेर्दा किताब लेख्लान जस्तो उनको हाउभाउ लाग्दैन । छिल्लिएर हाँस्ने । कहिलेकाहिँ बडा केटीकेटी पारा निकाल्ने । बेकारी अल्लारे ठिटोझैं प्रस्तुत हुने । तर क्षमता भनेको गम्भिर बनेर, देखिएर र नबोलेर मात्रै कहाँ हुन्छ र ! कार्यक्षेत्रमा, सिप र सोचाईमा देखिने कुरा न हो । उनी बेलायतको प्रसिद्द सन्डे टाइम्समा लेख्छन् । चार वटा जति पुस्तकका लेखक हुन् । नेपाली भाषा बिर्सिन लागेपनि काम चलाउन सक्छन् । बेलायत बसेपनि उनको तन मन नेपालको समग्र मानचित्रसित घोत्लिएको हुन्छ । नेपालका झण्डै सबै जसो सुगम ठाउँ पुगेका छन् । बेलायत बसेपनि नेपालको अवस्था नबुझि उनको रात ढल्किन्न ।
बेलायती जिवन, आर्थिक मन्दी र बेलायती सरकारको गरिव मार्ने नीतिबारे उनले धेरै सुनाए । ‘झोंछेको भट्टी ‘ बाट खाना खाने रेस्टुरेन्ट लैजाँदा सुनाए ‘फ्रान्स आउने बेलायतीमाझ यो रेस्टुरेन्ट एकदम लोकप्रिय छ’ । आङ्ल उच्चारणमा फ्रान्सेली बोल्दै फेरी वाइन मागे ‘एक सुराइ’ ।
‘म त खान्न है, यो एक सुराइले त बेसुर पार्छ होला’।
‘ह्या आज त खान पर्छ थोरै हो, नरम खालको हो’ जोस्सिए जेम्स ।
हामी कहिले नेपाली, कहिले फ्रान्सेली र कहिले आङ्ल भाषा बोल्दै थियौं । हेर्दा हेर्दै ग्राहक भरिए । हाम्रा गफ सुनेर वरिपरीका कोहि हाँसेका छन् । कोहि मुस्कुराएका छन् । कोही ठाड्ठाडा कान लाएका छन् । नेपाली बोल्दा बुझ्दैनन् तर हामी गलल हाँस्छौं । फ्रान्सेलीमा बोल्छौं । हामी हाँसेका हुन्नौं । ति हाँस्छन् । आङ्ल भाषा बोल्छौं फेरी । यी कुन देशका जिव परेछन् हँ भन्ने लाग्ने रैछ ।
मेरो प्रकाशुन्मुख पुस्तकबारे चासो राखे उनले । मोरिस हेर्जोक, पियरमाजो जस्ता मान्छेको नाम त नसुन्ने फ्रान्सेली हुँदैन । तिसितको भेटघाटबारे कुरा हुँदैगर्दा कोहि आँखा उचाल्छन् । मंगल ग्रहको जिव जस्तो हुन लागियो । ‘नजिकै कि युवतीलाई खप्न भएनछ । सोधी- गाह्रो मान्नुहुन्छ तपाइहरुबारे सोध्यौं भने ?’ ‘उ बेलायती, म नेपाली। हामी यस्तै हा हु गर्ने मुडले आका आज’ मैले भनें । जेम्सले अर्थ्याए- ‘हैन हैन, उ जिवजन्तुसंवन्धि । म लेख्न सिक्दैछु ।’
अब यी युवतीको टाउको केहि बेर रिँगाइदिन पर्यो भन्ने लाग्यो, ‘म फट्याङ्ग्रा किरा सिरा मन पराउने’ मैले भनें । ‘ ए ए तपाइँ किराको खेती गर्ने हो ?’ युवतीका कुराले भूकम्प जाने गरि हाँसे सबै । आखिरमा जेम्स आफैंले अर्थ्याए । केहिबेर जेम्सले तिनको दिमाख चल्मलाउने गरि नेपालको गफ दिए । ‘नेपाल जाने हामी पक्का, ल हाम्लाई सुझाव दिन पर्छ है ?’ युवतीसँगै अर्का दुई जोडीपनि नेपाल जान हौसिए। ‘ओहोहो यस्ता मान्छे भेटिए’सी हाम्लाई जानकारीको के दुख?’ सेतो वाईन घुटुक्क पार्दै ठेगाना पट्याएर घुसारे ।
जेम्स, कसरि हेरिराखेका छौ हँ नेपाललाई ? के छ तिम्रो मूल्यांकन ? आफूलाई सबैभन्दा जान्न यहि मन थियो । सकारात्मक देखिएनन् उनी । ‘म त्यति आशावादी छैन नी ददि’ । ‘किन ? झन गणतन्त्र आएको छ, नयाँ संविधान बन्ला, राजतन्त्र गयो । झन निराश हुने ?’ मेरा तत्कालै फुरेका अस्थायी तर्क थिए।
‘गणतन्त्र त आयो ? तर कहाँ आयो ? कागजमा । त्यो गणतन्त्रले फेरी पजेरो लिएर आयो । फेरी भ्रष्टाचार लिएरै आयो । बेथितिलाई नछुनेगरि आयो । महँगीलाई मनपरी आकाशिनै दिनेगरि आयो । पढ्न नपाउनेलाई वास्तै नगर्नेगरि आयो । दुखियाका टाउका दुख्नै दिनेगरि आयो । बरु झन रुवाउनेगरि आयो । भोट मागेर रित्तै हात पार्नेगरि आयो । मागेको माग्यै गरेर आयो । दिनेगरि आएन । ‘
अघि भर्खरसम्म गिल्गिलाएको उनको हाँसो बिलुप्त भयो । दार्शनिक जस्ता भए उनी क्षणभरमै । ‘भन, भन म सुन्छु ।’ मेरो आग्रहमा उनी सुनाउँदै गए- ‘यत्रा समय गुज्रियो खै संविधान बन्न कुनै बाछिटोसम्म देखिन्न । अब झन के बन्ला ? नेताहरु गणतन्त्रमापनि उनै छन् । छन् पञ्चायत देखि लूटेका उनै नेता । द्रिष्टि, द्रिष्टिकोण, नीति, योजना केहि नभएका उनै पार्टी छन् । जनताले जसलाई मन पराएन उनैको बोलबाला छ । देशलाई अगाढि बढाउँछु भन्ने नेता देखिन्न । गाउँका जनताबारे सोच्ने फूर्सद कसैलाई छैन । नेता महँगा गाडीमा सुविधा भोगेर बस्छन् । देश झन झन अन्धकारमा डुब्दै छ । यति वर्षमा यस्तो काम गर्छौं, देश यसरि बनाउँछौं भन्ने योजना त के भन्नसम्म सक्ने कुनै पार्टी र नेता देखिन्न । अब संविधान बनेपनि तिनै नेता पुग्ने हुन् सरकारमा । उहि मान्छे । त्यहि सोच ।
धर्म निरपेक्ष र प्रान्तिय राज्य भनेर उचालिदिए । त्यसलाई राम्रोसित ब्यवस्थापन गर्न नसकेर दूरुपयोग हुने स्थिति देखिन्छ । सधै बन्द, हडताल । माग्ने मात्रै छन्, देश बनाउने मनशाय र तत्परता देखिन्न । नेपाल खै अहिले अगाडि बढ्ला झैं म देख्दिन ।
उनलाई नेपाल र नेपाली संझिँदा एउटा पक्षले सधैं गम्भिर र कौतुहल बनाउने रहेछ – आम नेपालीको बानी, सोच र पारा भन्दा नेपाली नेता किन पुरै फरक ? दुई दशकदेखि नेपाल नियालीरहेका उनको बुझाइमा नेपाली असाध्यै मेहनती जात हुन् । देश र समाजकोलागि केहि गर्न तत्पर हुन्छन् । दयालू र जिम्मेवार छन् । कहिँ गएपनि ठगेर, छलेर खाँदैनन् । देशप्रेमी हुन्छन् । आम नेपाली यस्ता छन्, तर नेताजति अधिकांश ठग, भ्रष्टाचारी, काइते, ढँटुवा किन ? कसरि त्यस्ता भए नेता मात्रै ? उनले पटकपटक तेर्स्याइरहे यो प्रश्न ।
‘धेरै’नी गर्न पर्थेन, अलिकति सोच्ने र थोरै मात्रै गर्ने नेता निस्केपनि त्यो देश झिलिमिली हुन्थ्यो’ पहिलेदेखि सुनाउने गरेका उनले यस पटकपनि दोहोर्याए । साँच्चै चिन्ता गर्छन् उनले नेपालको । संकटकाल घोषणा गरेर बेलायतले समेत सैन्य सहयोग दिने प्रस्ताव गर्दा उनले बेलायती रक्षा मन्त्रालयमा सिधा फोन गरेर नेपाललाई कुनैपनि सैन्य सहयोग बेलायतीको पसिना काटेर दिनहुन्न भन्दै झोक्किएका मात्रै थिएनन् । लिखित पत्र पठाएर बिरोध गरेका थिए । बेलायती रक्षा प्रवक्तालाई फोन गरेर उनले र्याखर्याख्ती पार्ने गर्थे ।
नेपाल र भारतीय खासगरि हिन्दू संस्क्रितिको सेरोफेरोमा रहेर उनले ‘कामशूत्र’ पुस्तक लेख्नु अघि म सित सल्लाह लिएका थिए । उनलाई आफूले जानेको, लागेको सुझाव दिएको थिएँ मैले । उनको किताबको बेलायतमा निकै चर्चा भएछ । यो पटक धन्यावाद दिए उनले । उनी अब १५ औं शताब्दीका एक ईटालियाली कलाकार (आर्टिस्ट) का बारेमा पुस्तक लेख्न खोज्दै रहेछन् । अर्को विश्व प्रसिद्द चार्ल्स डार्बीनका एकदम मिल्ने साथीका बारेमा । डार्बीनका ति साथी नेपाल गएका रहेछन् । मैले उनलाई पछिल्लो ब्यक्तिका बारेमा लेख्न सुझाव दिएँ केहि तर्क सहित । औंलाले जिब्रो भिजाएर नोट कापीका पाना पल्टाउँदै मैले दिएका तर्क सरर टिपेर उनीबारे लेख्ने अठोट गरे। उनले नेपाल गएका चार्ल्स डार्बीनका मिल्ने साथी बारेपनि केहि चाखलाग्दा तथ्य सुनाए ।
बैज्ञानिक चार्ल्स डार्बीन र नेपाल, अर्को ब्लगमा है त ?




