घरमै पाले जस्ता निकुञ्जका जनावर
नझुक्किनुस् है कतै पाल्तु जनावर पर्यो कि भनेर । किनभने तस्विर झ्वाट्ट हेर्दा चिडियाखानाको जस्तो लाग्छ । तर चितवन राष्ट्रिय निकुञ्जभित्रको हो । निकुञ्जमा स्वतन्त्र ढंगले चरिचरन गर्ने गैंडा हेर्न पुगेका पर्यटकहरुलाई चिडियाखानामा झैं घेरेर गैंडाका माउ बच्चा देखाइँदै गरेको ।
निकुञ्जमा जनावर सयौं हुन्छन् । ति स्वतन्त्र ढंगले बिचरण गर्छन् । खुला आकाश तिनको समग्र रमाउने ठाउँ । लुकेर बसेका, भागदौड गर्दैरहेका, आफ्नो वासस्थानमा आफ्नै स्वभाव र आनिबानीमा रमाएका जनावर हेर्न जाने न हो निकुञ्ज । तर अहिले चितवन राष्ट्रिय निकुञ्जका कतिपय ठाउँमा जनावर घरपालुवा जस्ता भएका छन् ।
केहि समय अघि हाल ईटाली रहेका मित्र शम्भू घिमिरेले आफ्नो फेस बूकमा यो तस्विर राखे । त्यसमा चितवन सौराहाकै चराविद, वातावरण संरक्षणकर्ता बासु बिडारीले प्रतिक्रिया जनाए- एउटा गैंडालाई दर्जनौं हात्तीले घेर्ने यो राम्रो भएन । एउटै हात्तीलाई दर्जनौं हात्तीले घेर्नु पर्ने अवस्था किन आयो ? शम्बु घिमिरेले जवाफ फर्काए- के गर्नु जंगलमा गैंडा भन्दा सौराहामा हात्ती धेरै भएपछि ? एउटा गैंडाको भागमा ८, १० वटा हात्ती पर्छ होला अनि ?
जैविक विविधताको वंश नमेटियोस, ननासियोस भनेरै हो निकुञ्ज स्थापना गरिने । त्यसैले, निकुञ्ज भित्रका जिवजन्तुको आनीबानी पूर्ण जंगली हुनुपर्छ । तिनको वासस्थान र आनीबानीमा दखल पर्नुहुन्न । तिनको दैनिकीलाई क्षती पुग्न हुन्न । त्यसैले निक्ञ्जका जनावर कुनै मानव क्रियाकलाप देखापर्नासाथ बुर्कुसी मार्छन् । भाग दौड गर्छन् । लुक्छन् । कराउँछन् । कि त सिधै आक्रमण गर्न आउँछन् । बाहिरी वातावरणबाट ति बेखबर जस्तै भएर जिउनुपर्छ । तर दुखको कुरो चितवन राष्ट्रिय निकुञ्जको अवस्था त्यस्तो छैन ।
यहाँका कतिपय गैंडा हात्तीले ठेस लगाउँदापनि डेग चल्दैनन् । मान्छेले सुसेली हालोस् वास्ता गर्दैनन् । बिहान र साँझैसम्म एउटै गैंडालाई दर्जनौं हात्तीको लस्करले घेर्छ । अनि पुच्छरै निमठौंला झैं नजिकै लगेर घेरीघेरी देखाउँछन् । चिडियाखानाका मान्छेले झैं दर्जनौंले एउटै गैंडा हेर्छन् हात्तीको घेराभित्र । निकुञ्मा एउटा मात्रै गैंडा पालेझैं सबैको क्यामराले एउटै गैंडाको फोटो कैद गर्छ । दिनभरी जोतेर थाकेको गोरु झैं गैंडा डेग चल्दैन । थपडी बजाउकि सुसेली हाल । कहिले नदेखेका हुन् र ति हात्ती ? कहिले आउन्नन् र क्यामरा बोकेका मान्छे ?
नयाँ र नौलो, अचम्म र त्रास लागे पो भान्छ गैंडा । न त जंगली गैंडा देखेर पालुवा हात्तीनै डराउँछ्न् । एउटा गैंडा कुनै एउटा हात्ती चलाउने माहुतेले देख्यो कि वरिपरिका सारा हात्ती छेकाटे काट्दै गयो र त्यसैलाई देखायो ।
गैंडा आहाल खेल्दापनि कोहि न कोहि पैदलमा पुग्छ । बिहान सूर्योदलको झुल्कोसँगै घाँस चेप्दापनि कि त हात्ती कि त जंगल घुम्ने पर्यटक पुग्छन् । हिउँदको याममा त झन गाडीमा जंगल घुम्नेपनि थपिन्छन् ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्वदेखि पश्चिमसम्मै सात वटा होटेल छन् । आम संरक्षणको मान्यता बिरुद्द खोलिएका । तिनले निकुञ्जको अधिकांश भागमा आफ्ना गतिबिधी संचालन गर्छन् । जिवजन्तुका लागि सबैभन्दा उत्तम मानिएकै घाँसेफाँट, नदीतटिय वन र पानीको स्रोत नजिकका ठाउँ तिनै होटेलले ओगटेका छन् । जुन जनावरकालागि उत्तम ठाउँ हो तिनै क्षेत्र निजि होटेलकालागि। निकुञ्जले जंगलमा पर्यटकिय ओहोरदोहोर गराउन निश्चित नियम बनाएपनि तिनले बिहानदेखि साँझसम्मै मनपरी ओहोरदोहोर गर्छन् ।
तिनले आहाल खेलेको गैंडा होस् कि सुतिराखेको म्रिग । मध्ये रात होस् कि एकाबिहानै । मनपरी गाडी कुदाउने गरेका छन् । मनखुशि हात्ती लगेर गैंडाको नाकै ठोस्नेगरि घेरी घेरी लघारी लघारीपनि देखाउँछन् । तिनलाई गैंडाको वासस्थान जोगिनुसित भन्दा तत्काल पर्यटक खुशि बनाउनु छ । जनावरलाई दखल पर्नुको चिन्ता भन्दा पर्यटक बेखुशि होलान् कि भन्ने चासो बढि हुन्छ । गाडी, हात्ती र मान्छेको सबैतिर उत्तिकै आवत जावत । सौराहाका सय होटेलले भन्दा सयौं गुणाबढि भित्रका सात वटा होटेलले जिवजन्तु पाल्तु बनाइरहेका छन् । गैंडा र बाघ मार्ने तस्करहरुको सुरक्षित थलोपनि तिनै भित्रका होटेलहरु हुन् भन्ने तर्क गर्नेहरुपनि निकै छन् ।
त्यहि सुविधा निकुञ्ज बाहिरका होटेललाई छैन । त्यसैले सौराहामा रहेका करिब सय वटा होटेलमा आउने हजारौं पर्यटकको चाप एकै ठाउँमा परिरहेको छ वर्षौंदेखि । त्यहाँका जनावरको आनीबानीनै बदलिएको विशेषज्ञहरुलेनै बेला बखत औंल्याउँदै आएका छन् । तर त्यसमा ध्यान जाने कसको ?
बाहिरबाट ब्यापारकालागि आए । होटेल खोले । स्थानिय सम्पदा र प्रक्रितिको दोहन गरे । धन कमाए । थैली कसे हिँडे । बाहिरियाहरुलाई स्थानियलाई जति न चासो हुन्छ न त माया । बाहिरबाट आउने ब्यापारीले स्थानिय सम्पदा रहुन्जेल्, संभावना र अवसर रहुन्जेल दोहन गरेर बस्ने हुन् । जब प्रतिकूल अवस्था हुन्छ ति कुम्लो र कुटुरो बोकेर हिँड्छन् । तर त्यसको असर र क्षती त स्थानिय मानिसहरुले भोग्नुपर्छ । त्यसलाई बेलैमा जोगाउने मुख्य दायित्व र कर्तब्यपनि स्थानियकै हो । तर सुनको कुखुरोले फुल दिउन्जेल खासगरि सौराहावासी र चितौनेहरुको ध्यान त्यता गएको देखिन्न ।





