सन्किँदै, फन्किँदै होलीमा बदलियो हाम्रो फागू
नामनै फागू पूर्णिमा । बिभिन्न रंगका धुलोहरुको सिंगो प्रतिनिधी नाम नै फागू हुनुपर्छ । त्यसैले हामी त फागू खेल्थ्यौं । सानामा पैसो हुन्नथ्यो । धान मकै र अन्य बालीनाली उठाएको जमिनमा छुटेका बाला र बिर्सिइएका गेडा टिपेर बेचिन्थ्यो । त्यसैबाट हो अहिलेको पाकेट खर्च उठाउने । त्यहि पैसाले फागूमा रंग किनिन्थ्यो । थरी थरीका रंग पाइन्थ्यो पसलमा । गाउँघरमा बाँसको दुख हुने भएन । ढुंग्रो परेको बाँसको टुप्पोमा साना प्वाल पार्यो । रंग घोलेर ढुंग्रोमा राख्यो । सानो एकहाते लठ्ठी जस्तोको टुप्पोमा कपडाको काँचो बेरेर ढुंग्रोमा घोच्दै पिच्कारी हानिन्थ्यो ।
यस्सो करेसामा लुक्यो । परालका टौवाको छेल पर्यो । गाइ भैंसीका टाट्नातिर लुट्पुटियो । वरीपरी कोहि देखेसि त्यहि पिच्कारीले हान्यो । कुन मान्छे कहाँ जान लागेको हो । कताको हो ? पिच्कारीले रंगाइदियो, अनि टाप ।
तराइको ठाउँ । थारु वस्तीको बाहुल्यता । उनीहरुकै रहनसहन । फागूको हल्लाखाल्ल निकै अघिदेखि चल्थ्यो । फागूमा मासु सासु । मिठो खाने चलन हुन्छ थारुहरुको । यो उनीहरुको विशेष पर्वनै भयो । अरु समाजमा भने पाकाहरुलाई उति देखिएन फागू लागेको । हाम्रा त साथी भन्नुपनि तिनै थारु । हाँस्ने, रमाउने, खेल्ने र चाड पर्व मनाउनेपनि तिनैसित ।
सँगी साथी थारुनै । देखासिकी उनीहरुकै । प्रभाव उनीहरुकै हुन्थ्यो । मुजुरका रंगिन प्वाखहरुले सजिएका डम्फू बजाएर घर घर पैसा माग्दै आउँथे । कि त अन्नपात बटुल्थे । बाहुन क्षेत्री समाजको देउसी भैलो झैं । प्वाँख हल्लाउँदै ति नाच्थे । गाउँथे । फागू पूर्णीमाको दिन बाटोमा जो निस्किन्छ कोहि नरंगीकन घर छिर्न सक्थेन । रंग नलाइ त हुँदै हुन्न । देखेकालाई जसरिपनि फागु घसिदिन्थे । सल्लाहले नमाने लघारेर, पछारेर घसिदिन्थे । कसले धेरैलाई फागू घस्नसक्यो भन्ने प्रतिस्पर्धा चल्थ्यो ।
त्यो फागू आफ्नै स्थानिय हैसियतको थियो । आफ्नै परिवेशको थियो । र थियो त्यो आफ्नै भावना, आफ्नै संस्क्रिति र आफ्नै संस्कारको ।
हेर्दा हेर्दै त्यो फागू होलीमा बदलियो । जब त्यो होलीमा बदलियो त्यसले भारतीय होली लिएर आयो । त्यसले आफ्नो संस्क्रितिलाई अलि पर धकेल्यो । आफ्ना संस्कारलाई अँचेट्दै लग्यो । जति फागू टाढिँदै गयो र नजिकिँदै आयो होली उति आफ्नोपन अपहरण गर्दै गयो । हाम्रो फागू हेर्दा हेर्दै पिसाबका बोत्तलमा आउन लाग्यो । मोबिलका काला लेदोमा फेरिन लाग्यो । बाँसका ढुंग्राको फागू फेरिएर नालीको फोहोर र हिलोको रुपमा बदलिएर गाउँघरमा आयो होलीको रुपमा ।
जब त्यसले होलीको रुप लियो तब केहि मान्छेका लागि मात्रै आउन लाग्यो । त्यसले आतंक लिएर सिमित मान्छेका मनमा बास जमायो । थोरैका मनमा रमाउन थाल्यो । उसले धेरैलाई टाढा बनाउँदै लग्यो, थोरैलाई निकट ल्याउँदै गयो । उ सिमापारीबाट हाम्रो फागू अपहरण गर्दै छिर्यो । आतंक मच्चाउँदै छिर्यो । फोहोर र भय लिएर छिर्यो ।
त्यसले स्थानिय काँट र छाँटको फागूलाई अपहरण गर्यो । स्थानिय घर घरमा बन्ने, बनिने त्यो फागू पसल र बजारका बोरामा तयार हुन लाग्यो। जर्किनमा, नालीमा, मट्टितेल र मोबिलमा त्रास, भय, आतंक, बिदेशी तामझाम लिएर आउन लाग्यो । मेरो फागू होलीमा बदलियो । आफ्नै फागूमा रमाउने युवा युवती सारालाई होलीमा रमाउने बनायो । मेरो फागू सन्किँदै, फन्किँदै, टाढिँदै, भाग्दै र अँचेट्दै होलीमा बदलियो ।




