सर्वस्व पार्ने युवतीको तस्विर
पहिलो विश्व युद्दमा जर्मन र अंग्रेज एलाइन्सबिच बेल्जियमको इपेरामा पनि भएछ लडाइ । इपेर निवासी मित्र महेश थापाले घुमाएर गाडीमा पुर्याउन आए रेल स्टेशन । शेरबहादुर छन्त्याल र म सँगै थियौं । आउँदा आउँदै बाटोमा डुम डुम बुडुम डुम डुम । आवाज सुनियो । ‘ह्याँ उत्रिनु छ’ भने छन्त्यालले । ओ गुरु ! ह्याँ त जात्रा रैच । हेरम हेरम् एक छिन् ।
ह्या के हेर्ने यस्तो नी ! पुरा नांगै छन् यार । त्यो अलिकति धर्सो किन ला’को होला ? हुत्याउनुनी त्योपनि । टन्टै साफ ।
हैन मान्छे बौलाका कि के ? नितम्ब त नाम मात्रै छोप्या छन् । सु आउने ठाउँको झन कसैको त झाडी र बुट्यान’नी देखिएला जस्तो छ । छि छि ! हैन के हो यो ? मान्छे बौलाका त पक्कै हैनन् । दर्झनौं छन् । नाच रे नाच । हामीलाई हेर्न लाज भैराखेको छ । तर अरु तन्कि तन्कि आँखा गाडेका छन् फाइटर प्लेनले झैं । नाच्नेहरुको ताल फेरी ! जति नजिक गएर नितम्बतिर आँखा डुलायो झन नजिक आएर हाँस्दै नाकैको छेउमा नाचिदिने । अंग प्रत्यंग आँखा डुलाइदिएकोमा झन खुशि । जति नांगिएर नाच्यो उति राम्रो हुने हो कि के हो ?
एउटी त सारै गति छाडा लाग्यो । समय र परिस्थितिले बाबु नानीलाई चुसाउनु पर्ने बुबुको चुचुरोनै देखाकि छे । शरिरमा लुगाले छोपेको ठाउँ खोज्नुपर्छ । अधिकांश ह्वाङ्गै । मित्र छन्त्याल ‘एयर कन्डिसनकालागि हो के’ भनेर हसाउँछन् । हेर्नु त हेर्नु झन त्यसको हालत ! हाहाहाहाहा !!!!!!! के हो यस्तो ?
उनलाई त खुदो भैहाल्यो यस्तो मौका । बकुल्लाको चुच्चो जस्तो जुम निकालेर तेर्स्याए उनले क्यामरा । बसेर । उठेर । छड्के । अगाडि । पछाडी । अनेक तरिकाले हाने तस्विर । बेला बेला सुनाउँछन्- खतरा छ गुरु यो त ।
कुन कुन ? म हतारिन्छु । छुट्यो भने के के न बित्याँसै पर्ला जस्तो ।
उ त्यो के त्यो । उ उ उ । उनी देखाउँछन् । एउटीलाई ताकेर उनले फोटो खिच्दा अर्कि आउँछे मुस्कुराउँदै । झन बढि मस्किन्छे । अझ बढि तन्काउँछे शरिर । हाम्रा गुरु झन बौरिँदै खिच्छन् ।
यस्सो सोचें- कुर्था सुरुवाल लाउनु हुन्न बुहारीले । छोरी मान्छेले पाइन्ट लाउने हो ? छोरी मान्छे भएर पिडौला देखाउने हो ? यस्ता टिका टिप्पणी गर्ने गाउँघरका हाम्रा बाजे बज्यैहरुलाई तातो चिया खुवाउँदै यो नाच देखाउन पाए ! च्व ! खैंजडी बजाउँदै बौलाउँदा हुन् कि के गर्दा हुन् ?
करिब एक घण्टा तिनका चर्तिकला हेरियो । त्यहाँ कसैलाई केहि सोच्ने फूर्सदनै छैन । अनि लौ अब बाटो लागम भन्दै हिँडियो । तिर्खा लाग्यो । खाम यस्सो कोस सोक भने उनैले । कोक किन्न छिरियो म्याक डोनाल्डामा । पैसा तिर्छु भनेर गोजीमा हात हाल्दा त पर्स नै चैट । फर्केर नाचेको ठाउँमा हेर्दा कहिँ भेटिन्छ ? लौ बर्बाद । ल आपत ! आँधी बेहरी, भल बाढि सब दगुरिहाल्यो दिमाखमा ।
सानो आशाको झिनो कतै महेशजीकोमा पो छुटेछ कि त ? ओंठ तालु सुकाउँदै एन्तरपेन तिर लागियो । के हुनु ? सारा इहलोक बिर्सेर झुम्म पर्ने नाचमा । धरती नटेकेर आकाश टेक्दै युवतीका चर्तिकलामा भुल्ने अनि कहाँ राख्छ पकेटमारले ? बैंक कार्ड, भएको सुकी मोहोर यूरो । फर्किने बसको टिकट । फोन डायरी । यूरोपका बिभिन्न देशका नेपाली र बिदेशी मित्रका भिजिटिङ कार्ड, फोन नंवर । विमा कार्ड । परिचयपत्र । सारा झिरिप भयो । कसो गर्ने ?
गोजीबाट ‘सुकी पैसा झरल त कान्छी आमा मरल’भन्या जस्तो भो । रन्थनिएर भएन । फन्फनिएर आउन्न । मोरो चोरलाई अरु कागज के काम ? बजियाले पठाइदिएपनि त हुने नि मेरो ठेगानामा । अहँ के पठाउँथ्यो । बिजोक भो । भोली पल्टको टिकट छ । सम्पर्क गर्न ढिला हुन्छ । ल रद्द गरम भनेर छन्त्याल गुरुले अर्को दिनको टिकट लि दिए। अब कति दिन लाग्ने हो त्यो सबै कागज बनाउन ।
दशानै लाको झैं भो बेल्जियम त । जाँदा वान्ता गर्दै गइयो । पुगेकै दिन छन्त्यालजीका परिवारलाई दुख । चस्मा भँच्चियो । पकेट मारियो । अन्तर्वार्ता दिन्छु भन्नेले धोका दिए । उता म आउँदा रमाईलो गरम्ला भनेर बिदा मागेर बसेका गुरुको बिदा खल्लोसित बित्यो । पकेट मारिनु र बिरामी पर्नुले गर्दा ‘मलाई जसरि’नी भेट्नु है, मसित’नी गफ मार्नु पर्छ है’ भनेका साथीभाइ कहाँ पुग्न पाइएन ।एक छाक खाना खाएर यस्सो नयां नौला गफ मार्न भुल्न हुन्न है भन्नेको भावना’नी राख्न सकिएन । तिपनि रिसाए । अब फेरी बोलाएका छन् अन्तर्वार्ता राम्रो गर्ने, आउनुस् भन्दै । अहिलेपनि मन झस्किन्छ- कतै त्यस्तै न्रित्यको आकर्षणमा परिने त हैन ? हाम्रा बाबु बाजेलाई बहुला बनाउने धन्नको रैछ त्यो अर्धनंग्न कार्नाभल नाच ।




