चर्पी र चुलो बनाउन जाने भए फ्रान्सेली चिकित्सक

यी फ्रान्सेली चिकित्सकहरुसित एक महिना अघिनै छलफलको निधो गरेको । अनेक खाले कामका चापले मर्लक्कै बिर्सिएछु । ३ दिन अघि लौ केके विषयमा छलफल गर्ने भन्दा पो होस हवास गुम भयो । उफ् काममापनि जानै पर्‍यो । भनें- नसकिने भो । भन्नै पर्‍यो । जागिरै छोड्न भएन त । सम्पर्क गर्ने मुख्य एडवीज हुन् । उनैले फोन घुमाइन् । ‘नाई तपाई नभै त हुँदै हुन्न, बरु तपाई जहाँ बस्नुहुन्छ त्यहिँ आउँछौं’ भने । एक्कै घण्टा भएपनि बरु छिट्छिटो छलफल गरौंला । आए बसेकै ठाउँमा ।

चितवन भनेपछि सबैले सुगम । समथर । सुखि मान्छे । टाठा र बाठा बस्ने भन्ने ठान्छन् । तर यहि चितवनमा कतिपय यस्ता मान्छे छन् जसको जिवन गिठा र भ्याकुर खोज्न जंगल नगइ धानिन्न । एक गाँस नभएर बालबच्चा स्कूल जान पाउँदैनन । कोही बिरामी भए राम राम भन्दै डोकामा ओराल्न पर्छ । चितवनको उपर्दाङ गढि । पहिलेको ऐतिहसिक ठाउँ । तर नांगो पहाड । खेतियोग्य जमिन छैन । अधिकांश गरिव तामाङहरु बस्छन् । खानीपानी त्यो डाँडोमा के हुनु ? यस्तो ठाउँमा केहि सहयोग गर्न पाए ? आफू जन्मेको जिल्ला । जिम्मेवारी र रहर दुबै हुने नै भयो । तयार भए फ्रान्सेली आधा दर्जन चिकित्सक । भर्खरै पढाई सकेका । युवा युवती । जोस र जाँघर भएका । नेपाल कहिल्यै नपुगेका । तर नेपाली भनेपछि मनमा सजाइसकेका ।

एक घण्टाको छलफलमा के के नै पो भ्याइन्छ र ? तर स्थानिय मान्छेलाई गर्ने सहयोग बारे पहिलेपनि अलिकति छलफल त भएकै थियो । चर्पीको अभावले झाडा पखाला जस्ता अनेकौं रोग लाग्छन् । चर्पी बनाउने पैसो यहाँका ‘दुखिया’ सित हुने भएन । चुलोको कुइरिमण्डल धुवाँले धेरैको फोक्सोमा उमेर नपुग्दै बादल लगाउँछ । त्यत्ति धुवाँबाट छुट्कारा पाएपनि कति आमा, दिदी बहिनीले सुख पाउँदा हुन् !

लौ त्यो गाउँमा २६ घर छन् । तिनलाई चर्पी बनाइदिने । धुवाँ रहित चूलो बनाइदिने । गज्जब भयो निर्णय । अनि ? कतिका हात डाम्छन् । औषधी हुन्न । भएपनि किन्न सकिन्न । कतिलाइ झाडा पखालाले तत्कालै पछार्छ । दुई गोली औषधी नभएर थला पर्छन् । ज्वरो आउँछ । नाथे ४ गोली सिटामोल नभएर पुन्पुरो समाउँदै खप्छन् । ल नभै नहुने औषधीपनि लैजाने ।

यस्सो दुइ चार बट्टा औषधी बाँड्यो । कोहि छानामा घुसारेर फाल्यो । दिनेले पनि चखाए झैं गर्‍यो । अनि अलप भयो । दुखियाका समस्या दुई महिनापछि उस्ताको उस्तै । एक दिन दक्षिणा लिएझैं गरेर के गर्नु ? दिर्घकालसम्मका लागि सहयोग गर्न सके ठिक छ । नत्र केहि बट्टा औषधी चखाएर काम छैन । मेरा कुरा सुनेपछि त्यसलाई दिर्घकालसम्म कसरि राख्ने । उपाय हामी मिलेर खोज्ने । कुनैपनि औषेधी पसलेलाई नदिएर लगेको औषधी गाउँमै कुनै तरिकाले बाँड्ने । औषधी थन्क्याउने र प्रयोग गर्ने । दुरुपयोग हुन नदिने उपायले सेवा गर्ने भनियो ।

उपलब्ध गराउने काम तिमीहरुको । अरु बाँकी सहयोगको जिम्मा हाम्रो बरु । खुशि भए । म छँदै छु । विश्वासिला साथी छन् केहि । उहाँ बसेर निगरानी गर्ने मेरा हितैषी रुपेन्द्र कर्माचार्य छँदै छन् । उनले अहिलेपनि गरिरहेकै छन् ।

जुलाईमा उनीहरु जान्छन् । उपर्दाङगढीमा एक महिना बसेर आफैंले चर्पी जोडेर छोड्ने छन् । धुवाँ रहित चुला गाडेर देखाउने छन् । नेपालीहरु पानी, पसल, गाडी, अन्नपात नभएका डाँडामा दुख सुख साटेर यी फ्रान्सेली डाक्टरहरुले अनुभव लिने छन् । अनि त्यो अनुभवले पक्कै अझ मन पग्लिने छ ।

अब यी छ युवा युवती पेरिसका ६ वटा अस्पत्तालमा जगिरे हुन्छन् । यिनको पहुँच बढ्दै जान्छ । यस्ता नेपालप्रेमी हरु खोजि खोजि के के ज्ञान, सिप, अन्य फाइदा लिनुपर्ने हो । सरकारको निकायले सोच्नु पर्ने हो । तर खै त्यसको हेक्का कहिले रहला ?

कुरा गर्दा गर्दै के के छ हँ । कस्तो छ त्यो ठाउँ भनेर सोधिहाले । नुहाउन त्यस्तै हो । पानी छैन । बत्ति हुन्न । पिलन्धरे टुकीमा हाँस्नुपर्छ । तिम्रा कम्प्युटर कतै कुनामा मुस्कुराउने छन् । खाने आफैंले केहि लगे हो । नत्र कोदो र फापरको लन्च, डिनर, ब्रेकफास्ट । खुर्सानीसित च्वाप्प चोप्यो खोल्प्याक्कै निल्यो । हाहाहा !!!!! है ? खुब हाँसे ।

तयार छौ त्यस्तो भोग्न ?

अँ ।

‘चितवन रमाइलो छ । असाध्यै रमाइलो’ एदविजले भनिन् ।

हो ?

अँ एकदम । हात्ती त पाइन्छ ।

समूहकी एक मात्र युवती कामीइले परेला तन्काइ – हात्ती ?

अँ त ।

वाउ ! हात्ती !!!!

एउटै ढोइ (पोथी हात्ती) ले दुइवटा छावा जन्माकी । त्यो नी हेर्न पाइन्छ ।

जेरेमी तन्कियो- गैँडा नी पाइन्छ । गैंडा ?

लौन कैले पुग्ने होला है ? उफ् कैले आउने हो त्यो जुलाई ? खतरा हुन्छ है गैंडा त ?

खतरै हुन्छ । खतरा त जुका नी हुन्छ ।

जुका’नी पाइन्छन् ?

झन घाँटी लम्काउँदै सोधे- अँ त । पाइन्छ नी ।

मान्छे, बाख्रा पाठा पानी परेसि घरभित्र छिर्छन् । ति जुका चाहिँ पानी परे’सि न्रित्य गर्दै हाँ हाँ मुख तन्काएर बाटो कुरेर बस्छन् ।

हो ?

के के गर्न पर्छ बच्न ?

त्यो अर्को पटक गफ गर्ने है ? आज चाहिँ अलि ढिलो भो क्या !! जुकाको कहानी र बाँकी छलफल तिमीहरु नेपाल जानु अघि एक पटक गरम्ला है ?

तपाइँको प्रतिक्रिया