प्लास्टिकले गूँड पोत्ने चराको सान र मान नै चर्को
गतिलो जागिर । बगैंचा सहितको फराकिलो, अग्लो घर । अगाडी पार्किङ गरिरहेको गाडी । यति भएपछि नेपालमा सान र मान कति चर्को ? यस्तै सान र मान चराको संसारमापनि हुन्छ । खासगरि चीलहरुको दुनियाँमा । तर फरक के भने यिनलाई गाडी चाहिन्न । घर भने चाहिन्छ । हो त्यहि घर बनाउँदा प्लास्टिक लगेर सान देखाउँछन् ।
मान्छेले अनेक तरिकाले प्रयोग गरि सकेर मिलाएको प्लास्टिक त चीलको लागि सान देखाउने गज्जबको चिज रहेछ । मांशहारी चराबारे अनुसन्धान गरिरहेका अमेरिकी बैज्ञानिकहरुले गज्जबको तथ्य पत्ता लगाए । चीलहरुले एकदम सेतो रंगको प्लास्टिक खोजि खोजि जम्मा पारेर ल्याउने रहेछन् । त्यसले चट्ट सिँगार्ने रहेछन् गूँड । त्यसो गर्दा त्यो गूँडबाट जन्मेका बचेरा भविष्यमा एकदम तगडा, लडाकू बन्ने रहेछन् । त्यस्तो गूँडबाट बचेरा पनि धेरै कोरलिने रहेछ ।
चराहरुमा एउटाले बनाएको गूँड अर्कोले लिने चलन छ । कमजोरलाई लखेटेर बलियोले हडप्ने । कत्ति दुख गरि गरि हप्तौं, महिना लगाएर जम्मा पारेको सामानले गूँड बनाएको देखेपछि बलियोले आएर लघार्ने अनि त्यसमा आफूले फुल कोरल्ने । आलटाल गर्यो भने भुतल्ने । खुट्टासुट्टा भाँचिदिने । रगताम्य बनाइदिने । उस्तै परे मारीदिने ।
अमेरिकी बैज्ञानिकहरुले यो तथ्य पत्ता लगाउन दक्षिण पश्चिम स्पेनको दोनान्या राष्ट्रिय निकुञ्जमा पाँच वर्ष लगातार अनुसन्धान गरे मांशहारी चराबारे । त्यहाँ उनीहरुले १२७ वटा चीलहरु (ब्लक काईट) मा अनुसन्धान गरेको साइन्स जर्नलले सार्वजनिक गरेको छ । अरु रङको प्लास्टिक दिँदा के गर्लान भनेर बैज्ञानिकहरुले पारदर्शी र हरियो रङको पनि दिएका थिए । तर चीलहरुले सेतोनै रुचाए ।
भाले पोथी दुबैले सेता प्लास्टिक गूँडमा ओसारेका थिए । सात देखि १२ वर्ष उमेरकाले बढि प्रयोग गरेका थिए । बैज्ञानिकहरुको भनाईमा यो उमेर एकदम सबल, स्वस्थ र प्रजनन गर्ने बेलाको हो । नहुर्केका र बुढा उमेरका चराले भने प्रयोग गरेको त्यति पाइएन । अनुसन्धानकर्मीहरुले चराको गूँडमा थप प्लास्टिक राखिदिँदा तिनले अलक्कै थाह पाए । तिनलाई झिकेर पाखा राखिदिए ।
यसो त वैज्ञानिकहरुले चराको गूँडको क्रियाकलाप अवलोकन गर्न थालेको हालसालै मात्रै होइन । सन् १८०० देखिनै हो । तर प्रजनन् प्रक्रियामा यस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्छ, यो आकर्षणकालागि मात्रै होइन भन्ने तथ्य पत्ता लागेको भने यो पहिलो पटक हो । प्लास्टिक अस्तित्वमा आउनु पहिले चराले लूगा र कागज प्रयोग गरेको हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् । त्यो भन्दापनि पहिला अन्य चराका चम्किला प्वाँख, भेडा बाख्रा र चित्तलका भुत्लाले रंगाउने गरेको हुन सक्छ ।
![25obnest1-articleLarge[1]](http://www.nepalplus.com/wp-content/25obnest1-articleLarge1.jpg)





