शिविरभित्र छापामारको जिवन

janasena-jutpani-049.JPG

माओवादी जनयुद्दको प्रारम्भतिर म केहि पहाडी जिल्ला घुमेको थिएँ । माओवादी जनयुद्दबारे मुल उद्देश्य राखेर रिपोर्टिङ गर्न । त्यो बेला छापामार भेट्नु चन्द्रमा खसाल्नु जस्तो मानिन्थ्यो । छापामारलाई भन्दा आफुलाई पो बढि खतरा दुबै तर्फबाट । जिल्लामा सरकारी गुप्तचरहरु स्याउँस्याउँति हुने सदरमुकाममा कोहि नौलो देखेपछि । पछिल्लो समयमा जनयुद्दले घेर्दै ल्याएपछि छापामारहरु छ्यापछ्याप्ती भए । अहिले शिविरमै किन नहोउन, उनीहरु के सोच्छन । कस्तो ठाउँमा बस्छन । शान्तिवार्ता संबन्धि के धारणा राख्छन । अब लड्ने मनशायमा छन कि छैनन । ति आफ्नो जिवनबारे के सोच्छन भने जिज्ञासा, चासो, चिन्ता र चाख आम मानिसहरुमा मेटिएको छैन । मलाईपनि उनीहरुको शिविर छिरेर हेर्ने, घुम्ने र गफगाफ गर्ने खुब इच्छा थियो । चितवन पुगेका बेला यसो बाटो खोजे‌ । चितवनमा क्याम्पस पढाउने भाई विनय पौडेलले शक्तिखोर तेस्रो डिभिजनका कमाण्डर अटललाई नै चिन्ने रहेछन। ढुंगा खोज्दा देउता मिलेन त ? लौन सम्पर्क गर भनें । अटलका बुवा मारिएका रहेछन जनयुद्दकै क्रममा लम्जुङमा । हामी जाने दिन उनको बुवाको वार्षिक  कार्यक्रम राखेका रहेछन माओवादीले लम्जुङमा । उनी उतै जाँदै रहेछन ।

janasena-jutpani-011.JPG

बिनयले मोटरसाईकलमा पुर्‍याए डिभिजन कार्यालय । अटलसित मोबाईलमा सम्पर्क गरिएको थियो । गेटमा पुगेको । एकजना जनसेनाले जानै दिएनन । काँ, के, को, कसरि भनेर रोके । अटलले बोलाएको भनियो । तर चिन्दिन भने। परेन त फसाद ? त्यहिँ पुग्दा मोबाईलमा सम्पर्कपनि भएन अटलसित । गेटमा बसेका एक जनसेनालाई अनुनय बिनय गरियो । अहँ, कसैलाईपनि छिर्न नदिनु भन्ने आदेश छ सर हामी दिँदैनौं भने ।

janasena-jutpani-008.JPG

सेन्ट्रिमा एक महिला छापामार थीइन । क्यामरा देखेपछि उनले मुन्टो अर्कोतिर फर्काएको फर्कायै गरिन । बिनयले आफ्नै मोबाईल दिएर सम्पर्क गर्न लगाए गेटमा बसेका एक जनसेनालाई । धन्न सम्पर्क भयो । उनले आफ्नै सहकमाण्डर रकेटलाई लौ है उहाँहरु मेरा मान्छे, राम्ररी घुमाईदिनु होला भन्दै हिँडेका रहेछन । त्यो कुरा भित्र छिरेर फेरि कमाण्डर अटललाई सम्पर्क गरेपछि पो थाह पाईयो ।  

छापामारहरु धेरैलाई नै भेटियो । ति मध्ये अधिकांशको बोली वचन मिठो थियो । हामीलाईपनि असर पर्छ सर के गर्नु छोडेर भन्दै थिए । गेटमै एकतिर जनसेनाको लोगो र अर्को तिर प्रचण्ड को फोटो रहेछ (पहिलो तस्बिर) ।

janasena-jutpani-044.JPG

दाहिनेपट्टी बोराले बेरेको चर्पी देखेपछि जनसेना कस्तो ठाउँमा बस्ने रहेछन भने संकेत मिल्यो ।

janasena-jutpani-046.JPG

सालको रुखमा जनसैन्य अस्पत्ताल जाने बाटो भनेर कागज टाँसिएको थियो । अलि माथि जाँदा एउटा भलिवल मैदान रहेछन। महिला छापामार एकातिर र अर्को तिर पुरुष छापामार भलिवल खेलिरहेका । कोहि बारीमा तरकारी लगाएर पानी हाल्दै थिए त कोहि खनिरहेका ।

janasena-jutpani-016.JPG

कोही चाहिँ दाउरा चिर्दै रहेछन । त्यहाँ तिन वटा ब्रिगेड रहेछन । हामी सबैभन्दा पल्लो छेउकोमा जाँदै थियौं । अनुमती बिना फोटो खिच्न नपाईने । यसै त क्यामरा हातमा देखेपछि पल्याकपुलुक गरेका थिए । त्यो बेला मैले फोटो खिचिन । किन खिचिस भनेर भएकापनि सबै मेटाइदिए भने के गर्ने भन्ने डरले । अलि पर अर्को थरी जनसेना फुटबल खेलिरहेका थिए ।

janasena-jutpani-033.JPG

बाटैको छेउमा एउटा त्रिपालले घेरेको टेन्टमा केहि जनसेना थिए । उनीहरु खेलकुद बिभागका रहेछन । उनीहरुको चाहिँ सबै खाले ब्यवस्था छुट्टै हुने रहेछ । नेपाली सेना र प्रहरीको जस्तो खेलकुद भनेपछि खेल्ने काम मात्रै हुने रहेछ तिनको ।

janasena-jutpani-018.JPG

बाटोमा सैन्य ईलाका, खतरा भनेर मानव खप्परको चित्र अंकित थियो ठाउँठाउँमै । तर त्यो तर्साउन मात्रै राखिएको रहेछ, कुनै खतरा रहेनछ भन्ने कुरा पछि रकेटले बताएपछि थाह भयो ।  

 janasena-jutpani-030.JPG

अनमिनको निगरानीमा हतियारहरु जति सेता डिब्बामा भण्डर गरिएको रहेछ । तिनलाई चारैतिरबाट काँडेतारले घेरेको थियो  ।

janasena-jutpani-031.JPG

छेउमा जनसेनाको एक सेन्ट्री रहेछ । उनी चाहिँ मुख बङ्ग्याउँदै अलि के, किन भनेर पहिलेको शाही सेना शैलीमा बोल्दै थिए । अनमिनको कर्मचारीको निवास हतियार छेउमै रहेछ । त्यो ज‌‌ं‍गलको छेउ अनि अभावै अभाव जस्तो क्षेत्रमा अन्मिनको चट्ट परेको भवन डिस्क एन्टेना पटक्कै अड्मिल्दो लाग्थ्यो । 

janasena-jutpani-022.JPG

रकेटले हामीलाई छापामारहरु बस्ने ठाउँपनि देखाए । त्यो देख्दा अचम्म लाग्यो । वरिपरि फलेकले बारेको त छ तर पुरै दुल्कानै दुल्का भएको । भित्र खाट छन केहि । तर एउटै खाटमा तिन जनासम्म सुत्ने रहेछन । कपडा झुण्ड्याउने रहेछन भित्ताका फलेकमा काँटी ठोकेर । ओड्ने ओछ्याउनेको अवस्था देख्दा टिढ लाग्दो थियो । त्यहाँको अवस्था यस्तो देखिन्छ कि त्यहाँ न्युनत, हुँदै नहुने सामान्य वस्तुपनि छैनन । त्यति बेला गर्मी थियो तर जाडोमा त पुरै चिसो पसेर सुत्नै नसक्ने रहेछन उनीहरु । लुगा धुने, नुहाउने अवस्था त्यस्तै नाजुक । त्यसैलाईपनि उनीहरु सर, अहिले त धेरै सुबिधा भएको नी ! पो भन्थे । 

janasena-jutpani-041.JPG

कुनै कुनै सेन्ट्री भने खाली थिए । कोहि बसेको थिएन ।

janasena-jutpani-038.JPG

रकेटसँग कुरा गर्दै थियौं । हात मिलाएर छुट्टिनै लाग्दा एकजना महिला निस्किइन एक वालिकालाई डोर्‍याउँदै । टाटे पाईन्ट लगाएकि । शिविरबाट बाहिर निस्किँदै गरेपछि थाह भयो कि ति वालिका त्यहिँ कोहि छापामार कि बच्ची भनेर । स्कूल पुर्‍याउँदै रहिछन आमा छापामार महिलाले । शिबिरमा त्यस्ता वालवालिका आधा दर्जन भन्दा बढि रहेछन ।  

 janasena-jutpani-025.JPG

उनीहरुको त्यहाँ एउटा क्यान्टिन समेत देखियो । तर आवतजावत भने खासै देखिएन । जनसेनाले तलब पाउन थालेपछि खडा गरिएको रहेछ । त्यहिँका जनसेना मध्ये केहिका परिवार मिलेर चलाएका रहेछन । केहि रकम डिभिजनलाई बुझाउनु पर्ने रहेछ भाडा जस्तै । आएको नाफाले परिवार चलाउने रहेछन। तर नाफा त के आउला र खै ! हामीलाई त नाफा आउनेगरि चलेको जस्तो लागेन ।

जनसेनाहरुमा थुप्रै राजनितिक विषयमा निकै ज्ञान छ भन्ने थाह पाईन्थ्यो । सेना समायोजनमा नेपाली कांग्रेसले साथ नदिने बरु डटेर मुकाबिला गर्ने अवस्था छ भन्नासाथ रकेटको छेउछाउ बसेर उनीर हामीबिचको गफगाफ सुनिरहेका जनसेनाहरुले नेपाली कांग्रेसले बिगतमा राष्ट्रिय सेनामा आफ्ना लडाकूहरुलाई गाभेको प्रसंग निकालिहाले । नेपाली कांग्रेसले गरेको विमान अपहरणदेखि सारा उनीहरु तिथीमिति सहित बताउँथे । करिब दुई घण्टा पछि हामी फर्किंदै थियौं। मोटर साईकल कुदिरहेका बेला यसो फोटो खिच्न खोज्दा एक पटक त छापामारहरुको एक समूहले “हेलो सर, कहाँ सोझ्याएको क्यामरा ? हाम्रो खिच्नु न हाम्रो” भनेर कुर्लँदै थिए ।

(साथीहरु, क्यामरा नराम्रो त थिएन तर मैले हेल्चेक्र्याई गरेकोले होला। क्यामरालेपनि मलाई राम्रो तस्बिर दिन हेल्चेक्र्याई गरेछ । तस्बिर गतिला नभएकामा आफैंलाई दुख लागेको छ । अर्को अंकमा पढ्नुस है त सहायक कमाण्डर रकेटको बयान ? उनले जनसेनामा कसरि लागियो, अब लड्नु पर्ला कि नपर्ला ? “बुर्जुवा शिक्षा” नपढेकोमा पश्चाताप, आफ्नै बाबु आमासित किन भयो बोलचाल बन्द, आफ्नै जिवनको ठेगान छैन के विवाह गर्नु जस्ता अन्तरमनका कुरा हामीसित पोखेका छन )

तपाइँको प्रतिक्रिया