मन कुँड्याउँदै देश छोडेर बाहिरिनेको लर्को

nepalis-going-to-overseas-1.jpg

विश्वमा झण्डै झण्डै नेपालमा मात्रै होला विमानस्थल कर लिने चलन नेपालमा । त्यहि कर तिर्नपनि लामो न लामो लाईन लाग्नुपर्छ । कहिलेकाहिँ त त्यहिं आधा घण्टा लगाइदिनेरहेछन कर्मचारीले । त्यत्रो कर लिँदापनि विमानस्थलमा उहि र सधैँ उस्तै छ बेथिति । जतिसुकै सुशासन भनेपनि बिमान कंपनीले तोकेको छुट भन्दा बढि सामान भयो वा केहि भएमा कर्मचारीहरु यस्सो कुनातिर फर्काएर घुस लिनमै तल्लिन हुनेरहेछन। लौ मैले यति गरिदिएँ तपाईको, केहि त हुन पर्‍यो नी ! भन्दै । विमानस्थल आउँदै ट्याक्सी चालकहरुको ठर्रो बोली र ठगीले चसक्क पारिसकेको हुन्छ ।  nepalis-going-to-overseas-3-jpg.jpg

त्यो भन्दा बढि त भित्र छिरेपछि अचम्म लाग्छ । बिदेश हिँड्ने नेपालीहरुको लर्को देखेर मपनि छक्कै परें । प्रधानमन्त्री प्रचण्डले नेपाललाई स्विजरल्याण्ड बनाउने नाराले तिनलाई छोएको छैन । नत यूवा मन्त्रालयको गठन र त्यसकालागि राज्यले छुट्याएको ५० करोडमै विश्वास देखिन्छ यूवाहरुको । ति हरेक दिन भकाभक बाख्रापाठा र गाईभैसी बेचेर भएपनि दलाललाई घुस खुवाउँदै अधिकांश खाडी मुलुक छिरिरहेका छन । बिमान चढ्नु अगाडि पर्खेर बस्ने कोठमा हजारौंको खचाखच भिड देखिन्छ । एउटा विमानले सकेजति लैजान्छ तर त्यो कोठा फेरि तत्कालै भरिन्छ । अधिकाश यूवाहरुको हातमा टिकट छ । अनि छन हातमा मायालु व बाबु आमा र साथीभाई अनि ईष्टमित्रले दिएका फूल र मालाको चिनु । पैसा कमाउन जान लागेका छन । तर तिनमा त्यो पैसाको पटक्कै भर देखिन्न बरु अनुहार निन्याउरो देखिन्छ ।   निरासा, कौतुहलता, त्रास, डर र भविष्यको चिन्ताले दूर्लभ नै देखिन्छन उज्यालो अनुहार । मैले चार जना महिलाहरुको एक समूह यस्तोपनि देखें कि तिनले कहिल्यैपनि आफ्नो आँगनसम्म छोडेका रहेनछन पहिले । पहिलो पटक ति दुबाई जाँदै थिए। ति महिलाहरुको अनुहार पुरै अँध्यरो थियो । चिन्ता र खुल्दुली एकैसाथ देखिन्थ्यो । यतिसम्म सरल रहेछन कि तिनले बिमानसम्म पुर्‍याउने बस चढ्न पनि नजानेर कर्मचारीहरु सिकाउँदै थिए । एउटा कागज माग्दा हातभरिको सबै कागज पुरै जिम्मा लगाउँथे । कहाँबाट आउनु भएको हो र कहाँ जाँदै हुनुहुन्छ । के गर्न र कति समयकालागि हो भनेर मैले सोधें । उनीहरु रहेछन सर्लाहीका । दुबाईमा बच्चा हेर्न जान लागेको भनेर सुनाए । दुई वर्षकालागि रहेछ । त्यस्ता ठाउँमा आफुभन्दा नजान्ने र नसक्नेहरु देखेपछि सहयोग गर्नु र सान्त्वना दिनु त कहाँ हो कहाँ । अलि जान्ने सुन्ने ठान्ने र पढे लेखेका नेपालीहरु आफुले गर्भमै जानेर आएझैं गरेर झन तर्कन्छन । ति महिलाहरु सँगपनि अधिकांश नेपाली त्यसैगरि तर्किंदै थिए । मैले सोधे- तपाईहरु किन डराउनु भएको ? ति मध्ये एक थिईन, हरियो कुर्था बाहिर कालो स्विटर लगाएकि, सलले घाँटी बेरेकि । गोडामा चप्पल थिए । नाकमा रिङ जस्तो फूली । उनले भनिन-घर छोडेको भएर डराएको । मानिसहरुले हेराहेर गरे । अनि मैले जवाफ दिएँ-यहाँ भएका सबैले घर छोडेरै त आएका छन नी, तपाईहरुले मात्रै हो र ? बाहिर निस्किन घर नछोडि कहाँ हुन्छ र ? मेरो जवाफ सुनेर कोहि हाँसे त कोहि हो हो भनेर सान्त्वना थप्न खोजे । विमानमा चढ्नपनि नजानेर परिचारिकाहरु तिनलाई हात समातेर लैजाँदै थिए ।  

nepali-womens-in-the-foreign-job.jpg

विमानभित्र म झ्यालमा परें । मेरो छेउमा परे दुई महिला । पहिरनले नै बताउँथ्यो कि यि कतै बिदेशी शहरतिर जाँदैछन । उनीहरु बिकसित शहरिया जिवनमा अभ्यस्त भएको सजिलै झल्को मिल्थ्यो । नबोली ठुस्स परेर बस्ने आफ्नो स्वभाव छैन । सोधें-तपाइहरु कहाँसम्म हो ? उनीहरु ईजरायल जाँदै रहेछन । दुबै जना रसिला रहेछन । एउटी अलि पाको उमेरकि। नाम अनुजा रिजाल । अर्कि अलि कम उमेरकि तारा खतिवडा । दुबैको घर मोरङ बिराटनगर भन्थे । दुई वर्ष अघि दलाललाई ६,६ लाख बुझाएर गएका रहेछन । अहिले दशैं तिहारलाई छुट्टी मिलाएर आएका परिवर र बच्चाको मायाले पोलेर । दुई मध्ये तारा अलि दुखि देखिएकि थिईन । ११ वर्षको छोरो पतीसमक्ष छोडेर आउँदा खुब रोएँ भन्दै थिईन । नेपाल जाने भनेर यहि बिमानस्थल ओर्लँदा कति खुशि थियो मन । कति दरिएका थिए गोडा । अहिले फर्किँदै छौं भन्दा सबै भारी भयो भनेर दुखेसो सुनाउदै थिईन उनी । दुई चार पैसो कमाउनका लागि त्यति सनो बच्चाको माया छोड्नुपर्ने भनेर दुखि हुँदै थिईन उनी । अनुजाको त झन पतीपनि बितेका रे । “तेरो त बरु लोग्ने छन, बच्चा आफ्नो बाबुसित ढुक्कले बस्न पएको छ। के पिर गर्छेस, मैले त झन मामा घरमा छोडेर हिंडेकि र त भएकोछ” भनेर साथीलाई संझाउने कोसिस गर्दै थिईन उनी । दुबै जनाको तलब रहेछ मासिक १२५० अमेरिकि डलर । बस्न खान सबै साहूकै । आफ्नो केहिपनि खर्च हुन्न । सबै बचाउन सकिने रे । कामचाहिँ ब्रिद्द ब्रिद्दा कुर्ने, तिनको हेरचाह गर्ने र घर सफा राख्ने हो भन्थे । नेपालबाट जोसुकै, जतिसुकै पढेको जाओस, ईञ्जिनियर, पाइलोटनै भएपनि ति सबैले गर्ने त्यहि हो भनेर ठोकुवा गर्दै थिए उनीहरु । उनीहरु बस्ने रहेछन लेबनानको सिमा क्षेत्रमै । कहिलेकाहिँ बमबारी हुँदा डराउनेरहेछन ।  

 nepalis-going-to-overseas-2.jpgअर्को पट्टीको छेउमा थिए बिराटनगरकै राजन खड्का । साँढे दुई महिनाको बच्चा र जिवन सँगिनी तथा बाबु आमा छोडेर दुबाई हिँडेका । पाँच छ वर्ष पहिले त्यहीँ गएर कमाएको पैसा सकिएपछि फेरि उहि कंपनीले बोलाएर जाँदै रहेछन । पैसा कमाउन जाने उनको तत्परतालाई परिवारिका माया ममता र आर्थिक संकटले चेपेको छ भने अनुहारमा प्रष्ठै झल्कन्थ्यो । उनी बेला बेला हास्ने कोसिस गर्थे तर हाँसो खुलेको देखिँदैनथ्यो । निरासाका भावनाहरु घुँडामा हत्केला अड्याएर ब्यक्त गरिरहेका थिए उनले पटक पटक । धुलोले खस्खसाईरहेको मेरो घाँटी ज्वानोले ठिक हुन्छ नी भन्दै अनुजाले एक फाँक दिईन । मलाई असाध्यै मन पर्छ ज्वानो भनें । राजनलाई खाने हो भनेर सोधे ति दुई नारीले । अँहँ नखने भने । दुई महिनाकि सुत्केरी भएकोले घरमा ज्वानोको गन्ध बाँकिनै भएकोले होला भन्दै हँसाए । विमान ओर्लने बेला भयो दिल्ली विमानस्थलमा । अनि हामी छुट्टियौं सबै । मलाई भने तिनै सरल महिलाहरु कहाँ गएर फस्ने हुन भन्ने लागिरह्यो ।

तपाइँको प्रतिक्रिया